site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीर्ष नेताका हातका स्विस घडीको स्रोतमा प्रश्न गर्ने कि र्‍याल काढ्ने ?

झन्डै छ दशकअघि भारतीय संसद्मा एक दिन एउटा हंगामायुक्त बहस भयो । त्यस दिन नवनियुक्त प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धी कास्मिरी दोपट्टा पहिरिएर लोकसभा (संसद्मा) पुगेकी थिइन् ।

समाजवादी नेता डा. राममनोहर लोहिया (सांसद) ले प्रधानमन्त्री गान्धीलाई प्रश्न गरे - “तपाईंले पहिरिएको त्यो दोपट्टाको मूल्य कति हो ? हेर्दै मूल्यवान देखिने यो  दोपट्टा खरिद गर्न रकम कुन स्रोतबाट जुटाउनु भएको हो ? त्यो सदनलाई अवगत गराउनुहोस् !” 

प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीको जवाफ थियो - “मैले खरिद गरेको होइन । एक मित्रले उपहार दिएकी हुन् । यति महँगो दोपट्टा खरिद गर्ने मेरो औकात छैन ।” 

डा. लोहियाले फेरि प्रश्न गरे - “प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिलाई कसैले सित्तैमा उपहार दिँदैन । उपहार दिएबापत केही न केही फाइदा लिने अन्तर्निहित उद्देश्य हुन्छ । दोपट्टा प्राप्त गरेबापत उक्त व्यक्तिलाई तपाईँ के कस्ता लाभ दिँदै हुनुहुन्छ ?”

इन्दिरा गान्धीले जवाफ फर्काइन् - “यो एक मित्रले अर्को मित्रलाई दिएको उपहार हो । भारतको प्रधानमन्त्रीलाई तिनले उपहार दिएकी होइनन् । त्यसकारण लेनदेनको कुनै गुन्जायस नै छैन ।”

डा. लोहियाको भनाइ थियो - पदासीन व्यक्तिलाई उपहार दिने व्यक्तिले लाभ पाउने आशाले गर्दा उपहार दिएको होइन भन्ने विश्वास कसरी गर्न सकिन्छ ? 

त्यो विषय अघि बढ्दै जाँदा लोकसभामा हंगामा मच्चियो । प्रधानमन्त्री गान्धीले अन्त्यमा संसद्मै माफी माग्दै दोपट्टा उपहार दिने मित्रलाई उक्त दोपट्टा फिर्ता लिन आग्रह गरेकी थिइन् । तिनले आउँदा दिनमा प्रधानमन्त्री पद आसीन रहुन्जेलसम्म उपहार नस्वीकार्ने प्रतिज्ञा पनि गरिन् । 

विदेशी समकक्षीले दिएको उपहार सरकारलाई सुम्पने प्रतिबद्धता समेत तिनले जाहेर गरेकी थिइन् । 

दक्षिणी अमेरिकी राष्ट्र उरुग्वेका राष्ट्रपति होजे मुहिका ‘पेपे’ (२०१० देखि २०१५) विश्वको सबैभन्दा ‘विपन्न राष्ट्रपति’ उपाधिबाट सम्मानित थिए । उनी पूर्व मार्क्स, लेनिन तथा माओवादी कम्युनिस्ट पृष्ठभूमिका गुरिल्ला नेता थिए । 
सशस्त्र आन्दोलनका क्रममा गिरफ्तार भएका तिनले १४ वर्ष जेल सजाय भोगेका थिए । उरुग्वेको ४० औं राष्ट्रपति निर्वाचित भएपछि तिनले प्राप्त गर्ने मासिक पारिश्रमिक १२ हजार अमेरिकी डलर बराबर हुन्थ्यो । 

उनले पारिश्रमिक रकमको ९० प्रतिशत विपन्न नागरिकहरूको कल्याणका निमित्त सञ्चालित परियोजनालाई दान दिए ।

त्यसैगरी २७ वर्ष जेल जीवन बिताएका दक्षिण अफ्रिकाका राष्ट्रपति नेल्सन मन्डेलाले राष्ट्रपति पद ग्रहण गर्दा तिनलाई प्राप्त हुने पारिश्रमिकको ५० प्रतिशत रकम विपन्न समुदायका निमित्त कल्याणकारी कोष खडा गरी त्यसमा दाखिला गरे ।

नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (२०१६–१७) ले पदभार सम्हालेलगत्तै पारिश्रमिक ५० प्रतिशतमात्र लिने घोषणा गर्नुभयो । त्रिपुरेश्वरस्थित सरकारी अतिथि गृहमा प्रधानमन्त्री निवास थियो जहाँ श्रीमती सुशीला कोइरालाका निमित्त आर्थिक व्यवस्थापन सबैभन्दा कठिन कार्य थियो । शिक्षा भिभागका निर्देशक दीर्घराज कोइरालाले आफ्नो पारिश्रमिकको ठूलो हिस्सा प्रधानमन्त्रीलाई भेट्न आउनेका लागि चियामा खर्च गर्नुहुन्थ्यो । 

एउटा सानो ट्याङ्का, सुराही तथा छाता लिएर प्रधानमन्त्री निवास प्रवेश गरेका कृष्णप्रसाद भट्टराईलाई पनि विश्वले विपन्न प्रधानमन्त्रीको उपाधिबाट सम्मानित गर्‍यो । सम्पत्तिका नाममा तीनवटा मोबाइल फोनमात्र भएका सुशील कोइराला विपन्नताकै कारण सञ्चार माध्यमले ‘विश्वकै सबैभन्दा विपन्न प्रधानमन्त्री’ को रूपमा परिचित हुनुभएको थियो ।

गान्धीले खद्दरको धोतीमै जीवन बिताए । माओत्से तुङ सधैँ खाकी ज्याकेट र पतलुंगमा देखापरे । कालो भोटो सुरुवाल पहिरिने भियतनामी राष्ट्रपति होचीमिन्ह विदेशी अतिथिसँग भेटवार्ता गर्दामात्रै माओ ‘स्टाइल’को खाकी ज्याकेट र पाइन्टमा प्रस्तुत हुने गर्थे । 

सरकार प्रमुखले अपनाउने जीवनशैलीले धेरै अर्थ राख्छ । सादगीले तिनले अपनाएको आदर्श जीवनप्रतिको समर्पण प्रदर्शन गर्छ । आफूलाई निर्वाचित गर्ने मतदाता तथा सर्वसाधारणका निमित्त उनीहरू उदाहरण हुने गर्छन् । 

समर्थकलगायत प्रशासक तथा सुरक्षाकर्मीका निमित्त सादगीपूर्ण जीवनशैली अख्तियार गर्न एकप्रकारको दबाब हुन्छ । सादगी जीवनशैली अपनाउँदा खर्च न्यून हुन्छ । भ्रष्टाचारको जरुरतै पर्दैन । नेता भ्रष्टाचारमुक्त भएमात्रै देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ ।    

नेपाली मतदाताले अधिकांश युवाकालमा जेलमा वा प्रवासमा जीवन बिताउन बाध्य नेतालाई नै शासक चुन्दैआएका छन् । चौध वर्ष जेल सजाय भोगेका ‘नक्सलपन्थी गुरिल्ला नेता’ केपी शर्मा ओलीलाई पटक पटक निर्वाचित प्रधानमन्त्री हुने अवसर नेपाली मतदाताले नै दिएका हुन् । 

त्यसैगरी एक दशक लामो सशस्त्र युद्धका ‘माओवादी कमाण्डर’लाई हतियार बिसाएर शान्ति प्रक्रियामा आउँदा आउँदै प्रधानमन्त्री पदमा आसीन हुने अवसर पनि नेपाली मतदाताले नै दिए । उहाँहरू पहिलोपटक प्रधानमन्त्री नियुक्त हुँदा युवा वर्गमै पर्थे । आजका दिनसम्म आइपुग्दा उनीहरू सबै उमेरका हदले ज्येष्ठ नागरिक कोटीमा पर्छन् । वृद्धा अवस्थामा पुगिसकेका छन् । 

हाम्रा समकालीन नेताका जीवनशैली अत्यन्त ‘ठस्सापूर्ण’ छ । कपाल दुख्दा पनि राज्य कोषको रकममा विदेश पुग्छन्, औषधिका निमित्त । राज्यकोषबाट प्राप्त ‘औषधि उपचार खर्च’को हिसाबकिताब बुझाउने औपचारिकतामात्र पुर्‍याउन पनि तिनले आवश्यक ठान्दैनन् । तिनको निजी अलिसान महल निर्माण गर्ने खर्च कताबाट प्राप्त भयो ? त्यसको हिसाबकिताब तिनले जनसमक्ष प्रस्तुत गर्नुपर्दैन । 

चौबीस घन्टा, बाह्रै महिना सुरक्षाकर्मीको बाक्लो घेरामा बस्ने आदत तिनलाई बसिसकेको छ । निर्लज्ज रूपमा ‘सवारी’ हुँदा हतियार सुसज्जित अघिपछि सुरक्षाका गाडीले ‘साइरन’ बजाउँदै सडक अवरोध नगरी तिनलाई चयन मिल्दैन । 

निवासलाई आर्थिक औकातको सूचक मान्ने हो भने घरबारविहीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालाबाहेक अरु कोही भएनन् ।

माओवादीले मच्चाएको हत्या हिंसा तथा आतंकपूर्वको दशक नेपालमा न्यून आपराधिक गतिविधि हुने गर्थ्यो । वर्तमान कालखण्डमा समेत नेपाल सुरक्षित राष्ट्रको अग्रपंक्तिमा पर्छ । तैपनि तिनको सुरक्षाका खातिर किन यति बिघ्न खर्च गर्नुपर्ने ?

त्यसैगरी तिनको वेशभूषालाई आधार मान्ने हो भने तिनले ‘प्यारिस’ अथवा ‘रोम’मा निर्मित सुट पहिरिएको हुनुपर्छ । स्वदेशमै निर्मित साधारण दौरासुरुवालमा प्रयोग गरिएका कपडा महँगा मखमली हुने गर्छन् । पहिरेको कोट त विदेशी नै हुनेगर्छ । कमिज वा लबेदाको बहुलाबाट देखापर्ने स्विस घड़ीको मूल्य चर्चाको विषय हुने गर्छ ।

पत्रकार मित्रहरूको आँखा परेर भड्किलो शैलीका (माथि उल्लेखित) का विषयमा चर्चा हुन्छ । अबीरले रंगिएको शरीर तथा ‘फाटेको चप्पल’ तथा पहाडी भेगमा कोखामा बच्चा बोकेकी महिलाको तस्बिर खुबै प्रसारण हुने गर्छन् ।
संसद्मा भने जनप्रतिनिधिहरूको नजर यस्ता विषयतिर जाँदैन । पहिरन, लवाइ खुवाइ, तामझाम आदि विषयहरूको उठान गर्ने माननीय बिरलै भेटिन्छन् ।

मोतीलाल नेहरूकी नातिनी तथा जवाहरलाल नेहरूकी छोरीले पहिरेको दोपट्टाले भारतीय संसद्मा हंगामा मच्चिएको थियो । नेपालका प्रधानमन्त्रीले अख्तियार गर्ने ठस्सापूर्ण जीवनशैलीका विषयमा सांसद्हरू किन मौन हुन्छन् ? किनभने हाम्रा जनप्रतिनिधिहरूले ‘प्याथेफिलिप्स’ तथा रोलेक्स घडी पहिरेको देखेर र्‍याल काढ्छन् । त्यहीकारण अत्यधिक महंगा घडी कुन स्रोतबाट प्राप्त गरेका भन्ने विषयमा प्रश्न गर्नुपर्ने नै ठान्दैनन् ।

विलासी जीवनशैली भएका नेताहरू सान देखाउन तडकभडक गर्ने हुनाले तिनीहरू नैतिक धरातलमा खडा हुने हैसियत राख्दैनन् । छोटकरीमा भन्नुपर्दा विपन्न राष्ट्रको अग्रपंक्तिमा पर्ने देशको शासक सम्पन्न राष्ट्रका शासकहरूभन्दा उच्चस्तरको जीवनशैली अपनाउँछन् । तिनको त्यस्तो भडकिलो आचरण रोक्न जनप्रतिनिधि तयार हुँदैनन् । यस्तो परिवेशमा देशमा भ्रष्टाचार झांगियो भनी घोक्रो फुल्ने गरी कराउनु व्यर्थ नै हुन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro