
वर्ष २०८१, नेपाली क्रिकेटका निम्ति उपलब्धिमूलक रह्यो । ०८१ मै नेपालले विश्वकप मञ्चमा १० वर्षपछि प्रतिस्पर्धा गर्दा घरेलु क्रिकेटमा एनपीएलले नयाँ विजेता पायो, दुई दशकसम्म रोकिएको बहुदिवसीय प्रतियोगिता जय ट्रफीले पनि नयाँ विजेता पायो । महिलातर्फ सिनियर र जुनियर दुवै टिमले एसिया कपमा प्रतिस्पर्धा गरे । यू–१९ एसिया कपमा महिला टिमले विश्व क्रिकेटकै बलियो टोली पाकिस्तानलाई हराएर सनसनी मच्चायो ।
यी र यस्तै समसामयिक क्रिकेट विषयमा रहेर बाह्रखरीका आशिष पुडासैनीले नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामासँग गरेको कुराकानीको संवादित अंश–
गएको वर्ष नेपाली क्रिकेटमा केही नयाँ आयाम थपिए । क्यानको नजरमा वर्ष २०८१ कस्तो रह्यो ?
गत वर्ष अनुवभी अध्यक्ष र युवा टिमसहित क्यानको नयाँ कार्यसमिति आयो । नेपाली क्रिकेट टिमको कप्तानीसमेत सम्हालिसकेका व्यक्ति सचिवमा निर्वाचित हुँदा धेरै नेपालीको अपेक्षा उच्च थियो । क्यानको यस टिमले २०८१ मा राम्रो काम गरेको प्रमाणित भइसक्यो ।
नेपाली खेल क्षेत्रमै २०८१ मा क्रिकेट सबैभन्दा राम्रो रह्यो । नेपालले यू–१९ महिला र पुरुष दुवैतर्फ एसिया कप खेलेको छ । महिला यू–१९ टिमले पाकिस्तानजस्तो बलियो टिमलाई एसिया कपमा हराएको देख्यौँ । घरेलु क्रिकेटमा पनि काठमाडौं बाहिर एकै प्रदेशका तीन मैदानमा पुरुष प्रधानमन्त्री कपको आयोजना सम्पन्न भयो । नेपाली क्रिकेटलाई विकेन्द्रीकरण गरेर यू–१९ प्रतियोगिता विराटनगरमा, महिला क्रिकेट धनगढीमा, लुम्बनी प्रदेशमा पुरुष क्रिकेट आयोजना गरायौँ । पूर्वअध्यक्षको नाममा जय ट्रफी मधेस प्रदेशमा आयोजना गर्यौँ ।
अर्को महत्त्वपूर्ण आयाम भनेको नेपाल प्रिमियर लिग (एनपीएल)लाई समर्थकले हाम्रो लिग भनेर अपनत्व अपनाएका छन् । एनपीएलको क्रेजले विश्वभर नै नेपाललाई चिनाएको छ । क्यानले खेलाडी सम्झौतामा पनि इतिहास बनाएको छ । २६ जना पुरुष क्रिकेटरसँग क्यानले सम्झौता गरेका छ ।
सातजना खेलाडीलाई सातै प्रदेशबाट इमर्जिङ कोटामा समावेश गरेका छौँ । कुल ३३ जना पुरुष क्रिकेटर सम्झौतामा हुनुहुन्छ । महिलातर्फ यो संख्या १९ जना छ । प्रदेश क्रिकेट संघहरूले पनि महिला–पुरुष दुवै गरेर समान पाँचजना गरी ३५ जना खेलाडीलाई सम्झौतामा राखेका छन् । करिब ८७ जना खेलाडीलाई क्यानले सम्झौता गरेर प्रत्यक्ष पारिश्रमिक दिने अवस्थामा पुगेको छ । यसरी क्यानले २०८१ लाई सम्झनलायक वर्षको रूपमा लिएको छ ।
एनपीएलको पहिलो संस्करण भव्य रह्यो । दोस्रो संस्करणको तयारी कस्तो छ ? के नयाँ हुँदै छ ?
पक्कै पनि, नेपालमात्र नभएर विश्वभरि नै एनपीएलको चर्चा एकदमै राम्रो भयो । एनपीएलको पहिलो संस्करण समाप्त हुँदा सबै जनाले यसको प्रशंसा गरेका छन् । पहिलो संस्करण समाप्त हुनासाथ दोस्रो संस्करण कहिले हुन्छ भन्ने धेरैको प्रश्न पनि छ । यहीबाट के भन्न चाहन्छु भने क्यान एनपीएलको दोस्रो संस्करणका निम्ति जुटिसकेको छ । वार्षिक क्यालेन्डरमा नोभेम्बरमा हुने भनिए पनि मलाई लाग्छ, आगामी बोर्ड बैठकबाट निश्चित मिति पनि तोकिनेछ ।
आन्तरिकरूपमा यसको योजना र काम भइरहेको छ । क्यानलाई पहिलो संस्करणको स्तर कायम राख्ने चुनौती पनि छ । सबै स्टेकहोल्डरसँगै सबै क्षेत्रको साथ र सहयोगले एनपीएलको आगामी संस्करण पनि भव्य हुने हामीले अपेक्षा गरेका छौँ । त्यहीअनुसारको काम पनि क्यानले गरिरहेको छ ।
अहिले एनपीएललाई उधारोमा चलेको प्रतियोगिता भन्न थालियो नि ! पुरस्कार रकम वितरण र एनपीएलको खर्च सार्वजनिक गर्न किन ढिलाइ गरियो ?
यी सबै कुरा पछाडि कुनै पनि कारण छैन । एनपीएल एउटा ठूलो प्राजेक्ट हो । यसैकारण यसमा केही समय लाग्नु पनि स्वाभाविक नै हो । तर, जसरी बजारमा एनपीएल र क्यानलाई बदनाम गराउन खोजिएको छ, यी सबै नितान्त गलत छन् । भ्रम फैल्याउने काम भइरहेको छ । एनपीएल र फ्रेन्चाइज टिमहरूबीच दैनिक संवाद र छलफल भइरहेको छ ।
एनपीएलको पुरस्कार पाएको छैन भन्ने कुरा गलत हो । एनपीएल र विजेताबीचको आर्थिक लेनदेन बुक्समा मात्रै मिलाउन बाँकी हो । एनपीएलका टिमले फ्रेन्चाइजीको पैसा दिनु छ, क्यानले पनि उनीहरूलाई पुरस्कार र अन्य रकम दिनु छ । तर, यी सबै कुराहरू बुक्समा मात्रै बाँकी छन् । एनपीएल विजेत र उपविजेतासँग एक प्रहारको सेटलमेन्ट भइसकेको छ ।
एनपीएलकै बेला पनि ‘प्लेयर अफ दी म्याच’, बेस्ट बलर, बेस्ट ब्याटर, प्लेयर अफ दी सिरिज सबैले तत्कालै पुरस्कार र पुरस्कार रकम पाइसक्नुभएको थियो । विदेशी र नेपाली खेलाडीले पाउनुपर्ने रकममा पनि सबै सेटलमेन्ट भइसक्यो । आर्थिक काम गर्दा अकाउन्ट, कर, सेटलमेन्ट जस्ता कुरा आउँछन्, यसैकारण केही ढिला भएको हो । पुरस्कार रकमको विषयमा यसरी भ्रम फैल्याउनु ठिक होइन जस्तो लाग्छ । सबै कुरा मिलिसकेको छ ।
एनपीएलको पहिलो संस्करण त्रिवि क्रिकेट मैदानमा मात्रै भयो । आगामी संस्करण अरू रंगशालामा हुने सम्भावना छ ?
क्यानको लक्ष्य भनेको एनपीएलको दोस्रो संस्करण फ्लडलाइटमा गर्ने हो । आगामी संस्करण फ्लडलाइटमा हुँदा यो नेपाली क्रिकेटका निम्ति आफैँमा एक इतिहास बन्नेछ, फ्लडलाइटमा पनि क्रिकेट हुन्छ भन्ने सन्देश जान्छ ।
तर, नेपालका सातै प्रदेशमा लैजान अवश्य पनि केही समय लाग्ने नै छ । त्यसैकारण तत्कालै यसलाई बाहिर लैजान सक्ने अवस्था छैन । भरतपुरमा रंगशाला बन्दै छ । अहिले सातैवाट प्रदेशमा रंगशाला बन्ने क्रम जारी रहेकाले तेस्रो, चौथो संस्करणपछि मात्रै क्यानले एनपीएलाई बाहिर लैजानबारे योजना बनाउन सक्छ । तर, अहिले दोस्रो संस्करणमा नै काठमाडौंभन्दा बाहिर लैजान सक्ने अवस्था छैन । अहिले क्यानको लक्ष्य भनेको फ्लडलाइट र व्यवस्थित रंगशालामा एनपीएल आयोजना गराउने हो ।
कीर्तिपुरको निमार्णाधिन रंगशाला कामको गति युद्धस्तरमा भइरहेको छ । समर्थकले नयाँ रंगशालामा कहिले क्रिकेट हेर्न पाउँछन् ? क्यान कत्तिको सन्तुष्ट छ ?
हामी आशावादी छौँ । नेपाल सरकार सहरी विकास मन्त्रालयले जुन हिसाबले काम त्रिवि क्रिकेट मैदानमा टेन्डर निकालेर फ्लडलाइट र रंगशालाको काम भइरहेको छ, यस काममा नेपाल क्रिकेट संघ एकदमै सन्तुष्ट छ । यस कार्यमा कुनै र कुनै हिसाबले जोडिनुभएका सरकारी संयन्त्रप्रति क्यान आभार प्रकट गर्दछ । यसले नेपालमा उदाहरण बनाएको छ । यसले सरकारले चाहेको खण्डका काम चाँडै पनि हुँदो रहेछ भन्ने प्रमाणित पनि भएको छ । त्रिवि क्रिकेट मैदानमा हामीले सोचेको भन्दा राम्रो काम भइरहेको छ जस्तो लाग्छ ।
गत वर्ष नै नेपाली क्रिकेटमा टेस्ट राष्ट्र प्रतिस्पर्धाका निम्ति आउने भन्ने चर्चा थियो, जुन पूरा भएन । यस वर्ष कत्तिको सम्भावना छ ?
हामी यो पहल र कोसिस गरिराखेकै छौँ । संवाद पनि भइराखेकै छ । मुख्य कुरा भनेको हामी त्रिवि क्रिकेट मैदानको प्रतीक्षामा छौँ । टेस्ट टिमलाई बोलाउँदा पूर्वाधारका कुराहरूमा कमजोरी हुनु हुँदैन । यसका निम्ति संघले विभिन्न टिमलाई पत्रचार गरिराखेकै छ । ०८२ सालमा क्रिकेटमा केही न केही नयाँ ऊर्जा पक्कै पनि देख्न पाइनेछ ।
अन्त्यमा नेपाली क्रिकेट समर्थकलाई के भन्न चाहनुहुन्छ ?
नेपाली क्रिकेट यहाँसम्म आइपुग्नुमा समर्थकको ठूलो साथ र सहयोग छ । यसैले नेपालमा क्रिकेटको क्रेज पनि बढाएको छ । अहिलेसम्म जसरी माया गरिरहनुभएको छ, आगामी दिनमा पनि त्यही मायालाई कायम राख्नुहोला । क्यान कुनै पनि कमजोरी नगरी नेपाली क्रिकेटलाई अघि बढाउन प्रतिबद्ध छ । नेपाली क्रिकेट विश्वको जुनसुकै ठाउँमा पुगे पनि समर्थक त्यहाँ पुगेकै हुन्छन् । त्यो नै नेपाली क्रिकेट समर्थकको प्रतिबद्धता हो ।
हेर्नुहोस् भिडियो