site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैंका सदावहार गीत : रमाइलादेखि रुवाउनेसम्म

काठमाडौं । शनिबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले दसैंको साइत सार्वजनिक गर्यो । बस व्यवसायी समिति, कम्पनी र सरकारबीचको लामो विवादका बीच लामो रुटका बसको टिकट बुकिङ सोमबारबाट शुरु भयो । दसैंको साइत, टिकट बुकिङसँगै रेडियो–टेलिभिजनमा बज्ने गीतले पनि दसैं आएको झल्को दिन थालेको छ । 

सञ्चारमाध्यममा दसैं गीत बज्न थालिसकेका छन् । युट्युबमा दसैंसम्बन्धी नयाँ गीत पनि रिलिज हुन थालेका छन् । बर्सेनि सयौंको संख्यामा दसैंमा नयाँ गीत रिलिज हुने गरेका छन् । तर पनि रेडियो, एफएम तथा टेलिभिजनमा दसैंका पुराना केही गीतकै दबदबा पाइन्छ । जसलाई दसैंका सदावहार गीतका रुपमा लिन सकिन्छ । 

दसैंका गीतमा मुख्यतयाः परदेशिएको छोराले आफू घरमा आउन नपाउने अथवा नपाउने सन्देश बोकेका हुन्छन् । योसँगै आफ्नी जीवन संगिनीलाई सम्बोधन गरेर विछोडको पीडा समावेश गरिएको पाइन्छ । 

यस्तै सन्देश बोकेको हरेक दसैंमा बज्ने सदावहार दसैं गीत हो,– ‘विछोडको पीडा नसकी खप्न...’

नारायण गोपाल र दिलमाया खातीको युगल स्वर रहेको गीतमा रत्नशमशेर थापाको शब्द छ । नारायण गोपाल स्वयंले संगीत भरेको ०३० को दशकमा रेकर्ड भएको गीतमा परदेशमा भएको प्रेमीले प्रेमिकालाई मायाको चिनोको रुपमा चुराधागो लिएर दसैंमा भेट्न आउने कुरा उल्लेख छ । यता पहाडमा रहेकी प्रमिका भने आफ्नो मनको व्यथा कसैले नबुझेको गुनासो गर्छिन् । बिछोडको पलमा पीडाले निद्रा समेत नलागेको बताउने प्रेमिकालाई डाँफे चरीसरी सामुन्नेमा आउने प्रतिबद्धता प्रेमिकाले जनाउने यो गीत दसैंसँगै यदाकदा अरुबेला पनि बजाउने गरेको पाइन्छ । 

दाजु र बहिनीबीचको पारिवारिक मिठो सम्बन्धलाई दसैंसँग जोडेर तयार पारिएको अर्को गीत हो, ‘दाइ त मेरो लाहुर जाने... ।’ 

युक्त गुरुङ र सावित्री शाहको स्वर रहेको यो गीतका शब्द दैवज्ञराज न्यौपानेले लेखेका हुन् । युक्त गुरुङले नै संगीत भरेको गीतमा दिदीभाइको सम्बन्धसँगै लाहुरेको कथा समेटिएको छ । लाहुर गएको दाइले आफ्नी प्यारी बहिनीलाई दसैंमा फूलबुट्टे सारीसँगै मखमली चोली ल्याइदिने गरेको यथार्थ गीतमा अटाएको छ । वर्ष दिनको चाड दसैंमा लाहुरे छोरो आउने आशामा बुवाआमाले घामको झुल्कोसँगै मूलबाटोमा आँखा बिच्छ्याइरहने कथा गीतमा छ । लाहुरमा रहेको छोराले वर्ष दिनमा आउने दसैंमा जसरी पनि बुवाआमाको आशिर्वाद लिन आउने बताउँदै गीत सकिन्छ । यो गीत दसैंसँगै तिहारमा पनि उत्तिकै बज्ने गरेको छ । 

प्रेम बस्नेतले चलनचल्तीको भन्दा फरक गीत लेखे । न्यूह् बज्राचार्यले पनि यसमा फरक संगीत भरे । योगेश्वर अमात्यले करिब दुई दशकअगाडि शब्द संगीत सबैलाई न्याय गरेर गीत गाए । गीत थियो यस्तो,– 
दसैं आयो
खाउँला पिउँला
कहाँबाट ल्याउँला
चोरी ल्याउँला
धत् चोर ! म त छुट्टै बसौँला 
दसैं नै हो कि यो मेरो दशा फर्की आएको 
वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको ।

गीतमा श्रीमान्श्रीमतीका रुपमा दीपकराज गिरी र दीपाश्री निरौलाले डाइलग बोले । छोरीको संवाद जेम्स प्रधानकी छोरीले बोलिन् । प्याकेजमा बिल्कुल फरक खालको गीत तयार भयो । 

मध्यमवर्गिय परिवारलाई दसैं उत्सवभन्दा पनि दशा बनेर आउने गरेको कथा गीतले भनेको छ । मध्यमवर्गिय  परिवारका युवा पुस्तादेखि आम अभिभावकले हरेक दसैंमा भोग्दै आएको समस्याको यथार्थ चित्रण गरिएको गीतलाई आम स्रोताले मन पराए । गीत सदावहार दसैं गीतका रुपमा दरियो । हरेक दसैंमा दिनमा एउटै रेडियो तथा टेलिभिजनमा दर्जनौंपटक यो गीत गुञ्जिन्छ ।  

युवा पुस्ताको मुखमै झुण्डिएको अर्को सदाबहार दसैं गीत कुल पोखरेलले गाए, ‘यसपाली दसैंमा...’ । युवा उमेरमा युवाकै लागि उनले यो गीत गाए । दसैंमा परिवारका सदस्यले गर्ने अपेक्षालाई गीतमा उतारिएको छ । 

कुलले ०५० को दशकमा गीत गाएका थिए । उनको चोला उठ्यो तर गीत भने मरेन । गाएका बेला गीत जति लोकप्रिय भयो, त्यसको मात्रा झन् बढेर गयो । 

आफ्नै शब्द र संगीतमा रेकर्ड गरिएको गीतमा उनले  मुग्लान गएको ठूलो दाइ दसैंमा आउने र उनले परिवारका सदस्यलाई उपहार ल्याउने भाइको आशा गीतमा गाएका छन् । 
घरमा रहेको भाइ, दाइले दसैंमा घर आउँदा बुवालाई रेडियो, आमालाई साडी, भाइलाई घडी र आफूलाई जिन्स पाइन्ट ल्याइदिने मिठो आशा बताउँछन् । दसैंमा परदेशिएको दाइसँगै उसले ल्याइदिने उपहारले घरमा भित्रिने खुसीलाई गीतले समेटेको छ । 

बेलाबेलामा चिठ्ठीसँगै आउने खबर र गाउँलेसँगै आउने पैसाले परिवारमा छाउने खुसीको बहार समेटेको गीतले आम नेपालीको कथा बोकेको छ । यही कारण सदाबहार दसैं गीत बनेको यो गीत दसैंंसँगै तिहारमा पनि बज्ने गरेको छ । 

 

सुगम पोखरेलको स्वरमा रहेको गीत ‘वर्षमा दिनैमा लै लै...’ दसैंको अर्को सदाबहार गीत हो । रवी श्रेष्ठको शब्द रहेको गीतमा सुगम स्वयम्ले संगीत भरेका छन् । 

परदेशमा रहेको दाइले दसैं र तिहारमा घरपरिवारलाई गरेको सम्झना गीतमा समेटिएको छ । दसैंमा बोटोभरी आँखा फैलाएर बस्ने बुवाआमा र तिहारमा दाइको पर्खाइमा बस्ने बहिनीलाई दसैंमा आउने सन्देश यो गीतमा छ । 

परदेशमा चाडबाडमा काम गरेर बस्दा हुने पीडा समेटिएको यो गीतको भाका र शब्द जति मिठासपूर्ण छ, त्यति राम्रो भिडियोसमेत बनेको छ । सुगमको ओजपूर्ण आवाजमा रहेको यो गीत बच्चादेखि युवा हुँदै सबैपुस्ताले मन पराएको गीत हो । युट्युबमा समेत राम्रो भ्युअर्स बटुलेको गीत ५ वर्ष अगाडि सार्वजनिक गरिएको थियो । 

दसैंकै लागि भनेर गाइएका गीत मात्रै होइन, चलचित्रका गीत पनि स्रोताले उत्तिकै मन पराएको पाइएको छ । चलचित्र ‘मुग्लान’ मा समाविष्ट गीत ‘दसैं आयो...’ पनि सदाबहार दसैं गीतमा परिणत भयो । 

लोकनाथ सापकोटाको शब्द रहेको गीतमा स्वर उदित नारायण झा र दीपा झाले स्वर भरेका छन् । बारीमा कोदो फूलेपछि र खेतमा धानका बाला झुलेपछि आउने दसैं नेपालीको महान चाड भएको बताइएको छ । 

धन कमाउन परदेश गएको छोरो दसैंमा घर आउने दिन कुर्दै बूढा भएका बाबाआमा औंला भाँचेर पर्खिरहेको भावनात्मक पक्षसँगै गीतमा मायाप्रेमलाई पनि सुटुक्क घुसाइएको छ । 
घर छोडेका परदेशी घर आएपछि परिवार र आफन्तको मुहारमा छाएको खुसी वर्णन गरिएको गीतले निधारमा रातो टीका र कानमा सिउरिने पहेँलो जमराले दिने चमक र त्यसको महत्वलाई समेटेको छ । 

दसैं आउनेबित्तिकै धेरैले सम्झिने अर्को गीत हो, ‘नमुछे आमा दहीमा टीका...’ । 

कृष्णभक्त राई र लक्ष्मी न्यौपानेको स्वरमा रहेको यो गीतको शब्द लक्ष्मण रायमाझी र नारायण रायमाझीको संगीत रहेको छ । 

एक दशक अगाडि रेकर्ड भएको गीत गोर्खा सैनिकको कथा समेटिएको दसैं गीत हो । निकै मार्मिक शब्द रहेको गीतमा युद्ध मैदानमा रहेको सैनिकले दुस्मनको पञ्जाबाट निष्किन सक्ने अवस्थामा नरहेपछि आफ्नो जिन्दगीको अन्तिम क्षणमा आफ्नो परिवारलाई पठाउने भावनात्क सन्देशलाई गीतमा गीतकारले उठाएका छन् । 

जिन्दगीको अन्तिम क्षणमा रहेको सैनिकले दसैं, तिहार सम्झिएको छ, बहिनी र आमालाई सम्झिएको छ, छोरीलाई सम्झिएको छ । आमालाई नरुन भनिएको गीतमा जीवन संगिनीलाई हातका राता चुरा नफोड्न आग्रह गरिएको छ । दसैंमा जमरा नछर्न र टिका नमुछ्न आग्रह गरेको यो गीत दसैंका सदाबहार गीतमध्ये सबैभन्दा मार्मिक गीत हो । 

किन आउँछ किन दशैं तिहार किन बिदाबार
फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार  

फौजीमा रहेका नेपालीको दसैं तिहारको सन्दर्भलाई समेटेर तयार गरिएको यो गीत छोटो समयमै लोकप्रिय बनेको गीत हो । जगदिश समालको स्वर रहेको गीतका शब्द दीपक कोइरालाले लेखेका हुन् । गैरे सुरेशको संगीत रहेको यो गीतले दसैं र तिहारमा पनि घर जान नपाउने फौजीको पीडा मुखरित गरेको छ ।  

परदेशिएका दाजुभाइसमेत घर आएर परिवारसँग दसैं तिहार मनाइरहँदा प्रहरी भने स्वेदशमै रहँदासमेत घर जान नपाउने वास्तविकतालाई गीतमा समेटिएको छ । 

परिवारले घर आउन आग्रह गर्दै पत्र पठाए पनि त्यसलाई बेवास्ता गरेर बस्नुपरेको क्षणलाई गीतमा उतारिएको यो गीत पनि दसैंसँगै तिहारमा ५ वर्ष देखि बज्दै आएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro