काठमाडौं । केही दिन लगाएर उनले स्क्रिप्ट पढे । चित्त बुझ्यो । निर्माण पक्षलाई अभिनय गर्छु भन्ने वचन दिए । दिनभरी निर्माता र निर्देशकसँग बसेर रेष्टुराँमा छलफल गरे । उनी थिए, प्रमोद अग्रहरी । उनी चलचित्रमा ‘डन’ को अभिनय गर्ने तरखरमा थिए । साँझ घर पुग्ने बित्तिकै प्रमोदको मोबाइलमा फोन आयो, “तिम्रो अनुहार मधेसी भएकाले अलि गाह्रो हुने भयो । सरी है, यो प्रोजेक्टका लागि ।” सरी ! भन्ने निर्माता र निर्देशक को थिए अहिले प्रमोद उनीहरुको मन दुखाउन चाहन्नन् । तर, त्यो दिन सम्झँदा उनको अनुहारबाट खुसीका लाभा अहिले पनि हराउँछन् ।
“नेपाली चलचित्र आँफैमा भर्खर बामे सर्दैछ । त्यसमा पनि मधेसी कलाकारलाई त्यती सजिलो छैन, साइडमा अर्को पेशा पनि हुनुु पर्छ है !” कामश्वेर चौरासियालाई नेपाली चलचित्रकै एक दिग्गजले सुझाए । कलाका पारखी, अभिनयमा लगभग पारंगत । तैपनि मधेसी अनुहार भएकै कारण कामेश्वरका सपनामा पनि कुनै बेला ग्रहण लागेको महसुस भएको छ ।
यी त भए मधेसबाट काठमाडौं आएर चलचित्र उद्योगमा संघर्ष गर्ने कलाकारले भोगेका दुइटा घटना । यस्ता घटना मधेसका हरेक कलाकारले भोगेका छन् । यीनै दुईसँग पनि यस्ता घटनाका चाङ् छन् ।
“धेरै भन्न चाहन्न, मेरो मन दुखाउनेहरुको म मन दुखाउन चाहन्न । किनकी मनको घाउ कति गहिरो हुन्छ त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ” प्रमोद रिजर्भ नै हुन खोजे ।
“जे नहुनु पथ्र्यो त्यो त भइनैसक्यो अब यसबारे नबोलौं, फेरि मलाई नै यो कुरा किन भन्न लागाउनु हुन्छ,” कामेश्वर पनि खुल्न चाहन्नन् ।
करिब एक दशक अगाडिसम्म नेपाली चलचित्रमा मधेसका कलाकार खासै देखिन्नथे । मधेसको प्रतिनिधित्व गर्दै अरु नै कलाकारले अभिनय गर्थे । सकिनसकी या जानी नजानी नै किन नहोस् अरु नै कलाकारले मधेसी भूमिकामा अभिनय गर्थे ।
सुवास गजुरेल यसका लागि अब्बल मानिन्थे । कतै मुख खुम्च्याएर होस् वा लामो लेग्रो तान्न लगाएरै किन नहोस् निर्देशक तथा निर्माताहरु उनैलाई अघि सार्थे ।
मधेसका कलाकार नै नभएको जस्तो गरेर अरुलाई क्यारिकेचर गर्न लगाएको प्रमोदलाई चित्त बुझेको छैन । उनलाई त्यो बेलाका चलचित्रका कथालेसमेत मधेसीलाई नजरअन्दाज गरेको महसुस हुने गर्छ । “कागज, बोत्तल, टिना, सिसी, फलाम र पान पसले बाहेक त्यो बेलाका चलचित्रमा मधेसीलाई अरु भूमिकामा देखिन्नथ्यो” प्रमोद पुराना कुरा खोतल्दा जवाफ दिन्छन् ।
कामेश्वर भने यसलाई बितिसकेको कुरा भन्दै थप खुल्न चाहन्नन् । “सायद त्यो बेला मधेसबाट काठमाडौं आएर चललचित्रमा काम गर्ने मधेसको कलाकार नभएर पनि होला । अर्को कारण मधेसलाई हेर्ने दृष्टिकोण पनि होला ।”
१० वर्षे माओवादी ‘जनयुद्ध’सँगै चलचित्र निर्माण सुस्तायो । द्वन्द्व सकिएपछि बन्न थालेका चलचित्रले पुराना फर्मुलालाई कम महत्व दिन थाले । चलचित्र निर्माणको बलिउड फर्मुला सुस्ताउँदै ‘फरक धार’मा चलचित्र निर्माण शुरु भएपछि भने मधेसी चरित्रमा मधेसकै कलाकार देखिन थाले । प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, रविन्द्र झा जस्ता कलाकार देखिन थाले । मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै रङ्गमञ्चको फेरा समातेर नाजिर हुसेन आइपुगे ।
चलचित्र ‘उमा’ मा राम्रो रोल पाए प्रमोदले । “हुन त म गलत पनि हुनसक्छु तर मधेसी कथामा मधेसी कलाकारलाई नै अभिनय गराएको यो पहिलो हो जस्तो लाग्छ” प्रमोद भन्छन्, “सानो तिनो रोलमा त फाट्टफुट्ट त्यसअघि अरु पनि थिए । तर मधेसको कथामै यतीधेरै केन्द्रित भएको यही हो जस्तो लाग्छ ।”
प्रमोद काठमाडौंको आँखाबाट मात्रै चलचित्र हेरिएको भन्दै तराईको कथा तराईमै पुगेर पसिना चुहाएर लेख्न सकेमात्रै यथार्थ कथा आउने बताउँछन् । प्रमोदको अनुहार नेपाली अनुहार होइन भन्नेहरुलाई उनले तराईका छाप्रामा पुगेर चलचित्रको कथा लेख्न सुझाव दिएको उनी स्मरण गर्छन् ।
पछिल्ला केही वर्ष यता भने चलचित्रको निर्माण, प्रस्तुती र कथामा पनि परिवर्तन आउन थाल्यो । चलचित्रमा मधेसका चरित्र प्रदान भएर आउन थाले । चलचित्र ‘ग्याङ स्टार ब्लुज’ मा प्रमोदले नै खेले मुसलमान भएर ।
रवीन्द्र झाले ‘जात्रा’ मा तीन मुख्य समानान्तर भूमिकामा अभिनय गरे । कामेश्वर र नाजिरले ‘रज्जा रानी’ मा मुख्य कलाकारकै रुपमा अभिनय गरे ।
काठमाडौंले मधेसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो । मधेसका कथामा चलचित्रका कथा लेखिन थाले । ‘फाटेको जुत्ता’ होस् अथवा ‘होस्टल रिटन्र्स’ या ‘शत्रु गते’ चलचित्रमा मधेसका कथा समेटिएकै छन् ।
नाजिर हुसेन मुसलमान समुदायबाट चलचित्र उद्योगलाई प्रतिनिधित्व गर्छन् । मुसलमान समुदायभित्र मनोरञ्जन क्षेत्रमा लाग्नु ठूलो चुनौति हो ।
कलाकारिता लाइनमा नगएको भए हुन्थ्यो भन्ने परिवारको इच्छा हुँदाहुँदै उनी नाटक हुँदै चलचित्र उद्योगमा आए । “परिवार मौन भएपनि नातेदारहरुबाट भने सिनेमामा काम नगर्न दबाब आएको थियो । परिवारलाई पनि दबाब आएको थियो,” नाजिर सम्झन्छन् ।
अहिले रवीन्द्र चलचित्रको सुटिङकै क्रममा लण्डनमा छन् । प्रमोद ‘कथा काठमाडौं’ को प्रोमोशनमा छन् । कामेश्वर भन्छन्, “अहिले त हामी ब्यस्त छौं । एक दर्जन भैसके मेरा चलचित्र ।”