site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्रमा रंगमञ्चकै दबदबा, किन रुचाइन्छ रंगमञ्चका कलाकार ?

काठमाडौं । २०७३ का केही फिल्मी अवार्डलाई छोड्ने हो भने अधिकांश अवार्ड नायकतर्फ विपिन कार्कीले हात पारे । सोही वर्ष नायिकातर्फको अधिकांश अवार्ड सिर्जना सुब्बाले हात पारिन् । 

गत वर्षको अवार्ड वितरण सुरु भएको छ । ‘एलजी सिने सर्कल अवार्ड’ बाट अवार्ड वितरण सुरु भएको हो । ‘एलजी सिने सर्कल अवार्ड’मा उत्कृष्ट नायकको अवार्ड नाजिर हुसेनले पाए । नायिकातर्फको यो अवार्ड निता ढुङ्गानाले हात पारिन् । 

त्यसअघिका वर्षमा अधिकांश अवार्ड कि सौगात मल्लले पाए कि दयाहाङ राईले । लगातार केही वर्ष उत्कृष्ट नायककको अवार्ड सौगात र दयाहाङले पाए । उल्लेख गरिएका सबै कलाकार रंगमञ्चको बाटो हुँदै सिने नगरीमा प्रवेश गरेका हुन् । अर्थात् केही वर्षयताको नेपाली सिने बजारमा रंगमञ्चका कलाकारको दबदबा छ । 

रंगमञ्चबाटै उदाएका चरित्र अभिनेता भोला सापकोटाले बलिउडको चलचित्रमा समेत अभिनय गर्न भ्याए । अहिलेका चर्चित बलिउड अभिनेता रणवीर कपुरसँग उनले ‘बर्फी’ मा स्क्रिन सेयर गर्ने मौका पाएका थिए । 

शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, धिरेन शाक्य, रमेश उप्रेती, निखिल उप्रेती हुँदै विराज भट्ट ओझेलमा परेपछि नेपाली चलचित्रमा रंगमञ्चका कलाकारको युग सुरु भयो । विशेषगरी नायक र चरित्र अभिनयमा रंगमञ्चका कलाकार खोज्न थालेको पाइन्छ । यद्यपि नायिकातर्फ भने अझै पनि ‘फ्रेस’ अनुहार नै निर्माता तथा निर्देशकहरुले रुचाइरहेका छन् । 

सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, कर्मा शाक्य, प्रवीण खतिवडा, बुद्धि तामाङ, विजय बराललगायत कलाकार रंगमञ्चबाटै चलचित्रको यात्रामा प्रवेश गरेका हुन् । चरित्र अभिनेतामा तारिफ बटुलेका प्रकाश घिमिरे, माओत्से गुरुङलगायत अभिनेता पनि चलचित्रमा रंगमञ्चलाई नै खुट्किलो बनाएर चढेका हुन् । अमेरिकाबाट फर्किएपछि चरित्र अभिनेताका रुपमा दरिएका सरोज खनाल पनि रंगमञ्चबाटै चलचित्रमा फड्को मार्ने कलाकार हुन् । यस्ता थुप्रै कलाकार छन्, जो रंगमञ्चबाट अभिनयको यात्रा सुरु गरेर चलचित्रमा स्थापित भएका छन् । 

रंगमञ्चका कलाकारमा चरित्रलाई जीवन्त पार्न मेहनत गर्ने बानी हुने गरेका कारण उनीहरुलाई लिने गरेको चलचित्र निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । ‘पशुपतिप्रसाद’मा उनले विपिन कार्की, प्रकाश घिमिरे लगायतका कलाकारलाई लिएका थिए । “रंगमञ्चका कलाकारमा पात्रलाई कसरी न्याय गर्न सकिन्छ भनेर त्यसमा अध्ययन गर्ने प्रवृत्ति हुन्छ, सायद उहाँहरुको ‘स्कुलिङ’ नै त्यस्तै हुन्छ,” निर्देशक खनाल भन्छन्, “सुटिङ सेटमा पनि डाइरेक्टरले नेचुरल होस् भन्ने चाहिरहेको हुन्छ । कतिपय कलाकारमा सेटमा लजाउने पनि गर्छन् तर रंगमञ्चका कलाकार भने ओपन हुन्छन् । खोजेअनुसारको अभिनय निकाल्न पनि सजिलो हुने भएकाले पनि रंगमञ्चका कलाकार रोज्ने गरिन्छ ।”

निर्देशक निश्चल बस्नेत आफ्ना चलचित्रमा ठूलो संख्यामा रंगमञ्चका कलाकार लिन्छन् । चलचित्र ‘लुट’ मार्फत् उनले एकै पटक रंगमञ्चका धेरै कलाकारलाई अभिनय गराए । तीमध्ये अधिकांश अहिले नेपाली रजतपटमा स्थापित कलाकार छन् । सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, सिर्जना सुब्बा, प्रवीण खतिवडा ‘लुट’बाटै स्थापित भएका कलाकार हुन् । यही चलचित्रमा विपिन कार्की पनि अटाएका छन् । तर उनलाई कमैले मात्रै नोटिस गर्न् सक्छन् ‘लुट’ मा । 

“स्क्रृप्टमा उल्लेख भएअनुसारको चरित्रमा न्याय गर्न सक्ने क्षमता भएकैले रंगमञ्चका कलाकारलाई लिने हो,” निर्देशक बस्नेत भन्छन्, “चरित्रलाई कसरी न्याय गर्न सकिन्छ भनेर नै रंगमञ्चका कलाकारलाई ‘ग्रुम’ गराइएको हुन्छ, त्यसैले पनि उहाँहरुबाट काम लिन सकिन्छ र कथालाई न्याय गर्न सकिन्छ भनेर नै उहाँहरुलाई छानिन्छ ।”

कथावस्तु बुझेर काम गर्ने क्षमता हुनु नै रंगमञ्चका कलाकार निर्माता तथा निर्देशकको पहिलो रोजाइमा पर्नुको मुख्य कारण रहेको निर्देशक बस्नेत बताउँछन् । पछिल्ला केही वर्षयता रंगमञ्चलाई चलचित्र प्रवेशको ढोकाका रुपमा लिने गरिएको छ । केही महिना रंगमञ्चमा अभिनयको कक्षा लिने र चलचित्रमा अभिनयका लागि त्यसैलाई मुख्य आधार बनाउने गरेको देखिन्छ । “रंगमञ्चमा काम गरेको कलाकारले चलचित्रमा अभिनय नै गर्नु हुन्न भन्ने त होइन तर चलचित्रमा जानकै लागि रंगमञ्चमा आउने प्रवृत्ति भने बढेको छ । नाटकप्रति लगाव भएको व्यक्तिले मात्रै रंगमञ्चमा काम गर्न सक्छ । यसलाई भर्याङ बनाउन मात्रै आउनुभन्दा पनि म केही सिक्छु भनेर आउँदा राम्रो हुन्छ,” रंगकर्मी तथा नाटक निर्देशक राजन खतिवडा भन्छन् । 
अभिनेता विपिन कार्कीले चरित्र निर्माणका लागि कडा मेहनत गर्ने ‘भर्सटायल’ कलाकारका रुपमा छवि बनाएका छन् । चलचित्र ‘छड्के’मा ‘विन्दु’, ‘पशुपतिप्रसाद’मा ‘भस्मे डन’, ‘जात्रा’ मा ‘फणीन्द्र’, ‘लुट–२’ मा ‘पित्तले डन’, ‘नाका’मा ‘गोल्डी’, ‘हरि’ मा ‘हरि’ चरित्र निर्माणका लागि उनले निकै धेरै मेहनत गरेका छन् । चरित्र निर्माणका लागि उनले गरेको मेहनत चाखलाग्दो रहेको थाहा पाएपछि पुस्तक प्रकाशन गृह बुक हिलले उनको पुस्तक नै प्रकाशन गर्दैछ ।

चलचित्रमा भर्खर प्रवेश गरेको र नयाँ आउने पुस्तालाई आफ्नो चरित्र निर्माणमा सहयोग गर्न पनि पुस्तकले भूमिका खेल्छ भन्ने विश्वासले आफूले पुस्कतक लेख्न बुकहिलले गरेको आग्रहलाई स्वीकार गरेको कार्की बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro