site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाटकमा विदेशीको बोलवाला, किन लेख्दैनन् नेपाली लेखक ?

काठमाडौं । अहिले युट्युबमा एउटा सांगीतिक रियालिटी सो खुब हिट छ । नाम हो, ‘द भ्वाइस अफ नेपाल’ । हल्याण्डका टेलिभिजन प्रोड्युसर जोन डे बोर्नले सुरु गरेको सिङगिङ रियालिटी शो ‘द भ्वाइस’ अहिले विश्वका धेरै देशमा सञ्चालनमा छ । यो वर्षबाट नेपाल आइपुगेको ‘द भ्वाइस’ को ब्लाइन्ड अडिसन चलिरहँदा नेपाली शोको स्टेज डिजाइनदेखि कोचको हाउभाउसमेत हुबहु ‘कपी’ गरेको भन्ने आलोचना भैरहेको छ । 

भर्खर नेपाल आइपुगेको यो सिङगिङ रियालिटी शोजस्तै आरोप नेपाली नाटकहरुलाई पनि लाग्ने गरेको छ । नेपाली थिएटरहरुमा मञ्चन गरिने नाटक नेपालीकै हाराहारीमा विदेशी हुने गरेको आरोप छ । यही वर्ष मण्डला नाटक घरमा मञ्चन गरिएको ‘सके तिरौंला नत्र फिरिमा’ पनि विदेशी नाटक थियो । 

किन विदेशी नाटक मञ्चन हुन्छन् भन्ने जिज्ञासामा रङ्गकर्मी तथा निर्देशक राजन खतिवडा तीन वटा कारण अघि सार्छन्, पहिलो, मञ्चनका लागि तयारी अवस्थामा हुनु । दोस्रो, नेपाली परिवेशसँग मिल्दोजुल्दो हुनु र तेस्रो व्यावसायिकताको लोभ । नेपाली कलासाहित्य र संस्कृतिसँग हुबहु मिल्ने खालका नाटक भए विदेशी लेखकले लेखे पनि केही फरक नपर्ने खतिवडाको तर्क छ ।

“मानवीय मूल्य कहाँ भेटिन्छ भनेर रङ्गकर्मीहरुले नाटकमा खोजिरहेका हुन्छन् । त्यो नेपालीले नै लेखेको हुनुपर्छ भन्ने छैन, जसले लेखे पनि त्यसलाई आफ्नो परिवेश अनुसार ढाल्ने हो,” खतिवडा भन्छन्, “त्यसैले यो प्रक्रिया रोकिन्छ जस्तो लाग्दैन मलाई ।”

नेपाली परिवेशमा नाटक लेखनलाई कसैले पनि प्राथमिकतामा राखेका छैनन् । नाटक सबैभन्दा कम लेखिने र पढिने विधा हो । नाटक लेखनमा गरिने खर्चको प्रतिफल निश्चित नभएसम्म यसको लेखनमा वृद्धि नहुने र रङ्गकर्मीले मञ्चनका लागि नाटकको अभाव झेलिरहनुपर्ने खतिवडा बताउँछन् । 

नेपाली समाजले आफ्नो क्षेत्र वरपर घटेको घटनालाई नै नाटकमा हेर्न रुचाउने गरेको भर्खरै पोखराको नाटकघरमा दर्शकको उपस्थितिले पनि देखाउँछ । ‘शिरुमा रानी’ नाटकमा पोखरेली दर्शकको भीडभाड लाग्यो तर त्यसपछि देखाइएका विदेशी नाटकमा दर्शकले खासै चाख मानेनन् । 

रङ्गकर्मी सिर्जना सुब्बालाई विदेशी भाषाको नाटक नेपालीमा ढालेर मञ्चन गर्नुभन्दा नेपाली नाटक नै मञ्चन गर्न मन लाग्छ । तर, उनले भनेजस्तो सहज अवस्था छैन । बालकृष्ण सम, विजय मल्ल, गोविन्दबहादुर मल्ल गोठाले, मनबहादुर मुखियापछि साहित्यकारहरु नाटक लेखनमा खासै केन्द्रित देखिँदैनन् । सिर्जना आफू विदेशी भाषाको नाटक नेपालीमा अनुवाद गरेर निर्देशन गर्दिनँ भन्ने अठोट गर्छिन् । 

नेपालीमा धेरै नाटक नलेखिनु, व्यावसायिक साहित्यकारले यसमा चासो नदेखाउनु र लेखिएका नाटक पनि राम्रा नहुनु नै विदेशी नाटक नेपालमा मञ्चन हुनुको मुख्य कारण रहेको उनको अनुभव छ । “अहिले हामीले एउटा नाटक लेख्न दिएको ६ महिना भैसक्यो, अहिलेसम्म हातमा परेको छैन । त्यो पनि मञ्चनका लागि मिलाउन समय लाग्छ,” सिर्जना भन्छिन्, “त्यो भन्दा विदेशी नाटक १५ दिनमा अनुवाद गरेर अर्को एक महिना रिहर्सल गरेर देखाउन सकिन्छ ।” एन्टागोनी जस्ता नाटक भने परिवेश र मुद्दा मिलेर पनि मञ्चन हुने गरेको सिर्जना बताउँछिन् ।

यता अर्का रङ्गकर्मी घिमिरे युवराज भने नाटक नभएर भन्दा पनि विश्व साहित्यमा चर्चित पुस्तकहरुमा काम गरौं भन्ने रहरले विदेशी नाटक अनुवाद गरेर मञ्चन हुने गरेको तर्क अघि सार्छन् । “विदेशी म्युजिक र चलचित्र किन हेर्ने भने जस्तै हो, विश्वप्रसिद्ध साहित्यमा काम गर्ने रहर भएर हो,” घिमिरे भन्छन्, “त्रिभुवन विश्वविद्यालयले पनि विदेशी साहित्य विभिन्न लभवलका पाठ्यक्रममा नेपाली साहित्य नभएर राखेको होइन । विश्वका जुनसुकै देशमा पनि विश्वका उत्कृष्ट नाटक मञ्चन भइरहेका हुन्छन् ।”

नेपालमा कथा, उपन्यासलगायत साहित्यका अन्य विधाबाट विषय लिएर त्यसलाई नाटकमा ढाल्ने र मञ्चन गर्ने परम्परा छ । तर नाटकको अभावकै कारण अन्य विधाबाट नेपाली नाटक मञ्चन नगरिएको घिमिरे बताउँछन् । 

मदन पुरस्कार जितिसकेका साहित्यकार अमर न्यौपानेको अनुभव भने घिमिरे युवराजको भन्दा फरक छ । “नेपाली साहित्यको विकास नाटक विधाबाट शुरु भयो । बालकृष्ण समको नाटक ‘मुटुको व्यथा’ सन् १९८४ मा प्रकाशन भयो । १९८४ सम्म आधुनिक कथा, आधुनिक उपन्यास र आधुनिक कविता शुरु भइसकेको थिएन,” न्यौपाने भन्छन्, “नाटक पर्फर्मेन्सको विधा भएकाले लेखेर मात्रै पूर्ण हुँदैन । मञ्चन भपछि मात्रै पूरा हुन्छ । बिक्रीका हिसाबले पनि कम हुने भएकाले पछिल्लो समय नाटक कम लेखिने गरेको हो ।”

न्यौपाने थप्छन्, “शुरुमा नाटक धेरै लेखिन्थ्यो र मञ्चन पनि हुन्थ्यो । सिनेमाले नाटकलाई किच्दै गएपछि यसको लेखनमा कमी आयो । ‘मालती मंगले’ ४० दशकको शुरुमा १५ सय जना अट्ने एकेडेमीमा मञ्चन हुँदा ६ महिना चल्यो र टिकट काट्नेको लाइन घण्टाघरसम्म हुने गरेको पढ्न पाइन्छ । सिनेमाको विकास भएपछि मनोरञ्जनको प्रमुख साधनको रुपमा रहेको नाटक छायाँमा पर्दै गयो । अहिले त्यही नाटक मञ्चन हुँदा एक महिना पनि चलेन ।”

जुन समय नाटक मञ्चन हुन्थे, त्यो बेला नाटक पनि लेखिए पनि मनोरञ्जनाका साधनका रुपमा सिनेमा, टेलिभिजन, सिरियल आएपछि नाटक मनोरञ्जनको प्राथमिकतामा पर्न छाडेको र बिक्रीका हिसाबले पनि कमजोर भएकाले लेखिन पनि छाडेको उनको अनुभव छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०७५  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro