site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलाकारलाई छोपिसक्यो तिजले, धेरैलाई विदेशमै भ्याईनभ्याई

काठमाडौं । यो वर्षको तिज भदौ २७ गते परेको छ । तिज आउन झण्डै २ महिना बाँकी छ, तर कलाकारलाई तिजले छपक्कै छोपिसकेको छ । युट्युब च्यानलमा तिजका गीत अपलोड हुन थालेको थुप्रै भैसक्यो । सांसददेखि आम कलाकारसम्मका तिज गीत युट्युबमा भेटिन्छन् । तिजका गीत अझै रेकर्ड भैरहेका छन् । बजारमा आउनेक्रम जारी छ । गायक गायिकालाई भ्याईनभ्याई छ । 

लोकदोहोरी गायक खुमन अधिकारीले यो वर्ष तिजका मात्रै ३० वटा गीत गाउँदैछन् । यसमध्ये केही गाइसके भने केही गाउन बाँकी छ । केही युट्युब च्यानलमा अपलोड भैसके भने केही छायांकनकै क्रममा छन् । 

खुमनको पोल्टामा गत सालहरुमा जस्तै यो वर्ष पनि तिजका थुप्रै कार्यक्रम परे । अर्को साता उनी तिजकै कार्यक्रमका लागि अष्ट्रेलिया उड्दैछन् । अष्ट्रेलियाबाट दुबई हुँदै उनी जापान र इजरायल पुग्नेछन् । इजरायलको कार्यक्रम सकेर उनी नेपाल आउँदा तिज पनि सकिसकेको हुनेछ । नेपालमा उनले बाग्लुङको एउटा मात्रै कार्यक्रम भ्याउँदैछन् । 

लोक तथा दोहोरी गायकगायिकाका लागि तिज मौका हो, एउटा स्रोता तथा दर्शकमा जाने र अर्को आर्थिक आम्दानीका हिसावले । यो वर्षको तिजमा खुमन ८ देखि १० लाख कमाउनेमा विश्वस्त छन् । ०६४ सालदेखि तिजका गीत गाउन थालेका उनले अहिलेसम्म डेढ सयभन्दा धेरै तीन गीत गाइसकेका छन् । 

यो वर्ष उनले चम्किए तरुनी..., हरियो चुरा छ..., भुरुरु उडेको पुतली लगायतका तिज गीत गाए । चम्किए तरुनी... गीत अलि भड्किलो भएन भन्ने प्रश्नको जवाफमा अधिकारी भन्छन्, “छैन । समाजले पचाउने खालको गीत गाउँदा केही फरक पर्दैन । मुख्य कुरा गीतले दिन खोजेको सन्देश के हो भन्ने कुरा हो । तिजको छन्द गीतमा आउनुपर्छ । समाजले सुन्न नसक्ने शब्द र हिर्न नसक्ने भिडियोको प्रयोग हुनु भएन ।”  

मंगलबार बिहान गायिका सुनिता दुलालले आफ्नो फेसबुक पेजमा यस्तो तिज गीत पोस्ट गरिन् । 
–पातै राम्रो पिपलुको फूलै राम्रो बेलीको
भेट हुने दिन आयो संगी हो माइती चेलीको
मिठो मिठो खान हो राम्रो राम्रो लाउन हो 
तिज भनेकै हो चेली नाच्न गाउन हो

आदरणीय गीतकार दाइ रमेश बिजीको शब्द अनि संगीतकर दाइ बीबी अनुरागीको संगीत अनि मेरो स्वर र अभिनयमा अब केही दिनमा यहाँहरुमाझ मेरो यसपालिको तिज कोसेली आउँदैछ । प्रतिक्षा गर्नु होला । 

सुनिता पनि तिजमा व्यस्त हुने गायिका हुन् । यो वर्ष पनि उनलाई तिजको कार्यक्रमले फुर्सद छैन । अष्ट्रेलिया, अमेरिका हुँदै आयरल्यान्ड र युके गएर बल्ल नेपाल फर्किने उनको तिज कार्यक्रम छ । झापा र काठमाडौंका स्रोता तथा दर्शकलाई पनि भेट्ने कार्यक्रम छ, भन्छिन्, “काठमाडौंमा पाँच वटा कार्यक्रम छन् ।” 

उनले तिजका गीत गाउन थालेको १५ वर्ष भयो । उनी अरुका गीत गाउँदिनन्, सुनिताको विशेषता भनेको पनि यही हो । त्यसैले १९ वटामात्रै तिज गीत गाएको उनी सुनाउँछिन् । तुलनात्मक रुपमा उनको पहिचान पनि तिज गीत गायिकाकै रुपमा बढी छ । उनका लागि पनि तिज मौका हो । कति हुन्छ तिजमा कमाई ? “हरेक वर्ष यति नै हुन्छ भन्ने त यकिन हुन्न तर एभरेजमा २५ देखि ३० लाखसम्म हुन्छ ।” कलाकारले एकै देशमा ५–७ वटासम्म कार्यक्रम गर्छन् । त्यही नै उनीहरुको आम्दानीको मुख्य स्रोत हो । 

राधिका हमालले तिजका गीत गाउन थालेको ०६१ सालदेखि हो । ०७३ सालमा मात्रै उनले ५४ वटा तिज गीत गाइन् । यो वर्ष उनले आमा... जन्म..., माईतीघर... लगायत सोमबारसम्म १५ वटा तिजका गीत गाइसकिन् । 

अन्य कलाकारजस्तै उनको भागमा पनि यो वर्ष तिजको कार्यक्रम परेका छन् । अष्ट्रेलिया र जापानमा कार्यक्रम गर्ने उनी एउटा शोको १ लाख ६० हजारसम्म लिने गरेको सुनाउँछिन् । शोमा एउटा गीत गाएको १५ हजार लिने राधिका यो वर्षको तिजमा ५ देखि ७ लाख कमाइ हुने सुनाउँछिन् । 

मञ्जु पौडेल पेशाले गायिका, सञ्चारकर्मी तथा गायिका हुन् । अहिले उनी सञ्चार कर्म र उद्घोषणसँगै गायनमा पनि सक्रिय छिन् । तिज गीतबाट गायन यात्रामा प्रवेश गरेकी मञ्जुले ०६५ सालदेखि गीत गाउन सुरु गरेकी हुन् । यो वर्ष छम्म छम्म..., माइतीको आगन... लगायत ५ वटा तिज गीत गाएकी उनले एक दशक लामो यात्रामा २ दर्जन तिज गीत गाइसकेकी छन् । 

अन्य कलाकारलाई जस्तै उनलाई पनि यो वर्ष तिजका थुप्रै कार्यक्रममा सहभागि हुनु छ र आफ्नो स्रोता तथा दर्शकलाई आफ्नो गीत सुनाउनु छ । अष्ट्रेलिया, जापानका लागि उनले भिसा पाइसकेकी छन् । दुबईका लागि भिसाको प्रक्रिया चलिरहेको बताउने मञ्जुलाई नयाँ दिल्लीबाट पनि कार्यक्रमका लागि आग्रह आएको छ । यी सबै कार्यक्रममा सहभागी हुँदा उनको कमाई कति हुन्छ त ? “ठ्याक्कै यति नै भन्ने त हुँदैन तर ८ देखि १० लाख रुपैयाँसम्म यी कार्यक्रमबाट पारिश्रमिक पाइन्छ ।”

गायिका सिर्जु अधिकारी यो वर्ष तिजको कार्यक्रममा युके जाँदैछिन् । उनले कम्तिमा ५–६ वटा कार्यक्रम गर्नेछिन् । दाङमा पनि उनले तिज कार्यक्रममा गीत गाउँदैछिन् । यो वर्ष उनका खासै धेरै तिज कार्यक्रम छैनन् । भन्छिन्, “यो वर्ष ३ लाख जतिमात्रै कमाई हुन्छ होला ।”

अधिकारीले तिज गीत गाउन थालेको ७ वर्ष भयो । २५ भन्दा धेरै तिज गीत उनले गाइसकेकी छन् ।  रातो लाली..., लौन ए शिवजी एउटा जुराइदेऊ..., सरर बतास.... उनले यो वर्ष गाएका गीत हुन् । 

सरिता प्रजापति पनि ०७१ सालदेखि तिज गीत रिलिज गर्दै आएकी छन् । वर्षको एउटा मात्र तिज गाउने उनले यो वर्ष सबै परदेशमा... बोलको गीत गाएकी छन् । 
भक्तपुरकी उनी तिज कार्यक्रमका लागि दाङ जाँदैछिन् । नर्सिङ पेशामा आबद्ध भएकाले उनी खासै कार्यक्रममा हिँड्न पाउँदिनन् तर पनि भन्छिन्, “समय मिलाएर कार्यक्रममा जान्छु, काठमाडौं र भक्तपुरका तिज कार्यक्रममा पनि गीत गाउँदैछु ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०७५  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro