विशेष
सुन्दरीजल, काठमाडौं । धुम्म कुहिरो लागेको । उस्तै चिसो सिरेटो । नङ झर्लाजस्तो ठिही । एका बिहानै सडकभर तैनाथ सिपाही । १३ वर्षका परशुराम पोखरेललाई लाग्यो– आज देशमा केही नराम्रो हुँदैछ ।
सुन्दरीजलको आर्सनल ब्यारेक नजिकै घर भएकाले उनले बाबुलाई सोधे, “बा ! आज सैनिकहरू सडकमा छ्याप्छ्याप्ती छन् त !”
उनका बाबुले हातले इसारा गर्दै भने– चुप लाग मोरा ! बीपीलाई फेरि यहाँ ल्याउँदैछन् जस्तो छ ।
नभन्दै राष्ट्रिय एकता र मेलमिलापको नीति अवलम्बन गरेर स्वदेश फर्किएका बीपी कोइराला र गणेशमान सिंहलाई तत्कालीन सरकारले २०३३ साल पुस १६ गते पक्राउ गरेर सुन्दरीजल बन्दीगृहमा राख्यो ।
त्यसबेला बीपी र गणेशमानमाथि राज्य विप्लवसम्बन्धी सातवटा मुद्दा काठमाडौं विशेष अदालतमा विचारधीन थिए । बीपी र गणेशमानलाई ०३५ सालमा सुन्दरीजल बन्दीगृहबाट प्रहरी तालिम केन्द्रमा सारियो र केही समयपछि तारेखमा रिहा गरियो ।
त्यसभन्दा अघि २०१७ साल पुस १ गते राजा महेन्द्रले ‘कु’मार्फत शासन सत्ता आफ्नो हातमा लिएपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालगायत सभामुख, मन्त्री, सहायकमन्त्रीहरूलाई केही समय सिंहदरबारमै थुनेर फागुनदेखि त्यही सुन्दरीजलकै बन्दीगृहमा पुर्याइएको थियो ।
बीपीसँगै गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, प्रेमराज आङदम्बे, दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङलगायतले सुन्दरीजलमा बन्दी जीवन बिताएका थिए ।
पहिलो पटक ८ वर्ष र पछिल्लो पटक २ वर्ष गरि बीपीले दस वर्ष सुन्दरीजलमा बन्दी जीवन विताए ।
संग्रहालयको बीचमा ठूलो कपुरको रुख छ । कपुरको रुखको तल बसेर बीपी लेखनमा सक्रिय हुन्थे । उपन्यास ‘मोदिआइन’, ‘हिटलर र यहुदी’, ‘तीन घुम्ती’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’ तथा कथासंग्रह ‘श्वेतभैरवी’ उनले त्यहीँ सिर्जना गरेका हुन् । ‘दोषी चस्मा’ कथा संग्रहचाहिँ बन्दी जीवनभन्दा अगाडि नै प्रकाशन भइसकेको थियो ।
काठमाडौँको कुनो, मानिसहरूको खासै आवतजावत नहुने र सेनाको हातहतियार, खरखजाना बनाउनेसमेत भएकाले सुरक्षा घेरा बलियो हुने ठानेर राजा महेन्द्रले बीपीलाई त्यहाँ पुर्याएको हुनसक्छ । त्यस्तै राजा वीरेन्द्रले पनि गलाउने र आत्मसमर्पण गराउने हेतु त्यहाँ पुर्याएको अनुमान गर्न कठिन हुँदैन ।
० ० ०
बन्दीगृहको छेवैमा घर भएको र २०३३ सालमा बीपीलाई सैनिक घेरामा राखेर बन्दीगृहमा पुर्याएको नजिकबाट देखेका संग्रहालयका अध्यक्ष परशुराम पोखरेलको बालसुलभ मस्तिष्कले नै अठोट गरेको थियो – यस ठाउँलाई बीपी संग्रहालय बनाउनुपर्छ । उनका बाबु २०२१ सालमा वडा अध्यक्ष हुँदा नै उक्त जग्गालाई राजबन्दी गृहको नाममा नपाएका रहेछन् ।
“०२१ सालमा बाबु वडा अध्यक्ष हुनुहुन्थ्यो, आर्सनलको नाममा नपाउने कि राजबन्दी गृहको नाममा नपाउने भनेर सेना र बाबुबीच विवाद हुँदा बाबुले राजबन्दी गृहको नाममा जबरजस्ती जग्गा नपाउनु भएको रहेछ,” पोखरेलले थपे ।
त्यही आधारमा २०४६ सालदेखि बीपी संग्रहालय बनाउने प्रक्रिया सुरु गरे पनि सेनाले सहजै बन्दी गृह छाड्न नमानेको पोखरेल बताउँछन् । “०६१ सालमा मात्रै सेनाले बन्दी गृह छाडेको लिखित पत्र दियो, त्यसबापत तत्कालीन सरकारबाट २ करोड ८३ लाख ८० हजार रकम र अन्य ठाउँमा विस्फोटक पदार्थ भण्डारण भवन निर्माण गर्ने वचन पाएपछि सेनाले ठाउँ छाडेको हो, ०५४ सालमा सेनाका तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शम्शेर राणले त बीपी संग्रहालय भत्काउनुपर्छ भनेर राजदरबारमा पत्राचारै गरे ।”
० ० ०
आदर्श पुरुष बीपीको विचारलाई जीवन्त तुल्याउन र सुन्दरीजल बन्दी गृहको इतिहासलाई धूमिल हुन नदिन आफू अहोरात्र लागिपरेका पोखरेलका अनुसार कांग्रेसकै केही नेतासमेत बीपी संग्रहालय भत्काउनुपर्छ भन्ने ठान्छन् । भन्छन्, “केही नेता बीपीको नामै सुन्न चाहँदैनन् । संग्रहालयलाई सहयोग गर्न त परै जाओस् यसलाई जोगाउनुपर्छसम्म भन्दैनन् ।
“आफैंले गद्दार घोषणा गरेको पुष्पलाललाई कम्युनिष्टहरू प्रधानमन्त्री हुनेबित्तिकै फूल माला चढाउन जान्छन्,” पोखरेल आक्रोश पोख्छन्, “बाहिर चाहिँ बीपी महामानव हुन् भन्दै हिँड्छन् तर सत्तामा पुगेपछि कांग्रेसहरू बीपीलाई एकपटक पनि सम्झँदैनन् । अझ, बीपी संग्रहालय छ कि छैन सायद उनीहरूलाई थाहा पनि नहुन सक्छ ।”
बीपी संग्रहालयलाई कांग्रेसको खुला विश्वविद्यालयका रूपमा विकास गराउने लक्ष्य आफ्नो रहे पनि गत वर्षको भूकम्पले त्यसलाई धुलाम्य बनाइदिएपछि पोखरेल चिन्तित छन् ।
भूकम्पले बीपीलगायत नेताहरूले उतिबेला प्रयोग गरेका कोठाहरू खण्डहर बनेका छन् । साथै बन्दी गृह अगाडिका चारबुर्जा पनि जीर्ण बनेका छन् ।
भूकम्पपछि कांग्रेसका कोही नेता बीपी संग्रहालय फर्केर पनि नगएको पोखरेलको गुनासो छ । “भूकम्पले संग्रहालयमा संग्रहित सामग्रीमा खासै क्षति त पुर्याएन तर भवन पूर्णरूपमा ध्वस्त गरिदियो । भूकम्पले भग्नावशेषमा परिणत गरिदिएको संग्रहालय बनाउन कांग्रेसका कुनै पनि नेताले चासो देखाएनन्,” उनले गुनासो गरे ।
पटक पटक ताकेता गरेपछि पुरातत्व विभागले चार करोड ८८ लाख अनुमानित लागतमा बीपी संग्रहालय पुनर्निमाण गर्ने बताएको छ । एक सय तीनौं बीपी जयन्तीको अवसरमा शुक्रबार त्यसको शुभारम्भ गर्ने कार्यक्रम रहेको पोखरेल बताउँछन् ।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री तथा बीपी पुत्र शशांक कोइरालाले पुनर्निर्माणको शुभारम्भ गर्ने उनको भनाइ छ । तर त्यो कहिले सकिन्छ यसै भन्न सकिँदैन ।
० ० ०
संग्रहालयमा सात सालको क्रान्तिमा कांग्रेसका मुक्ति सेनाले प्रयोग गरेको तोप, बुलेट प्रुफ ट्याक्टरसमेत संरक्षित छन् । त्यस्तै बीपीले जेलजीवनका क्रममा प्रयोग गरेका सामग्री पनि त्यहाँ सुरक्षित राखिएका छन् ।
त्यसका अतिरिक्त २०३० सालमा कांग्रेसले अपहरण गरेको जहाजको भग्नावशेष पनि बीपी संग्रहालयमा पुर्याइएको छ ।
नेपाली आकाशमा ४० वर्षसम्म उडेको त्यो विमान जुम्ला उडानका क्रममा ४ फाुगन, ०७० मा अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनामा परेको थियो । कांग्रेसले अपहरण गरेको विमान भएकाले क्षतविक्षत अवस्थाको भए पनि संग्राहलयमा राखिनुपर्ने आवाज उठेपछि सुन्दरीजल पुर्याइएको थियो ।
विमानको स्वामित्व निगमको भए पनि बिमाको प्रावधानका कारण विमान उत्पादक म्याकलरेन्स कम्पनीलाई १ डलर तिरेर विमान संग्रहालयमा ल्याइएको हो । १ डलरमा विमान नपाइने भए पनि प्रक्रिया पुर्याउन न्यूनतम शुल्क तिरिएको पोखरेलले जानकारी दिए । विमान दुर्घटनापछि निगमको नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयको इन्जिनियरिङ कम्प्लेक्समा भण्डारण गरी राखिएको थियो ।
विमानसँगै कांग्रेसका संस्थापक नेता बीपी, गिरिजाबाबुसँगै सुशील कोइरालालगायतका नेता नेपालगन्ज जाँदा चढ्ने गरेको बा १ च ५०६७ नम्बरको जिप पनि संग्रहालयमा सार्वजनिक प्रदर्शनका लागि राखिएको छ । विमान र जिपलाई दुईवटा ट्रकमा राखेर १८ घन्टामा काठमाडौं ल्याइएको थियो । नेपाल वायुसेवा निगम, राष्ट्रिय बिमा कम्पनी लिमिटेड र संग्रहालयका बीचमा भएको त्रिपक्षीय सम्झौताबमोजिम विमान ल्याइएको हो ।
बीपी कोइरालाको नेतृत्वमा गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, मनोहरि बराल, विनोद अर्याल, मदन अर्यालको संलग्नतामा वसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुंगेलले विराटनगरबाट काठमाडौंका लागि उडेको विमान अपहरण गरी भारतको फारविसगञ्जस्थित घाँसे मैदानमा अवतरण गराई ३० लाख भारतीय रुपैयाँ कब्जा गरिएको थियो ।
टुक्रा–टुक्रा टिपेर ल्याइएको डीएचसीसी ६३०० ट्वीनअटर नाइन एन–एबीबी एमएसएन ३०२ जहाजलाई सग्लो बनाउन निकै गाह्रो छ । बीपी संग्रहालयमा राख्ने भने पनि जहाजलाई जोड्न सरकारले सहयोग नगरेको पोखरेलको भनाइ छ । “पुरातत्व विभागको माग बमोजिम ६७ लाख दिने अर्थमन्त्रालयले गरेको आदेश पनि कार्यान्वयन भएन,” उनले भने, “संस्कृति मन्त्रालयले बीपी संग्रहालयको नाममा छुट्टयाएको ४७ लाख मध्येबाट जहाजको मर्मत सुरु गरेका छौँ ।”
० ० ०
०६१ भाद्र २४ गतेदेखि सञ्चालनमा ल्याइएको संग्रहालयमा पछिल्लो समय विद्यार्थीहरूको आकर्षण बढेको छ । बुधबार पनि काठमाडौं मोडल कलेजका तीन बस विद्यार्थीहरू संग्रहालय अवलोकन गर्न पुगेका थिए । तर, ती विद्यार्थीहरूले बीपीले प्रयोग गरेका सामग्रीहरूको अवलोकन गर्न पाएनन् । संग्रहित सामग्री एउटा कुनामा थन्क्याइएका छन् । भूकम्पपश्चात दुई वटा वर्षा र घामपानी झेलेका पुरातात्विक महत्त्वका तस्बिरहरू नष्ट हुने प्रक्रियामा छन् । लामो समय सुरक्षित रहनुपर्ने सामग्री रकम अभावमा संरक्षण गर्न नसकिएको संग्रहालयका अध्यक्ष पोखरेल बताउँछन् । उनी भन्छन्, “हामीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सामग्रीको संरक्षणका लागि टहरो भएपनि बनाइदेऊ भन्यौ तर मन्त्रालयले चासै देखाएन ।”
संग्रहालयका सामग्रीहरू छिट्टै संरक्षण नगर्ने हो भने ती बिग्रिएर नष्ट हुने निश्चित छ । तर, तिनलाई संरक्षण गर्न संग्रहालयको आफ्नै स्रोत छैन ।
“सरकारसँग पटक–पटक अनुरोध नगरेका होइनौँ, सरकारले यस विषयमा चासो नै देखाएन,” पोखरेलले प्रष्ट्याए ।
नेपालको राजनीतिको शिखर व्यक्तित्व बीपी लगायत राजबन्दीहरूले बन्दी जीवन व्यतीत गरेको स्थल र उनीहरूले प्रयोग गरेका सामग्री संरक्षित गरे मात्र भावि पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ । इतिहास पुर्खाको नासो पनि हो, यसको सबैले संरक्षण र सम्वद्र्धन गर्नुपर्दछ । त्यसका लागि कांग्रेस पार्टी र सरकारले ध्यान पुर्याउनु पर्ने पोखरेल बताउँछन् ।
“आर्थिक वर्ष २०७० देखि ७३ सम्ममा सरकारले संग्रहालय सञ्चालनका लागि जम्मा दस लाख दिएको छ, त्यति रकमले छेऊ पनि पुग्दैन । सरकारले झड्केलो सन्तानसरह व्यवहार गर्नु भएन । बीपी सबैका महान् नेता हुन्,” पोखरेलले अन्तिममा भने ।
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७३ १७:१२
प्रतिक्रिया दिनुहोस्