काठमाडौं । घडीको सुई सँधै एउटै रेखामा र एउटै गतीमा घुम्छ । न त्यो सुईलाई कहिले हतारो हुन्छ न कहिले फुर्सद नै । तर, त्यही घडीको त्यही सुई हेर्ने मान्छे भने त्यही सुई हेरेर सँधै हतारिरहन्छ । सायद मान्छेको त्यही प्रवृत्तिले पनि होला उसले नयाँ नयाँ आविश्कार र प्रगती गर्दै गएको ।
तर यो समाजमा केही यस्ता क्षेत्र पनि छन् जसले घडीको सुईले आफ्नो गतीमा परिवर्तन नगरेजस्तै आफ्नो क्षेत्रलाई पनि परिवर्तन गर्न सेकेको छैन । त्यो हो–रङगमञ्च । रङगमञ्च हिजो पनि उस्तै थियो र आज पनि उस्तै छ ।
चलचित्रले लामो फड्को मारिसक्यो तर रङमञ्च जहाँको त्यहीँ छ । चलचित्रले नयाँ नयाँ प्रविधि आत्मसात गरिसक्यो तर रङमञ्च पुरानै ढर्रामा छ । उस्तै अध्याँरो र सानो कोठा । जाडोमा ठिही र गर्मीमा पसिना चुहाँउदै नाटक हेर्नुपर्ने बाध्यतामै छन्, दर्शक ।
करिव एक वर्ष अगाडि एक जना पत्रकारले ट्विट गरे, “नाटक त हेर्न मन लाग्छ, तर यो गर्मीमा पसिना चुहाएर एक घण्टा विताउन सक्तिन । सम्झिदिनु भएकोमा धन्यवाद ।”
शहरमा आलिशान सिनेमा घर बनिसके । सिट छानेर बस्न पाइने भयो । पैसा अनुसारको सुविधा पाइन थाल्यो । खान मन लागे पनि पाइने । मन नलागे बीचैमा निष्किएर हिँड्न पाइने । तर, नाटक हेर्दा पानी पनि खान नपाइने । मोबाइलको स्वीच पनि अफ गर्नुपर्ने । साराशंमा भन्दा फौजी कानुनसरह ।
किन ?
नेपाली रङगमञ्चका पिता भने पनि हुने सबैका आदर्श सुनील पोखरेल प्राय सबैलाई भन्छन्, “गाउँमा दुई घण्टा उकालो चढेर चौतारामा पुगेर नाटक हेर्दाको मजा अहिलेका सिनेमा घरमा रंगीन सिनेमा हेर्दा पनि आउँदैन ।
त्यसोभए गाडी दुर्घटना हुन्छ भनेर गाडी नै नचढ्ने ?
समय परिर्तनशील छ । परिवर्तित समयमा आफूले आँफैलाई ‘अप्डेट’ गर्नसक्नुपर्छ । जो यो सूत्रलाई नजरअन्दाज गर्छ ऊ निसन्देह छोडिन्छ । तर समयको वहावसँगै हिन्ड्नुपर्नेमा उनको पनि दुइमत छैन । नाटकमा निर्माता खोजेर प्रचार गर्न नसक्नु पनि नाटकघर अपडेट हुन नसक्नुको कारण रहेको उनी बताउँछन् ।
“अहिले फाट्ट फुट्ट निर्माता राखेर नाटक आउन थालेका छन् । यदी निर्माता खोज्ने हो भने पाइन्छ होला तर त्यो स्किल हामी रङगकर्मीसँग नहुन सक्छ,” पोखरेल भन्छन्, “अहिले हाम्रा हल साना छन् । त्यसमै माइक विना नाटक गर्ने रङ्गकर्मीमा पनि बानी परिसकेको छ । यीनै हलमा ठूलो लगानी गर्दा निर्माताको लगानी पनि उठ्दैन कि भन्ने जाखिम पनि छ । यसका लागि नयाँ हल नै बनाउनुपर्छ ।”
पोखरेल नेपाली रङमञ्चको जिउँदो इतिहास हुन् । विगत र वर्तमान मजाले केलाउने उनी पछिल्लो समय दर्शक घट्दै गएको बताउँछन् । “म सकेसम्म कुनै पनि नाटक छुटाउँदिन । पछिल्लो समय नाटकमा दर्शक घट्दै गएको देखेको छु । यसको कारण नाटक नै कमसल भए भन्ने मेरो अनुमान हो ।” कमशल नाटक किन बने ? यसको पनि प्रश्न पनि सुनिलसँग छ । उनी भन्छन्, “नाटक घर खुलिरहेका छन् । ती नाटक घर टिकाउन चाँडोचाँडो नाटक गर्नुपर्ने बाध्यता छ, जसले गर्दा पर्याप्त मेहनत गर्न रङकर्मीहरुलाई समय छैन ।”
एसीजडित आलिसान थिएटर बनाउन सकिने तर त्यसमा सम्झौता भने गर्न नसकिने रङ्गकर्मी राजन खतिवडा बताउँछन् । चोखो मनले कोही सहयोग गर्न तयार भए सहयोग लिन सकिने तर नियतबस गरिने सहयोग आफूहरु लिन नसक्ने उनी स्पष्ट पार्छन् । “केही हाम्रो पनि कमजोरी होला, केही दोस्रो पक्षको पनि कमजोरी होला,” राजन भन्छन्, “अघिल्लो हप्ता रिलिज भएको एउटा फिल्मको पोस्टरमा आधीभन्दा धेरै स्पेश रक्सिको विज्ञापन छ । हामी तयस्तो सम्झौता गर्न सक्तैनौं ।”
रङ्कर्मीहरू केही आदर्श भएकाले पनि चलचित्रमा जस्तो लगानीकर्ता भित्रिन नसकेको स्वीकार्न राजन हिचकिचाउँदैनन् । “हामी केही आदर्श पनि भयौं होला । हामी पार्टीमा भएर कर्पोरेट हाउससँग सम्बन्ध स्थापित गर्न नसक्नु हाम्रो कमजोरी पनि होला,” उनी भन्छन्, “यही यसरी प्रोडुसर खोज्दै हिँड्ने हो भने धेरै दर्शसामु पुग्न सकिन्थ्यो होला ।”
पछिल्ला केही वर्षयता एकाध नाटकमा प्रोडुसरको नाम देखिन थालेको छ । नाटकमा लगानी गर्ने केही इच्छुक भेटिन थालेका छन् । “नाटकमा लगानीहरुको विगत के थियो ? केही स्वार्थ बोकेर पो आएका थिए कि त्यो प्रश्न भने गम्भीर हो,” राजन भन्छन्, “केहीले नाटकबाट उठेरको पैसा अधिकांश लिएर हिन्ड्ने र बाँकी बचेको रकम कलाकारले बाँड्नुस परेको पनि यर्थाथ हो ।”
नाटकघर किन सँधै अव्यवस्थित ?
नाटक घर कस्तो र सिट आरामदायी छन् कि छैनन् भन्दा पनि नाटक कस्तो छ र त्यसको गुणस्तर कत्तिको छ भन्ने कुराले बढी अर्थ राख्ने राजनको तर्क छ । “कुनै नाटकले दर्शक बस्ने सिटरहेको क्षेत्रपनि प्रहशनका लागि माग गर्नसक्ट त्योबेला क्युएफएक्सका जस्ता सिट भएकोखण्डमा निकाल्न गाह्रो हुन्छ, त्यसैले पनि अहिलेका नाटक घरका सिट नै ठीक हुन्छन् जस्तो लाग्छ,” राजन भन्छन्, “अहिले नाटक हेर्ने दर्शक सिटमाभन्दा पनि नाटकको गुणस्तरमा कमेन्ट गरिरहेका छन् । आदर्श मान्ने देशका नाटकरघरकामा दर्शकले सिटमा बसेर पनि नाटक हेरेको हामीले पाएका छौं ।”
नाटकघरका सन्दर्भका सुनील र राजन एकै ठाउँ उभिन्छन् । नाटकघरबारे भलीभाँती जानकारी पाइसेका दर्शक नाटकघरबारे कम्प्रमाइज गर्न तयार भएरै आउने गरेको उनीहरु बताउँछन् । सुनीलसँगै राजनको पनि अनुभव गरेका छन्, नाटकको गुणस्तर पछिल्ला दिनमा ओरालोलाग्दै गएको छ । ‘स्टेरियोटाइप’ नाटक देखिन थालेको छ ।
नाटककार चन्द्रप्रसाद पोण्डेको विचार भने अलि फरक छ । समयसँगै चल्न नसके नाटकबीचमै छोडिने उनी विचार राख्छन् । लगानीकर्ता खोजेर नाटकलाई अझै व्यवासायिक र व्यवस्थित गर्नु पर्ने उनको धारणा छ । सर्वनाम थिएटरमा मञ्चन भैरहेको नाटक ‘जिउँदो आकाश’ का लेखकसमेत रहेका पाण्डे भन्छन्, “प्रोडक्सनका लागि लगानीकर्ता खोजेर अझ चलचित्र जस्तै ‘पब्लिसिटी’ गर्ने हो भने दर्शक पनि थपिने थिए । काठमाडौंको एक प्रतिशत जनसंख्याले मात्रै पनि नाटक हेर्ने हो भने रङ्गकर्मलाई नै पेशा बनाउन पनि सकिन्छ ।”
तस्बिर स्रोतः साझापोष्ट डटकम