site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुरानो कथामा नयाँ रङ
SkywellSkywell

नेपालमा बर्सेनि सयभन्दा धेरै चलचित्र प्रदर्शनमा आउन थालिसकेका छन् । तर, नाफाका दृष्टिले भने कमैमात्रै चलचित्र सफल हुने गरेका छन् । बक्स अफिस छैन । वितरक तथा निर्माताले भनेकै भरमा चलचित्रको व्यापारलाई पत्याउनुपर्ने हुन्छ । वितरकहरुले जस्तो दाबी गरे पनि औसत वार्षिक ५ प्रतिशतमात्रै चलचित्रले राम्रो व्यापार गर्दै आएका छन् ।

७–१० प्रतिशत चलचित्रले लगानी उठाउँछन्, बाँकी चलचित्र घाटामा जाने गरेको जानकारहरु बताउँछन् । चलचित्र प्रदर्शनको बेला दुई दिनमा आफ्नो चलचित्रले करोड व्यापार गर्यो भन्ने निर्माताहरु नै ६ महिनापछि रक्सी भट्टीमा पोस्टरको पनि पैसा उठेन भन्छन् । यसले नेपाली चलचित्रको व्यापार तथा ‘मिडियामा प्रचारबाजी’ लाई स्पष्ट संकेत गर्छ । हुन त बक्स अफिसमा सफल चलचित्र राम्रो र असफल चलचित्र ‘झुर’ भन्ने होइन । हलबाट दुई दिनमै उत्रिएका चलचित्र पनि मेकिङ, विषय र प्रस्तुतिका हिसाबले अब्बल हुन सक्छन् । र, भएका पनि छन् । 

यो वर्षको फागुन दोस्रो सातासम्म आइपुग्दा पनि कलिउड विगतका वर्षभन्दा खासै फरक रहेन चलचित्र प्रदर्शन र दर्शकको साथका हिसाबले । एकाध चलचित्र रुचाइए पनि धेरै चलचित्रलाई दर्शकले मन पराएनन् । अहिले दुईटा चलचित्र हलमा प्रदर्शन भैरहेका छन् । एउटा आकाश अधिकारीको ‘कान्छी’ र अर्को घनश्याम लामिछानेको ‘पञ्चेबाजा’ । 
‘कान्छी’ नयाँ र पुरानो सिनेमाको धारमा रहेर निर्माण गरिएको भन्दै औसत प्रतिक्रिया पायो । ‘पञ्चेबाजा’ औसत नेपालको औसत नेपालीको कथा हो । गाउँ तथा सहरमा घटिरहेका घटनाको चित्रण हो । घर समाजमा सुकिलो छवि बनाएको तर भित्री रुप कुरुप व्यक्तिको कथा हो ‘पञ्चेबाजा’ । 

KFC Island Ad
NIC Asia

आफ्नै बाल्यकालीन साथीकी श्रीमती मन परेपछि उसकै पछि लाग्ने व्यक्ति र शारीरिक सुखका लागि पछि लाग्दा उसले गर्ने कुकर्म र त्यसको परिणामलाई ‘पञ्चेबाजा’ ले भन्न खोजेको छ । यसर्थ नेपाली समाजसँगै नेपाली चलचित्र र चलचित्रका दर्शकका लागि यो कथा नौलो होइन । पुरानै कथामार्फत् निर्देशक लामिछानेले आफूलाई दर्शकमाझ प्रमाणित गर्न खोजेका छन् । 
सहयोगी भावना बोकेर राष्ट्रियस्तरमा चिनिएको व्यक्तिमा पलाएको यौन कुण्ठा नै कसरी घातक हुन्छ भन्ने सिलसिलामा चलचित्र अगाडि बढ्छ । भूपी (सौगात मल्ल) र रुद्र (कर्मा शाक्य) साथी हुन्छन् । आर्थिक रुपमा पिल्सिएको कर्मालाई आर्थिक सहयोग गरेर गुन लगाएको भूपी पहिलो नजरमै रुद्रकी श्रीमतीलाई मन पराउँछ । यति कथा भनिसकेपछि नेपाली चलचित्रको पुरानो ढर्राअनुसार रुद्रलाई विदेश पठाउन भूपीले अनेक तिकडम अपनाउँछ र आफ्नो उद्देश्य पूरा गरेरै छाड्छ । अन्त्यमा यो कुरा रुद्रले थाहा पाउँछ र उसले भूपीसँग बदला लिन्छ अनि चलचित्र सकिन्छ । यो चलचित्रमा पनि कथा कस्तो छ, त्यो त चलचित्र नै हेर्नुपर्छ तर निर्देशक लामिछाने यहीँ चुकेका छन् । रंगमञ्चको कथा भन्ने प्रयत्न गरेका उनी रंगमञ्चकै शैलीमा कथा भन्छन्, जसका कारण दर्शकले उनले भन्न खोजेको कथा चलचित्र सुरु भएको केही समयमै थाहा पाइसक्छन् ।

समानान्तर भूमिकामा देखिने भूपी र रुद्रको द्वन्द्व कसरी अगाडि बढ्छ भन्ने दर्शकले चलचित्रको पहिलो हाफको मध्यान्तरतिरै थाहा पाइसकेपछि चलचित्रमा कौतूहल बाँकी रहँदैन । अन्तिममा सिनको ‘सस्पेन्स’ जसरी क्रिएट गर्न निर्देशक सफल भएका छन्, त्यसरी नै ‘होल स्टोरी’ लाई ‘सस्पेन्स’ राख्न निर्देशक सफल भएका भए उनले आफ्नो चलचित्रलाई अब्बल प्रमाणित गर्न सक्थे । यद्यपि उनले निर्देशनमा सम्भावना भने राम्रो देखाएका छन् । उत्कृष्ट स्क्रिप्टमा उनले न्याय गर्न सक्ने सम्भावना भने ‘पञ्चेबाजा’ बाट देखाएका छन् । 

Royal Enfield Island Ad

चलचित्र ‘कृ’ को कथाबाट ठूलो आलोचना खेपेका प्रदीप भारद्वाजले यो चलचित्रबाट आफूलाई लयमा फर्काउन सकेनन् । यद्यपि उनले पनि पुरानो कथालाई नयाँ शैलीमा भन्ने प्रयत्न भने गरेका छन् । 

सुरुदेखि नै भूपीले शंका गर्ने कुराहरु धेरै गरे पनि बालसखा रुद्र त्यसबाट सधंै अनविज्ञ रहनु, एक हप्ताको समय पनि पर्याप्त भएको बताउने भूपी १० महिनासम्म पनि आफ्नो उद्देश्यको छेउसम्म पनि नपुग्नु, बाँसको छाप्रो बनाउन करिब एक वर्ष लाग्नु, खुकुरीले नाडी काटेको भूपीले आफैं सहजै बाइक चलाउनु जस्ता केही दृश्य दर्शकका लागि विश्वास योग्य नहुन पनि सक्छन् । विवाहको लामो सिनमा कैंची चलाउन दीर्घ खड्काले अल्छी गरेका छन् । 

यद्यपि चलचित्रमा राम्रा पक्ष पनि छन् । गाउँको सुन्दर दृश्य हरि घले लामाले कलात्मक रुपमा कैद गरेका छन् । अक्सर लाउड सुनिने सौगात मल्ल ‘पञ्चेबाजा’ मा त्यस्तो प्रतीत हुँदैनन् । कर्मा शाक्य, बुद्धि तामाङ, सिर्जना सुब्बाको अभिनय अब्बल छ । कोरियोग्राफी दर्शकले तारिफ गर्नेखालको छ । कर्माको ‘अपोजिट’मा रहेकी जस्मिन श्रेष्ठ भने औसतभन्दा माथि उठ्न सकेकी छैनन् । 

पुरानै कथालाई नयाँ रंग दिन सकिन्छ भनेर भन्न खोजिएको र निर्देशक लामिछानेले आफ्नो सम्भावना देखाएको चलचित्र हो ‘पञ्जेबाजा’ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०७४  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro