site stats
बाह्रखरी :: Baahrakhari
कला
बोस्टनको उही हलमा सात वर्षपछि नेपथ्य

बोस्टन (म्यासाचुसेट्स) । कन्सर्ट चल्दाचल्दै एक दर्शकले राष्ट्रिय झन्डा मञ्चमा हुत्याइदिए । गाउँदागाउँदैका अमृत गुरुङले त्यसलाई माथि उठाएर हेरे । त्यस झन्डामा केही कोरिएको देखिन्थ्यो ।

"यो रातो र चन्द्रसूर्यलाई जहिले पनि सम्मानले व्यवहार गरौँ," त्यस झन्डालाई काँधमा ओढ्दै अमृतले भने, "हाम्रो झन्डामा कसैले पनि दाग लगाउन नपाओस् ।"

यति भन्नासाथ पूरै हल दर्शकको ताली र कोलाहलले गुन्जियो । उता अमृत भने फेरि पूर्ववत् गाउन सुरु गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सात वर्षपछि बोस्टनको उही हल ‘रोयल बोस्टन’ मा उपस्थित हुँदा नेपथ्यका दर्शकका निम्ति धेरै कुरा बदलिइसकेको थियो । स्वयं मुख्य प्रस्तोता अमृतका बाँधिएका कपाल पनि सेताम्य देखिन थालिसकेका थिए ।

"तर नेपथ्य झन्‌पछि झन् ऊर्जाशील बन्दै गएको छ," दर्शक गौरव थपलिया भनिरहेका थिए, "हल भित्रको माहोलले पहिलेभन्दा अझ बढी तरंगित बनाएको महसुस भयो ।"

हेटौँडाबाट १७ वर्षअघि बोस्टन आएका थपलिया कन्सर्टमा सपत्नी उपस्थित थिए ।

संयोगले अमेरिकामा नेपथ्य यतिखेर आफूलाई सातौँपटक प्रस्तुत गर्दैछ भने पोहोर सालजस्तै यसपाला पनि यो शृंखलाबद्ध यात्रामा सातवटा सहर अटाएका छन् ।

बोस्टनमा निर्धारित समयअनुसारै बेलुकीको ठिक ७ बजे ढोका खोलिएको थियो भने ठिक ८ बजे शो सुरु भएको थियो । त्यसलगत्तै मञ्चमा उपस्थित नेपथ्यका छ सदस्यले दुई घण्टासम्मै दर्शकलाई लोकरकको स्वादमा डुबाइरहे ।
कन्सर्टमा सधैँजस्तै गायक अमृतले नेपाल र नेपालीपनसँग दर्शकलाई जोड्न भरमग्दुर प्रयत्न गरिरहे ।  उनले सामाजिक जागरण र मानवताका भावनामा पनि उत्तिकै जोड दिएका थिए ।

भर्खरका उमेरदेखि तरुनातरुनी हुँदै विदेशी साथीहरूलाई लिएर आएका दर्शकको रंगीबिरंगी भीडमा परिपक्व उमेरका नेपाली पनि उत्तिकै थिए । हलमा ८० वर्षीया नन्दकुमारी धिताल पनि रमाइरहेकी देखिन्थिन् । उनी थिइन् धुलिखेलबाट बोस्टन आई रेस्टरेन्ट व्यवसाय चलाइरहेका राम धितालकी आमा ।

02-Nepathya-performing-Rato-ra-Chandra-Surya-in-Boston.-Photo---Monsoon-Shrestha---nepalaya-1749818157.jpg
 

"यो कन्सर्ट सबैका लागि रमाइलो हुन्छ भन्ने सुनेर आमालाई पनि लिएर आएको हुँ," पहिलोपटक नेपथ्य कन्सर्ट हेर्दै गरेका राम भन्दै थिए, "यहाँ परिवारका सबै एकसाथ रमाउन पाइयो ।"

‘कोशीको पानी’ बाट सुरु भएको कन्सर्ट ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलैले’ हुँदै अघि बढेको थियो। कन्सर्टमा ब्यान्डका लोकप्रिय गीतहरू ‘रेश्शम्’ र ‘तालको पानी’ प्रस्तुत गरिँदा दर्शक असाध्यै उत्साहित देखिन्थे ।

‘शिरफूल शिरैमा’ गाउँदै गर्दा अमृतले नेपालका गाउँबस्तीको सुन्दरता बयान गरेका थिए भने कर्णाली भेगको नयाँ गीत ‘कर्नालीका छाइला’ पनि गाएर सुनाएका थिए । अन्तिममा अमृतले राष्ट्रिय भावनाका गीतहरू ‘गाउँ–गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ सुनाएर दर्शकसँग बिदा लिए ।

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्