site stats
बाह्रखरी :: Baahrakhari
कला
एक्लै काफी सन्तोष

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सन्तोष सेन त्यस्ता पात्र हुन्, जो तिललाई पहाड बनाउने क्षमता राख्छन् । सानो कुरालाई ठूलो बनाउन सक्छन् । र, आमदशर्कमाझ पुर्‍याउन सक्छन् ।

अक्सर नेपाली चलचित्र कहिले रिलिज भए र उत्रिए भन्ने थाहै हुँदैन । यो समस्याबाट ठूलो ब्यानरका एकाध निर्देशक र निर्माताबाहेकका अधिकांश मेकर गुज्रिरहेका छन् ।

कुन चलचित्र कहिले प्रदर्शनमा आउँदै छन् भन्ने दर्शकमाझ पुर्‍याउनै मेकरलाई सकस भइरहेको छ । पब्लिसिटीको जिम्मा लिने व्यावसायिक व्यक्ति र संस्था छैनन् । त्यसको असर मेकरले भोगिरहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राम्रो चलचित्र बनेको अवस्थामा पनि प्रचारको अभावले छायामा पर्ने गरेको छ । तर, यो समस्याबाट सन्तोष सधैँ मुक्त छन् । चलचित्रको प्रचार गर्ने उनको आफ्नै तौरतरिका छ । यसले उनको सिनेमा हम्मेसि छायामा पर्दैन ।

सिनेमा निर्माणको घोषणादेखि नै उनी आक्रामक प्रचार गर्छन् । सिनेमाको कन्टेन के हो त्यसको थोरै जानकारी दिएर सस्पेन्स क्रिएट गर्छन् । फलतः उनको सिनेमा वर्षकै प्रतीक्षितमध्येको एक बन्छ ।

बेपरवाह उनी आफूलाई मनमा लागेको कुरा ढुक्कले बोल्छन् । कसले के भन्छन् उनी त्यसमा ख्याल गर्दैनन् । लागेको कुरा खुलेर गर्छन् । भोलि त्यसको असर के पर्छ, उनी मतलबै गर्दैनन् ।

सन्तोषलाई आफ्नो सिनेमाको ब्रान्डिङ गर्न अरू कोही चाहिँदैन । मात्र सामाजिक सञ्जाल भए पुग्छ । सामाजिक सञ्जालमार्फत नै आफ्नो चलचित्रबारेको जानकारी आमदर्शकमा पुर्‍याउँछन् ।

आफ्नो सिनेमाको विषयवस्तुबारे जानकारी दिएपछि उनी त्यसलाई ब्रान्डिङ गर्नतर्फ लाग्छन् । चलचित्र ‘बलिदान’को प्रचार गर्दा उनले यसलाई देशभक्त र सार्वभौमिकताका रूपमा अघि सारे । देशको रक्षाका लागि बलिदान दिन तयार हुनुपर्ने भावनाबारे कुरा गरे ।

त्यसपछि उनी सुरु गर्छन्, कलाकार । को हो सिनेमाको कलाकार ? प्रायः नेपाली चलचित्र उद्योगमा एकैपटक सम्पूर्ण कलाकारको नाम सार्वजनिक गर्ने चलन थियो । उनले एकएक गरेर चलचित्रका कलाकारको नाम सार्वजनिक गरे, जसले सिनेमाको पब्लिसिटीलाई सहयोग गर्‍यो/गर्छ । 

जसै अनुबन्ध भएका कलाकारको नाम उनी पालैपालो सार्वजनिक गर्छन्, त्यसपछि सुरु हुन्छ, कलाकारको ब्रान्डिङ । कलाकारलाई यसरी उनी ब्रान्डिङ गर्छन् – लाग्छ, उनी नै यो इन्डस्ट्रीको सर्वेसर्वा हुन् । सबैभन्दा अब्बल कलाकार हुन् । 

यसै गर्दै छन्, अहिले सन्तोष । सन्तोषसँग अहिले चलचित्र ‘बलिदान’ छ । ‘बलिदान’ दसैँको फूलपातीमा रिलिज हुँदै छ । सन्तोष आफ्नो सिनेमा रिलिज हुने दिनलाई नोटिस गराउन कुनै कसर बाँकी राख्दैनन् । उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘फूलपाती कालीमाताले रोजेको दिन हो । कुटिलहरूको बलि चढ्ने दिन हो ।’

आफ्नो सिनेमाको विषयवस्तुसँग रिलिज डेटलाई जोड्दै उनले यसलाई ब्रान्डिङ गरिरहेका छन् । ‘बलिदान’ रिलिज गर्ने मितिबारे जानकारी दिइरहेका छन् । उनी अगाडि लेख्छन्, ‘रणभूमि चिथोर्न खोज्ने कुटिलको एक मात्र विकल्प ‘बलि’ । यो दसैँमा राक्षसको नाममा निर्दोष पशुको बलि हैन, स्वयं राक्षसको बलि चढाइनेछ । मैदानमा ती हातहरू जसजसले एउटा साहस गरे, आँट गरे ।’ 

सन्तोषको चलचित्र ‘बलिदान’को मुख्य भूमिकामा समीर भट्ट छन् । समीरलाई सन्तोषले ‘युगले मागेको हिरो, युगपुरुष’ भनेर ब्रान्डिङ गरिरहेका छन् ।

सन्तोषले त्यति बेलादेखि समीरलाई ‘युगेले मागेको हिरो, युगपुरुष’ भनेका हुन्, जति बेला समीरको पहिलो चलचित्र ‘१२ गाउँ’ रिलिज भएकै थिएन ।

समीरको जन्मदिनमा सन्तोषले उनलाई बर्थडे गिफ्ट नै दिए । त्यो उपहार थियो, बलिदानको प्रि–टिजर – जसमा समीर मात्र थिए । त्यो दिन उनले लेखेका थिए, ‘नेपाली सिनेमाजगत्मा समीरको प्रवेशले एक नयाँ युगको थालनी गर्नेछ । त्यसैले हामी उनलाई युगपुरुष भन्दै आएका छौँ । समीरमा कलाकारिता र अभिनयका सबै गुण र सीपले भरिएको छ । ‘बलिदान’ले ती सबै गुण र सीपलाई उजागर गरेको छ ।’

सायदै कोही मेकर होला, जसले व्यक्ति अथवा कलाकारको ब्रान्डिङ गर्छ । सबैले आफ्नो चलचित्रको ब्रान्डिङ गर्छन्, व्यक्तिको होइन । सन्तोष चलचित्रको त ब्रान्डिङ गर्छन् नै, आफ्नो सिनेमाका कलाकारको ब्रान्डिङ पनि खुलेरै गर्छन् ।

यसअघिको उनको चलचित्र ‘प्रेम गीत’मा पनि प्रदीप खड्काको गजब ब्रान्डिङ गरेका थिए । ‘प्रेम गीत–२’ रिलिज सफल भएपछि उनले करिब ५० लाख रुपैयाँ पर्ने कार प्रदीपलाई उपहार दिएका थिए । 

आफ्नो चलचित्रको ब्रान्डिङका निम्ति उनी कुनै कसर बाँकी राख्दैनन् । यसको उदाहरणका रूपमा ‘प्रेम गीत–३’ लाई लिए पुग्छ । ब्रान्डिङकै लागि उनले हिन्दी भाषामा सिनेमा डब गरे । भारतका हलमा हिन्दीमा ‘प्रेम गीत–३’ चलाए ।

बलिउडका ठूला कलाकार र ब्यानरका सिनेमाको होर्डिङ बोर्ड राखिने ठाउँमा पहिलोपटक उनले नेपाली चलचित्रको होर्डिङ बोर्ड लगाए ।  भारतका नाम चलेका समीक्षकलाई बोलाएर सिनेमा देखाए । त्यहाँका चलेका ट्रेड एनलाइसिस्टलाई सिनेमाको कन्टेन सार्वजनिक गर्न लगाए ।

आफ्नो चलचित्र र कलाकारको ब्रान्डिङका लागि उनी केही कसर बाँकी राख्दैनन् । साम, दाम, दण्ड, भेद सबै अपनाउँछन् । यसका निम्ति उनलाई कोही चाहिँदैन । एक्लै दौडिन्छन् । भिड्छन् ।

हो, उनी भिड्छन् । समीरले अभिनय गरेको चलचित्र ‘१२ गाउँ’ रिलिज भइरहेको समयमा त्यो टिमलाई सँगै प्रदर्शित ‘छक्का पञ्जा–५’ माथि साइबर सेना लगाएको आरोप लाग्यो ।

कारण, ‘छक्का पञ्जा–५’ का कन्टेनमा प्रवेश गरेर ‘१२ गाउँ’का समर्थक र शुभेच्छुकले गाली गरिरहेका हुन्थे । ‘बहिष्कार गरौँ’ भनिरहेका हुन्थे । सन्तोषले त्यसको आरोप खेपे । उनले साइबर सेना परिचालन गरेको आरोप लगाइयो ।

आरोपको खण्डन गर्न सन्तोष एक्लै फेसबुक लाइभमा आए । अनि, उनले नामै किटेर दीपकराज गिरीसँग प्रमाण मागे । आक्रोशित भएका उनले दीपकराजले नेपाली चलचित्र उद्योगमा केही पनि योगदान नगरेको आरोप लगाए । 

आरोप ‘१२ गाउँ’सँग पनि जोडिएको थियो । तर, नेपालमा लगातार ब्लकबस्टर सिनेमा दिइरहेका दीपकराजसँग उनी एक्लै भिडे । चुनौती नै दिए । उनको योगदानमाथि प्रश्नचिह्न खडा गरे । सन्तोष एक्लै जुध्छन्, चाहे सिनेमाको प्रचार र ब्रान्डिङमा होस्, उनलाई कसैको साथ चाहिँदैन ।

केही दिनअगाडि सन्तोषले चलचित्र ‘बलिदान’का मुख्य कलाकारमध्येका एक सौगात मल्लको फर्स्ट लुक्स भन्दै पोस्टर सार्वजनिक गरे । पोस्टर सार्वजनिक गर्दै सौगातबारे उनले लेखे, ‘सौगात अभिनय मात्रै गर्दैनन्, उनी पात्रमा जिउँछन् ।’

‘सौगात मल्ल ‘रुद्रा’का रूपमा । छायाभित्र अर्कै अनुहार लुकेको छ । शब्दहरूभन्दा गहिरो मौनतामा छ सत्य । उहाँ हो रुद्रा, नायक हो कि मोहरा ? यो प्रश्नको उत्तर उसकै आँखामा लुकेको छ । तर, जसले यो आँखा बोलेको देखेको छ,’ सौगातबारे सन्तोष लेख्छन्, ‘सौगात मल्लले केवल अभिनय गर्दैनन्, पात्रमा जिउँछन् । उहाँको स्पर्शले स्क्रिप्टमा रगत बग्छ र पर्दामा चरित्रले सास फेर्छ ।’

‘बलिदान’मा सौगातले बोकेको चरित्र उनको अभिनय यात्राको सबैभन्दा गहिरो, रहस्यमय र जीवन्त पीडा र प्रतिकारको रूप भएको उनले दाबी गरेका छन् । उनी अगाडि लेख्छन्, ‘रुद्रा आउँदै छ, कथा खुल्दै छ । तर, बिस्तारै ।’ यो सिनेमामा सौगात ‘रुद्रा’को भूमिकामा देखिँदै छन् । सन्तोषको यो आफ्नो चलचित्र र कलाकारको ब्रान्डिङ गर्ने तौरतरिका हो ।

सबैलाई थाहा छ, सौगातको काम गर्ने तरिका र चरित्रमा उनले गर्ने मिहिनेत । त्यसैले त उनलाई आफ्नो चलचित्रमा लिन धेरै मेकर लालायित हुन्छन् । महिनौँ कुरेर भए पनि उनलाई आफ्नो चलचित्रमा लिन्छन् ।

तर, कसैले लेख्दैन उनको अभिनय शिल्पमा यस्ता शब्द र गर्दैन यति धेरै प्रशंसा । आजसम्म कुनै मेकरले लेखे सौगात मल्लले केवल अभिनय गर्दैनन्, पात्रमा जिउँछन्, उहाँको स्पर्शले स्क्रिप्टमा रगत बग्छ र पर्दामा चरित्रले सास फेर्छ ? छैन । कसैले भनेको छैन । कसैले सोध्यो भने ‘उहाँ कुशल अभिनेता’ हो भन्नु छुट्टै कुरा हो । तर, उनलाई यसरी ब्रान्डिङ कसैले गरेको छैन ।

नेपाली चलचित्र उद्योगमा पब्लिसिटीको अभाव छ । त्यसको महसुस गरेका सन्तोष आफैँ सिनेमाको ब्रान्डिङमा लाग्छन् । र, आफ्नो चलचित्रलाई प्रतीक्षित बनाउँछन् । लोभलाग्दो हाइप बनाएर सिनेमा चलाउँछन् ।

यो समाचार सामग्री तयार पारिरहँदा सन्तोषले भारतको चेन्नईबाट एउटा भिडियो र फोटो पोस्ट गरे, साथमा थियो यो स्टाटस । ‘न रात न दिन’ अर्थात्, पोस्टको कामका लागि अहिले चेन्नई पुगेका छन् । र, भारतका नामी पोस्टप्रोडक्सन पाविधिकहरूसँग काम गरिरहेका छन् । 

सन्तोष अगाडि थप्छन्– ‘बलिदान के हो ? यो प्रश्नको उत्तर देशी–विदेशी बलिदानी हातहरूको आँखामा लुकेको छ । जसले रगत र पसिना बगाएकाहरूको आँखा बोलेको देख्न सक्छ, त्यसले जान्दछ– फूलपातीमा काली माताले बलिदानको लागि रोजेको दिन हो । यो धर्तीका कुटिलहरूको बलि चढ्ने दिन हो ।

यो नै सन्तोषको आफ्नो सिनेमाको प्रचार गर्ने शैली हो । सिनेमाप्रति कौतुहल जगाउँदै हाइपलाई पहाड चढाउने काइदा हो ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  ०७:४६
प्रतिक्रिया दिनुहोस्