
काठमाडौं । अमेरिकाले ठूलो संख्यामा नेपालीलाई एकसाथ डिपोर्ट गरेको छ । डिपोर्ट गरिएकाहरू आज आइतबार अपराह्न ४ बजेतिर काठमाडौं आइपुग्दै छन् ।
“काठमाडौंस्थित अमेरिकी दूतावासले एकसाथ ठूलो संख्यामा अमेरिकाबाट डिपोर्ट गरिएका नेपाली आज काठमाडौं आइपुग्ने र उनीहरूलाई बुझ्नको लागि आवश्यक तयारी गर्नेबारे सूचना हामीलाई दिइएको छ,” अध्यागमन विभाग स्रोतले बाह्रखरीसँग भन्यो ।
अमेरिकाले ठूलो संख्यामा डिपोर्ट गरिएका नेपाली आइतबार आइपुग्ने बताए पनि संख्या भने ठ्याक्कै यति नै भनेर नतोकेको स्रोतले जनायो । तर यो संख्या ५० जनाको हाराहारीमा हुने स्रोतको दाबी छ ।
“संख्या यति नै भनी नतोके पनि अहिलेसम्मकै एकसाथ सबैभन्दा ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेर पठाउँदै गरेको बुझिएको छ,” अध्यागमन विभाग स्रोतले भन्यो, “संख्या थपघट हुन सक्छ भन्ने भनाई अमेरिकी दूतावासको छ ।”
अध्यागमन विभागका अनुसार डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि हालसम्म अमेरिकाले १४० जना नेपाली डिपोर्ट गरिसकेको छ । उनीहरू सबै नेपाल आइसकेका छन् ।
ट्रम्पले सन् २०२५ जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका थिए । सन् २०२५ जनवरी २० देखि जुन ४ सम्मको अवधिमा अमेरिकाले १४० जना नेपालीलाई डिपोर्ट गरेको हो । अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई डिपोर्ट गरिएको जनाइएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट भएका काठमाडौं आउनु केही दिनअघि त्यसबारे अध्यागमन विभागलाई जानकारी दिने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ ।
प्रायः अवैध बाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ । खासगरी उनीहरुलाई अमेरिका पठाउने (मानव तस्कर)का बारेमा उनीहरूसँग सूचना लिने काम प्रहरीले गर्छ ।
अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकामाथि अमेरिकाले लगाएको छ ।
ट्रम्पले राष्ट्रपति निर्वाचन अभियानकै क्रममा आप्रवासीमाथि कडाइ गर्ने घोषणा गरेका थिए । निर्वाचित भएपछि राष्ट्रपतिको शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्नेसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
त्यसपछि ट्रम्प प्रशासनले निष्कासित गर्ने १ हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवाशीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोवास गरेको आरोप लगाइएको थियो ।
सन् २०२४ मा अमेरिकाले ३५ जना नेपालीलाई डिपोर्ट गरेको थियो । जो बाइडेन राष्ट्रपति हुँदा एक वर्षको अवधिमा जति संख्यामा नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए ट्रम्प राष्ट्रपति भएपछि प्रत्येक महिना झन्डै त्यति नै संख्यामा नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् ।