
कोलाहल ओकलेर
बोतलभित्र जिन्दगी घुसार्दै मान्छेहरू
ह्वासह्वास्ती गन्हाउने सहरमा
कुकुर र बिरालाका अवाञ्छित कथाजस्तै
आफ्नो बैँसको आफैँ प्रशंसा गर्छन्
सडक सडकमा
सुन्दरी प्रतियोगिताको पर्चा टाँस्दै
एक हुल आधुनिक जमानाका किशोरकिशोरीहरू
आफ्नो विज्ञापन
नयाँ सडकमा उभिएर
आफैँ गर्दै छन् आजकल ।
चिप्लिएर कारहरू
सडक किनारामा टक्क अडिँदा
नायकहरू रोमाञ्चित हुन्छन्
खुस्बुदार नाकै पोल्ने
अत्तर छर्किएर
लाली पाउडरमा सजिएका
नग्न/अर्धनग्न सुन्दरीहरू
आफूलाई नायक भनाउने ठिटाहरूसँग
टाँसिन खोज्छन् एकापसमा
सहर फिस्स हाँस्छ
नायक/नायिकाको नौटंकी देखेर ।
यता अभ्यास गर्छन् नायकहरू
अन्तर्राष्ट्रिय हाँसो हाँसी
हाँसो मुख्य सडकतिर फाल्दा
बैँसको उन्मादले मातेजस्तै नायक/नायिकाहरू
यौन तिर्सनाको उत्तेजनाले टाँसिन खोन्छन्
पुनः एकपटक
नायकहरू जुँगामा ताउ लाउँछन्
नायिकाहरू क्याटवाकजस्तै हिँडेर
मसक्क मस्किन्छन्
सडक निर्निमेष टोलाई बस्छ
नायक/नायिकाको प्रहसन हेरेर ।
मानवता रोइरहेको
कस्तो हो यो सहर ?
साजी हाँस्दै छ
बासी हसुरेर
सहर
सहरजस्तो लाग्दैन किन ?
भिखमंगाहरू भिख मागिरहेछन्
अपांगहरू रोइरहेछन् सहारा नभेटेर
विवश छन् बालबालिकाहरू फोहोरको डुंगुर खोतल्न
आमाको अस्मिता लुटिएको छ
अनाथ छन् छोराछोरीहरू
अनिश्चित भविष्य मडारिरहेछ
बाबुहरूको टुंगो नभएपछि ।
संवेदना सबै गुमाएर
नैतिकताका पाठ सिकाउनेहरू
पिउँदै छन् प्यालाका प्याला सोमरस
र
निकोटिन तानिरहेका छन्
हातका औँला पहेँलो बनाउँदै
चुरोटका सर्काहरूमा
आफ्नो जिन्दगी आफैँ सल्काएर ।
एघारवर्षे बालकले
बीसवर्षे किशोरी बलात्कार गर्छ
पचासवर्षे आइमाई
यौवन फक्राएर
बीसवर्षे तन्नेरीसँग प्रेम गर्दै छे
संस्कृतिको विकृत रूप पस्कँदै
दुराचार बोक्दै छ सहर
कथित भगवान्लाई मन्दिरभित्र
मूकदर्शक बनाएर
बाहिर प्रेम–प्रणय
पैसामा किनबेच भै’रहेछ
समय मौन छ
लाचार बनेर ।
पैसासँग नैतिकता साटेर
आदर्शका शब्दहरू सापटी खोज्दै
ङिच्च हाँस्छन्
सहरियाहरू
विवशताको हाँसो
मुर्दा मन घिसारेर
सहर रोई बस्छ
नैतिकता चोरिएपछि ।
मान्छेहरू सुन खाएर
सुनै ओकल्ने सपना देख्दै
खुलेआम
देशदेशमा गैरएजेन्ट राखी
तथाकथित सुनमान्छेहरू
जन्माउँदै छ सहर आजकल
सुनमान्छेहरूको अकाल मृत्यु बोकी ।
(सुन्दरहरैँचा–६, मोरङ)