site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्‌मा देखिएको रोचक दृश्य– पहिले नाराबाजी, पछि नमस्कार !

काठमाडौं । जेठ १५ गतेयता निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक शुक्रबार कोलाहलमै चल्यो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सत्तापक्षसँग एक्लै दुईबुँदे सहमति गरेपछि संदन चल्ने बाटो खुलेको हो ।

यद्यपि, अर्को प्रमुख विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नाराबाजीका बीच बैठक चलाइएको थियो ।

आज सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न पाँच मिनेटको समय दिए । उभिरहेका माओवादीका सांसद बसे । तर, रास्वपा र राप्रपाका सांसदले उभिएरै विरोध जनाइरहे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसबीच समाभुखले आफूले दलीय आधारमा बोल्न दिने भएकाले उनीहरूलाई बस्न आग्रह गरे । तर, रास्वपा र राप्रपाका सांसदले मानेनन्, टेबल बजाइरहे ।

उनीहरूको विरोधका बीच सभामुखले पाण्डेलाई बोल्न दिए । उनले बोलिसकेपछि सभामुखले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई तीन मिनेट समय बोल्न दिए । राप्रपाका सांसद बसे । लिङदेन बोलिरहँदा रास्वपाले उभिरह्यो, टेबल भने बजाएन ।

लिङदेनले निर्धारित समयभन्दा धेरै बोलेपछि उनको माइक काटियो । सभामुखले रास्वपाका मनिष झालाई बोल्न दिए । उनलाई पनि तीन मिनेटको समय दिइएको थियो । झाले आफूहरूको माग यथावत् रहेको प्रस्ट पारे, उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडान दोहोर्‍याए ।

उनले बोलिसकेपछि सभामुखले संसदीय गतिविधि अघि बढाउन खोजे । रास्वपा र राप्रपाले उभिएर विरोध जनाइरहे ।

गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिएपछि रास्वपाका सांसदले नाराबाजी गर्न थाले । उनीहरू वेल घेर्न अघि बढे ।

त्यसका बाबजुद गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे उठेका प्रश्नको जवाफ दिए, रास्वपाका सांसदले नाराबाजी गरिरहे । उनको सम्बोधनपछि सभामुख नियमित प्रक्रियामा अघि बढे, रास्वपाका सांसद संसद्को कार्यसूचीमा उभिएरै आंशिकरूपमा सहभागी भए । त्यसबेला सम्बोधनपछि गृहमन्त्री आफ्नो कुर्सीमा बसिरहेका थिए ।

बैठक सकिएको घोषणापछि सांसदहरू बाहिरिने क्रम सुरु भयो । त्यस क्रममा एउटा रोचक दृश्य पनि देखियो । एकछिन अघिसम्म गृहमन्त्री लेखकविरुद्ध नाराबाजी गरिरहेका रास्वपाका केही सांसद नै गृहमन्त्री भएको ठाउँमा पुगेर नमस्कार गरिहरेका थिए ।

गृहमन्त्रीको छेवैमा पुगेर रास्वपाका केही सांसदले नमस्कार गरे, हात मिलाए र बाहिरिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १९:०७
प्रतिक्रिया दिनुहोस्