
काठमाडौं । चलचित्र ‘महाराजधिराज’को मुख्य भूमिकामा रहेका पल शाह यो सिनेमाबाट बाहिरिएका छन् । निर्माणपक्षले पलसँगको सम्झौता अन्त्य गरिएको जनाएको छ ।
किन पलसँगको सम्झौता अन्त्य गरियो भन्नेबारे कसैसँग पनि नबोल्ने दुई पक्षबीच सम्झौता भएको निर्माणपक्षले जारी गरेको सूचनामा उल्लेख छ ।
‘महाराजधिराज’को मुख्य भूमिकामा रहेका पलको पोस्टर समेत सार्वजनिक भएको थियो । जसमा उनी न्युड देखिएका थिए । कलाकारको लाइनअप पूरा भइसकेपछि पल भने यो सिनेमाबाट निष्कासित भएका हुन् ।
‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । चलचित्रको कथा पनि उनी स्वयंको हो ।
यसअघि ‘कल्ली’बाट पनि अन्तिम समयमा पल बाहिरिनु परेको थियो । लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्र ‘कल्ली’ले पनि पलको पोस्टर सार्वजनिक गरेको थियो ।
तर, अन्तिममा पलसँगको सम्झौता खारेज गर्दै सौगात मल्ललाई अनुबन्ध गरेको थियो ।
पलको मुख्य भूमिका रहेको चलचित्र ‘रावायण’ र ‘मायावी’ बक्सअफिसमा असफल भएका थिए । त्यसको प्रभाव बजारमा देखिएको हुनसक्ने जानकारहरू बताउँछन् । यद्यपि, निर्माण टिमले यसको कारणबारे नबोल्ने प्रष्ट पारेका छन् ।