site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
अस्ट्रेलियाका नेपाली सुन पसलमा शृंखलाबद्ध डकैती

सिड्नी । अस्ट्रेलियाको ब्रिसबेन सहरमा रहेको श्री गणेश ज्वेलर्समा चोरी भएको छ । चारजनाको डकैत समूहले नेपाली व्यवसायी विजय सुनारमाथि आक्रमण गरी करोडौँको गरगहना लुटेको छ । 

सुरक्षा व्यवस्थाका बाबजुद ग्राहक निक्लिनेबित्तिकै चारजनाको हतियारधारी समूह श्री गणेश ज्वेलर्समा प्रवेश गरेको थियो । पसलका मालिक सुनारको टाउकोमा आक्रमण गरी घाइते बनाएर उनीहरूले गरगहना लुटेका थिए । व्यवसायी सुनारको अप्रेसन गरिएको छ भने उनी खतरामुक्त रहेको बताइएको छ । 

आक्रमणको समयमा पसलमा विजयकी श्रीमती समिता सुनार पनि सँगै थिइन् । लुटेराहरूले पसलभित्रका सबै सोकेस फुटाएर महँगा गहना लुटेर लगेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि ६ महिनाअघि पनि श्री गणेशमा आक्रमण गरी डकैतीको प्रयास भएको थियो । यस्तै ६ हप्ताअघि मात्र नेपालीकै स्वामित्वमा रहेको पोखरा बाराही ज्वेलर्स पनि लुटिएको थियो ।

त्यतिबेला पनि आक्रमणकारी समूहले चोरीको गाडी प्रयोग गरी करोडौँको सुन लुट्दा पनि अझसम्म दोषी पत्ता लाग्न सकेको छैन । 

गणेश ज्वेलर्सबाट नकाबधारी आक्रमणकारीले चार–पाँच करोडको सुन लुटेर लगेको खुल्न आएको छ ।

पछिल्ला ६ महिनामा अस्ट्रेलियाको ब्रिसबेन सहरमा मात्रै तीनपटक नेपाली सुनचाँदी पसलबाट करोडौँको डकैती गरिएको देखिएको छ । 

शृंखलाबद्ध आक्रमण र डकैतीपछि असुरक्षित महसुस गर्दै एनआरएन क्विन्सल्यान्डका संयोजक शम्भु घैसेको नेतृत्वमा नेपालीहरूले यहाँका विपक्षी दलका नेता तथा पूर्वप्रिमियर स्टिभन माइल्सलाई भेटेका थिए । 

nrn-australia-1749637995.jpg
 

अपराधीलाई कारबाही र व्यवसायको सुरक्षाको प्रत्याभूति गराउन समेत उनीहरूले दबाब दिएका छन् ।

“नेपाली समुदायलाई लक्षित गरेर पटकपटक आक्रमण भएको देखिन्छ,” एनआरएनका अभियन्ता अभिमानसिंह बस्नेतले भने, “त्यसैले एनआरएनको नेतृत्वमा बुधबार नै विपक्षी दलका नेताकहाँ पुगेर सुरक्षाको प्रत्याभूतिको माग गरेका छौँ ।”

पछिल्ला केही महिनामै तीनपटक नेपाली सुनचाँदी पसल लुटिनु र बिमाले समेत कभर नगर्दा व्यवसायी हतोत्साही बनेका छन् ।

“हामी अब सरकार र सत्तापक्षका नेतासँग भेट्ने क्रममा छौँ,” एनआरएन अस्ट्रेलियाका महासचिव सन्तोष कुँवरले भने, “पछिल्ला आक्रमण र लुटमा समेत कारबाही प्रभावकारी हुन नसकेको गुनासो व्यवसायीले गरेका छन् ।”

नेपाली समुदायप्रति लक्षित आक्रमण र डकैतीले केही हदसम्म त्रासदी समेत फैलाएको छ । “पहिले भारतीय समुदायमाथि यस्तै भएको थियो, अहिले हाम्रा व्यवसायीमाथि लगातार आक्रमण हुन थालेको छ,’ ब्रिजबेन निवासी एनआरएन महासचिव कुँवरले सुनाए । 

यस्ता घटनाको विरुद्धमा एनआरन समुदायको हितका खातिर सम्बन्धित निकायको ढोका ढक्ढक्याउन पछि नपर्ने उनले बताए । 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्