
काठमाडौं । भारतको तेलंगाना राज्यको हैदराबादमा ३० वर्षीय नेपाली नागरिकलाई आफ्नै साथीको हत्या गरेर शव झोलामा राखी सुनसान ठाउँमा फ्याँकेको आरोपमा गिरफ्तार गरिएको छ । मारिने पनि ३३ वर्षीया नेपाली नागरिक तारा बोहरा रहेको इन्डिया टुडेले जनाएको छ ।
जुन ४ मा हैदराबादनजिकैको एक आवासीय क्षेत्र बचुपल्लीमा झोलामा राखिएको ताराको शव फेला परेको थियो । त्यसपछि यो घटना सार्वजनिक भएको हो ।
घटनालगत्तै प्रहरीले शंकास्पद ती व्यक्तिलाई पक्राउ गरेको थियो । उनको नाम विजय तोप्पा रहेको जनाइएको छ ।
उनी स्थानीय रेस्टुरेन्टमा सेफको काम गर्थे । उनी तारासँग ‘लिभ इन रिलेसनसिपमा बस्दै आएका थिए । उनीहरू दुवैजना बागलुङका भएको इन्डियन एक्सप्रेसले जनाएको छ ।
विजय र तारा फेसबुकमार्फत सम्बन्धमा जोडिएका प्रहरी अनुसन्धानका क्रममा पत्ता लागेको छ । तारा विवाहित र दुई सन्तानकी आमा थिइन् । उनी गएको अप्रिल १५ मा हैदराबाद पुगेर बोरम्पेटमा विजयसँग भाडामा बसेकी थिइन् ।
प्रहरीका अनुसार, मे २३ मा ताराको गर्भावस्थाका विषयमा उनीहरू दुईजनाबीच झगडा भएको थियो । त्यहीक्रममा विजयले नाइलन ब्यागको धागोले ताराको घाँटी कसेर हत्या गरेका जनाइएको छ । उनले पछि शव ठूलो झोलामा राखेर फ्याँकेका थिए ।
एक चौकीदारले शव फेला पारेर प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी र फरेन्सिक टोलीले घटनास्थल पुगेर विस्तृत अनुसन्धान गरेको थियो ।
आरोपितलाई पक्राउ गर्न पाँच विशेष टोली गठन गरिएको थियो । सीसीटीभी फुटेज र प्राविधिक प्रमाणका आधारमा प्रहरीले विजय मेड्चल जिल्लामा रहेको पत्ता लगाएर गिरफ्तार गरेको थियो । प्रहरी बयानमा उनले आफ्नो अपराध स्वीकार गरेका जनाइएको छ ।