
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले दुईबुँदे सहमति गरेपछि बल्लतल्ल गृहमन्त्री रमेश लेखकले आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाए । तर, सबै प्रतिपक्षीलाई मनाएर गृहमन्त्रीको जवाफ सुनाउने प्रयत्नमा सत्तापक्ष सफल हुन सकेन ।
भिजिट भिसा प्रकरणमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी)सहितका विपक्षी दलको अवरोधका कारण गएको जेठ १३ गतेदेखि सदन अवरुद्ध थियो । जेठ १५ गते बजेटका लागि संसद् अवरोध खोलिएको थियो ।
विपक्षीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र संसदीय वा न्यायिक छानबिन समिति गठनको माग गरेको थियो । तर, ती दुवै कुरा पूरा नहुँदा पनि माओवादी सदन अवरोध हटाउन तयार भयो ।
माओवादी भिजिट भिसाका सम्बन्धमा छानबिन गर्ने प्रतिबद्धता पाएपछि सदन खोल्न तयार भएको हो ।
“अध्यागमन र भिजिट भिसाका सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवम् छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने,” सत्तापक्षसँग माओवादीले गरेको सहमतिमा दोस्रो बुँदामा भनिएको छ ।
नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी त्यसमा तयार हुँदा पनि चौथो ठूलो दल रास्वपाले भने समिति गठन गर्नुपर्ने माग राखेपछि सहमति जुट्न सकेन । माओवादीलाई विपक्षी एकीकृत समाजवादीकाे पनि साथ दियो ।
हितराजलाई समय दिएपछि...
सदनमा विपक्षी विभाजित भए । बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नका लागि समय दिए । पाण्डे बोल्नै लाग्दा प्रतिपक्षी रास्वपा र राप्रपाले विरोध जनाए ।
राप्रपाले यसअघि बोल्न नपाएको भन्दै समय माग्यो ।
सभामुखले माइक नदिए पनि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफूहरूले धारणा राख्न पाउनुपर्ने माग गरे ।
रास्वपाले पनि पहिले बोल्न पाउनुपर्ने माग गर्यो । हितराजले सुरु गरौं भन्दै सभामुखको अनुमति लिन्थे । रास्वपाका सांसदहरू दुई हातले टेबल ठोक्थे ।
अन्ततः सभामुखले हितराजलाई बोल्न समय दिए । रास्वपाका सांसदहरुले दुई हातले लय मिलाउँदै टेबल ठोके । राप्रपा पनि उभियो । त्यसपछि सभामुखले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिए । उनले माओवादीले सत्तासँग गरेको सहमतिप्रति कटाक्ष गरे । उनले माओवादीले एमसीसी सम्झौतामा व्याख्यात्मक टिप्पणी गरेको भन्दै पारित गर्न दिएको विषय समेत स्मरण गरे ।
त्यसपछि मात्रै रास्वपाले बोल्ने समय पायो । रास्वपाका सांसद मनिष झाले आफूहरुको माग जारी रहेको बताए । भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनी नरोकिने चेतावनी दिए । त्यसपछि रास्वपाका सांसदहरुले गृहमन्त्रीको राजीनामा, छानबिन समिति गठनको माग राख्दै नाराबाजी गरे ।
रास्वपा पहिलोपटक वेलमा
सभामुखले गृहमन्त्री रमेश लेखकलाई बोल्नका लागि समय दिए । रास्वपा वेल घेराउ गर्न पुग्यो । रास्वपा पहिलोपटक वेलमा पुगेको हो ।
०७९ को निर्वाचनबाट उदाएको रास्वपा यसअघि वेलसम्म पुगेको थिएन । भिजिट भिसा प्रकरणमा माओवादीले साथ छोडेपछि रास्वपा वेलमा पुगेको हो ।
गृहमन्त्री रोष्ट्रममा पुगेर बोल्न थाले । रास्वपाका सांसदले नाराबाजी गरे । गृहमन्त्रीको राजीनामा, छानबिन समिति गठनको माग राखे । सुमना श्रेठसहितका सांसद ताली बजाउँदै नाराबाजी गरिरहे ।
“हामी पहिलोपटक वेलमा पुगेका हौं । हामीले उठाएको मुद्दा व्यक्ति केन्द्रित होइन् । व्यक्तिलाई अफ्ठयारो पार्नका लागि होइन । मानव तस्करीलाई कारबाही गर्ने र जनता तस्करीबाट बचाउनका लागि उठाएको मुद्दा यथावत छ,” रास्वपाका सांसद गणेश पराजुली भन्छन् ।
अनि गृहमन्त्री बोलेपछि राप्रपा बस्यो...
सभामुखले गृहमन्त्रीलाई समय दिएपछि राप्रपाका अध्यक्ष लिङ्देन कुर्सीमा बसे । रास्वपा वेलमा पुगेपछि राप्रपाका सांसद उभिएर साथ दिएका थिए तर वेलमा पुगेनन् । गृहमन्त्रीले अभिव्यक्ति दिइरहँदा उभिए । गृहमन्त्रीले बोलिसकेपछि राप्रपाका सांसद बसे । राप्रपाका प्रमुख सचेतक शाही आफूहरुको माग जारी रहने बताउँछन् ।
“हाम्रो विरोध जारी रहन्छ । गृहमन्त्रीको जवाफ अझै माग्छौं । छानबिन समिति बनाउन पहल गर्छौं,” उनले भने ।
रास्वपा शैली : निस्कँदा नमस्कार
सभामुखले कार्यसूची अघि बढाउँदा रास्वपाका सांसदहरुले नारा लगाइरहे ।
संविधानसभा सदस्य वीरेन्द्र जुहारचनको निधनप्रति शोक प्रस्ताव पारित गर्दा चुप लागे, मौन धारण गरे । बैठक सकिएको घोषणापछि सांसदहरू बाहिरिने क्रम सुरु भयो । त्यस क्रममा एउटा रोचक दृश्य देखियो । रास्वपाका केही सांसदहरु बाहिरिने क्रममा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री लेखकसँग नमस्कार गरे, हात मिलाए र बाहिरिए ।
बहकिएका गृहमन्त्री
गृहमन्त्री लेखकको बोल्ने शैली मिठो रहेको भन्दै बेला बखत तारिफ हुने गरेको छ ।
तर, शुक्रबार गृहमन्त्री संयमित देखिएनन् । उनी आक्रोशित देखिन्थे । आफूमाथि लगाएको आरोप झुटो भएको दाबी गरे ।
“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय कार्यालय प्रमुख भिजिट भिसाका सम्बन्धमा अख्तियारले बोलाएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हुँ,” उनी भन्छन्, “त्यसबारेमा मेरो समेत संलग्नता छ भनेर सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन, उक्त कार्यमा मेरो कुनै संलग्नता छैन ।”
उनले रास्वपाप्रति आक्रोश पोखे । आफू १८ वर्षअघि श्रममन्त्री हुँदा गरेका काम सम्झाउँदै रास्वपाका कतिपय सांसद स्कुलमा भएकोसमेत कटाक्ष गर्न भ्याए । केही सांसदहरुले लेखक संयमित हुन नसकेको टिप्पणी गरे ।
रास्वपाले देखाउन खोजेको फरकपन
माओवादीले साथ छोडेपछि रास्वपाले सदन अवरोधलाई कसरी अघि बढाउँला भन्ने चासो बढेको छ । सत्तापक्ष रास्वपाको दुवै माग सम्बोधन गर्न तयार छैन ।
बजेटमाथिको छलफल रोकेको आरोप खेप्नुपर्ने, लामो समय वेलमा बस्न नसकिने भन्दै अब के गर्ने भन्ने टुंगोमा उनीहरू पुगिसकेका छैनन् ।
एक सांसदका अनुसार उनीहरुले आइतबार ११ बजेका लागि बोलाइएको बैठकमा शून्य समयसम्म अवरोध नगर्ने सम्भावना छ ।
त्यसपछिको कार्यसूचीमा भने अघि बढ्न नदिइने ती सांसदले बताए । माओवादीसँगै सहमति नजनाएर रास्वपाले आफ्नो पहिचान देखाउन खोजेको छ । “रास्वपा संसदीय अभ्यासमा नयाँ पनि छ । हामीले सँगै जाऔँ भनेको हो । केही दिन अवरोध गर्ने जस्तो कुरा गर्नुभयो । नयाँ पार्टी नयाँपन पनि देखाउन पायो । हामीले पनि त्यसमा मान्यौं,” माओवादीका एक नेता भन्छन् ।
रास्वपाका सांसद पराजुली दलहरुको आफ्नो रणनीतिमा सहकार्य निर्भर हुने बताउँछन् ।
“दलहरूका आ–आफ्ना सीमितता हुन्छन् । आ–आफ्ना जिम्मेवारी हुन्छन् । आफ्ना रणनीति हुन्छन् । अहिलेसम्म हाम्रो साथका लागि धन्यवाद दिएका छौँ । हामीले जुन मुद्दा उठाएका छौँ, त्यहीँ अडिग छौँ,” उनी भन्छन् ।
एमालेका सचिव तथा सांसद योगेश भट्टराईले पनि रास्वपाले संसदीय अभ्यासमा आफूलाई अभ्यस्तै बनाउनु राम्रो भएको बताउँछन् । तर, रास्वपा पहिले दुईबुँदेमा सहमत भएको र पार्टीभित्रकै कुरा मिलाउन नसक्दा वेलमा पुगेको टिप्पणी भट्टराईको छ ।
“दोस्रो बुँदामा एकमहिना भित्रमा काम अघि बढाउने भनेर रास्वपाका साथीहरुले प्रारम्भिक प्रस्ताव ल्याउनुभएको थियो । त्यसमा तीनदलको पनि सहमति थियो । पछि उहाँहरुको दलमा कुरा मिलेन । हामीले के भन्ने र ?,” भट्टराई भन्छन् ।