site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
फेरि भेट नहोला र महोदय !

मान्छेमा प्रभाव अनेक कुराले जमाउँछन् । प्रायजसो कि त राम्रा कुराले जमाउँछन् कि त नराम्रा कुराले । बाँकी सरदरका घटना भने त्यसै विस्मृतिका गर्तमा लुप्त भएर जान्छन् ।

त्यसो त राम्रो/नराम्रो या सरदरको विषय मान्छेको मनानुसार तय हुन सक्दो रहेछ । कसैलाई एकदमै राम्रो या नराम्रो लागेको चिज अर्कोलाई सामान्य लाग्न पनि सक्छ । अनि, कसैलाई सामान्य लागेको कुरा अर्कोलाई एकदमै प्रभावशाली लाग्न पनि सक्दो रहेछ ।

त्यसैले जब मान्छेको मनको कुरो आउँछ, कुरा असल, खराब या सरदर भन्ने नरहँदो रहेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन पर्नुसँग सम्बन्ध गाँठिएपछि अरू हजार कुरा भर्सेला पर्दा रहेछन् । मलाई पनि एउटा त्यस्तै घटनाले भित्रैसम्म छोएर गयो ।

भएको त्यस्तो अनौठो केही होइन । एउटा अन्जान मान्छेले अकस्मात् गरेको ‘कन्फेसन’ मेरो लागि प्रभाबिलो घटना हुन पुग्यो ।

०००

उसले जिन्दगीमा गल्ती गरेछ, कुरा एकदमै सामान्य थियो । गल्ती कसले पो गर्दैन र ? 

कुनै अन्जान मान्छेले गरेको गल्तीमा मेरो गुनासो होस् पनि किन ? मेरो कुनै गुनासो रहेन ।

असामान्य के भयो भने उसले आफ्नो गल्ती स्वीकार्‍यो ।

सरदरमा स्वार्थप्रेरित नभईकन मान्छेले आफ्नो गल्ती स्वीकार्दैन । त्यसैले उसले विरलै मान्छेले गर्ने कर्म गरेको थियो ।

उसको त्यो अकस्मात्को कन्फेसनले म बिथोलिन पुगेँ । गल्ती गरेर पनि गल्ती नमान्ने, नमानेको नमानीकनै चितामा उक्लिने कैयौँ मान्छेको भीडमा ऊ मलाई नितान्त बेग्लै लाग्यो ।

त्यो बेग्लैको हावा मेरो मथिंगलमा हुनहुनाइरहँदा मलाई भने बारम्बार मेरो आफ्नै बाउको सम्झना आइरह्यो । यो त्यही सानो घटना थियो, जसले मलाई लोभी बनाएको थियो ।

लोभ, ऊसँग अर्को भेटमा गफिने लोभ थियो । एउटा बेग्लै तर अन्जान पुरुषसँग अलिकति आत्मीय हुने लोभ । एउटा सम्भाव्यताको बाटो सायद भोलि हिँड्नका लागि खोज्ने लोभ थियो ।

तिनै प्यासहरूले छटपटिएपछि मेरो अन्तर्हृदयभित्रैबाट एउटा आवाज उछिट्टिएको थियो, ‘फेरि भेट नहोला र महोदय ?’

त्यो प्रश्न हृदयमा धेरै बेर गुन्जिरह्यो । हुन त फेरि भेट नहुन पनि सक्थ्यो । 

नहुँदैमा आकाश खस्नेवाला पनि थिएन, धर्ती उछिट्टिने पनि होइन ! तर, भेट भए त्यो पनि मनको तिर्खा मेटिने नै गरी भए कस्तो गजब हुँदो हो !

मेरा यी तर्कनाहरू झरीपछिका च्याउजस्ता त्यसै उम्रिएका थिएनन् । क्याफेबाट फुत्किएर आफ्नो गन्तव्यमा लम्किँदै गर्दा साँझको मधुरतामा टेकेर मनमा झङ्कृत भएका तरंगहरू थिए यी ।

मान्छेले दैनिक अनेकौँ अपरिचितसँग भेटघाट गर्छ । त्यसमा अनौठा संयोगहरू हुँदैनन्, न त होला भन्ने अपेक्षा नै रहन्छ । यदाकदा भइदिने संयोगमा एउटा बेग्लै भावनाको चौतारो खडा हुन भने सक्दो रहेछ ।

खासमा भएको घटना यस्तो थियो–
“अहो ! गल्ती मेरो हो, मलाई माफ गर्नुस् ! मैले तपाईंलाई डरमर्दो बनाएँ क्यारे !” यही थियो उसले अंग्रेजीमा बोलेको वाक्य ।

त्यो बोलीमा एउटा शक्ति थियो । त्यही शक्तिको वशीभूतमा परेकी थिएँ म एक निमेषमै । अनि, भकभकी उम्लेको मेरो क्रोध तत्क्षण शान्त भएको थियो ।

उसको त्यही मधुर वाणी सुनेपछि नै हो मैले अनुभूत गरेको कि मान्छेमा अन्तर्निहित सभ्यताको शक्तिले ऊ आफू एकको मात्रै होइन अनेकको जिन्दगी सहज बनाइदिन सक्दो रहेछ । सहज मात्रै होइन उसले त मेरो चुलिएको ब्लड प्रेसरलाई दुई सेकेन्डमा सामान्यमा झारिदिएको थियो ।

दुई मिनेटअघि मात्रै म आमासँग फोनमा थिएँ । फोनमा भएको वार्तालाभ सामान्य थिएन । त्यो असामान्य वार्ताको असरले म रातोपिरो, तातो सब भएकी थिएँ । मेरो प्रेसर निःसन्देह चुलिएको थियो ! 

‘पैँसट्ठी नाघेको एउटा पुरुष (पुरुष पनि के भन्नु, एक वृद्ध) विवाहेतर अफेयरमा रल्लिँदै हिँडेको छ !’

यो कुरो शान्त भएर सुन्न कति मुस्किल होला ? सुन्नुको मुस्किललाई एकैछिनका लागि थाती राखौँ, सुनेको त्यो भनाइ पत्याउनु झन् कति सकसपूर्ण हुँदो हो ?

हो, म यही धरापमा उभिएकी थिएँ । आमाले यस्तो कुरा गर्न थाल्नुभएको धेरै भएको थियो । सुरुआतमा यो हल्ला जब मेरो कानमा छिर्‍यो, यस्तो लागेको थियो मानौँ उम्लेको तातो तेल मेरो कानमा पसेको छ ।

मेरा इन्द्रियहरू बरफ बने । त्यसपछि एक निमेषमै भकभकी उम्लिए । एउटा छटपटी उद्भव भयो, अनि त्यसले दुनियाँभरको दुःख आफूमा समायोजन गरेको आभास हुन गयो ।

त्यही विराट छटपटीको काँध चढेर मैले कहिल्यै चर्को स्वर गर्ने हिम्मत नगरेको आफ्ना पितासँग एक दिन झोक्किएरै कुरा छेडेँ ।

“यो के चाला हो बुवा ? आमा के भनिरहनुभएको छ ?”

मेरो प्रश्नले अल्मलिएका उनी एकैछिनमा मस्त हाँस्न थाले । “अब तँ कुरो पनि कसको सुन्छेस् ? तेरी आमालाई म अर्को कोही आइमाईसँग सल्केँ भन्ने शंका लागेको तँ जन्मिनुअघिदेखिन् हो । तैँले त भर्खर चाल पाइछेस् ! खै, कुन भ्रम पालेर बसेकी छे त्यो, म त सम्झाउँदा सम्झाउँदा थाकेँ । केही नलागे’सि वास्ता गर्नै छाडिदिएँ । अब त ऊ त्यही कुरो छोराछोरीसँग गर्न थालिछे । सक्छेस् भने तैँ सम्झाइ दे बरु, नसके वास्ता नगर !”

बाउले कुरा हाँसोमा उडाएर छाडे । मैले नपत्याउन सकिनँ । 

एउटा अत्यन्तै गम्भीर विषय त्यत्तिकै मत्थर भएर गयो । यो थियो दूरविगतको कुरो ।

तर, बिहान गाउँबाट आएको आमाको फोन सामान्य थिएन । हम्मेसी नआत्तिने म त्यो फोन सुनेर भने आतंकित बनेकी थिएँ ।

“मेरो भन्ने अरू कोही छैन, हुर्केकी तैँ एउटी होस् । भएका लोग्ने अर्कैका भइगए, तँलाई नभनूँ त कसलाई भनूँ ? कुन दिन के गर्छु म आफैँलाई थाहा छैन । भोलि मलाई आमाले केही भनिनन्, कुनै मौका दिइनन् भन्न पाउँदिनस् !”

त्यसो भनेर उनले फ्याट्ट फोन राखिन् । म हिँडिरहेको मान्छे अलमल्ल परेर एकछिन त्यसै जमेँ । नजिकै भेटेको ढुंगोमा थचक्क थच्किएर असिनपसिन हुन पुगेँ ।

आमाको त्यो आशंकाले उनलाई भित्रभित्रै खाइरहेको थियो । त्यसैको असरले उनी उच्च रक्तचापको सिकार भएकी थिइन् । त्यसको दबाई लिन थालेकै केही वर्ष भइसकेको थियो ।

उनको मनमा रोपिएको त्यो आशंकाको वृक्ष दिनदिनै हुर्किंदै गइरहेको थियो । त्यसलाई कहिल्यै उखेल्न सकिएन ।

सम्झाउँदा सम्झाउँदा म पनि थाकिसकेकी थिएँ । तर, उनको शंका गर्ने मन थाकेन । 

अस्ति गाउँ जाँदा एकपटक फेरि आमाछोरीको लामो अनि गम्भीर वार्ता भएको थियो । त्यसपछि बल्लबल्ल केही शान्त भएकी उनी आज बिहानै विस्फोट भएकी थिइन् ।

आमाको यही घटना मेरो दिमागमा अविच्छिन्न चलमलाइरहन्थ्यो । सत्य होला कि होइन होलाको दुई पाखोमा मेरो हृदय अनवरत पिंग खेलिरहन्थ्यो ।

यो पनि एउटा प्रमुख कारण थियो, जसले मलाई आफ्नो व्यक्तिगत सम्बन्धको सञ्जालमा पर्नबाट सदैव लखेटिरहन्थ्यो ।

मेरा समवयी साथीहरू दुई/तीन बच्चाका माउ भइसक्दा पनि मलाई आफ्नो घरजम गर्ने कुनै उत्प्रेरणा जागेको थिएन । आमाको मनमा शंकाको जुन जंगल फैलिएको छ, त्यो मेरो जिन्दगीमा साँचो रूपमा घटित भयो भने म कसरी सम्हालिऊँली ? यो प्रश्नले मलाई दुःख्ने गरी घोचिरहन्थ्यो ।

एउटा पुरुषप्रति विश्वास गर्ने आँट मभित्र कहिल्यै टुसाउन सकेको थिएन । बिहान आमाको त्यही फोनको रन्कोमा थिएँ म । अफिस जान कोठाबाट निस्केलगत्तै चलेको त्यो वार्ताले मलाई भनन्न बनाएको थियो । त्यसमै गिजोलिएर हिँडिरहेको बेला दोबाटोमा झ्वास्स त्यो जम्काभेट भएको थियो ।

क्रोधको धरहराबाट हाम फाल्नै लाग्दा त्यो पुरुषबाट मधुर अनि विनीत आवाज निस्केको थियो, जसले मलाई शान्तिको आश्वासन दियो ।

मान्छे खासमा यो जगत्को अनुपम प्राणी हो, यदि उसले सभ्यतालाई आत्मसात् गरेर हिँड्यो भने रिसरागको न्यूनीकरण तल्लो तहसम्म सम्भव छ । एकैछिनअघिको तनाव अचम्मले मत्थर भएर गयो ।

सोचेँ, यही सहरको स्थायी बासिन्दा हुन्थ्यो भने त्यो पुरुषबाट त्यस्तो सभ्य वचन सुन्ने सम्भावना हुँदैनथ्यो । किनकि, हामी यो सहरमा अत्यन्तै स्वार्थी र कलुषित हुँदैहुँदै गइरहेका छौँ ।

अनेक पारिवारिक अनि सामाजिक प्रभाव र दबाबहरूले पनि हुनसक्छ, हामीबाट मानवीय मूल्य र मान्यताहरू शनैशनै क्षय भएर गइरहेको । अपेक्षा नगरेको घटित भएर हो वा किन हो, म ऊप्रति आकर्षित भइसकेकी थिएँ ।

एउटा नेपाली मूलको पुरुष जो अंग्रेजी भाषी मुलुकमा लामै समय बिताएर नेपाल आइपुगेको बेला मेरो जम्काभेट भएको हुनुपर्छ ! उसको सुललित भाषा अनि बोलिले मभित्र आनन्दको एउटा सरसराहट दगुरेको थियो ।

त्यसो त माफी नै माग्नुपर्ने किसिमको कुनै हर्कत उसले गरेको पनि होइन । त्यो त उसको सभ्य नागरिकको परिचय मात्रै थियो, जो मेरो मुलुकमा हम्मेसी भेटिने सम्भावना थिएन ।

अरूको के कुरा, म आफैँ पनि त्यो सभ्यताबाट प्रभावित अवश्य थिएँ । तर, अभ्यस्त थिइनँ । त्यसैले त ऊभन्दा अगावै मैले पनि बोल्न सक्ने वाक्य बोल्न जानिनँ, उसले जान्यो ।

हुनत यस्ता घटनाहरू दैनिकजसो घटिरहन्छन्, आज फेरि पनि घट्यो । अरू बेला पछुतो हुन्नथ्यो, आज पछुतो भइरह्यो ।

किनकिन ऊसँग दुई/चार बात मार्ने लालसा उम्लेर आयो । तर, ऊ आफ्नो बाटो लम्किसकेको थियो भने मलाई मेरो आफ्नो बाटो लम्किन हतार भइसकेको थियो ।

जिन्दगी यस्तै हो । उसलाई उसकै हिसाबकिताब मिलाउन हतार थियो, अनि मलाई मेरै हिसाबकिताब मिलाउन । फेरि, भर्खर बाटोमा पहिलोपल्ट भेट भएको अन्जान पुरुषसँग कुन बहानामा बातचित गर्नु ?

मैले अस्वाभाविकतालाई पन्छाएँ, अनि स्वाभाविकताको औँला समातेँ जसले मलाई डोर्‍याएर अफिसको ढोकासम्म पुर्‍याउँथ्यो ।

अफिसमा दाखिला हुनेबित्तिकैको पहिलो काम हाकिमसँगको मिटिङमा सहभागी हुनु थियो, जहाँ म ढिला भएर उसको व्यंग्यको तारो बन्न चाहन्नथेँ । त्यसैले घटनालाई त्यतै छोडेर त्यसको प्रभावलाई भने मनको झोलाभरि खाँदखुँद पारेर अफिसतिर लम्किसकेकी थिएँ ।

०००

बेलुकी अफिस सकिएपछि म आफ्नो व्यक्तिगत अमनचैनको खोजीमा एउटा क्याफेमा घुसेकी थिएँ । जिन्दगी सहज थिएन, छैन ।

चौबिस घण्टामा अठ्चालिसभन्दा बढी उल्झनहरू थपिइरहन्छन् । समाज नामको यो फ्रेमभित्र अटाउन दिनदिनै छिनछिनै भोगिने अनगिन्ती यन्त्रणाहरूको थिग्रानलाई तह लगाउन बेलाबेला मलाई यस्तो एकान्तको जरुरत महसुस भइरहन्छ ।

आज पनि म मनको पातालमा थुप्रिएको विकारको डंगुरलाई कुडादानीमा घोप्ट्याउने धुनमा थिएँ । क्याफेमा बस्ने आरामदायी कुनो खोजिरहेकै बेलामा एउटा मनमोहक दृश्य आँखामा उत्रियो । कुनै अपेक्षाबिनै जुरेको त्यो मौकालाई ‘क्यास’ नगरी म रहन सकिनँ ।

“एक्सक्युज मी, के यो कुर्सी खाली हो ? म यहाँ बस्दा तपाईंलाई कुनै अफ्ठ्यारो त हुँदैन ?” 

दुई वाक्यलाई मिसाएर मैले प्रश्न तेर्स्याउँदा लक्षित पुरुष फोनमा केही गरिरहेको थियो । अलिकति झस्केर उसले ‘ए ! हुन्छ नि, बस्नुस् न कुर्सी खाली छ’ भन्यो । 

भन्नलाई त भन्यो, तर उसको ध्यान मतिर मोडिएन ।

मेरो उपस्थितिमा ऊ सहज नभएको हो कि त ? बोलिसकेपछि दायाँबायाँ क्याफेलाई निहारेर उसले हेर्‍यो, मानौँ म को हुँ भन्ने जान्नुभन्दा पनि क्याफेमा बस्ने ठाउँ प्रशस्त नभएको हो र भन्नेतर्फ जान्न ऊ ज्यादा उत्सुक थियो ।

“ए ! तपाईं त...”

दायाँबायाँ पढिसकेपछि बल्ल मतर्फ लम्किएका उसका आँखाहरूले मेरो अनुहार हेर्‍यो । अनि, देख्नेबित्तिकै बिहानको घटना पहिल्यायो क्यारे !

“हो नि, बिहान हामी दुवै हतारमा थियौँ जस्तो लाग्छ !” मैले उसलाई सहज बनाउन खोजेँ । 

“ए, अँ त ! बिहानका लागि म फेरि पनि माफी चाहन्छु ।” उसले फेरि पनि मलाई उछिनेर वातावरणलाई सुललित बनायो । म जिल्लिएर बसेँ ।

“त्यस्तो होइन नि ! तपाईंको गल्ती कहाँ थियो र त्यहाँ ? त्यो त बस् एउटा सामान्य घटना थियो, जसमा हामी कसैको गल्ती थिएन । बिनागल्तीका घटनाहरूसँग किन बेकारको खुन्नस ! होइन र ?” 

“त्यो त तपाईंको महानता हो, बिनाकारण माफी माग्नुभयो ।” मैले मुस्कानको बगैँचा सजाउन कन्जुस्याइँ पटक्कै गरिनँ ।

“हाम्रो यो भेट पहिलो त हुँदै होइन, दोस्रो भेटमा कम्तीमा एक कप कफी सँगै पिउने हैसियत त कमाइन्छ नि ! होइन र ? ल, एक कप कफीको साथमा एकपटक सरी भन्ने मौका मलाई पनि दिनुस् न त !” 

एउटी नारीले पुरुषलाई विरलै गरिने आग्रह मैले कुनै धक नमानी गरेँ । उसले मुस्कानले स्वागत गर्‍यो । “अनि, तपाईं यतै बसोबास गर्नुहुन्छ जस्तो त देखिनु हुन्न ? अफ्ठ्यारो नहुने हो भने केही भन्नुस् ।”

मेरो प्रश्न अनि आग्रहले अफ्ठ्यारो लागेको पनि हुनसक्छ, थोरै अलमलिएर उसले जवाफ फर्कायो, “सही ठम्याउनुभयो । म विदेशबाट बिदामा आएको हुँ, तर मेरो जरा यहीँ गाडिएको हो । यहीँ हुर्केर विदेशिएको हुँ । त्यो मानेमा म विदेशी त परिनँ नि ! होइन र ?”

उसले मसँग थोरै हाँसोसहितको समर्थन माग्यो । मैले दिन लोभ गरिनँ ।

त्यति वार्तालापपछि एउटा लघुविराम लाग्यो । एउटा शान्ति मौलायो । त्यसो त शान्ति कसलाई मन पर्दैन र ! तर, त्यो शान्ति मलाई मन परेन । यो शान्ति मन पर्ने शान्ति थिएन !

अरूभन्दा पनि मेरो उपस्थितिलाई मात दिएर लगातार फोनमा उसको आकर्षण अत्यन्तै भारी भइरहेको थियो ।

एउटा जवान पुरुष, एउटी तरुणी युवतीको उपस्थितिलाई कम आँकेर बस्नु सामान्य त हुँदै होइन ! त्यो त एकप्रकारले अपमान नै भन्न मिल्छ । मलाई आफ्नो मुस्किल पचाउन हम्मेहम्मे पर्‍यो ।

“तपाईं अलि व्यस्त नै हुनुहुन्छ भने हामी यो कफीलाई रद्द गर्न पनि सक्छौँ है !” मैले मेरो उपस्थितिमा उसको अनाकर्षणलाई तत्काल प्रतिकार गरेँ ।

“होइन होइन, माफ गर्नुस् ! म अन्तै कतै केन्द्रित भइरहेको थिएँ । त्यो अलि बढी नै महत्त्वको भएर मात्रै हो । त्यही पनि अब भयो, सकियो अब । आई एम अल योर्स !” यति भनेर उसले आफ्नो फोन बन्द गरेर टेबलमा घोप्टो पारेर राख्यो ।

मैले वेटरसँग दुई क्यापिचिनोको अर्डर पेस गरेँ, अनि उसको समर्थनको इसारा मागेँ । उसले बुढीऔँलो देखाएर ‘ओके’ भन्यो ।

“अनि, कस्तो रह्यो त आज तपाईंको दिन ?” आहा, कस्तो मिठो प्रश्न ! उसको प्रश्नले मलाई आनन्द दियो । मेरी आमाबाहेक मलाई यो अरू कसैले सोधेजस्तो लाग्दैन ।

हाम्रामा मान्छेहरू कहाँ यसरी सामान्य तर प्रभावी कुरा सोध्न रुचाउँछन् र ? उनीहरूलाई त सिधै कथित महत्त्वपूर्ण कुरा सोध्नकै हतारो हुन्छ ! जो खासमा महत्त्वपूर्ण कम व्यक्तिगत ज्यादा हुने गर्छ । 

जस्तो कि ‘के हो, तँ बिहे गर्दिनस् ? तेरो हाकिमसँग चक्कर चलेको हल्ला छ त ! ए फलानीले त डाइमन्डको नेक्लेस गिफ्ट पाइछे नि ! फलानीको प्रमोसन हुन्छ भन्ने दुनियाँलाई थाहा थियो । उसको हाकिमसँगको लसपसको कुरा बाटो हिँड्ने बटुवालाईसम्म थाहा भइसक्यो !’

अझ पुरुषहरू झन् गजबका कुरा सोध्छन्, ‘अहो, तपाईं अत्यन्तै सुन्दरी हुनुहुन्छ ! यसको राज के होला ? खै, तपाईंको भोज खान पाइने हो कि यत्तिकै रिटायर्ड भइने हो चिन्ता पो लाग्छ ! बजारतिर गाइँगुइँ छ त, कुरो खास के हो मेडमजी ?’

हो, हाम्रा मान्छे सिधै यस्तो तातो प्रश्नको कुवाँमा हामफाल्न रुचाउँछन् । ती कुरा छोडेर यति मसिनो कुरा सोध्न कसलाई जाँगर चल्छ र ? उसको प्रश्न चयनले म झनै कायल भइगएँ फेरि ।

“हजुर, मेरो सरदरमा राम्रै गयो भन्नुपर्छ । उल्लेखनीय त त्यस्तो खास केही भएन, तर राम्रो पक्ष भनेको नराम्रो केही भएन । अनि, हजुरको सुनाउनुस्, कस्तो रह्यो आजको दिन ? अनि, कस्तो जाँदै छ होलिडे ? यो अब होलिडे नै त होला !”

मेरो महत्त्वाकांक्षाले ऊ शिथिल भइसकेको नहोस्, मेरो अपेक्षा त्यति मात्रै थियो । तर, आफू महत्त्वाकांक्षी रहिरहूँ, त्यो मनोभाव छँदै थियो ।

“तपाईं आंशिक सत्यमाथि उभिनुभएको छ !” ऊ कन्जुस साबित भयो । खुल्न चाहेन । 

के म थाकूँ ? अहँ, होइन ! मेरो पेसा पनि त्यो होइन । मैले कान बाँगो गरेर समाउने निश्चय गरेँ ।

“साँच्चै, एउटा कुरामा मेरो अलि बढी नै चासो थियो । मान्छे त तपाईं एकदम सही पर्नुभो, तर म आफ्नो चासो तपाईंसमक्ष बिसाऊँ कि नाइँ अलमलमा छु ।” उसलाई फनन घुमाउने मेरो प्रयत्न सफल भएको थियो । ऊ अल्मलिएको स्पष्ट देखिन्थ्यो ।

“भन्नुस् न के भन्न खोज्नुभएको हो ?” यति बेला उसको सुधोपना मलाई मस्त मन पर्‍यो ।

“कुरो अलि व्यक्तिगत होला कि भन्ने डर लाग्छ, तर सोध्छु सोध्नचाहिँ है त ?” मेरो भूमिका उसलाई मन पर्‍यो परेन मैले जान्न चाहिनँ । फलाम तातेको मौका नचुकाई मैले घन बजारेँ ।

“आजकल विदेशमा हाम्रा नेपालीको पनि सम्बन्ध भटाभट टुटेको मात्रै सुनिन्छ, किन त्यस्तो सस्तो हुने रहेछ सम्बन्धहरू विदेशमा कुन्नि ! तपाईंको त त्यस्तो केही छैन नि ?” मेरो प्रश्नको माछो दिलमा भन्दा पहिल्यै उसको आँखाको तलाउमा झ्वाम्म हामफाल्यो क्यारे ! किनारकिनारसम्म छचल्किए छालहरू !  ती छालहरू हेरेर पछुताएँ म ।

त्यति कठोरचाहिँ हुन नहुने थियो । यो भाव अलि निर्दयी बनेरै सल्बलायो !

किनकिन यस्तो लाग्थ्यो, मेरो प्रश्नले उसको कतै दुखेको ठाउँमा थपथपाएको छ । थपथपाउनु राम्रो हो, दुःखेका मान्छेलाई थपथपाउनु झन् राम्रो हो । तर, दुःखिरहेकै ठाउँमा थपथपाउनु अवश्य राम्रो होइन, त्यो त निर्दयिता हो । मलाई शान्ति भएन ।

ऊ बोलेन एउटा लामो निःश्वास उकेल्यो । त्यो उसको बोल्नुअगाडिको तयारी रहेछ ।

“तपाईं एउटा मेरो प्रिय मान्छेजस्तै बोल्नुहुँदो रहेछ । तपाईंको प्रश्नले मलाई उनकै आभास दिलायो । हेर्नुस्, तपाईंको प्रश्नको जवाफ एउटै नहुन सक्छ । फरक मान्छेहरूले फरक जवाफ दिन सक्छन् । एउटालाई सही लागेको जवाफ अर्कोका लागि गलत हुनसक्छ ।” मलाई उसले गोलमटोल घुमाउन खोजेको आभास हुन लाग्यो । तर, होइन रहेछ । ऊ अलिकति थामिएर फेरि बोल्न सुरु गर्‍यो ।

“सम्बन्ध केका लागि हो भन्ने प्रश्न प्रमुख हो । सम्बन्ध जिन्दगी सहज बनाउनका लागि हुनुपर्ने हो ? जिन्दगी सुखी र खुसी बनाउनका लागि हुनुपर्ने हो ? होइन र ? निःसन्देह हो ।

सम्बन्धकै कारण सहज हुनुपर्ने कुरा सहज भएनन् भने ? असहजभन्दा पनि पर अझ पीडादायी हुन थाल्यो भने नि ? त्यसलाई घिसार्नुको कुनै औचित्य रहला र ?

हामी जति घिसार्छौं त्यो उत्तिनै विषाक्त बन्दै जान्छ । झन्झन् दुख्ने घाउ फैलिँदै जान्छ । त्यसैले त्यसलाई व्यवस्थापन गर्नु जरुरी हुन्छ । सम्बन्धविच्छेद त्यो पीडाको व्यवस्थापन हो, थप पीडानुभूतिमा नडुब्ने चेष्टा हो !

खै किन हो, हाम्रो यहाँको समाज यसलाई आकाश खस्नुजत्तिकै भयावह मान्दछ ! त्यस्तो किन मान्नु ? आकाश खसेजस्तो मान्नु जरुरी हो र ? सम्बन्ध (विषाक्त) टुट्नु भनेको टुटिरहनु पनि त होइन, त्यो त नयाँ सुरुआतको लागि तयार हुनु पनि त हो नि ! होइन र ?

तपाईं एक्लै बाँकी जिन्दगी स्वतन्त्र जिउने बारेमा सोच्नुस् या अर्को नयाँ साथी रोज्ने बारेमा सोच्नुस्, ती सब नयाँ सम्बन्धहरू न हुन् ! खै, अरू त के भनौँ ?” बोल्दाबोल्दै उसले पूर्णविराम लगाउन खोज्यो । उसका जवाफहरूमा प्रश्नैप्रश्नहरू ठिंग उभिए ।

उसका तर्कहरू सुनेर मलाई चैन भएन । एकदमै हो जस्तो लाग्ने उसका अवधारणाहरूमा म सहजसँग घुल्न सकिनँ । 

“खै, हजुरको कुरा बुझेजस्तो पनि लाग्यो ! फेरि, बुझिनँजस्तो पनि लाग्यो । अफ्ठ्यारो लागेको हो भने भैगो छोडिदिनुस् यो विषय ।” मैले विषयान्तर गर्ने प्रयत्नमा भनेँ ।

किनकिन मेरो हलुँगो प्रश्न उसको व्यक्तिगत जिन्दगीभित्र गह्रुँगो बनेर जबर्जस्ती घुस्दै गएजस्तो अनुभूत हुन थालेको थियो । उसको अनुहार अनि बोलीमा मिसिँदै गएको गाम्भीर्यले म आत्तिन थालेकी थिएँ ।

बिस्तारै उसको निजी जिन्दगीको कथाको पोयो खुस्किन थालेकोमा मलाई आफ्नो प्रश्नप्रति दुःखानुभूति हुन गयो ।

यो नहुँदो विषयमा मैले दिल्लगी गर्न हुँदैनथ्यो । तर, सुरु भइसकेको कथा अन्त्य नगरी ऊ चुप लाग्ला नलाग्ला, यो अज्ञात थियो ।

“ठिक छ, म तपाईंलाई अझै खुलेर बताउन चाहन्छु ।” उसले विषयबाट अझै अवकाश लिने यत्न गरेन । “तपाईंले अघि अनुमान गर्नुभएझैँ मेरो पनि वैवाहिक सम्बन्ध टुटेको सत्य हो ।”

म आफूले हानेको गोलीबाट आफैँ घाइते हुन पुगेँ । उसको पछिल्लो जवाफ सुनेपछि म झसंग भएँ । मलाई आफूले सामान्य मानेर सोधेको प्रश्न खासमा कति असामान्य रहेछ भन्ने बल्ल ज्ञान हुन गएको थियो ।

सम्भव हुन्थ्यो त म आफ्नो प्रश्न तत्काल फिर्ता लिँदो हुँ । तर, सम्भव थिएन । कसैको व्यक्तिगत जिन्दगीमा घुस्ने मान्छे म हुँदै होइन । तर, यहाँ अपत्यारिलो पाराले म घुस्न पुगेँ ।

केवल चुकचुकाउँदै अरूको पुरानो घाउ खोतलेपछि त्यसबाट बगेको रगतमा लतपतिनुबाहेक मैले अरू गर्न सकिनँ । म किंकर्तव्यविमूढ भएर उसलाई सुनी मात्र रहेँ ।

“हो, म पनि ती जोडीहरूमध्ये एक हुँ जसको सम्बन्ध तपाईंको भाषामा भन्दा सस्तो हुन गयो । अनेक तनाव र अवसादहरूको चर्को मूल्य तिर्नु साटो यसलाई सस्तोमै मिलाउन हामी दुवै पक्षले सहमति गर्‍यौँ ।”

अब त मौन भइदिए पनि हुन्थ्यो भनेर मैले अपेक्षा गरिरहे पनि ऊ थामिएन । भारी मन झरेका उसका हरेक शब्दहरू म निसासिँदै कानमा थापिरहेँ ।

“म एउटा खराब पति थिएँ । मैले उनलाई धोका दिएँ । त्यो धोका पनि त्यति बेला दिएँ जति बेला उनी हाम्री परीजस्ती छोरी कि आमा बनेकी थिइन् । एक दिन उनको पाउ परेर म आफैँले आफ्नो अपराध स्वीकार गरेँ । उनी अत्यन्तै आहत भइन् । 

बिस्तारै केही समय बितेर गए, अन्ततः मलाई उनले माफ गरिदिइन् । त्यो दोस्रो मौका थियो मेरा लागि । म उनीप्रति ऋणी रहेँ ।

तर, कुरो यत्तिकै व्यवस्थित हुन सकेन । अनेक कोसिसका बाबजुद उनले मेरो धोकालाई बिर्सन सकिनन् । हो, उनले मलाई माफी दिइन् । तर, माफी दिइने मात्रै कुरा होइन रहेछ । पाउनेले कमाएर लिन सक्नुपर्दो रहेछ । कहिलेकाहीँ कमाउनै नसकिने खालको पनि हुन सक्दो रहेछ । मैले त्यो कमाउन सकिनँ ।

भन्नलाई उनले मलाई माफी दिएँ भने पनि त्यो घटनापश्चात् उनलाई खासै सन्चो भएन । उनले माफी दिने कोसिस त गरिन्, तर उनको मनमा बसेको त्यो घाउले उनलाई चैन दिएन । उनी खुसी हुन सकिनन् । धन्न मैले समयमै त्यो पत्ता लगाएँ ।

अनि, एक दिन म आफैँले उनलाई सम्झाएँ कि हामी बेग्लाबेग्लै बाटो हिँड्दा नै सबै ठिक हुनेछ । 

सुरुआतमा केही मुस्किल भयो, अनि बिस्तारै त्यो सहज भएर गयो । पतिपत्नीबाट छुट्टिएपछि हामी असल मित्र बन्यौँ । एकार्काका सुखदुःखमा हामी सदैव सहभागी भयौँ । हाम्रो मित्रताको शीतल ओतमा हाम्री छोरी हुर्किंदै छे । 

विषाक्त सम्बन्धको अन्त्य गरेर हामीले अर्को मिठो सम्बन्धको सुरुआत गर्न सक्नु हामी दुवैका लागि वरदान भयो । आज उनको आफ्नै प्रेमी पनि छ । ऊ पनि मेरो असल मित्र बनेको छ ।

पुरानो कुरालाई थिग्रिन दिएर उनी अगाडि बढ्न सकिन्, तर म अझै अलमलिइरहेको छु । एउटा पश्चात्तापको प्रहर चलिरहेको छ जिन्दगीमा । उनी चाहन्छिन् म पनि अगाडि बढूँ । कोसिस चल्दै छ । 

यस्तै हो, बाहिरबाट हेर्दा सजिलोजस्तो लाग्छ । मान्छेहरू आफ्नै किसिमका अनुमानको खेती गर्न मग्न रहन्छन् । तर, जिन्दगीमा सबैलाई आ–आफ्नै किसिमको मुस्किल हुन्छ नै । त्यही मुस्किलको व्यवस्थापन न रहेछ जिन्दगी !” उसले विश्राम लियो । उसका आँखाहरू रसाए ।

रसाएका आँखालाई चलमलाएर उसले थोरै खलबलिएको अतीतलाई साम्य पार्ने यत्न गर्‍यो । म चुपचाप घरी उसलाई, घरी टेबल अनि घरी कफीलाई नियालिरहेँ ।

सायद उसलाई आफ्नो कथन पूरा नभएको महसुस भयो कि ! हामीबीच तन्किएको मौनताको डोरीलाई च्वाट्ट काटेर ऊ फेरि बोल्न थाल्यो ।

“हामीले पहिला आफूलाई हेर्नु जरुरी हुँदो रहेछ । अरूको आँखामा राम्रो देखिने हाम्रो ढोङ नै हाम्रो शत्रु हो । अरूले देख्लान् भनेर आफ्नो सत्यलाई ढाकछोप गर्ने कोसिस नै हाम्रो दुःखको प्रमुख कारण हो ।

हामी पहिले आफ्ना लागि बाँच्नु जरुरी छ, अरूको लागि बाँच्ने कोसिसले आफूलाई नै मारिरहेका हुन्छौँ । त्यो त महापाप हो । मेरो दृष्टिकोण त यही नै हो । यसलाई गलत मान्न पनि सकिन्छ । मलाईचाहिँ सही यही हो जस्तो लाग्छ !”

उसका तर्कहरूमा आंशिक सहमत भए पनि म सबैमा सहमत हुन सकिरहेकी थिइनँ । तर, त्यो सत्य थियो कि उसका तर्कहरूमा गजबको चमक थियो । लाग्थ्यो, त्यस्तै गरिने हो भने त समाज अद्भुत समाज बन्न सक्थ्यो । अथवा, समाजको वर्तमान स्वरूप नै खलबलिन पनि सक्थ्यो । जतासुकै सम्बन्धबाट चोइटिएर बसेका नारी र पुरुषले समाजको अनुहार कुरूप नबनाऊला र ?

अब अरू कुनै प्रश्न ऊसँग गर्दिनँ भनेर सोच्न त सोचेँ, तर आफूलाई लागेको खसखसाहट मैले थाती राख्न सकिनँ, उसैलाई सुम्पिदिएँ, “तर, मान्छे गल्तीहरूकै थुप्रो हो, उसले सानाठूला गल्ती गरिरहन्छ । यसरी गल्ती हुनेबित्तिकै सम्बन्धबाट उछिट्टिने हो भने त परिवार अनि समाजको अवधारणा नै समाप्त हुँदैन र ?”

उसले शिर हल्लायो, अनि उसको ओठ र जिब्रो पनि चल्न सुरु गरे, “तपाईंको कुरोमा पनि मेरो समर्थन छ । मेरो आशय हरेक गल्तीमा सम्बन्धको विनिर्माण होइन । मेरो मतलब गल्तीमा प्रायश्चित त हुन पर्‍यो भन्ने हो, होइन र ?

भएका पनि छन् । लाखौँ सम्बन्ध पुनर्स्थापित भएका पनि छन् । त्यो तारिफयोग्य छ । त्यसैले त यो संरचना जोगाएको छ । तर, माग्नेले सजिलै मागेर अनि दिनेले उस्तैगरी दिएर कोरा माफीले मात्रै सम्बन्ध संरक्षित हुँदैन, हुनु हुँदैन भन्ने कुरा हो । माफी कुनै मन्दिरको प्रसादजस्तो उत्तानो परेका हरेक हातमा बाँडेर त भएन नि !”

एक सुर्को कफीको विश्राम लिएर ऊ फेरि बोल्न थाल्यो, “हुनत अरूको जिन्दगीप्रति म उति पूर्वाग्रही हुन चाहन्नँ । तर, यहाँ पनि म कैयौँ सुखी हुन सक्ने जिन्दगीहरू दुःखमा पिल्सिरहेको देख्छु । उनीहरू आफैँ सुखको बाटो रोज्न पनि सक्दैनन्, न त परिवार नै त्यो गराउन चाहन्छन् !

कैयौँ सम्बन्धमा धोका दिनेहरू बिनाकुनै प्रायश्चित फेरि पनि त्यही सम्बन्धमा सुरक्षित बसिरहेका छन्, अनि त्यही गल्ती बारम्बार गरिरहेका छन् ।

एउटा पक्ष त्यो घटनाबाट पीडित हुँदैहुँदै गइरहेको छ । अर्को पक्ष अनि पूरै परिवार यो या त्यो बहानामा सबै घटनालाई नजरअन्दाज गरिरहेछन् । त्यस्तो त न्यायपूर्ण भएन नि ! होइन र ? उही गल्ती बारम्बार गर्ने त अपराधी हो नि ! उसले माफी होइन सजाय पाउनु परेन र ?

तर, हाम्रो समाज अनि परिवारले त्यस्ता अपराधीलाई संरक्षण दिइरहेको छ । टाढा जानु पर्दैन, तपाईंले आफ्नै घर या छरछिमेकमा हेर्नुभयो भने त्यो भेटिहाल्नुहुन्छ । बस्, एउटा फरक दृष्टिकोण बोकेर हेर्नुपर्‍यो ।” एउटा अर्को लामो कथनपश्चात् उसले कफीको लामो सर्को तानेर कप टेबलमा फिर्ता राख्यो ।

म कफीको कपबाट पलाएका बाफजस्तै भित्रभित्रै बाफिएर सोचमग्न भइरहेँ । कफीका चुस्कीसँगसँगै हाम्रा गफहरू लम्बिँदै गए ।

अचानक भाइब्रेसन भएको फोनको स्क्रिन हेरेपछि ऊ जुरुक्क उठ्यो । “माफ गर्नुस्, मैले यो फोन उठाउनैपर्छ । मेरी छोरीको आज जन्मदिन हो । टाढा भए पनि म ऊसँग उसको विशेष दिनमा रमाउन चाहन्छु ।”

उसको कुरा बुझेपछि मैले भनेँ, “हस्, हुन्छ । तपाईं गर्नुस्, यो कफी मेरो तर्फबाट हो । कृपया काउन्टरतिर जाने कष्ट नगर्नु होला ।” मुस्कानको पार्श्वधुन दिएर मैले भनेँ ।

मेरो कुराले खुसी हुँदै एकान्तको खोजीमा ऊ क्याफेको अर्को कुनातिर लम्कियो । म उसका अनौठा तर्कहरूमा पौडिरहेँ । किनकिन यति बेला मलाई उसका तर्कहरू दमदार अनि मननीय लागेर आए । अचानक मलाई आफ्नी आमाको स्मरण हुन गयो ।

के उसले भनेजस्तै घटनालाई म आफ्नै घरमा संरक्षण गरेर बसिरहेकी त छैन ? तत्काल मलाई आफू अपराधीजस्तो लागेर आयो ।

अरूले के भन्लान् भन्ने मनोदशामै मैले आफ्नी आमाको अनुनयविनयलाई नजरअन्दाज गरिरहेकी होइन र ? पहिलोपटक आमाको साइडमा उभिएर मैले आफैँलाई कडा प्रश्न गरेँ ।

‘हो त ! शतप्रतिशत त्यही नै हो !’ अन्तरात्माले जवाफ दिन एक निमेष पनि लगाएन ।

आमाले सोचेजस्तै बाबुको विवाहेतर सम्बन्ध रहेछ भने ? अनि, त्यो सम्बन्ध सतहमा आयो भने हाम्रो तथाकथित इज्जत के होला ? अनि, बाउआमाको जिन्दगीको त्यो उत्तरार्धको समयको व्यवस्थापन कसरी गर्न सकिएला ? आदिइत्यादि प्रश्नहरूको एउटा बीभत्स सन्त्रासले नै हो, आखिर म त्यो दिशातिर कहिल्यै जान नखोजेको ।

चलिरहेकोलाई चलिरहन दिँदा जुन लाभ आफूलाई भइरहेको छ, त्यसमा खलल पुग्ने डर सायद सबैभन्दा भयानक डर हुँदो हो, जसले मलाई सत्यको खोजीमा निस्कनबाट सदैव तगारो हालिरह्यो ।

मेरो आँखाको पर्दा उघारेर त्यो पुरुष पर कुनामा आफ्नी छोरीसँग उत्कृष्ट पिताको भूमिकामा समर्पित भइरहँदा मभित्र एउटा असल छोरी बन्ने उत्प्रेरणा हठात् जुर्मुराएर उठ्यो । 

किनकिन उसलाई अझै चिन्ने मनको लालसालाई जीवन्त राख्दै मैले पर्सबाट एउटा कागतको टुक्रा निकालेँ, अनि ‘मेरो तर्फबाट पनि तपाईंकी छोरीलाई जन्मदिनको धेरैधेरै शुभकामना !’ लेखेर त्यसको ठिक तल आफ्नो फोन नम्बर र नाम उल्लेख गरेँ ।

त्यत्तिमै पनि मन आनन्दित हुन मानेन । त्यसैले त्यसको ठिक तल ‘के हाम्रो भेट अब फेरि नहोला र महोदय !’ लेखेर चिर्कटोलाई उसले टेबलमा छाडेको ब्यागसँगै रहेको मोटो पुस्तकको कापमा छाडिदिएँ ।

एउटा विचित्र मनोदशा रहेको मनमस्तिष्कसहितको शरीर बोकेर मेरा पैताला क्याफेबाट फटाफट चलायमान भए ।

आमा वर्षौंदेखि जकडिएको त्यो त्रासदीको उत्खननलाई आफ्नो पहिलो प्राथमिकतामा राखेर मेरा ती पाइताला वासस्थानतिर निर्देशित भए ।

(नुवाकोट/हाल : अस्ट्रेलिया) 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्