site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बिर्सेर फेरि सम्झेका यादहरू

बिर्सनु पनि कहिलेकाहीँ कस्तो रमाइलो अनुभूति हो । यस्तो लाग्छ, समयको प्रवाहले एकार्कालाई बगाएर लगिदिएको छ । तर, अचानक एक दिन मनको कुनामा अल्झिएको एउटा सुगन्ध, एउटा ध्वनि वा कुनै धूमिल स्मृति–विम्बले थालिहाल्छ पुराना पानाहरू पल्टाउन । त्यसपछि बिर्सेर फेरि सम्झेका यादहरू आइहाल्छ ।

सदाझैँ म एक साँझ झ्याल खोलेर बसेको थिएँ । शान्त वातावरणमा टाढा कतै चराहरूको मधुरो चिरबिर मात्रै सुनिन्थ्यो । आकाश सफा भएर खुलेको थियो । मानिस आ–आफ्नै काममा व्यस्त थिए ।

बाहिरको हावाले कहिले बिर्सिसकेको धूमिल यादहरू झंकृत गर्‍यो । त्यो झंकारले एकैछिनमा मलाई फेरि त्यो पुरानो चौतारीमा पुर्‍यायो । त्यहाँ हामी साथीहरू दिउँसोको स्कुलपछि भेला हुन्थ्यौँ, हाँसो गर्दै चिउरा–चाउचाउ होइन, मकै–भटमास, गुन्द्रुकको चटनी बाँडेर खाँदै । ती बालापनका हास्य र बकबक अझै पनि हावामा तैरिरहेको जस्तो लाग्थ्यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मानिसको स्मृति पनि कस्तो चमत्कार हो ? बिर्सिएको सम्झनालाई पनि यति जीवन्त बनाइदिन्छ कि हामी आफैँ अचम्ममा पर्छौं । त्यही झ्यालबाट फेरि सम्झेँ, कुनै आमाले दिउँसो आफ्ना बच्चालाई सुताउँदा गुनगुनाउने लोरीहरू – जुन बेला लाग्थ्यो, ती गीतभन्दा प्यारो त कुनै संगीत हुनै सक्दैन ।

ती बोल नसम्झिने भए पनि त्यसको मिठो कम्पन अझै मेरो मनको तल्लो तहमा बाँचेको रहेछ ।

कहिलेकाहीँ सम्झनाहरू ढिलो आउँछन् । जस्तै, कुनै पुरानो मित्रको चिठी जुन वर्षौंपछि पोस्टबक्समा आइपुग्छ । पढ्दा लाग्छ, ‘ओहो, मैले त यिनलाई बिर्सिसकेको थिएँ !’

सम्झन्छु, फटाहा मान्छे, तर हामी कति धेरै मिल्थ्यौँ ! उसले मलाई औधी माया गर्थ्यो । म पनि माया गर्थें । हाम्रो मित्रता देखेर डाहा गर्नेहरू पनि थिए ।

त्यस चिठीका अक्षरहरू आँखामा झल्झली नाच्न थाल्छन् । फेरि पुराना सबै कुराहरू जीवन्त बन्छन् । विस्मृत–स्मृति पुनः जागृत हुन्छन् । बिर्सिएको प्रेम, टुटेको मित्रता, छुटिएको गन्तव्य । मोडिएको जीवनको गति ! यी सबै एकसाथ फर्किन्छन् ।

आखिर जीवन भन्नु यिनै व्यतीत दिनहरूको दस्ताबेज हुन् ।

बिर्सेर फेरि सम्झेका यादहरू कुनै सुन्दर हुन्छन् । कुनै खाटा बसेका घाउको दुखाइले बल्झाउन खोज्छन् । परन्तु, विगतका यादहरूमा फर्किंदा मन केही हलुको हुन्छ । किनभने, जतिसुकै पीडा भए तापनि तिनले मनलाई केही छिन खुसी प्रदान गर्छ ।

मलाई लाग्छ, यसरी विगततिर फर्किनु भनेको वर्तमानमा तनावबाट केही छिन अलि पर एकान्तमा पुग्नु पनि हो ।

त्यति बेला म व्यतीत दिनका कस्तै दुःखमा पनि आनन्दित मनले वर्तमानमा रमाउँछु । लाग्छ, यो मानवीय स्वभाव पनि हो । विगतका दुःख सम्झेर आँसु झर्छन् । त्यसमा अफसोस लाग्छ । अलिकति दुःखका उच्छ्वासहरूले स्पर्श गर्छन् । तथापि, मन रोएर आँसुकै दहमा चोबलिँदैन । बरु, विगत सम्झेर भावुकपन आउन सक्छ ।

सम्झना पनि कहिलेकाहीँ वेदनाले भरिएका हुन्छन् । त्यो अन्तिम बिदाइ, त्यो अधुरो भेट, त्यो नबोली बिताएका दिनहरू । माफी दिएका घटनाहरू । माफी नपाएका घाउहरू । त्यसलाई जति बिर्सन खोजिए पनि, समय–समयमा आँखा रसाउने गरी तिनीहरू फर्किन्छन् ।

यद्यपि, ती यादहरू नै त हुन् । ती मिठा सम्झनाका तरेलीहरू नै हुन् । तिनले मनलाई मानवीय मनले भरिभराउ बनाउँछन् । हृदय संवेदनशील पार्न सिकाउँछन् । आखिर मान्छेको मन न हो, जो सानै कुराले पनि खुसी हुनसक्छ । सामान्य कुराले पनि दुःखी बन्न सक्छ ।

अपितु, कहिले कठार चट्टानको प्रहारले पनि केही हुन सक्दैन । तर, कहिलेकाहीँ सुकोमल फूलको स्पर्शले पनि मन छियाछिया हुन पुग्छ ।

यस्तै वातावरण, यिनै परिवेश र यस्तै सन्दर्भ–सम्झनाहरूले मेरो लेखकीय मन भावुक बन्न थाल्छ । म शब्दहरूको जंगलमा हराउन पुग्छु । कति सुन्दर शब्दहरू, कति प्रिय शब्दहरू ! शब्दको हार्दिक उपस्थितिमा उल्लासले मेरो मन भरिभराउ हुन्छ ।

त्यति बेला मलाई शब्दहरूले मायालु आक्रमण गर्न थाल्छन् । म शब्दहरूसँग मौन संवाद गर्न थाल्छु । शब्दका भलिभाँती चाङले मेरो सिर्जनात्मक मन भावनाको वेग मार्न उत्सुक हुन्छन् । कुन शब्दलाई कसरी, कहाँ प्रयोग गरौँ ? कसरी शब्दहरू मिलाएर त्यसमा मिठासको स्वाद भर्न सकौँ ?

शब्दहरूका शब्दहरूले सायद अझ धेरै लेख्न र अरू धेरै अनुभवहरू बाँड्न मलाई उत्प्रेरित गर्छन् ।

सम्झनाको बगैँचामा हिँड्दा, केही फूलहरू फक्रिसकेका, केही ओइलिएका र केही झरेका हुन्छन् । ती जीवनका प्रतिविम्ब बनेर प्रकट भइरहेका हुन्छन् । तिनै विम्बमा म विराट अनुभूतिको ‘आकाश’ देख्छु । तिनै विम्बमा म विराट भावनाको ‘धरती’ भेट्छु । त्यसपछि ती सबैलाई सँगालेर अभिलेखको खाका कोर्न बस्छु ।

अपितु, फूलहरू भनेका मायाको मधुर सुवास हुन् । प्रेमका मिठास हुन् । श्रद्धाका नाम हुन् । त्यसैले एक प्रकारले म फूलप्रेमी मान्छे । अतः म फूलसँग फुल्न थाल्छु । म फूलको सौन्दर्यमा मेरा भावना मिसाउँछु ।

फूलले मलाई जीवन बाँच्ने साहस दिन्छ । बिर्सेर फेरि सम्झेका यादहरूको आवरणमा मलाई अवतरण गराउँछ । त्यहाँ म काँडालाई ओझेलमा राखेर फुलिरहेका फूलहरूको सुवासमा मुस्कुराइरहेको हुन्छु ।

केही अझै पनि ताजा, सुवासित भएर मान्छेका आँखा लोभ्याइरहेका हुन्छन् । मौरी र भँवरा निम्त्याइरहेका हुन्छन् । तिनै हुन्, बिर्सेर फेरि सम्झेका कुराहरू । ती कहिल्यै हराउँदैनन् । ती समयको पर्खालमा लुकेर बसेका हुन्छन् । ती फेरि फुल्ने प्रतीक्षामा रहन्छन् ।

बिर्सेर फेरि सम्झेका यादहरू जस्तै !
 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्