site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बाअफ–२०४२

शनिबारको दिन, फुर्सदिलो सुबोध कौसीमा बसेर घाम तापिरहेको थियो । गोपाल दाइ घिच्चिँदै आफ्नै घरतिर आइरहेको माथिबाटै देख्यो । राम्ररी थिरिन नसकेको उनको अग्लो शरीर देख्दा सुबोधले लख काट्यो, ‘यी पनि छिट्छिटो गल्दै गए । धेरै बाँच्दैनन् अब ।’

उसका बुवाले सुबोधलाई सधैँ सचेत गराइरहन्थे, “यो मुग्लानमा गोपालजीले उति बेला घडेरी दिएर ठूलो ऋण लगाएका छन् । अहिलेजस्तो समय होइन । स्थानीयलाई छोडेर हामीजस्ता बाहिरबाट आउनेलाई हम्मेसि जग्गा बेच्ने चलन नै थिएन । त्यो गुन कहिल्यै बिर्सन हुन्न । उस्सै उऋण हुन सकिन्न । कहिल्यै आफ्नो धर्म नछोडेस् ।”

सुबोधले बाबुका कुरालाई राम्रै गरी बोध गरेको थियो । गोपाल दाइमा पनि आफ्नै बाबुको छाया खोज्ने गर्थ्यो । एक महिनाअघि एकै रातको व्यथाले आफ्ना बाबु बितेपछि त सुबोधलाई गोपाल दाइको अझै महत्त्व लाग्न थालेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुबोधका बुवा भन्थे, “गोपालजी, हामी त तपाईंका गोडाका एउटा रौँबराबर ! हामीले आफ्नो हैसियत कहिल्यै बिर्सन हुन्न ।”

गोपाल दाइ पनि भन्थे, “हेर्नुस्, तपाईंहरू अवसरको खोजीमा निस्कनुभएका मान्छे, फैलँदै जानुहुन्छ । हामी भनेका यथास्थितिमा रमाएर बस्ने, खिइँदै जान्छौँ, यदुवंशीजस्ता ।”

सुबोधका बुवा र गोपाल दाइको मिल्ती राम्रो थियो । एकले अर्काको कुरा काटेको सुबोधले कहिल्यै सुनेन । सम्मानपूर्ण हार्दिक सम्बन्ध थियो उनीहरूको ।

दुईचार दिनअघि गोपाल दाइले सुबोधलाई फोनमा भनेका थिए, “...अँ, साँच्ची सुबोध, तिम्रो बुवाको चस्मा छ कि के गर्‍यौ हँ ? हेर न, मेरो चस्मा भाँचिएर... हामी दुईको पावर पनि एउटै हो, त्याँ छ भने किनि पनि के हाल्नु !”

खासमा त्यस दिन गोपाल दाइले झुट बोलेका थिए । दुवैजनाको पावरको नम्बर एकै थिएन । त्यो कुरा सुबोधलाई थाहा थियो । सुबोधका बाबु बित्नुभन्दा पन्ध्र दिनअघि मात्र नयाँ चस्मा बनाउन गएका थिए । गोपाल दाइ पनि सँगै थिए ।

पावर मात्र जाँचेको पैसा नपर्ने भएकाले गोपाल दाइले पनि जँचाएका थिए । उनको दृष्टि साबिकभन्दा धेरै फरक परिसकेको थियो, तर नयाँ चस्मा बनाउन मानेनछन् । भनेछन्, “मैले सबै स्पष्ट देखिराखेकै छु । बेफ्वाँकमा किन खर्च गर्नु ? होस्, अहिले बनाउँदिनँ ।”

सुबोधका बुवाले उपहारस्वरूप ‘बनाइदिन्छु’ भन्दा पनि गोपाल दाइले मानेनछन् 

उनले डाक्टरी पुर्जा घर लैजान पनि मन गरेनछन् । सुबोधका बुवाले आफ्नो पुर्जासँगै लिएर आएका थिए । अनि, बेलुका घरमा सबैका अगाडि पुर्जा देखाउँदै बेलीविस्तार लाएका थिए ।

उनको निष्कर्ष थियो, “कस्तो जमाना आयो, काजीजति पाजी भए, पाजी जति काजी ! गोपालजीले एउटा चस्मा किन्ने आँट पनि गर्न सकेनन् । जबरजस्ती किनिदिएर उनको स्वाभिमानमा ठेस लगाउन पनि मन लागेन । के गर्नु र खै ?”

सुबोधले पनि गोपाल दाइको स्वाभिमानमा ठेस लाग्ला भन्नेमा सचेत रहँदै भन्यो, “बुवाका सामान सबै छन् । यतै कतै होला । म खोजेर राख्छु, अनि खबर गरौँला नि है ?”

“हुन्छ । तिम्रो बुवाको एउटा चिनो राख्न मन लाग्यो । शनिबार घाम ताप्दै मै त्यता आऊँला ।”

सुबोधले देख्दाको गोपाल दाइ र उसका बुवामा कति फरक थियो । परिवेश, सम्पन्नता, सामाजिक प्रतिष्ठा सबै कुरामा ठूलो अन्तर थियो । सहरीकरणका क्रममा सबै कुरा उथलपुथल भयो । सहरीकरण सम्पन्नता र सुखको प्रतीक बन्न सकेन । कोही घुनझैँ पिसिए त कोही विकासे पशुझैँ मोटाए ।

मान्छे मात्र होइन, ठाउँको पनि स्वरूप फेरियो । सुबोधले बाबुको चोरीऔँला समातेर पहिलोपटक देखेको यो ठाउँको दृश्य बेग्लै थियो । पातलो जनघनत्व, जस्ता र टायलले छाएका घरहरू अनि बारीका फुस्रा पाटाहरू – ती सबै एकादेशका कथा भइसके, जुन कथा करिब त्योभन्दा पनि चालिस वर्षअगाडि नै यसरी सुरु भएको थियो ।

०००

एकादेश अर्थात् तत्कालीन एउटा सानो गाउँ जोरपाटी । जोरपाटीका सीमित घरधुरीमध्ये एकमा जन्मिएका तीन भाइ छोरामध्ये कान्छा थिए, गोपाल दाइ । सहरतिरबाट गोकर्ण जंगलसम्म पुग्ने मोटरबाटो गोपाल दाइलाई सम्झना भएदेखि नै थियो । त्यही मोटरबाटोलाई उत्तरी सीमा बनाएर फैलिएको थियो उनीहरूको घरबारी ।

जग्गाको पूर्वी सीमाको रूपमा सानो खहरे उत्तरबाट दक्षिण बगेको थियो । गोपाल दाइहरूको घरबारीबाट खहरेपारि पूर्वतिरको पुछारमा एउटा ठूलो चौर, चौरको वल्लो छेउमा ठूल्धारो भनिने ढुंगेधारो र पल्लो छेउमा चारकुने अर्घ्यसहितको ढुंगाको शिवलिंगो थियो, जसलाई अझै अर्घौतेश्वर महादेव भनिन्छ ।

सहरतिरबाट जंगलसम्म पुग्ने त्यो मोटरबाटो स्थानीयको प्रयोजनका लागि खास महत्त्वको विषय थिएन । फाट्टफुट्ट लहरी, केही साइकल र डामिएका साँढेहरू त्यस मोटरबाटोका विशेषता थिए ।

लहरीले एकछिन उडाउने धुलोको कुहिरीमण्डल पनि खासै ठूलो कुरो थिएन । तर, डामेर छोडिएका डाम्नाहरू समस्याको विषय बनेका थिए । विशेष गरी बाली हलक्क बढेको बेला त घरबाहिर केही सर्‍याक्क गर्‍यो भने सबैका कान ठाडा हुन्थे ।

कतिपय अवस्थामा कोदो वा मकैबारीभित्र पसेको साँढे दुईचार दिनपछि उरमुट्ट भएर उग्राउँदै निस्किएपछि मात्र देखिन्थ्यो । अनि मात्र मान्छेहरू भन्थे, “ज्या, धिक्कार होस् !”

अझ गोपाल दाइको खलकको बारीको उत्तरी साँध त त्यही मोटरबाटोसँग जोडिएको थियो । त्यसैले सधैँको ढुकढुक थियो । बाली सप्रिएपछिको समय साँढेको गोठालो लागेरै बित्थ्यो ।

तर, दक्षिणपूर्वी धुर्को भने सन्तोषको थियो । सधैँ रसिलो रहने खहरेको डिलमा बाली र घाँस मजाले सप्रन्थ्यो । त्यहाँसम्म साँढेको आतंक पनि पुग्दैनथ्यो । बारीको पूर्वी पुछार सबैको आकर्षणमा थियो । उनीहरूको घर पनि त्यही खहरेको डिलमा थियो । गोपाल दाइका तीनै भाइका आँखा खहरेको पुछारतिरको धुर्कोमै गडेका थिए ।

कान्छो छोराको उमेरले एकबीस छोएपछि बाले छोराहरूलाई छुट्ट्याइदिने निधो गरे । घरबारीको क्षेत्रफलका आधारमा खहरेको पुछारलाई एक भाग बनाइयो भने मोटरबाटोतर्फ दुई भाग लगाइयो । बाले बिनाभेदभाव तिलको गेडोसम्म पनि फुटाए । जिउनी समेत राखेनन् । कसैले गुनासो गर्ने ठाउँ रहेन । तर, तीन भागमध्ये कसले कुन पाउने भन्ने कुरामा अलमल भयो ।

जेठाले प्रस्ताव राखे, “गोला हालौँ ।”

बा सहमत हुन खोज्दै थिए, आमाले रोकिन्, “गोला न सोला ! पहिले कान्छोले रोज्छ, अनि अरूको पालो । यसका जागिर पनि गतिलो छैन । केटाकेटी’नि चिचिलै छन् । अरू सबैका थिति लागिसके । अरू जति चलाख’नि छैन यो । केही न केहीको लाटो छ !”

जेठा र माहिला आमाका कुरामा असहमति रहँदारहँदै पनि केही बोलेनन् । आमाले नै भनिन्, “ल भन् कान्छी, तँ कुन रोज्छेस् ?”

“म त घाँस काट्न टाढा जान भ्याउँदिनँ । साँढेको गोठालो लाग्न सक्नी छर्छरी नी छैनन्, पुछार नै लिन्छु म त ।”

“उसो भे’त बाटापट्टिकै भए पनि मलाई’नि खहरेको डिलै चाहिन्छ,” नाक र निधार खुम्च्याउँदै जेठीबाठी हतारहतार बोलिन् ।

माइलामाइली बीचमै रहे । केही बोलेनन् । त्यसैबमोजिम अंशबन्डा भएको थियो । अर्थात्, गोपाल दाइले रोजेरै मूल बाटोबाट पुछारको जग्गा लिएका थिए ।

समय एकनास रहेन । बिस्तारै खेतीपाती र वस्तुभाउको महत्त्व घट्न थाल्यो । आधारातमा मारिएका साँढेहरू फिलाका मासु चोरिएको अवस्थामा बिहान देखिन थाले ।

साबिकको खहरेमा खस्ने घरघरको निकास बढ्दै गयो । कुनै बेलाको लोभलाग्दो खहरे हेर्दाहेर्दै घिनलाग्दो नालीमा परिणत भयो । दाजुहरूको साँढे पस्ने बारी अब व्यावसायिक प्रयोजनको मूल सडक हुने क्रममा थियो, मूल्यवान् हुँदै थियो । तर, गोपालदाइको जग्गामा बस्नै नसकिने गरी दुर्गन्ध बढ्दै थियो । 

गोपाल दाइलाई आफू ठगिएको महसुस हुन थालिसकेको थियो । गोपाल दाइका छोराछोरी दिनदिनै बढ्दै थिए । बिहे गर्ने वरवधूको भन्दा व्यवहार टार्ने खर्चको खोजी ज्यादा हुँदै थियो । त्यति बेलासम्म जग्गाको खासै आकर्षण पनि थिएन ।

सम्पत्तिका विभिन्न स्वरूपहरूमध्ये कम प्राथमिकताको सम्पत्तिको रूपमा जग्गालाई हेरिन्थ्यो । बारीका पाटाभन्दा ढलान घर र आँगनको मोटरसाइकल महत्त्वपूर्ण प्रतिष्ठाका सूचक थिए । खर्चको जोहो गर्न जग्गा बेच्नु एक मात्र विकल्प थियो ।

गाउँका अन्य छोराछोरीका बाउजस्तै गोपाल दाइ पनि जग्गा बेच्न कस्सिए । ‘तै रिन, तै रिन, बुढी बाख्री किन्’ भनेझैँ उनले जग्गा बेचेको बेला एउटा भुइँतले ढलान घर र एउटा मोटरसाइकल पनि किन्ने निधो गरे ।

व्यवहारले थिचिएका गोपाल दाइ र काठमाडौंमा अवसर खोजिरहेका सुबोधका बाबुको पुरानो चिनजान थियो । जग्गा बेच्ने निधो गोपाल दाइले गरिसकेका थिए ।

“मान्छे राम्रै छन् । देखेसुनेका, गरीखाने खालका मान्छे हुन् । संगत गर्न लायकका छन् । उनलाई छिमेकमा राख्दा हामीलाई भरथेग नै हुन्छ । केही नराम्रो हुँदैन,” गोपाल दाइको निष्कर्ष थियो ।

जग्गा त बेच्ने, तर कतापट्टिको ? जग्गा ठूलो थियो । कुन छेउ बेच्ने भन्नेमा केही समय गोपाल दाइको मन दोधारे भयो । “अब आफूलाई राम्रो, नगनाउने ठाउँको जग्गामा आफू बस्ने । गनाउने भागजति बेचिदिने नि !”

दाजुहरूले दिएको सल्लाह गोपाल दाइलाई पनि उचित नै लाग्यो, त्यसै गरे । आफ्नो घरतिर जान मोटरसाइकल छिर्ने सानो बाटो छोडेर नालीको डिलजति केही बाँकी नरहने गरी सुबोधका बाबुलाई बेचिदिए ।

“माग्नेले तातो भात खोजेर पाउँछ र ? हामी परदेशी ऐँजेरुले आँट्न सक्ने भनेको यस्तै रछ्यान त हो,” सुबोधका बाबु आफ्नो हैसियतअनुसारको उपलब्धिमा सन्तुष्ट नै थिए ।

खुम्चिएर बचेको करिब एक रोपनी घडेरीमा गोपाल दाइ पनि सन्तुष्ट नै थिए । छोरी अन्माए । बुहारी भित्र्याए । बाक्ला गाह्रामाथि ढलान गरेर भुइँतले घर बनाए । आँगनमा ‘हिरो होन्डा’ पनि ठडियो, बा.अ.प. २०४२ ।

मोटरसाइकलको नम्बर लेख्ने क्रममा बुरुसबाट रङ चुहिएर बग्दा ‘प’ ‘फ’ जस्तो देखिएको थियो । तैपनि, जोरपाटीकै औँलामा गन्न सकिनेमध्ये एक थियो गोपाल दाइको त्यो मोटरसाइकल । त्यसैले समाजमा गोपाल दाइको प्रतिष्ठा र चर्चा चुलिएको थियो ।

हेर्दाहेर्दै समय अझै परिवर्तन भयो । दाजुहरूको भागको मूल सडक अत्यन्त मूल्यवान् बन्यो । नाली उर्फ पुरानो खहरे ठूल्ठूला पाइप हालेर पुरियो र फराकिलो बाटो बन्यो । सुबोधका बाबुले किनेको जग्गा बाटोमा पर्‍यो । तर, गोपाल दाइको घडेरी साँघुरो गल्लीको गल्ली नै रह्यो । अहिले गोपाल दाइलाई दाजुका छोराहरूलाई भेट्न जान पर्‍यो भने निकै घुम्न पर्छ ।

सबैभन्दा मूल्यवान् सम्पत्ति भनेकै जग्गा हो कि भनेजस्तो हुन थाल्यो । हुन पनि प्रकृतिले सीमित मात्रामा उपलब्ध गराएको सीमित साधन हो, जग्गा । न त यसलाई तन्काउन सकिन्छ न त बढाउन सकिन्छ । यसको मूल्य त अकासिने नै भयो ।

नियमित प्रक्रिया नै जस्तो देखिने गरी जग्गाको मूल्य बढ्न थाल्यो । तर, उही गतिमा सम्बन्ध र भावनाको मूल्य क्रमशः घट्दै गयो । समयले जेठोलाई बाठो नै साबित गर्‍यो, सम्पत्तिका हिसाबले पनि उनी जेठै रहे । कान्छा लाटा नै साबित भए, उनको सम्पत्ति झन्झन् खिइँदै गयो ।

समयले अझै सिङजुरो उमार्‍यो । एक दिन छोराले गोपाल दाइसँग भन्यो, “शेअर खेल्न पर्‍यो बा ! उस्तै परे वर्ष दिनमा डबल हुन्छ ।”

उनले छोरालाई हार्न सकेनन् । ब्यांकमा गएर औँला थिचिदिए । तर, छोराले भनेजसो गरी ‘उस्तै परेन’ । दाउ उल्टो पल्टियो । खेलाडीको पासोमा परेर हल न चल भएर छोरो थलियो ।

ब्यांकको ताकेताको तनावले गाँज्दै लग्यो । दैनिक आवश्यकताहरू समेत पुर्‍याउन धौधौ पर्ने स्थितिमा गोपालको परिवार पुग्यो । कुनै जरुरी आवश्यकता पूरा गर्न पनि १० पटक सोच्नुपर्ने अवस्था भयो ।

०००

गोपाल दाइले फोन गरेकै दिन सुबोधले उनको चस्माको पुर्जा बाउको राखनधरनमा खोजेको थियो । अनि, तुरुन्तै नयाँ फ्रेममा उनैको पुर्जाअनुसार गुणस्तरीय सिसा जडान गरेर ल्याएको थियो ।

गोपाल दाइ आफैँलाई भेट्न आएका हुन् भन्ने पक्का भएपछि सुबोध तल ओर्लियो र दुईवटा कुर्सी घाममा राख्यो । नयाँ चस्मा खल्तीमा हाल्यो र गेटबाहिर गएर उभियो । परैदेखि नमस्कार गर्दै गोपाल दाइलाई स्वागत गर्‍यो ।

दुवै गएर मेचमा बसे । सुबोधकी श्रीमतीले एउटा गिलासमा दूध र अर्को कपमा चिया बोकेर आई । गोपाल दाइले भने, “के दुःख गरेकी नानी, भर्खर खाना खाएर यसो घाम ताप्न पो निस्क्या त ! यो दुःख गर्नै नपर्नी ।”

सुबोधको श्रीमती केही नबोली मुसुक्क हाँसेर भित्र पसी । दुवैजनाले निकै बेर सुखदुःखका कुरा गरे । सुबोधले खल्तीबाट निकालेर गोपाल दाइलाई नयाँ चस्मा दियो ।

“बाबुकाँ याँ त्यसै मिल्किनी नै हो, किन किन्नु भनेर नि बाबु,” गोपाल दाइले बोल्दै चस्मा लगाए । अनि, फेरि सुबोधतिर हेरेर हाँस्दै भने, “सुबोध बाबुका पनि कपाल त राम्रै फुलिसकेछन् !”

“हो नि बा ! अनि, उमेर पनि त काँ बाँकी छ र ? सत्चालीस भइहालेँ ।”

“बाबु पनि सत्चालीस है ? मलाई त उही पहिलोपटक देख्दाको सातवर्षेजस्तो लाग्छ ।” 

गोपालदाइ शरीर धर्मराउँदै घरतिरै फर्किए । वास्तविक पुर्जाअनुसारको चस्मा पाएर उनका आँखाहरू दुरुस्त भएर खुलेका थिए । समयको वास्तविक दृश्यसँग लामो समय बेखबर रहेका गोपाल दाइलाई एकपटक वरपरको वातावरण हेर्न मन लाग्यो । घर पुगेर सरासरी कौसीमा चढे । अनि, यताउता हेर्न लागे ।

पुराना बारीका अवशेष कतै बाँकी थिएनन्, तर घरैघरको बीचमा सुकेको ठूल्धारो भने प्रस्ट देखियो । नयाँ चस्माले देखिनुपर्ने ठूल्धारो त देखायो, तर नदेखाउनुपर्ने पुरानो दृश्य पनि देखायो । यो दृश्य गोपाल दाइको आँखामा नराम्रोसँग बिझायो ।

०००

ठूल्धारोबाट पानीको ठूलै धारो खसिरहेको थियो । शनिबार भएकाले नुहाउनेहरूको भीड थियो । केटाकेटी लिएर गोपाल दाइ नुहाउन गएका थिए । अरू पनि उसै गरी केटाकेटी लिएर नुहाउन गएका थिए ।

गोपाल दाइको मोटरसाइकल पनि धुन लगिएको थियो । नुहाउने भनेर आएकाबाहेक अरू केटाकेटी पनि मोटरसाइकल हेर्न झुम्मिएका थिए । मोटरसाइकलमा कोही साबुन दल्दै थिए, कोही मिच्दै थिए । कोही पखाल्दै थिए र विभिन्न अनुमानका कुरा गर्दै थिए ।

ठूला मान्छेहरू दुई दिनअघि काठमाडौंका पाँच ठाउँमा पड्किएका बम र सत्याग्रह आन्दोलनका कुरा गर्दै थिए । डराएका पनि थिए । नुहाइधुवाइ सकाएर घर जान हतारिँदै थिए ।

गोपाल दाइ भने ठूला मान्छेसँग गफ त गर्दै थिए, तर केटाकेटीले मोटरसाइकल बिगार्ने हुन् कि भन्ने डरले ध्यान उनीहरूतिरै गाडेका थिए ।

केटाकेटी उत्साहित निकै थिए । चासो धेरै थियो ।

“यसाँ चडेसि त पाँच मिनेटाँ रत्नपारक पुगिन्छ रे,” एउटाले भन्यो ।

“यो त बौदाँ आइपुगेसि नै याँसम्म सुनिन्छ । भटटट !,” अर्कोले भन्यो ।

“यो बा.अ.फ. भन्या चैँ के हो ?,” फेरि अर्को बोल्यो ।

सुबोध सानैदेखि अलि बिचारी थियो । एकछिन गम खाएर भन्यो, “‘बारी अब फर्कंदैन’ भन्या हुनपर्छ ।”

नयाँ चस्माको सिसाबाट छिरेको सुबोधको त्यो ध्वनि गोपाल दाइको कानमा बारम्बार गुन्जिरह्यो, “बारी अब फर्कंदैन । बारी अब कुनै हालतमा फर्कंदैन !”

गोपाल दाइको शरीर थप धरमरायो । दुई हातले भित्तो समाउँदै आफूलाई सम्हाल्ने प्रयास गरे ।
 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्