
पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलीब्रिज भाँचिदा ६ कामदार घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
शनिबार (जेठ ३१) साँझ निर्माणाधीन बेलीब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो । करिब ७० मिटर लामो मोडुलार पुल भाँचिदा निर्माणमा खटिएका ६ कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी र २५ वर्षीय भुलेश्वर चौधरी गम्भीर घाइते भएका छन् । सोही ठाउँमा ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी पनि घाइते भएका छन् ।
जिल्ला अस्पताल पाँचथरमा घाइतेहरूको उपचार भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए । ‘लोड’ थाम्न नसकेर बेलीब्रिज भाँचिएको स्थानीयवासीले बताएका छन् । रासस