site stats
बाह्रखरी :: Baahrakhari
खेल
एपीएफ प्रचण्ड कप भलिबल च्याम्पियन

काठमाडौं । विभागीय टिम एपीएफ क्लबले ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार (जेठ ३१) पोखरा रंगशालामा नेपाल पुलिस क्लबमाथि सानदार जित निकाल्दै एपीएफ पहिलो संस्करणको प्रतियोगिताको च्याम्पियन बनेको हो ।

एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा हरायो । पुलिसमाथि हाबी बनेको एपीएफले २५–१९, २५–२० र २५–१३ को सहज जित निकाल्यो । निरुता ठगुन्नाको अलराउन्डर प्रदर्शनमा एपीएफको सहज जित सम्भव बनेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपाधिसहित एपीएफले ६ लाख रुपैयाँ प्राप्त गर्‍यो । पुलिसले तीन लाख रुपैयाँमा चित्त बुझायो ।

न्यु डायमन्ड स्पोट्र्स क्लब तेस्रो भयो । शनिबारै न्यु डायमन्डले तेस्रो स्थानका निम्ति भएको खेलमा एभरेस्ट भलिबल क्लबलाई २५–८, २५–१९ र २५–११ को सेटमा हरायो । न्यु डायमन्डले एक लाख रुपैयाँ हात पार्‍यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी निरुता ठगुन्ना घोषित भइन् । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् । विधागत पुरस्कारतर्फ पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमन्डकै शलिना श्रेष्ठ उत्कृष्ट लिब्रो, एपीएफकी सृष्टि खड्गी उत्कृष्ट सर्भर र एपीएफकै पुष्पजंग मल्ल उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फका उत्कृष्टले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।

नेसनल स्पोर्ट्स एकेडमीले आयोजना गरेको प्रतियोगिता यही जेठ २७ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा राष्ट्रियस्तरका ६ महिला भलिबल टिम सहभागी थिए ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्