site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
केदारनाथदेखि बद्रीनाथ

बाटोमा जमेर बसेको अथाह हिउँ देखेर अन्दाज भइसकेको थियो, केदारनाथमा भयानक जाडो होला भन्ने ।

हामी नेपाली धर्मशालामा आएर हातमुख धुँदै फ्रेस हुन भनेर धारामा गयौँ । पानी छुँदा अनुभूत भयो, हात त फतक्क गल्छ होला ! मे महिनामा पनि यस किसिमको जाडोको कल्पना हामीले गरेका नै थिएनौँ ।

धर्मशालाका पुजारीले पुरी र तरकारीको व्यवस्था गरिदिएका थिए । तात्तातो तरकारीको झोल एकैछिनमा ‘कोल्ड ड्रिंक’ भइसकेको थियो । बेलुका सुत्ने बेला भनेका थिए, ‘दुई बजे नै उठ्नुहोला । दर्शनका लागि तीन बजेदेखि नै लाइनमा लाग्नुपर्छ ।’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुत्ने कोसिस त गरिएको हो, तर निद्रा कहाँ लाग्नु र ! दुईदुईवटा सिरक ओढ्दा पनि कम्प छुटिरहेको थियो ।

हामी सखारै तीन बजे तयार भएर मन्दिर पुग्यौँ । मन्दिरको चारैतिर प्रांगणमा टाट ओछ्याइएको थियो । दर्शनार्थी यही टाटमा उभिएर मन्दिरको ढोका खुल्ने समयको प्रतीक्षा गर्न लागे ।

केही बेरमै खुट्टो केही थाहा नै नपाउनेजस्तै गरी शून्य हुन थाल्यो । दुईदुईवटा स्वेटर, कोट, टोपी र दोसल्ला ओढ्दा पनि हामी एकनासले काँपिरहेका थियौँ ।

क ितबेला साढे पाँच बज्ला र मन्दिरको ढोका खुल्ला ! हामीले एकएक गर्दै मन्दिरअगाडि रहेको चिया पसलमा गएर चिया पियौँ ।

साढे पाँच बज्दा नबज्दै मन्दिरको प्रांगण दर्शनार्थीहरूको भीडले भरियो । चक्राकार रूपमा रहेको यो पंक्ति हेर्दा चक्रव्यूहझैँ लागिरहेको थियो ।

ढोका खुलेपछि मन्दिरको कार्यालयमा प्रतीक्षारत केही टोलीलाई एकएक गरेर जान दिइयो । थाहा भयो, प्रातः अभिषेक पूजनका लागि एक दिनअगाडि नै टिकट लिए लामो लाइनमा लाग्नु पर्दैन ।

हाम्रो पनि समय आयो, त्यसबखत बिहानको नौ बजिसकेको थियो । भित्र पस्दा मात्र पनि सारा दुःखकष्ट मानौँ हराएर गयो । वृषभको पिठिउँ रूपको शिव शिलाको दर्शन गर्दा मात्रै पनि मन प्रफुल्लित भयो ।

हामीले पूजा सामग्री र घ्यु सबै काशीबाट नै लिएर गएका थियौँ । शिव शिलामा घ्युको लेपन गरेर कपडा समर्पित गर्‍यौँ । यहाँ आरामले भगवान् पूजा गर्न सकिँदो रहेछ । भीड हुँदा पनि पुजारीले खासै केही भन्दा रहेनछन्, जस्तो विश्वनाथजीको मन्दिरमा हुन्छ ।

यहाँ केही त छ जसले मनमा अपार शान्ति दिन्छ । मन्दिरको पृष्ठभागमा नै आकाशलाई छुँदै गरेको नीलकण्ठ हिमशिखर उभिएको छ । भनिन्छ, पाण्डवहरू यही पर्वत शृंखला भएर स्वर्ग गएका थिए ।

त्यहाँ अनुराधा पौडवालको आवाजमा शिवमहिमा स्तोत्र गुन्जिरहेको थियो ।

मन्दिरको पाश्र्वभागमा नै आदि शंकराचार्यको समाधि पनि रहेको छ । शंंकराचार्यले पनि यो स्थानको महत्त्वलाई महसुस गरेर यहीँ शिवमुक्ति प्राप्त गरेका थिए होलान् । शंकराचार्य त शिवकै अवतार थिए नि !

मन्दिरबाट बाहिर निस्किने मन लागिरहेको थिएन । त्यतिखेरसम्म जाडो हराइसकेको थियो । तर, पुजारीले भनिसकेपछि फर्किनु नै पर्‍यो । दुई बजेपछि यहाँ पानी पर्न सुरु हुने भएकोले त्यसअघि नै श्राद्ध गर्नु श्रेयस्कर हुने भनियो ।

उनको सल्लाहबाट नै हामीले आफ्ना पितृहरूलाई पिण्डदान गर्‍यौँ । फेरि मन्दाकिनीको शीतल र पवित्र जलमा स्नान गरेर हामी हिँड्यौँ बद्रीनाथतिर ।

नीलकण्ठको शिखर पारितर्फ नै बद्रीनाथको मन्दिर छ । भनिन्छ, अहिले पनि सिद्ध तपस्वी केदारनाथको आरतीउप्रान्त बद्रीनाथको आरतीमा समावेश हुन पुग्छन् रे !

पटकपटक आँखाहरू पछिल्तिरको श्वेत हिमशृंखलामा अडिरहेको थियो र मनले भन्थ्यो, ‘यहीँ बस ।’

हामी गौरीकुण्ड पुग्दा रात परिसकेको थियो । गौरीकुण्डमा विश्रामका लागि होटेल खोज्नुपर्‍यो । बडो मुस्किलले दुईवटा कोठा मात्र पाइयो ।

गौरीकुण्डमा राति विश्राम गरेर भोलिपल्ट बद्रीनाथ जानका लागि हामी रुद्रप्रयागको सोही बाटो भएर फर्कियौँ, जुन बाटोबाट हामी आएका थियौँ ।

रुद्रप्रयागबाट केदारनाथ तथा बद्रीनाथको बाटो फरक छ । गौरीकुण्डदेखि बद्रीनाथसम्मको दूरी करिब २४० किलोमिटर छ । हामी तीन घण्टामा रुद्रप्रयाग पुग्यौँ ।

यसरी कर्णप्रयाग, नन्दप्रयाग हुँदै चमोली पुग्यौँ र पीपलकोटि पुग्दापुग्दै अपराह्नको १२ बज्यो । पेटमा मुसा कुद्न थालिसकेको थियो । त्यसैले पहिलो काम पेटपूजा थियो । 

हामीले पेटपूजा गर्‍यौँ । त्यसो त यो बाटोमा खानपानको राम्रो सुविधा रहेछ । खाना स्वच्छ र स्वादिष्ट पनि । पहाडी वातावरणको प्रभाव होला ।

पीपलकोटिभन्दा केही पर गरूड गंगा छ । जोशीमठ पुग्दापुग्दै दिउँसोको साढे तीन बज्यो ।

बद्रीनाथ जाने सडक अपेक्षाकृत सुरक्षित र सुसंरक्षित छ । ठाउँठाउँमा चुनाको पहाड (लाइमस्टोन रक)को बाटोमा चट्टान झर्ने सम्भावना रहन्छ र सडक भासिने हुन्छ । त्यसैले त्यस्ता ठाउँहरूमा निरन्तर मर्मतको काम चलिरहेको हुन्छ ।

जोशीमठदेखि एउटा बाटो औलीतिर जान्छ । औली एक ‘विन्टर रिसोर्ट’ हो, जहाँ मानिस हिउँमा स्कीइङका लागि आउने गर्छन् ।

यी साराका सारा पहाडी बाटोमा ठाउँठाउँमा ‘असुविधाका लागि खेद छ’, ‘अगाडि चिप्लो छ, सावधान’, अथवा ‘पत्थर झर्छ, सावधान’ आदि लेखिएको छ । कति सजिलो छ, खेद प्रकट गर्दैमा मानौँ दुःखकष्ट हराएर जान्छ !

सारा सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीँ अकल्पनीय घटना घट्ने गर्छ । त्यसैले हाम्रा ड्राइभर बिष्टजीले जबै स्टेयरिङ छोडेर चुरोट सल्काउने उपक्रम गर्थे, म फटाफट उनको हातबाट चुरोट खोसेर सल्काएर दिन्थेँ । उनी सिगरेटको कस लिएर खोक्न थाल्थे ।

थाहा छैन, मानिस चुरोट किन पिउँछन् ?

जोशीमठदेखि बद्रीनाथसम्मको बाटो साँघुरो भएका कारण एकतर्फी (वन वे) छ । उच्च पहाडी क्षेत्रमा चट्टानलाई काटेर बनाएको बाटो बिस्तारैबिस्तारै हिँड्दा सुरक्षित हुन्छ ।

करिब एक घण्टाको प्रतीक्षापछि बाटो खुल्यो । साँझ छ बजेदेखि यो बाटो बन्द हुन्छ र बिहान नौ बजे मात्रै खुल्छ ।

बाटो खोलिने यो अवस्थालाई यहाँ ‘गेट’ भनिँदो रहेछ । ‘आठ बजेको गेट’, ‘नौ बजेको गेट’ आदि ।

जोशीमठबाट करिब २० किलोमिटरको दूरीमा गोविन्दघाट आउँछ । हेमकुण्ड साहब जानका लागि तीर्थयात्रीहरू यहीँबाट पैदल जान्छन्, जुन करिब २० किलोमिटर टाढा छ ।

हामीले फर्किंदा देख्यौँ, श्रद्धालु सिख भाइ सपरिवार (स–साना बच्चासहित) हरिद्वारदेखि पैदल नै यहाँसम्म आएको । कोहीकोही त नांगो खुट्टा पनि देखिए । साँच्चै हो, श्रद्धा र आस्थाको कुनै अन्त्य छैन !

साँझ परिसकेको थियो, जब हामी बद्रीनाथ पुग्यौँ । टाढैबाट ‘परमार्थ आश्रम’को विशाल धर्मशाला देखिइरहेको थियो । यस्ता धर्मशाला यहाँ धेरै छन्, तर समस्या त्यही हो, विनाअग्रिम आरक्षणका लागि ठाउँ छैन !

त्यो त राम्रो भयो कि हाम्रा एक परिचित विनोद खाण्डुरीजीकहाँ मन्दिरभन्दा पछाडि ठाउँ पाइयो । राति नै मन्दिरको ठिक तल रहेको तप्तकुण्डमा स्नान गरेर हामी दर्शन गर्न गयौँ ।

बद्रीनाथको दर्शन गर्न पाउनु वास्तवमै जीवनको एक उपलब्धि हो । जसले यो मान्दैनन्, तिनले स्वयम् अनुभव गरेर हेर्नुपर्छ ।

बद्रीनाथजीको मूर्ति कालो पत्थरबाट बनेको छ । किंवदन्ती यो छ कि नारदजीले यसको पूजा गर्दथे । कालान्तरमा शंकराचार्यले यसलाई नारदकुण्डबाट निकालेर गरूडकोटि गुफामा स्थापित गरे ।

पन्ध्रौँ शताब्दीमा गढवाल नरेशले मन्दिरको निर्माण गराए । यसको सुनको शिखर अहिल्या बाईले चढाएकी थिइन् । धन्य छिन् अहिल्या बाई, जसले विश्वनाथजी (काशी)मा पनि स्वर्णशिखर बनाएकी थिइन् । नेपालको जनकपुरमा पनि रामजानकी मन्दिरको निर्माण यिनैले गराइन् ।

बद्रीनाथजीमा हामीले अर्को दिन प्रसाद (भात) खायौँ, तृप्त हुँदासम्म ।

त्यस दिन पनि प्रातः दर्शन गरेर हामी ब्रह्मकपालमा पितृहरूको श्राद्ध गर्न गयौँ । भनिन्छ, ब्रह्मकपालमा श्राद्ध गर्नेहरूको समस्त पितृगणले विष्णुलोकको प्राप्ति गर्छन् । यस्तो हुन्छ होला, अन्यथा सदियौँदेखि यहाँ मानिस किन आउँथे ?

अहिले त धेरै सुविधा छ, पैसा होस् त हेलिकोप्टर पनि पाइन्छ । तर, अनादिकालमा जब यो पहाडी बाटोमा जंगली जनावरहरू, भोक प्यास र विषम जलवायुसँग जुझ्दै मानिसहरू यहाँ आउँथे त आफ्नो परिवारजनसँग अन्तिम बिदा लिएरै आउँथे ।

त्यस बेलादेखि अहिलेसम्म अलकनन्दामा धेरै पानी बगिसकेको होला, हिमालय पहाडको हिउँ कैयन्पटक पग्लेर फेरि पनि जमिसकेको होला । तर, यो आस्था अहिले पनि, अझै पनि अटल भएर विराजमान छ – जसबाट प्रेरित भएर मानिस जीवनमा एकपटक यहाँ आउनै चाहन्छन् ।

बहूनि सन्ति तीर्थानि
दिविममूमौ रसासु च ।
बदरी सदृशं तीर्थं 
न भूतं न भविष्यति ।।

मेरो वश चल्दो हो त बारम्बार म यहाँ आउने थिएँ ।

अहिले पनि, जतिखेर मेरो चाहना हुन्छ म आँखा बन्द गर्छु र मन प्वाँख लगाएर ती स्थानहरूतिर हिँड्छन् । कति वर्ष बितिसकेको छ, तथापि लाग्छ, भर्खरैभर्खरै मात्र फर्किएको छु ।

(‘स्वतन्त्र भारत’ मे १९९४ मा प्रकाशित ।)
(दुर्गाप्रसाद श्रेष्ठको हिन्दी नियात्राकृति ‘देश–देशान्तर’बाट अनूदित) 
 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्