site stats
बाह्रखरी :: Baahrakhari
खेल
साविक विजेतालाई हराउँदै दक्षिण अफ्रिका पहिलोपटक टेस्ट च्याम्पियन

काठमाडौं । साविक विजेता अस्ट्रेलियाविरुद्ध पाँच विकेटको जित निकाल्दै दक्षिण अफ्रिकाले पहिलोपटक आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । लर्डस् किक्रेट मैदानमा भएको फाइनलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २८२ रनको लक्ष्य दक्षिण अफ्रिकाले चौथो दिन पाँच विकेट गुमाएर पूरा गरेको हो ।

दक्षिण अफ्रिकाले २१३–२ को स्थितिबाट चौथो दिनको सुरुआत गरेको थियो । दक्षिण अफ्रिकालाई च्याम्पियन बनाउन आइदेन मार्करमले १३६ रन बनाए । उनले २०६ बलमा १४ चौका प्रहार गरे ।

कप्तान टेम्बा बाभुमाले ६६ रन थपे । उनले १३४ बलमा पाँच चौका प्रहार गरे । वियान मुल्डरले २७ र डेविड बेडिङघमले अविजित २१ रन बनाए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अस्ट्रेलियाका मिचेल स्टार्चले तीन विकेट लिए । जश हेजलउड र कप्तान प्याट कमिन्सले समान एक विकेट लिए ।

अस्ट्रेलिया दोस्रो इनिङमा २०७ रनमै समेटिएको थियो । र, दक्षिण अफ्रिकाले २८२ रनको लक्ष्य प्राप्त गरेको थियो ।

अस्ट्रेलियाका मिचेल स्टार्चले १३६ बलमा पाँच चौकासहित अविजित ५८ रन बनाए । एलेक्स केरीले ४३, मार्नुस लाबुसेनले २२ र स्टिभ स्मिथले १३ रन जोडे ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले चार विकेट लिए । लुंगी एनगिडीले तीन र मार्को यानसन, वियान मुल्डर र एडेन मार्करमले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर अस्ट्रेलिया पहिलो इनिङमा २१२ रनमै समेटिएको थियो । दक्षिण अफ्रिकाले पनि १३८ रन मात्र बनाउन सकेको थियो । अस्ट्रेलियाले पहिलो इनिङको समाप्तिमा ७४ रनको अग्रता बनाएको थियो ।

दक्षिण अफ्रिकाले सन् ११९८ पछि आईसीसीको प्रमुख प्रतियोगिता जितेको हो । त्यति बेला दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीको उपाधि उचालेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  २२:३८
प्रतिक्रिया दिनुहोस्