
काठमाडौं । अहमद हिजाजीको ह्याट्रिक प्रेरित धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा शुक्रबार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा उत्कृष्ट पुनरागमनसहित धनगढीले पूर्वविजेता काठमाडौं रेजर्सलमाथि ३–१ को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो । धनगढीको जितमा हिजाजीले ह्याट्रिक गरे । काठमाडौंका अमाडौं डियोपले एक गोल गरेका हुन् ।
खेलको अन्तिम समयमा दुवै टोलीका खेलाडीले रातो कार्ड सामना गर्दा १० खेलाडीमा सीमित भएका थिए । यससँगै काठमाडौंसँगको कुल पाँचौँ भेटमा धनगढीले तेस्रो जित निकालेको हो । एक खेलको नतिजा बराबरी हुँदा काठमाडौंले एक जित आफ्नो पक्षमा पारेको थियो । पाँचौँ भेटमा पनि काठमाडौंले अग्रता लिँदै राम्रो सुरुआत गरेको थियो । तर, त्यसलाई जोगाउन सकेन ।
खेलको २२औँ मिनेटमा नै काठमाडौंले अग्रता कायम गर्यो । मोहम्मद बुया टोरेको पासमा डियोपले बक्सभित्रबाट उत्कृष्ट गोल गरे । यससँगै काठमाडौं १–० ले अग्रता लियो । ३५औँ मिनेटमा धनगढीले बराबरी गोल फर्कायो । मोहम्मत एलले डिफेन्डरलाई छक्याउँदै दिएको बललाई हिजाजीले बक्सभित्र कडा निगरानीबीच गोल गरेका हुन् ।
यससँगै खेल १–१ को बराबरीमा पुग्यो । ४१औँ मिनेटमा धनगढीले अग्रता लियो । कृतिसरत्न छुन्जुले अगाडि बढाएको बल काठमाडौंका डिफेन्डरले ब्लक गर्दा हिजाजीको खुट्टामा पुग्यो । सो बललाई हिजाजीले पोस्टको दिशा दिए । त्यसपछि पहिलो हाफको थप समयमा हिजाजीले ह्याट्रिक पूरा गरे ।
सर्जियो बारबोजाको पास सदुपयोग गर्दै हिजाजीले ६ यार्ड बक्सबाट गोल गरे । उनी यस सिजनको एनएसएलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि बने । पहिलो हाफमा धनगढी ३–१ ले अग्रता बनायो । दोस्रो हाफमा दुवै तर्फबाट गोलका प्रयास भए । तर, गोल निस्किएन । ८६औँ मिनेटमा दुवै टोली १० खेलाडीमा सीमित भए । एकअर्कासँग झगडा गरेपछि खेलका रेफ्री प्रज्वल क्षेत्रीले धनगढीका डिफेन्डर रनदीप पौडेललाई दोहोरो पहेँलोसहित रातो र काठमाडौंका फरवार्ड भिसेन्ट कोजिएलोलाई सिधै रातो कार्ड देखाएका थिए ।
समान चार खेलबाट धनगढी आठ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक भए पनि ललितपुर सिटी एफसी दोस्रो स्थानमा छ । समान खेलबाट एफसी चितवन सात र काठमाडौं पाँच अंकसहित क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।