site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसमा गुटको राजनीति, गगनले भने– चन्द्र भण्डारीलाई सँगै राख्न दुवै महामन्त्री गुल्मी आयौँ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रिय राजनीतिजत्तिकै गुटगत राजनीति पनि लागेको छ । सभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनमा लड्न नपाउने भएपछि देउवा टिममा सभापतिको उमेदवारको खोजी जारी छ ।

देउवाले आफू प्रधानमन्त्री नभइ उमेदवार र महाधिवेशनको मिति दुवै नतोक्ने बरु आफैँ साझा उमेदवार खोज्न सुझाव दिएपछि नेताहरूबीच भेटघाट बढेका छन् । अघिल्लो पटक सभापतिको उमेदवार बनेर देउवालाई दोस्रो चरणसम्म पुर्‍याएका नेता डा. शेखर कोइराला आफू सभापतिको उमेदवार बन्ने सार्वजनिक घोषणासहित देश दौडाहामै छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यहीबीच आफूलाई सार्वजनिक रूपमा सभापतिको उमेदवार घोषणा नगरीकनै महामन्त्री गगन थापा देश दौडाहा गरिरहेका छन् । अनौपचारिक रूपमा भने आफ्ना निकटस्थहरूलाई सभापतिको उमेदवार बन्ने र आ–आफ्नो ठाउँबाट तयारी तीब्र पार्न निर्देशन दिइसकेका छन् ।

यहीक्रममा उनी मंगलबार गुल्मीको जिल्ला भेलामा पुगेका थिए । त्यहाँ कांग्रेस अप्ठेरोमा छ वा ०८४ को चुनावमा अप्ठेरोमा पर्छ भन्ने हिन भावना नराख्न र आत्मविश्वाससहित अघि बढ्न कार्यकर्तालाई हौस्याए । उनले संघीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू, स्थानीय तहका प्रमुख तथा अध्यक्षहरू, वडाध्यक्षसहित सबै तहमा काम गरेर परिणाम देखाउन निर्देशन दिए ।

त्यसबाहेक उनले आफू बीपीको पार्टीको, गिरिजाप्रसादको पार्टीको कार्यकर्ता भएको र गणेशमान, किशुनजीजस्ता नेताको शिष्य भएको ख्याल राखेर काम गर्न पनि निर्देशन दिए । उनले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने र कसैले पनि महाधिवेशन नसार्ने भन्दै आफूले सदस्यतामा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधानमा काम गरिरहेको बताए । भाषण गर्दैगर्दा अन्त्यमा थापाले आफ्नो उद्देश्य प्रष्ट पारे ।

मञ्चमा बसिरहेका नेता चन्द्र भण्डारीलाई नछोड्न र सँगै लिएर अघि बढ्न गुल्मी पुगेको उनले मञ्चबाटै घोषणा गरे । “सँगै भएर पनि हामी दुई महामन्त्री एउटै कार्यक्रममा सहभागी हुन पाएका थिएनौँ । यसपटक चन्द्र भण्डारीलाई पनि सँगै लिएर हिँड्न हामी दुवै महामन्त्री यहाँ आएका छौँ,” महामन्त्री थापाले भने, “उहाँ कतै अल्मलिनु होला कि भनेर हामी यही आएका हौँ ।” महामन्त्री थापाले त्यसरी भाषण गर्दा मञ्चमा हाँसोको फोहोरा छुटेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्