site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपालमा उद्योग खोल्न नदिन छिमेकीले अनेक प्रपञ्च गरिरहेको छ : भुसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपालमा उद्योग खोल्न नदिनका निम्ति छिमेकी मुलुकले अनेक प्रपञ्च गर्ने गरेको बताएका छन् । शनिबार (जेठ ३१) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपालीले ऋण बोकेको, हेपिएको, नाकाबन्दी लगाएको र हेप्नेक्रम नरोकिनुमा भारतको भूमिका रहेको उनले आरोप लगाए । उनले नेपालमा उद्योग, कलकारखाना बढ्न नदिन भारतले अनेक कानुन बनाएको, आयात गर्ने सामानमा भन्दा कच्चापदार्थमा बढी भन्सार लगाइदिने गरेकाले रोजगारीमा समेत समस्या उत्पन्न भइरहेको जिकिर गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यिनै विषयलाई हाल एकीकृत समाजवादीले मूल मुद्दाका रूपमा उठाएको उनले बताए । उनले नेपालको अर्थतन्त्रको चरित्र दलाल पुँजीवादी भएको टिप्पणी गरे । बाहिरबाट सामान आयात गरेर बढीभन्दा बढी नाफा कमाउनकै निम्ति दलाल पुँजीवादीले उद्योग खोल्ने वातावरण नबनाइदिएको उनको भनाइ थियो ।

नेपालका उद्योग सञ्चालन हुन नदिन प्रधानमन्त्री, अर्थमन्त्रीदेखि सांसदहरूलाई समेत प्रलोभनमा पार्ने गरिएको उनले दाबी गरे ।

कार्यक्रममा घनश्याम भुसालको भनाइ पढ्नोस्–
यो तमाम चिजहरू सबै हाम्रो आजसम्म पनि दलित समस्या रहेको, हामीले ऋण बोकेको, हामी इन्डियाभन्दा हेपिएको, हामीलाई इन्डियनहरूले हेपेको, हामीलाई नाकाबन्दी लगाएको । अहिले पनि हामीलाई हेप्नेक्रम नरोकिएको, हाम्रो उद्योग बढ्न नदिनका लागि अनेक कानुनहरू ल्याएको, प्रपञ्च गरेको, नेपालमा घुसखोरी बढेको यी सारा कुराको जड के हो भन्दा हामीकहाँ उद्यम भएन । यही विषय हो अहिले एकीकृत समाजवादीले उठाएको मुद्दा । रोजगारी रोजगारी भनेको यही मुद्दा हो । यो इतिहासको, यो समाजको सबैभन्दा महत्त्वपूर्ण आधारभूत मुद्दा हो । किनभने, मान्छेले काम गर्छ, मुस्किलले खान पुग्छ वा पुग्दैन । हाम्रो देशको कृषिको हालत यस्तै छ । किनभने, बीउ राम्रो हुँदैन, समयमा पानी पर्दैन, टेक्नोलोजी छैन, जेटिएहरू छैन । कहीँ केही उत्पादन भइहाल्यो भने बजार छैन । त्यसकारण कोहीकोही उद्योगले राम्रो गरेको छु भन्नु भनेको झुक्किएर राम्रो भएको हो । त्यसरी झुक्किनु भनेको दुई वा तीन वर्ष मात्र हो । सामान्य अवस्थामा कृषिमा लागेको मानिस डुब्नुको विकल्प नै छैन । हाम्रो कृषि उद्योग किन यस्तो भन्दा खासमा हाम्रो अर्थतन्त्रको चरित्र दलाल पुँजीवादी छ । दलाल पुँजीवादी भनेको के हो भन्दा बाहिरबाट सामान आयात गर्ने, यहाँ बेच्ने र नाफा कमाउने । बाहिरबाट सामान ल्याएर बढी नाफा गर्न के गर्नुपर्छ भन्दा यहाँ उद्योग खोल्न दिनु हुन्न । त्यसका लागि अर्थमन्त्रीलाई भनेर, प्रधानमन्त्रीलाई भनेर, सांसदहरूलाई भनेर के गर्ने भन्दा उताबाट सामान जुन ल्याइन्छ, त्यो सामानको मूल्यभन्दा कच्चापदार्थको भन्सार महँगो गरिदिएपछि यहाँका उद्योगहरू सञ्चालन हुँदैनन् । जस्तो कि जुस बनाएर ल्यायो भने त्यसमा कम भन्सार लगाइदिने तर फलपूmल ल्याउँदा भने भन्सार बढी लगाइदिनेजस्ता कार्यले यहाँ उद्योग फस्टाउन सकेका छैनन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १८:५८
प्रतिक्रिया दिनुहोस्