
काठमाडौं । बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको बाह्रखरी कर्पोरेट गल्फ काठमाडौंमा हुने भएको छ । कर्पोरेट गल्फसँगै आर्थिक सम्मेलन पनि गोकर्णमै हुने भएको छ ।
काठमाडौंमा रहेको गोकर्ण गल्फ कोर्षमा २०८१ चैत २३ अर्थात् अप्रिल ५ मा आयोजना गर्न लागिएको हो ।
शनिबार बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र गोकर्ण फरेष्ट रिसोर्टका भाइस प्रेसिडेन्ड दोर्जे शेर्पाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर समारोहमा शेर्पाले बाह्रखरी मिडियाले कर्पोरेट गल्फ प्रतियोगिता वार्षिकरुपमा आयोजना गरेर नेपालमा नयाँ आयाम थपेको बताए ।
उनले बाह्रखरी र गोकर्ण गल्फबीचको सहकार्य लामो समयसम्म कायम राख्नुपर्नेमा जोड दिए ।
बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक आचार्यले विगत ८ वर्षदेखि आफूहरु लगातार कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै अहिलेसम्मको साथ सहयोगका लागि धन्यवाद दिएका थिए ।
उनले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताए ।
कर्पोरेट गल्फ प्रतियोगिताका सम्बन्धमा छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी गराइने आचार्यले बताए ।
“बाह्रखरी गल्फ प्रतियोगिताका बारेमा हामीले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दैछौँ,” आचार्यले भने, “कर्पोरेट गल्फ र इकोनोमिक सिम्पोजियमका सम्बन्धमा हामीले त्यस पत्रकार सम्मेलनमा जानकारी गराउनेछौँ ।”