site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
एनसेल बाह्रखरी गल्फ : दोस्रो सहभागितामै च्याम्पियन बनेका दोर्जे 

काठमाडौं । ‘एनसेल बाह्रखरी गल्फ’मा दोर्जे होजाङस्टाङले शनिबार (चैत २३) दोस्रोपटक सहभागिता जनाए । उनलाई सुरुआती चरणबाटै हात उठाऊँ कि जस्तो लाग्दै थियो । सुरुआती दुई होलमा उनले खराब प्रदर्शन गरेका थिए । तर, पछि हटिहाल्न मनले मानेन । अन्तिम नतिजा जे रहे पनि खेल जारी राख्ने निर्णय गरे ।

उनको यही मनोबलले गोकर्ण फरेस्ट रिसोर्टमा सम्पन्न बाह्रखरी गल्फको आठौँ संस्करणको च्याम्पियन बनायो । दोस्रो सहभागिता, सुरुआतमै निराश – तर, पनि खेल्छु भन्ने अठोटले उनी ‘सुनको बल’को हकदार बने ।

“मेरो सुरुआती दुई होल बिग्रियो । गिभ अप गरौँ कि भन्ने पनि लाग्यो । तर, मैले गेम छोडिहाल्ने माइन्ड सेट परिवर्तन गरेर खेलेँ । राम्ररी खेलेँ र उपाधि पनि जितेँ ।”

‘चेन्ज दी माइन्डसेट’को जुक्तिले होजाङस्टाङको धमिलिँदै गएको सम्भावनामा आशा अंकुर भयो । वुडबाट प्रहार गर्दै सेतो बल खेलेका उनले च्याम्पियन बन्दै सुनको बल प्राप्त गरे । उनले प्रतियोेगितामा कुल ४४ अंक बनाउँदै उपाधि चुमे । आठौँ संस्करणमा उनी फ्रन्ट नाइनमा २५ र ब्याक नाइनमा १९ अंक जोड्दै च्याम्पियन बनेका हुन् ।

जितपश्चात् बाह्रखरीसँगको कुराकानीमा उनले कठिन प्रतिस्पर्धाबीच विजेता बनेकामा खुसी लागेको बताए । “खुसी र सरप्राइज दुवै छु । जित्न सक्छु भन्ने विश्वास पनि थियो,” उनले भने, “सरप्राइज किन छु भने गल्फ इज अनप्रेडिकटेबल गेम हो । एक दिन राम्रो हुन्छ, एक दिन नराम्रो हुन्छ । आजको गेमचाहिँ राम्रो नै भयो । प्रतिस्पर्धा निकै कडा थियो । नतिजा एकदम सबैको नजिक नै थियो । एक प्वाइटले मात्र जितेको थिएँ ।”

‘मैले मेरो खेल सुधार्नुपर्छ’
गल्फ र होजाङस्टाङबीचको सम्बन्ध बाल्यकालदेखिकै हो । बीचमा उनले यसलाई निरन्तरता दिन सकेनन् । १२–१३ वर्षको हुँदा त्रिभुवन विमानस्थलनजिकको रोयल नेपाल गल्फ कोर्समा गल्फ खेलेको धूमिल स्मरण छ, उनीसँग । 

होजाङस्टाङले ०७७ सालपछि गल्फमा पुनः पाइला चाले । गत वर्ष नै उनको समूहले गोकर्णेश्वर गल्फ कोर्समा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि उचालेको थियो ।

“खेल्न त  १२/१३ वर्षबाटै खेलको हो र पहिला सानो बेलामा एक्लै अलिअलि खेलेको थिएँ । एयरपोर्ट साइड कोर्समा पहिला यत्तिकै रमाइलोका निम्ति खेलिन्थ्यो । कोभिडपछि अलि सिरियस भएर खेल्न थालेँ । मेरो बुबा पनि गल्फर हुनुहुन्थ्यो । अहिले त सिनियर प्लेयर हुनुभइसक्यो । मैले क्यानडामा पनि खेलेँ । कोभिडको समयमा आफूलाई इम्प्रुभ गर्नुपर्छ भनेर सिरियस्ली खेल्न थालेको हो,” उनले भने “एउटै चिज पटक–पटक खेल्यो भने त्यो बानी भएर जान्छ  । यसरी पटक–पटक खेलेपछि म गल्फमा राम्रो बन्न सक्छु भन्ने महसुस भयो ।”

बाह्रखरी गल्फ व्यवस्थित छ’
सक्रिय र गम्भीर रूपमा लागेदेखि होजाङस्टाङले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै उपाधि जितेका छन् । नेपालकै अन्तर्राष्ट्रियस्तरको गल्फ कोर्स मानिने गोकर्ण गल्फ कोर्समा उनको समूह टाइगर ग्रुप नामले परिचित छ ।

बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगितामा दोस्रो सहभागिता भए पनि होजाङस्टाङ यसको व्यवस्थापनबाट प्रभावित छन् । उनले भने, “बाह्रखरी गल्फ वेल अर्गनाइज थियो । धेरै स्पोन्सर, कभरेज, फ्यान्स र राम्रो सेटअप थियो । मिडियामा कभरेज पनि थियो । हरेक वर्ष राम्रो भइरहेको छ ।”

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro