site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
एनसेल बाह्रखरी गल्फ : लगाब पछ्याउँदै विजेता बनेकी आरती 

काठमाडौं । आजभन्दा ६ वर्षअघि २०७५ सालको कुरा हो । ‘द रोटरी क्लब अफ हिमालयन गल्फर’ को सचिव तथा सनराइज बैंककी डेपुटी सीईओ आरती राज्यलक्ष्मी राणा सगरमाथा क्षेत्रसँगै रहेको कोङ् दे हिमालमा अवस्थित ‘कोङ दे री’ मा बाह्रखरी गल्फको तेस्रो संस्करणमा सहभागी भइन् । 

बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्ने यस प्रतियोगितामा कुन संस्करणदेखि सहभागी भइन् भन्ने उनको स्मृतिले भुलिसक्यो । तर, सगरमाथा क्षेत्रमा आयोजना गरेर विश्व कीर्तिमान बनाएको यस संस्करणका स्मृति भने उनको मानसपटलमा अझै ताजै छ ।

शनिबार काठमाडौंमा यही प्रतियोगिताको आठौँ संस्करणले नयाँ विजेता पायो । 

aaratirana-1743935468.jpg
 

गोकर्ण फरेस्ट रिसोर्टस्थित गोकर्ण गल्फ क्लबमा आयोजित एक दिने एनसेल बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगितामा सहभागिता जनाएकी आरती यसपटक भने रित्तो हात फर्किइनन् । उनी महिलातर्फको विजेता बनिन् । 

“म कहिलेदेखि बाह्रखरी गल्फमा आएँ भन्ने ठ्याक्कै स्मरण गर्न सकिन, आठै पटक आएँ कि ! तर म अधिकांश संस्करणमा सहभागी भएको छु । एकचोटी कोङ्दे मा पनि आएको थिएँ । त्यहाँ वन होल खेलेको थिएँ,” आठौँ संस्करणको विजेता बनेपछि उनले बाह्रखरीसँग सुनाइन् । 

शनिबार १८ होल फर्म्याटमा खेलाइएको यो संस्करणमा उनको सहभागिता विगतका भन्दा विशेष रह्यो । 

किनकि प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उनको नाम यसरी लिइएको थियो, “अब महिला विजेता खेलाडीतर्फ विजेता बन्न सफल आरती राज्य लक्ष्मी राणाज्युलाई पुरस्कार ग्रहण गरिदिन मञ्चमा बोलाउन चाहन्छु ।” 
सयौं पाहुनाका बीचमा उनले महिला विजेता खेलाडीको उपाधि उचालिन् । यो उनका निम्ति कुनै विशेष ‘सरप्राइज’ भन्दा कम थिएन । 

“जित्छु भन्ने नै थिएन, तर पनि च्याम्पियन बन्दा निक्कै खुसी छु । रमाइलो महसुस भइरहेको छ । मैले अनुमान पनि गरेको थिइन म जित्छु भनेर । जित्ने भनेर भन्दा पनि प्यासन भएर खेल्न आएको हुँ,” उनले थपिन् ।

आठ किलोमिटरमा फैलिएको कोर्समा उनले २३ अंक निकाल्दै विजेता बनेकी हुन् । विजेता बन्दै उनले आकर्षक ट्रफी उचाल्दा उनको खुसी बेग्लै थियो । 

aarati7-1743935468.jpg
 

‘गल्फ खेल्नका लागि लगाब हुनुपर्छ’

आरती सन् २००८ देखि गल्फ खेल्दै आएकी छन् । उनले कर्पोरेट स्तरका विभिन्न्न गल्फ प्रतियोगिताहरुमा सहभागिता जनाइ सकेकी छिन् । उनले यसअघि गोकर्ण गल्फ क्लबको आयोजनामा आयोजित ‘बैंकर्स कप’ पनि जितेकी थिइन् ।

करिब दुई दशकदेखि गल्फमा आवद्ध आरतीलाई लाग्छ– गल्फर बन्न लगावले ठूलो भूमिका खेल्छ । उनी लगाव भएमात्रै यो क्षेत्रमा भिज्न सकिने बताउँछिन् ।

“यो खेल खेल्न प्यासन हुनुपर्छ । एकचोटि खेल्दा आठ किलोमिटर जति हिँड्नुपर्छ । प्यासन भएन भने यो सम्भव छैन । मलाई यो खेल मेडिटेसन हो जस्तो लाग्छ ।  किन कि तपाईंले धेरै ध्यान फोकस गर्नुपर्छ । यसमा सधैँ एकनास हुँदैन, लाइफमा अप्स–एन्ड डाउन भए जस्तै हुन्छ,” उनले भनिन्, “मलाई लाइफ र गल्फ उस्तै लाग्छ । यो खेलबाट मैले धैर्यवान बन्न सिकेको छु । यसमा धेरै धैर्य गर्नुपर्छ । दैनिक निरन्तर नभए पनि एक दुई दिनको ग्यापमा खेलिरहेको हुन्छु ।”  

aarati6-1743935467.jpg
 

नेपालमा त्यसै पनि गल्फरहरुको संख्या न्युन छ । महिलाको गल्फर त औलामै गन्न सकिन्छ । अझ कर्पोरेट क्षेत्रमा कार्यरत खेलाडी गल्फमा रुची भए पनि पर्याप्त समय निकाल्न पाउँदैनन् । आरतीको कहानी पनि उस्तै छ । गल्फमा लगाव भए पनि पर्याप्त समय दिन नसक्दा भने उनी दुःख मान्छिन् । यसमा अझ महिलाहरुले धेरै चुनौतीको सामना गर्नुपर्ने उनको अनुभव छ । 

“महिलाहरुलाई गल्फ खेल्न वा गल्फ खेलाडी बन्न समय निकाल्न नै गाह्रो छ ।  गल्फमा धेरै प्यासनेट हुनुपर्छ । घरलाई समय दिनपर्‍योे, कामलाई पनि समय दिनुपर्ने हुन्छ, अनि गल्फलाई पनि समय दिनुपर्ने हुन्छ,” उनी भन्छिन् ।

बाह्रखरी गल्फ अरूभन्दा फरक छ 

एनसेल बाह्रखरी गल्फमा पहिलो पटक च्याम्पियन बनेकी उनी यसमा निरन्तर सहभागिता जनाउनेमा प्रतिबद्ध छिन् । बाह्रखरीले गल्फसँगै अन्य क्षेत्रलाई पनि जोड्न गरेको प्रयास आरतीलाई निक्कै फरक लाग्छ । उनी यसले नेपालको अर्थतन्त्र र पयर्टन विकासमा रचनात्मक ढंगले सहयोग गरिरहेको बताउँछिन् ।

aarati3-1743935466.jpg

“बाह्रखरी गल्फ अरूभन्दा केही फरक लाग्छ । यसमा हरेक वर्ष नयाँ कुरा देखिन्छ । बाह्रखरीले गल्फबाट कर्पोरेट क्षेत्रलाई समेटेको थियो । यसले गल्फसँगै अर्थ, राजनीति र अन्य क्षेत्रमा मानिसहरुलाई एकै छानामुनी समेट्दै अर्थतन्त्र र पयर्टन विकासमा काम गरिरहेको छ,” उनी थप्छिन् ।

aarati4-1743935466.jpg
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro