
काठमाडौं । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँदिल्ली प्रस्थान गर्ने भएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । मार्च ७ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा पाँच पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउने छन् । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रभा आङदेम्बेले महिला २ सय/४ सय मिटर दौड र लङजम्पमा भाग लिनेछन् ।
अफिसियलमा राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला राना मगर छन् ।
एक महिनाको अन्तरालमा नेपालले पारा एथलेक्टसमा सहभागिता जनाएको यो दोश्रो पटक हो । नेपाल गत फेब्रुअरी ४ देखि १४ सम्म दुबइमा भएको ग्रान्ड प्रिक्समा सहभागी भएको थियो । खेलाडीमा प्रभा र नवराज तथा प्रशिक्षकमा विमला यो टोलीमा पनि दोहोरिएका हुन् । दुबईमा गरेको प्रदर्शनका आधारमा प्रभा र नवराजलाई पुनः टोलीमा समावेश गरिएको जनाइएको छ ।