
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिस्ट आन्दोलनको एकताका लागि नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएकी छन् । कम्युनिस्ट आन्दोलनको एकता अबको बाटो भएको प्रष्ट सन्देश पनि दिएकी हुन् ।
सोमबार ओलीका नाममा लेखिएको पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथि विद्या भण्डारी थिइन् । गणेश पाण्डेको ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तकको विमोचन कार्यक्रममा ओलीसमेत उपस्थित भए ।
कार्यक्रम नसकिँदै कार्य व्यस्तताका कारण भनि बीचैमा निस्किए । कार्यक्रममा उनी केही बोलेनन् । आयोजकका अनुसार ओली बोल्ने ‘सेड्युल’ नै राखिएको थिएन ।
भण्डारीले ओलीलाई राजनेताको संज्ञा दिइन् ।
कार्यक्रममा उनले पार्टी, नेतृत्व, कार्यकर्ताको पनि प्रंशसा गरिन् ।
“अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सिर्जनशील क्षमताका धनी प्रधानमन्त्री एक अब्बल एवम् लोकप्रिय राजनेता हुनुहुन्छ,” उनले भनिन् ।
उनले प्रशंसा मात्रै गरिनन् । कम्युनिस्ट पार्टी एकता गरी सफलताको सिँढी चढ्न शुभेच्छा समेत दिइन् । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन सुझाइन् ।
“कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन, तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दछु,” भण्डारीले भनिन्, “साथै भविष्यमा समेत यस किसिमको रचनात्मक पहलकदमी अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँ (ओली)बाट ठूलो योगदान पुग्ने नै छ ।”
एमालेलाई कुनै राजनीतिक घटनाले पनि विचलित तुल्याउन नसक्ने भनाइ उनको थियो ।
सक्रिय राजनीतिमा फर्कने हुटहुटी पूर्वराष्ट्रपति भण्डारीको सन्देशमाथि विभिन्न कोणबाट टिप्पणी जारी छ ।
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अगुवाइ फेरि पनि गर्नुस् भन्ने सन्देश रहेको एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल बताउँछन् ।
“पहिले पनि एकताबद्ध भएर अभियानको नेतृत्व गर्नुभयो । अहिले पनि पार्टीका साइनबोर्डलाई एक ठाउँमा भेला गर्ने भन्दा पनि आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ र त्यसो नेतृत्व गर्नुस् भन्नुभएको जस्तो लाग्छ,” उनी भन्छन् ।
ढकाल अहिले त्यो अभियान पार्टीमा जारी नै रहेको पनि बताउँछन् ।
“त्यो त प्रक्रिया जारी नै छ । अरू पार्टी छाडेर एमालेमा आउने, विभिन्न यो आन्दोलनलाई कमजोर बनाउने र पार्टी फुटाउनेहरु पनि आउनुभएको छ,” उनी भन्छन्, “एकताबद्ध गर्दै पार्टीलाई निर्विकल्प लैजानुपर्छ ।”
प्राध्यापक कृष्ण पोखरेल भण्डारीले अबको बाटो कम्युनिस्ट आन्दोलनको एकता भएको प्रष्ट सन्देश दिएको बताउँछन् ।
“उहाँले खोजेको एकता हो । अब हिँड्ने बाटो यो हो भनेर परोक्ष रुपमा भन्नुभएको छ । ओलीले नगरे अरु कसैले गर्छ भन्ने सन्देश दिइएको हो,” उनी भन्छन् ।
ओलीको प्रशंसा गर्दै सार्वजनिक रुपमा नै भण्डारीले दबाब दिएको पोखरेलको विश्लेषण छ ।
“उहाँ कता जान खोजेको भन्ने प्रष्ट भन्नुभएको छ । यो बाटो हिँड नभए छोड भन्ने घुमाउरो किसिमले प्रष्ट सन्देश दिइएको देखिन्छ । सार्वजनिक रुपमा दबाब परोस् भन्ने हिसाबले कार्यक्रममा प्रशंसा गर्दै भनेको देखिन्छ,” पोखरेलको ठम्याइ छ ।
ओलीबाट कम्युनिस्ट एकता सम्भव नहुने पोखरेल बताउँछन् ।
“न ओलीले नेतृत्व लिन्छन्, त्यो बाटो छोडेर हिँडिसके, न अरुले पत्याएर यो बाटोमा आउँछन् । ओलीले प्रयत्न गर्दा षड्यन्त्र गरे भन्ने अरु दलमा पर्छ । ओलीबाट अब एकता सम्भव छैन,” पोखरेल भन्छन् ।
अब कम्युनिस्ट एकताका लागि स्वीकार्य पात्र विद्या भण्डारी हुनसक्ने विश्लेषण छ ।
राजनीतिक वृत्तमा पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतको एकताका लागि विद्या छहारी हुन सक्ने विश्लेषण हुँदै आएको छ ।
एमाले स्थायी कमिटी सदस्य कर्ण थापा वामपन्थी जनमत एक ठाउँमा आउनुपर्ने बताउँछन् । एक अर्कालाई वामपन्थी होइन भनेर आरोप लगाएर बस्नुको औचित्य उनी देख्दैनन् ।
“कि नेपालमा वामपन्थी भन्न छोड्नुपर्यो । एमालेले माओवादीलाई होइन भन्ने, माओवादीले एमालेलाई वामपन्थी होइन भन्ने । अनेक कम्युनिस्ट पार्टीको नाममा केही संख्या छ । वामपन्थी जनमत एक ठाउँमा आउन आवश्यक छ,” उनी भन्छन् । त्यसका बीचमा मतभिन्नता कहाँ हो ? एउटै लक्ष्य उद्देश्य भएकाको एकताको कोसिस गर्न जरुरी छ ।”
शीर्ष नेताहरुको टकराबका कारण एकता हुन नसक्ने अवस्था रहेको उनको भनाइ छ । सबैको स्वीकार्यताका लागि भण्डारी उपयुक्त हुने ठम्याइ उनको छ ।
“व्यक्तित्वको टक्करले गर्दा आन्दोलन, आन्दोलनको स्थिति अस्वीकार गर्ने काम भएको छ । त्यो चिजका लागि नेतृत्व कसै न कसैले गर्नुपर्छ,” थापाले बाह्रखरीसँग भने, “आम मानिसमा अहिले विद्या भण्डारी भयो भने सहज हुन्छ, स्वीकार्य हुन्छ भन्ने छ ।”
उनले ओली र प्रचण्डसहितका नेताले पहिले नै गरेको भन्दै सधैँ उही व्यक्तिबाट सम्भव नहुने बताए ।
ओलीको विचार र कार्यशैली भन्दा पनि नेताको टकराबका कारण वामपन्थीहरू एक हुने अवस्था नरहेको उनी बताउँछन् ।
“सबै बेलामा एउटै व्यक्तिले गर्न सक्दैन । अहिले केपी ओलीको विचार गलत भएर होइन प्रतीष्ठाको लडाँइले एक अर्काको अनुहार देख्न नसक्ने अवस्था बन्यो । अहिले स्वीकार्यता भनेको विद्या भण्डारी हो भन्ने आम रुपमा छ,” उनी भन्छन् ।
भण्डारीले सोहीअनुसार आफ्नो धारणा राखेको बुझाइ थापाको छ । विद्यामा पनि राजनीतिमा सक्रिय हुने हुटहुटी उनकै सक्रियताले देखाउँछ ।
मुख नखोले पनि उनको सक्रियताले चाहना प्रष्ट हुन्छ । पार्टीका नेता, कार्यकर्ता भेटघाट र दौडधुप बढ्दो छ । शीतल निवासबाट बाहिरिँदा नै सरकारी निवास नरोज्नूले उनको चाहना देखिएको नेताहरु बताउँछन् ।
गएको पुषमा उनी एक साता पोखरामा अड्डा जमाएर बसिन् ।
‘फेवा डाइलग’को निम्ति गएकी उनी नेता, कार्यकर्ताको भेटघाटमा व्यस्त बनेकी थिइन् ।
त्यसको केही महिनापछि उनी कोसी पुगेकी थिइन् । एक साता लामो बसाइ उनको थियो । अब, मधेस र लुम्बिनीको दौडमा निस्कने तयारीमा उनी छन् ।
उनका सचिवालय सदस्य राजकुमार राईले त्यसका लागि मिति भने तय भइनसकेको बताए । एमालेमा उनी फर्कने चर्चाबारे एमाले अध्यक्ष ओलीले नेता कार्यकर्तालाई चेतावनी दिँदै आएका छन् । आवश्यकता परे पार्टीले फर्काउने भन्दै त्यसबारे लबिइङ नगर्न नेताहरुलाई सार्वजनिक कार्यक्रममार्फत नै चेतावनी दिएका थिए ।