
जन्मेको गाउँ र हुर्केको ठाउँको माया कसलाई हुँदैन ? तर सात समुद्र पारी बसे पनि मुलुकलाई सम्झने र बुझ्ने प्रयासमा हाम्रो प्रयास जारी छ । नेपाल र नेपाली भए पनि मुलुकलाई नजिकबाट नियाल्ने विषयमा भने हामी त्यतिअघि रहेनछाैँ भन्ने हेक्का यसपालि अनुभव गरियो ।
नजिकको तीर्थ हेला भनेजस्तै हामीले मुलुक देखेका र बुझेका रहेनछौँ भन्ने यसपटक महसुस भयो । साढे दुइ दशकभन्दा बढी अस्ट्रेलियाको बसाइमा सयौँपटक नेपाल गइयो । तर, थातथलो धरान र काठमाडौं अनि पोखरा पुग्दै गर्दा हामीले नेपाललाई त्यसरी नै सुन्दरतामा मापन गर्यौँ ।
यसपटक घरायसी कामले नेपाल पुग्दा मनमा अनेकन तिर्सना खेलिरहे । आमाको स्वास्थ्य, घरको व्यवहार अनि सिड्नीको काम र मामको जोहोले मलाई सताए पनि पनि यसपटक हिमाल हेर्ने सम्झनाले सतायो । यसैबीच, काठमाडौंमै रहँदा सगरमाथालाई नजिकबाट नियाल्ने मेरो अठोट पूरा गर्ने निर्णयमा पुगेँ । आधार शिविर र कालापत्थर जाने र संसारकै सर्वोच्च शिखरलाई नजिकबाट नियाल्ने मेरो इच्छालाई अठोटमा बदल्न बदोबस्ती गर्न थालेँ ।
यत्तिकैमा मेरो एकजना भाइले सगरमाथा आधार शिविर र कालापत्थर जाने हेलिकोप्टर पाइने भन्दै त्यसमा गएर केही घन्टा बसेर फर्किन सल्लाह दिए । मैले तुरुन्तै हुन्छ भनेँ । मनको लड्डु मुहारमा झल्काउने प्रयास गरेँ ।
अस्ट्रेलियामा बस्दै गर्दा कैयन अजीमेटहरूले नेपालबाट भन्ने बित्तिकै प्रश्न गर्थे, ‘तिमी सगरमाथा गएका छौँ ?’ तिनको प्रश्नमा म अनुत्तरित हुन्थेँ ।
सिड्नीको बजारमा हामीले सुन्नुपर्ने प्रश्न हुन्छ, ‘सगरमाथा तिम्रो देशमा हैन ? चढेका छौ ? गएका छौ ?’ पेसाले माइग्रेसन एजेन्ट भएको हुँदा थुप्रै अस्ट्रेलियनहरूसँग दिनहुँ भेट र परिचयसँगै सोधिने प्रश्न हुन् ।
अब मैले अस्ट्रेलिया बसेको २५ वर्षपछि जवाफ दिन पाउने भएको छु, ‘एस आई ह्याभ बिन माउन्ट एभरेष्ट ।’
तर, यसपटक मैले ‘आइ ह्याभ बिन बेस क्याम्प’ अनि ‘कालापत्थर’ भन्न पाउने हुँदा खुसीले गद्गद् छु ।
सगरमाथा जाने दिन आयो । हेलिकोप्टरमा चढेर लागियो सेताम्मे हिउँका पहाड छिचोल्दै सगरमाथातिर । सगरमाथाको आधार–शिविर पुगियो । चारैतिर सेताम्मे टल्किएका हिमाल र सगरमाथाको पाउमा आफू उभिएको महसुस गर्दै त्यसैमा दंग परियो । केही फोटो र भिडियो खिचियो ।
हिमालै–हिमालका हामी नेपाली, साँच्चिकै हिमाल हेर्नबाट भने चुकेका रहेछौँ भन्ने भान भयो । आधार शिविरको त्यो सुन्दरता त्यो मनमोहक दृश्यले एकैछिन फरक र अलग दुनियाँमा पुर्याएको महसुस भयो ।
अनि पाइलटले लेक लाग्छ चाँडो गर्नुस् भनेपछि मात्र हतार–हतारमा छायांकनतिर लागियो । त्यसपछि कालापत्थर पुगियो । त्यहाँबाट देखिने सगरमाथा र संसार बेग्लै रहेछ भनी मन फुरुङ्ग बनाउँदै केही थान फोटो र भिडियो बनाउन ब्यस्त भइयो । मलाई कहिले हिमाललाई अँगालो मारौँ त केहिले चुम्बन गरौँ भन्ने लागिरहयो ।
त्यसपछि उच्च हिमाली वातावरणमा लामो समयविना अक्सिजन हामी हिँड्डुल गर्दा अप्ठ्यारो पर्नसक्ने चेतावनीका वावजुद कालापत्थरमा राष्ट्रिय झन्डासहित केही क्षण रमाइलो गरियो । मन फुरुङ्ग थियो, धेरैले लेक लाग्न सक्छ भन्दै विचार पुर्याउन दिएको सुझावले मलाई रमाउनबाट रोक्न सकेन । हिउँमा लडिबुडी गर्दै सँगै गएका रसियन पर्यटकहरूसँंग हिमालको विशालताको चर्चा गर्दैगर्दा समय पत्तै नपाई बितिसकेछ ।
केही घन्टाको बसाइलाई बिट मार्नुपर्ने भएलगत्तै सगरमाथालाई शीर झुकाउँदै म हेलिकोप्टरमा चढेर काठमाडौं फर्किएँ । काठमाडौं झरेको केही घन्टाको आरामपछि यात्राको वर्णन र फोटो अनि टिकटकमा मेरा अनुभव साट्न ब्यस्त रहेँ ।
अब अस्ट्रेलिया आइपुगेपछि पनि सगरमाथाको पाउ अर्थात् आधार शिविरका फोटा र भिडियोले मेरा सामाजिक सञ्जाल रंगिरहेका छन् ।
अझै मुलुकका यस्ता सुन्दर बस्तीहरू नियाल्न हामीले पाएका रहेनछौँ भनी भविष्यमा पुग्ने योजना बुन्दैछु । पूर्वको धरानमा जन्मे हुर्केर विदेशमा पढ्न आएका म जस्ता कैयन नेपालीको इच्छा र आकांक्षा हिमाल हेर्ने भए पनि भौगोलिक कठिनाइ र साधनको असहजताका कारण पुग्न नसकेको मेरो निष्कर्ष रह्यो । तर। इच्छाशक्ति छ भने त्यसलाई कसैले पनि रोक्न सक्दैन भन्ने पनि अनुभव गरियो ।