site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
त्यस्तो अब कहिल्यै भोग्नु नपरोस्

केशव शर्मा 


यो संसारमा निरन्तर बढिरहने एउटै चिज समय हो, सायद । त्यसैले होला, समय कसैका लागि रोकिँदैन भनिन्छ । तर कुनै समय यस्तो हुँदो रहेछ, जुन स्मृतिमा आइरहोस् लाग्ने अनि कुनै समय कहिल्यै नदोहोरियोस् लाग्ने । थाहा छैन, त्यो समय बिताएकाहरूलाई अनि त्यो समयको पक्ष र विपक्षमा भएकाहरूको आ–आफ्नै व्याख्या र तर्क होला । 

तर, त्यो समयको न त पक्षमा न विपक्षमा रहेर मनै नलागेर पनि त्यही समयसँग हिँड्नु पर्नेलाई त्यो समय फेरि कहिल्यै नदोहोरियोस् भन्ने लाग्दो रैछ ।
 
काँडेतारका वारले सिंगो सदरमुकाम समेटेकै थिए । लगभग ७/८ वटा जति गेट, अनि ती गेटमा सुरक्षाकर्मी, यस्ता गेट वारपार गरिरहनुपर्ने वाध्यता थियो । तारबार बाहिरबाट कुनै समय पड्किने बन्दुकको आवाज अनि त्यही आवाजसँगै सुरक्षाकर्मीको साइरनसँगै सुरक्षित रहनुपथ्र्याे । सुरक्षित त के भन्नु चनाखो बन्नुपर्ने दुवै पक्षबाट गोली चलिहालेमा ती गोलीले सर्वसाधारण चिन्ने होइन । 

माओवादीको सशस्त्र विद्रोह वा उनीहरूकै भाषामा ‘जनयुद्ध’ चलिरहेको थियो । त्यो युद्धको ‘इपिसेन्टर’ रोल्पा सदरमुकामको समय थियो, त्यो । अब ती गेटहरू हटेका छन् । काँडेतार छैनन् । जो जता जाँदा पनि हुन्छ । न सुरक्षाकर्मीको सुरक्षा जाँच न तत्कालीन विद्रोही पक्षको जाँच ।

यो त सदरमुकामको जीवन हो, सहजै अनुमान गर्न सकिन्छ । सुरक्षा पोष्ट नभएका अनि कहिले गस्तीमा सुरक्षाकर्मी पुग्ने त कहिले विद्रोही पक्ष । गाउँमा तिनको त्रासदी कस्तो थियो होला ? कहाँनेर कसको सुरक्षा जाँच चलिरहेको भन्ने नै भेउ नपाइने । 

एउटा पक्षका निम्ति पहिल्यै तयार पारिएको जवाफ पनि कामै नलाग्ने । सुरक्षाकर्मीले विद्रोही ठान्ने हो कि विद्रोहीले उनीहरूकै भाषामा ‘सीआईडी’ भेउ नै नपाइने । 

गाउँमा बिहानै उठ्दा सुरक्षाकर्मीको गस्ती आफ्नै घरको आगनमा आइपुगेको अनि सुरक्षाकर्मीमाथि विद्रोहीको आक्रमण, त्यो समय कस्तो भयो होला ? घरको आड लागेर सुरक्षाकर्मीको फायरिङ, सुरक्षाकर्मीमाथि विद्रोहीको । घर छाएका केही स्लेटहरू फुट्थे । विद्रोही भागिसकेका हुन्थे । तर त्यसपछि सुरु हुन्थ्यो, सुरक्षाकर्मीको सोधपुछ । तिनलाई कस्तो जवाफ चाहिएको पत्तै नहुने । त्यस्ता सोधपुछमा तिनको केही लात खानबाट जोगियो भने ठान्नुपथ्र्यो आफूलाई धेरै भाग्यमानी ।

तर, केही आशा पनि जगाउँथे समय–समयमा विद्रोहीहरू । एक्लै भेटिँदा सरलै देखिन्थे । यद्यपि, भिडन्तमा भने गोलीले कसलाई चिन्छ र ? जात–जाति तथा समुदायलाई पनि विद्रोहीहरूले परिचालन गरिरहेकै थिए । स्वायत्तता र पहिचानका मुद्दाहरूमा मख्ख पारिएकै थियो । आममानिसलाई आकर्षण पनि गरिरहेको देखिन्थ्यो । आकर्षक नाराहरू थिए, ‘जग्गा कस्तो जोत्नेको, घर कस्को पोत्नेको ।’

बन्दुक मात्र पड्कदैनथ्यो कहिलेकाँही सांस्कृतिक कार्यक्रमहरू पनि हुन्थे । अधिकांश ठाउँमा दर्शक भने चाहे पनि नचाहे पनि उपस्थिति चाहिँ अनिवार्य । अनि गीतहरू बज्थे, ‘चाहिँदैन मलाई सुनकै दरबार ।’

अनि भन्ने गरिन्थ्यो, ‘हाम्रो देश नबनेको अहिलेका शासकका कारण हो ।’

यो समयमात्रै बदलियोस् न समयसँगै देश समृद्धिको दिशामा जान्छ । समय नयाँ आउँछ, नयाँ नेपाल बन्छ । धनी र गरिबबीचको खाडल नै हुँदैन । सबैले देशभित्रै रोजगारी पाउनेछन् ।

सायद, उहाँहरूलाई लाग्थ्यो, देश अमेरिका जस्तै बन्न समय नै लाग्दैन । त्यसैले ‘सुरुङ युद्ध’ लड्न ठाउँ–ठाउँमा खाडल बनाइए । अझै पनि खाडल उस्तै अवस्थामा छन्, केही ठाउँमा ।

जहाज नचल्ने वडाचौर विमानस्थलमा सुरक्षाकर्मी आउँछन् भनी तत्कालीन समयमा गाडिएका लाठीहरू त अब छैनन् । तर, खाल्डाखुल्डी भने देखिन्छन् नै । 

अब कताकति मात्रै ती समयका त्यस्ता चिजबीज देख्न सकिन्छ । तर, त्यो ‘इपिसेन्टर’ अझै पनि उस्तै छ । न जोत्नेको खेत हुन सक्यो न पोत्नेकै घर ।

साँच्चै समयले काँडेतारबाट मानिसलाई बाहिरमात्र निकालेन । तत्कालीन समयमा विद्रोही कतिपय नेताहरूलाई सत्तामा पनि पुर्‍याइदिएकै छ । अनि सुनका कथाभित्र तिनै पात्रहरू पर्दैछन् । ‘चाहिँदैन, मलाई सुनैको दरबार’ भन्ने तत्कालीन विद्रोहीहरू सुन तस्करहरूसँग जोडिएकै छन् । कहीँ आफैँ त कहीँ नातागोताका मान्छेको नाता जोडिएका खबरहरू सार्वजनिक भइरहेकै छन् ।

साँच्चै समयले कसैलाई नपर्खदो रहेछ । कतिलाई दसैँ मनाएको भनी कारबाही गरियो । कतिलाई अनैतिक सम्बन्ध कायम गरेको अभियोग लगाउँदै जुत्ताको माला लगाइयो । तिनका काम भनी साध्य छैन । 

कतिपयले आर्थिक सहयोगमा आनाकानी गरेकाले कारबाही भोगे भने कतिपयले फरक राजनीतिक विचार राखेका कारणले । समय बदलिन्छ भनियो, बदलियो पनि तर केही त्यसको नेतृत्व गरेकाहरूको मात्र । 

दुईखाले शिक्षा हुनु हुँदैन भनियो, निजी विद्यालय खुल्न दिइएन । त्यही काँडेतारभित्र मात्र निजी चल्न पाए । तर, अब त उनैका छोराछोरी संघीय राजधानी सहरका महँगा विद्यालय पढ्ने भए । आमूल परिवर्तन भनियो, ‘न त जोत्नेको खेत भयो, न त पोत्नेको घर ।’
 
हो, तत्कालीन क्रान्तिकारीहरूका जीवनशैली फेरिएको छ । उत्सव मनाउनेहरू घटेका छन् । कतिले युद्धको सुरुआती  दिनलाई उत्सवका रूपमा मनाउँछन् पनि । कतिले विरोध गर्छन् त कतिले समर्थन पनि । उनीहरूका आ–आफ्नै तर्क होलान्, समर्थन र विरोधका लागि । 

तर, त्यही समयका कारण आफ्नो थातथलो छोडेर जिल्ला सदरमुकामलगायत ठाउँमा वर्षौं बिताउनेहरूको पीडा कम्तीको छैन । त्यो समयको पक्ष–विपक्ष कतै नहुनेहरूले भोगेका पीडा कम्ती छैनन् । 

यसो भन्दै गर्दा कोही यस्ता अवसरवादी छन् त्यो समयले ल्याएको उपलब्धिको उपयोग गर्ने र फेरि त्यही समयलाई स्वीकार पनि नगर्ने भन्ने आरोप लाग्ला । तर, साँच्चै त्यो समय सम्झन लायक छैन ।
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro