site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
म्यानमारमा १७ नेपालीसहित सात हजार विदेशीको उद्धार गरिँदै

काठमाडौं । म्यानमारको मेवाडीमा अनलाइन स्क्यामिङ कार्यमा संलग्न १७ जना नेपालीसहित सात हजार विदेशीको उद्धार गरिने भएको छ ।

म्यानमारको विद्रोही समूहमा नियन्त्रणमा रहेको मेवाडीमा अवैध तरिकाले काममा लगाइएका विदेशीको उद्धार गरी उनीहरुलाई स्वदेश फर्काउन लागिएको म्यानमारस्थित नेपाली दूतावासले जनाएको हो ।

“म्यानमार–थाइल्यान्ड सीमा नजिक रहेको मेवाडीमा सातहजार विदेशी अनलाइन स्क्यामिङ कार्यमा संलग्न रहेको बताइएको छ । सबैलाई उद्धार गरी स्वदेश फर्काउने तयारी भइरहेको छ,” म्यानमारका लागि नेपाली राजदूत हरिषचन्द्र घिमिरेले बाह्रखरीसँग भने, “अहिले त्यहाँको क्याम्पबाट चारजना नेपाली बाहिर निस्केको र त्यहाँ १७ जना नेपाली रहेको प्रारम्भीक जानकारी हामीले पाएका छौं ।” 

राजदूत घिमिरेका अनुसार सोमबार म्यानमार सरकारले पत्रकार सम्मेलन गरी यसबारे विस्तृत जानकारी दिँदैछ । 

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले फागुन महिना सुरु भएपछि मात्र सातजना नेपालीलाई मेवाडीबाट उद्धार गरी बैंकक ल्याई नेपाल फर्काएको छ । 

तीमध्ये पाँच जनालाई फागुन ९ गते र दुई जनालाई फागुन १२ गते बैंककबाट नेपाल फर्काइएको थियो ।

“अहिले पनि तीन जना नेपाली थाइल्यान्ड बोर्डरमा आइपुगेको र केही पारि नै रहेको सूचना हामीले पाएका छौं,” थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले बाह्रखरीसँग भने । 

म्यानमारको विद्रोही समूहको नियन्त्रणमा रहेको मेवाडी क्षेत्रमा ठूलो संख्यामा विदेशीलाई अनलाइन स्क्यामिङ कार्यमा लगाइएको छ । 

विभिन्न प्रलोभन देखाई विदेशीलाई उक्त क्षेत्रमा पुर्‍याउने गरिएको छ । त्यहाँ पुर्‍याएपछि उनीहरुलाई जबर्जस्ती बन्दी बनाएर काम गर्न लगाइने गरेको त्यहाँबाट उद्धार भई आउनेहरुले बताउँदै आएका छन् । 

“मेवाडीमा नेपाली यति नै छन् भन्न सक्ने अवस्था छैन । सबै जना हाम्रो सम्पर्कमा नआएको पनि हुन सक्छ,” राजदूत घिमिरेले बताए । 

क्यासिनो सञ्चालन गर्नको लागि थाइल्यान्डको सीमा नजिक म्यानमारमा ठूलो सिटीको विकास गरिएको थियो । विद्रोहीको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा पछि क्यासिनो नचलाई अनलाइन स्क्यामिङ चलाइएको थियो । 

अनलाइन स्क्यामिङ चलाउने धेरै चिनियाँ कम्पनी थिए । केही दिनअघि थाइल्यान्ड–म्यामार सीमा क्षेत्रबाट दुई चिनियाँ कलाकारलाई अपहरण गरी मेवाडी क्षेत्रमा राखेपछि चीनले त्यहाँ दबाब बढाएको छ । 

जसका कारण अनलाइन स्क्यामिङ चलाउने चिनियाँ कम्पनीहरु बन्द गरिएको छ र त्यहाँ कार्यरत नेपाली लगायत विदेशी नागरिकलाई मुक्त गरिएको छ । 

चिनियाँ मात्र होइन केही दिनअघि म्यानमारको सीमा नजिकको थाइल्यान्डको भूमिबाट जापानी पर्यटकलाई पनि अपहरण गरी मेवाडी क्षेत्रमा पुर्‍याइएको थियो । यस्ता घटनाले आफ्नो पर्यटन क्षेत्रमा असर गर्ने देखिएपछि थाइल्यान्डले पनि मेवाडीमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ बन्द गर्न दबाब बढाएको थियो । 

मेवाडी विद्रोही नियन्त्रीत क्षेत्र भएको कारण त्यहाँ रहेका नेपालीलाई थाइल्यान्डस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल पठाउने गरेको छ । उद्धार गर्न जानुपर्ने क्षेत्र दूतावासबाट झण्डै ७ सय किलोमिटर टाढा रहेको छ । 

“अझै १०–१२ जना नेपाली नागरिक उक्त क्षेत्रमा रहेको हाम्रो अनुमान छ । केही सम्पर्कमा आउनुहुन्छ तर आवश्यक सूचना र कागजात पठाइदिनोस् भन्दा उहाँहरु सम्पर्कविहीन बन्नुहुन्छ । यसले उद्धारमा हामीलाई केही अप्ठेरो भइरहेको छ,” राजदूत ओलीले भने ।

म्यानमार र थाइल्यान्डस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र म्यानमार, थाइल्यान्ड, कम्बोडिया र लाओसमा काम गर्न आउन पटक–पटक अनुरोध गरेको छ । तर दलालहरुलाई मोटो रकम बुझाइ नेपालीहरु अवैध काम गर्न ती देश पुग्ने गरेका छन् । 

कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया, लाओस, म्यानमार र थाइल्याणमा बैदेशिक रोजगारीमा नआउन राजदूतहरुको आग्रह छ । 

मानवतस्करको प्रलोभनमा परी पहिलो पटक २०७९ मंसिर महिनामा नेपाली युवाहरुको एउटा समूह म्यानमार पुगी अलपत्र परेको थियो । 

वैदेशिक रोजगारीको लागि म्यानमार पुगी अलपत्र परेको यो पहिलो घटना थियो । रोजगारीमा लगाइदिने भन्दै उनीहरुलाई तस्करहरुले म्यानमार पुर्‍याएका थिए । 

यसरी म्यानमार पुगेर नेपाली ठगिएको कुरा बाहिर आएपछि म्यानमारस्थित नेपाली दूतावासले पीडितहरुसँग भेट्ने, उनीहरुलाई उद्धार गरी नेपाल पठाउने कार्य गरेको थियो । 

त्यसपछि दूतावासले २०७९ पुस २६ गते एउटा विज्ञप्ति जारी गर्दै मानवतस्करको प्रलोभनमा परी म्यानमार नआउन अनुरोध गरेको थियो ।

“अनलाइन जुवा, कल सेन्टर–फ्रड, क्रिप्टो करेन्सी ठगी आदिमा संलग्न शंकास्पद आईटी फर्महरुले बैंककमा रोजगारीका अवसरहरुको प्रलोभन देखाई युवाहरुलाई लक्षित गरी गैरकानुनी रुपमा बैंकक हुँदै म्यानमार तथा सोझै म्यानमार ल्याई उनीहरुलाई कम्पनीहरुमा बन्दी बनाएर काम गर्न लगाइएको पाइएको छ,” त्यतिबेला म्यानमारस्थित नेपाली दूतावासले त्यहाँको अवस्थाको बारेमा जानकारी गराउँदै नेपाली युवाहरुलाई त्यसरी नआउन भनेको थियो । 

राजदूत घिमिरेका अनुसार सुरुमा मानवतस्करहरूले अनलाइन विज्ञापन निकाली नेपाली युवाहरुलाई आकर्षित गरेका थिए । उनीहरुको निशानामा दुबईमा कार्यरत र नेपालमै रहेका नेपालीहरु थिए । 

थाइल्यान्ड र म्यानमारको सूचना प्रविधि (आईटी) क्षेत्रमा ‘डिजिटल सेल्स एण्ड मार्केटिङ एक्जुकेटिभ्स’का रुपमा रोजगारी दिने प्रलोभन तस्करले नेपालीहरुलाई देखाएका थिए । 

त्यसपछि आकर्षित भएका नेपाली युवाहरुलाई उनीहरुले थाइल्याण्डको बैंकक र म्यानमारको याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न माध्यमले म्यानमारको कायिन प्रान्तको मावडी पुर्‍याउने गरेका थिए ।

म्यानमारको मवाडी यस्तो क्षेत्र हो जहाँ म्यानमारको सेना र विद्रोही समूहबीच संघर्ष चलिरहेको छ । त्यसक्षेत्र सरकारी सेनाको नियन्त्रणमा छैन । 

म्यानमारको मवाडी पुर्‍याएपछि नेपाली युवाहरुलाई बन्दी बनाउने गरिन्छ ।  यहाँ नेपालीजसरी अन्य ३० देशका युवाहरुलाई पनि विभिन्न प्रलोभन देखाई लगिएको छ । पुग्ने सबैको अवस्था उस्तै हो । 

मावडी पुगेपछि सबैभन्दा पहिले राहदानी खोसिन्छ, अनि बन्दी बनाइन्छ । त्यसपछि दैनिक १३ घण्टाभन्दा बढी समय काममा लगाइन्छ । तर तलब भने दिइँदैन । 

यी सबै थाहापाएपछि म्यानमारस्थित नेपाली दूतावासले गत वर्ष नै भनेको थियो, “म्यानमार आउने नेपाली नागरिकहरुलाई थाइल्यान्ड र म्यानमारमा रोजगारीका विज्ञापनहरु प्रायः सामाजिक सञ्जाल प्लेटफर्महरु मार्फत विभिन्न स्थानका एजेन्टहरुद्वारा प्रस्तावित हुने भएकोले उपरोक्त कुरालाई ध्यानमा राख्दै, नेपाली नागरिकहरुलाई सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य श्रोतहरुमा रहेका त्यस्ता नक्कली जागिरको प्रलोभनमा नपर्न अनुरोध गरिन्छ ।”

दूतावासले तस्करले देखाउने वैदेशिक रोजगारीको प्रलोभनमा परी थाइल्याण्ड र म्यानमार नआउन अनुरोध गरेको दुई वर्ष बित्यो, तर तस्करहरुको प्रलोभनमा परी म्यानमार पुगी अलपत्र पर्ने क्रम रोकिएको छैन । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro