site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘व्यवसायीकै मागमा’ चाँदीको तस्करी, २० किलोसहित पाँचजना पक्राउ

काठमाडौं । चाँदी तस्करीमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका सन्तोषकुमार साह, गणेश साह, प्रेमकुमार कुशवाह, विपना सार्की र पर्साका दिनानाथ साह सुनार छन् ।

उनीहरूका साथबाट प्रहरीले २० किलो चाँदी बरामद गरेको छ । नेपाल प्रहरीको उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलबार (फागुन २१) काठमाडौं–३२, नरेफाँटबाट उनीहरूलाई पक्राउ गरेको हो । टोली डीएसपी रोशन खड्का नेतृत्वमा थियो ।

उनीहरूले भारतको रक्सौलबाट चाँदी तस्करी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उक्त समूहले लामो समयदेखि चाँदीको तस्करी गरिरहेको प्रहरीले जनाएको छ ।

चाँदी तस्करीका ‘मुख्य’ आरोपित सन्तोष साहले प्रारम्भिक बयानमा प्रहरीसित भनेका छन्, ‘‘मैले यो तेस्रोपटक ल्याएको हो । एकपटकमा ल्याउँदा १५ देखि २० किलो चाँदी ल्याउने गरेको छु । भारतबाट भारतीय र वीरगन्जबाट आफैँले भरियाका रूपमा राखेका दुईजनाले चाँदी काठमाडौं ल्याउने काम गर्थे ।’’

उनीसँगै पक्राउ परेका प्रेम र गणेशलाई चाँदी तस्करीको भरियाका निम्ति प्रयोग गरिएको खुलेको छ ।

सन्तोषले चार वर्षअघि बाराको कलैयामा शुभलक्ष्मी सुनचाँदी पसल खोलेका थिए । तर, पसल सञ्चालन गर्न लिएको ब्याजको रकम तिर्न नसकेर बिक्री गरेको उनले बताएका छन् । पसल बिक्रीपछि उनी वैदेशिक रोजगारीका निम्ति दुबई पुगेको खुलेको प्रहरीले जनाएको छ ।

उनी करिब एक वर्ष दुबई बसे । चितवनमा होटेल समेत सञ्चालन गरेका थिए । सुन पसल, वैदेशिक रोजगारी र होटेल व्यवसायबाट पनि सन्तोषजनाक कमाइ गर्न नसकेपछि उनी चाँदी तस्करीमा लागेको खुलेको छ । पक्राउ परेका अरू आरोपितले सन्तोषको योजनामा काम गर्ने गरेको बताएका प्रहरीले जनाएको छ ।

भरियाको कमाइ एकपटकमा १० हजारसम्म
सन्तोषले प्रेम र गणेशलाई तस्करीको चाँदी भरियाका रूपमा मात्र प्रयोग गर्ने गरेका थिए । उनीहरूले एक महिनामा तीनपटकसम्म पर्साबाट तस्करीको चाँदी काठमाडौं ल्याउने काम गर्थे ।

त्यसरी भारतबाट प्रत्येकपल्ट तस्करीको चाँदी १५ किलो ल्याउँदा जनही आठ हजार रुपैयाँ पाउँथे । २० किलो ल्याउँदा १० हजार रुपैयाँ पाउने गरेका थिए । तस्करीको चाँदी काठमाडौं ल्याउन उनीहरूले ना४१प ३३४६ नम्बरको मोटरसाइकल प्रयोग गर्थे ।

उनीहरूले भारतबाट चाँदीका दाना तस्करी गरेर नेपाल ल्याउने गरेको खुलेको छ । त्यसरी ल्याएको चाँदी नरेफाँटमा स्टोर गरेर राख्ने गरिएको प्रहरीको अनुसन्धानका क्रममा थाहा भएको छ ।

तस्करीको चाँदी उनीहरूले काठमाडौंका सुनचाँदी व्यवसायीलाई मात्र बिक्री गर्ने गरेका थिए । सुनचाँदी व्यवसायीकै मागानुसार आफूले भारतबाट चाँदी तस्करी गर्ने गरेको सन्तोषले प्रहरीसमक्ष बताएका छन् ।

उक्त कार्यालयका एसपी काजीकुमार आचार्यले चाँदीसहित पक्राउ परेका पाँचजनालाई थप अनुसन्धानका निम्ति राजस्व अनुसन्धान विभागमा पठाइने बताए ।

प्रहरीले बरामद गरेको चाँदीको मूल्य ३४ लाख रुपैयाँबराबर हुन आउँछ । बुधबार नेपाल बजारमा चाँदीको मूल्य तोलाको एक हजार ९५० रुपैयाँ कायम छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro