site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
देउवालाई घेराबन्दी : कांग्रेस नेतृत्वमा को आउने ?

संवैधानिक व्यवस्थाअनुसार नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ साल कार्तिक महिनाभित्र गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म महाधिवेशनको सुरसार खासै देखिएको छैन । क्रियाशील सदस्यता वितरणसमेत प्रभावकारीरूपमा भएको छैन । महाधिवेशनको माहोल सृजना नभए पनि आगामी महाधिवेशनमा आउने नेतृत्वका बारे भने स्थानीयदेखि केन्द्रीय तहसम्मै 'चिया गफ' चलिरहेको छ  । 

नेपाली कांग्रेसको विधानअनुसार वर्तमान सभापति शेरबहादुर देउवा आगामी महादिबेशनमा सभापति पदमा उमेदवार हुन पाउँदैनन् । त्यसैले देउवाको उत्तराधिकारी बन्ने दौडमा उनको विश्वास पात्र बन्ने लोभले अधिकांश नेताहरूले समयमा महाधिवेशन हुनुपर्ने मागसम्म पनि गर्नसकेका छैनन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने १५ औं महाधिवेशन विधानले तोकेको समयमा नगरी २०८४ सालको निर्वाचनपछि २०८६ सालतिर मात्र गर्ने मानसिकता रहेको देखिएको छ । सभापति देउवा पार्टीको नेतृत्व छोड्दै गर्दा आफ्नो राजनीतिक भूमिका सुनिश्चित गरेरमात्र नेतृत्व हस्तारण गर्ने मानसिकता रहेको चर्चा छ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन समयभित्र गर्न गरिएन भने पार्टीको गतिविधि, निर्वाचनमा पार्टीको प्राथमिक एजेन्डा  र पार्टीको अवस्थाको साथै वैधानिकतामा समेत प्रश्न खडा हुनेछ । 

Dabur Nepal
NIC Asia

नेपाली कांग्रेसजस्तो पुरानो लोकतान्त्रिक दलको आन्तरिक लोकतन्त्रमै प्रश्न उठेपछि लोकतन्त्रप्रतिको विश्वास कसरी रहन सक्छन् ? नेपाली कांग्रेसको १५ औं महाधिवेशन पार्टीको नेतृत्वको महत्त्वपूर्ण परीक्षा हुनेछ । यसमा पार्टीका पुराना र नयाँ नेताहरूबीच सत्ता संघर्षको पुनरावृत्ति हुन सक्छ । महाधिवेशनमा पार्टीको सभापति चयनको प्रक्रिया सबैभन्दा विवादास्पद र गहिरो हुनेछ जसका लागि अहिले नै विभिन्न नेताहरूबीच गम्भीर तर्कवितर्क र रणनीतिक देखिएका छन् । आफ्नै विधान नमान्ने सभापतिको नेतृत्वमा निर्वाचनमा भाग लिँदा स्थानीय तहदेखि केन्द्रसम्मको नेतृत्वप्रति जनताको विश्वास र भरोसा रहने आधारहरू खोजी हुनेछ । उनीहरूको नेतृत्वको जनताले समीक्षा गर्ने अवस्था सृजना हुनेछ ।

देउवालाई घेराबन्दी : पार्टीमा बढ्दो असन्तोष

सभापति देउवालाई घेराबन्दी गर्ने ११ जना नेताहरूको फागुन २ गते देउवा निवासमा बसेको बैठकले पार्टीभित्रको असन्तोष र नेतृत्व परिवर्तनको आवश्यकता बलियो हुँदैगएको सङ्केत गरेको छ । उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र डा. शंशाक कोइरालासहित पूर्वसहमहामन्त्री एवं प्रवक्ता डा. प्रकाशसरण महत, नेताहरू बालकृष्ण खाण, एनपी साउद र सहमहामन्त्री उमाकान्त चौधरीसहित नेताहरूको दबाबले देउवालाई राजनीतिक इमानदारीमा नैतिक दबाबको प्रश्न उभ्याएको छ । यो दबाब धेरै हदसम्म १५ औं महाधिवेशनमा सभापति देउवाको उत्तराधिकार र महाधिवेशन स्थगनसँग जोडिएको छ । 

यी नेताहरूको घेराबन्दी सभापति देउवाको नैतिकता र इमानदारीको साथै विश्वासमाथिको घेराबन्दी हो  । तत्कालीन अवस्थामा सभापति देउवा साधारण सदस्यबाट समेत निलम्बन हुँदादेखि आफ्नो राजनीति दाउमा राखी सहयोग गरेकाहरूको घेराबन्दीले राजनीतिक न्याय, इमानदारी र नैतिकतामाथि प्रश्न उब्जिनेछ भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले १३ औं र १४ औं महाधिवेशनमा सहयोग गरी गुन लगाएका छन् भने डा. शंशाक कोइरालाले मौन बसी सहयोग गरेका हुन् ।

यसरी सभापति देउवालाई सहयोग गरेका नेताहरूले घेराबन्दी गर्दा देउवाको राजनीतिक साखमा प्रश्न उब्जिनु स्वाभाविक हो । यी यस्ता विषयले राजनीतिमा अप्ठेरो पर्दा सहयोग लिनेदिनेबीचको राजनीतिक संस्कार, संस्कृति र इमानदारीको स्वाभाविक परीक्षण हुनेछ । अहिले देउवालाई घेराबन्दी गरेजसरी अन्तिम अवस्था अर्थात् महाधिवेशनको बेलामा सबै जना एउटै ठाउँमा रहन सक्ने अवस्थामा भने देखिँदैन । भावि राजनीतिमा सभापति देउवाकी पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवाको महत्त्वपूर्ण भूमिका रहनेछ । परराष्ट्रमन्त्री देउवाको राजनीतिक भविष्यको सुनिश्चिताले नै सभापति देउवाले सहयोग गर्ने समूहको निर्णय हुनेछ । 

नेतृत्वमा को आउने ?

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापतिका मुख्य दाबेदारहरूले केही प्रमुख रणनीतिक चालहरू देख्न सक्नेछन् । सभापति शेरबहादुर देउवाले १५ औं महाधिवेशनका लागि आफ्नो नेतृत्वको औचित्य पुनःस्थापित गर्न समय लिने संकेत दिएका छन् । यसका लागि उनले संसदीय निर्वाचनपश्चातको राजनीतिक परिप्रेक्ष्यलाई ध्यानमा राख्दै आफ्नो भूमिका कस्तो र के रहन सक्छ भन्ने सन्देश दिएका छन् । सभापति देउवाको हत्तपत्त नबोल्ने बानीले महाधिवेशनमा उमेदवारी घोषणा नहुँदासम्म घेराबन्दी भइरहनेछ ।  

यो स्थिति वरिष्ठ नेता डा. शेखर कोइरालाको लागि भने एक अवसरको रूपमा देखापरेको छ । चौधौं महाधिवेशनमा डा. कोइरालाको प्रतिस्पर्धा कमजोर रहेको थियो । उनलाई आफ्नै समूहका भनिएका वरिष्ठ नेताहरूले समेत साथ दिएका थिएनन् । तैपनि उनको सक्रियताले ४०प्रतिशत मत आउनु चानचुने होइन । योउनका लागि एउटा राजनीतिक छलाङ्ग थियो जसले गर्दा १५ औं महाधिवेशनमा उनी एक्लो बलियो उमेदवार बन्न सफल हुने देखिन्छन् । प्रायः सबै नेता तथा कार्यकर्ताले डा. शेखर कोइरालालाई भावी सभापतिका रूपमा हेर्न थालेका छन् ।

गत महाधिवेशनमा आफूभन्दा वरिष्ठ नेताहरूलाई पाखा लगाएर सभापतिको उम्मेदार बन्नसक्नु नै डा. कोइरालाको राजनीतिक सफलता थियो । आगामी महाधिवेशनलाई लक्षित गरी उनले सक्रियरूपमा देशभर भ्रमण गरेर कार्यकर्तामाझ लोकप्रियता बढाउँदै छन् । यसले उनलाई सबैभन्दा बलियो दावेदारको रूपमा प्रस्तुत गरेको छ । डा. कोइरालाको रणनीति पार्टीको नयाँ नेतृत्वको आवश्यकता र राष्ट्रिय राजनितिक सन्दर्भलाई ध्यानमा राखेर अघि बढिरहेको संदेशले आगामी महाधिवेशनमा सभापति जित्न सक्ने छनक दिएको छ । डा. कोइराला देउवा समूहका पनि धेरै वरिष्ठ नेताले आफूलाई सहयोग गर्ने विश्वासमा देखिन्छन्  । 

पोखराको नीति प्रशिक्षण कार्यक्रममा १४ औं महाधिवेशनका प्रमुख प्रत्याशी डा. शेखर कोइरालाको अनुपस्थितिले कांग्रेस पार्टीभित्र आन्तरिक लोकतन्त्र, एकता र राजनीतिक संस्कारमाथि प्रश्न उब्जेको छ । अहिलेसम्म नेतृत्वले डा. शेखर कोइरालाको ४०प्रतिशत मतलाई निषेध गर्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रलाई कमजोरमात्र पारेको छैन साथै राजनीतिक संस्कारमा पनि प्रश्न उब्जिएको छ । डा. कोइरालालाई अस्वीकार गर्ने नेतृत्वको बहानाबाजी अलोकतान्त्रिक प्रवृत्ति हो । नेपाली कांग्रेसजस्तो राजनीतिक संस्कार भएको पार्टीमा महाधिवेशनमा सभापति पदमा प्राप्त मतलाई अस्वीकार गर्नु अराजनीतिक प्रवृति हो । राजनीतिमा व्यक्ति गौण हुन्छ भने संस्कार र संस्कृति प्रधान हुन्छ । 

पार्टीको भविष्य र नेतृत्वको आवश्यकता

नेपाली कांग्रेसको भविष्य १५ औं महाधिवेशन समयमा सम्पन्न गर्ने नेतृत्वको चाहनामा निर्भर रहनेछ । पार्टीको ऐतिहासिक भूमिका, विचारधारा र नेतृत्वको संरचनामा भएको परिवर्तनले पार्टीलाई नयाँ कार्यदिशा दिन सक्छ ।

आगामी महाधिवेशनको परिणामले पार्टीलाई पुन: शक्ति सन्तुलनको नयाँ अवस्था प्रदान गर्न सक्छ जसले पार्टीलाई भविष्यमा एकता र मजबुती प्रदान गर्न मद्दत पुग्नेछ । यसका लागि सभापतिमा वरिष्ठ नेता डा. शेखर कोइराला र प्रधानमन्त्रीमा महामन्त्री गगन थापाको सहमति महत्त्वपूर्ण हुनेछ । वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाको सहकार्य हुने चाहना देशभरका कार्यकर्ता र शुभेच्छुकको रहेको देखिन्छ ।

आगामी महाधिवेशनमा हुने चुनावी समीकरणले पार्टीमा ठूलो परिवर्तन ल्याउन सक्छ । सम्भावित सहमति, गठबन्धन र नेताहरूबीचका रणनीतिक चालहरूले महाधिवेशनको परिणाममा प्रभाव पार्न सक्छ । महामन्त्री गगन थापा र डा. शेखर कोइरालाले सहकार्य गरेर उम्मेदवारी दिए भने, पार्टीमा नयाँ नेतृत्वको लागि एक स्पष्ट मार्गदर्शन हुन सक्छ । यसले पार्टीको आन्तरिक एकता र भविष्यमा देशको राजनीतिक परिप्रेक्ष्यलाई बलियो बनाउन मद्दत पुग्नसक्छ । 

नेतृत्वको बहसले एजेन्डा ओझेलमा

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा नेतृत्वले प्राथमिकता पाउँदा एजेन्डाको बहस ओझेलमा पर्ने र त्यसबाट पार्टीको समग्र विचारधारामा प्रभाव पार्नसक्ने जोखिम बढेको छ । संगठनको विचारधारामा गम्भीर बहस र छलफल नभएमा पार्टीका सदस्य र समर्थकहरूको दृष्टिकोणमा एकता र स्पष्टता अभाव हुन सक्छ । संगठनको दीर्घकालीन लक्ष्य, नीति र रणनीतिहरूलाई महाधिवेशनमा पूर्णरूपले प्रस्तुत गर्न नसक्दा पार्टीको आगामी कार्य दिशा, नयाँ पुस्ताको भविष्य र पहिचानमा संकट उत्पन्न हुन सक्छ ।

नेतृत्वप्रति केन्द्रित रहनुले पार्टीको मूल उद्देश्य र एजेन्डामा रहेका विषयहरूको विचार र समाधानमा ध्यान नपुग्ने सम्भावना पनि बढाउँछ । परिणामस्वरूप, पार्टीको वास्तविक उद्देश्य र कार्यकुशलता ओझेलमा पर्ने र व्यक्ति पूजाको संस्कारको विकास हुनसक्छ । पार्टीको समग्र विकास र संघर्षको केन्द्रविन्दु नेतृत्वभन्दा बढी व्यक्तिका गुण र विशेषतामा केन्द्रित हुन सक्छ ।

यसरी नेतृत्वमाथिको निहित बहस र प्राथमिकताले संगठनको मुख्य एजेन्डा, विचारधारा र दीर्घकालीन रणनीति र पृष्ठभूमिमा असर पर्न सक्छ । पार्टीको विचारधारामा स्पष्टता र स्थिरता कायम राख्न नेतृत्वमाथिको बहससँगै एजेन्डा र संगठनको लक्ष्यको बहस पनि प्रमुख स्थानमा राख्नु आवश्यक छ ।

पार्टीको १५ औं महाधिवेशनको तयारी र यसका आन्तरिक समीकरणहरू नेपाली कांग्रेसको भविष्यको लागि अत्यन्त महत्त्वपूर्ण हुनेछन् । यसको परिणामले पार्टीको भविष्यलाई निर्देशन दिनेछ र यसको प्रभावमा नेपाली राजनीति र सरकारको संरचनामा पनि पर्नेछ ।

यस क्रममा पार्टीको नेतृत्व परिवर्तन, नयाँ दावेदारहरूको उदय नेतृत्वमा नयाँ रणनीतिक सहमतिले पार्टीको आगामी सफलता र असफलता निर्धारण गर्नेछन् । पार्टीलाई सक्रिय राख्न सांगठनिक, वैचारिक र सैद्धान्तिक मार्ग निर्माण गर्न सक्ने नेतृत्व नै वर्तमानको आवश्यकता हो ।

सभापति देउवालाई २०८१ फागुन २ गते उनकै निवासमा ११ जना वरिष्ठ नेताले 'घेराबन्दी' गरी उनीहरूमध्येबाटै सभापति उमेदवार बनाउन दिएको दबाबले नेपाली कांग्रेसभित्र तरंग उब्जेको छ  भने देउवामाथि नैतिक परीक्षणको दबाब पनि परेको देखिन्छ  । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro