
काठमाडौं । मछिन्द्र क्लब वीरगञ्जमा जारी दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
वीरगञ्जको आर्दशनगर रंगशालामा बिहीबार भएको खेलमा मछिन्द्र क्लबले सहलेश युवा क्लब, सिरहालाई ३–१ गोलअन्तरले हराएको हो । स्टेफन जेलीले खेलको १०औँ मिनेटमा गोल गर्दै मछिन्द्र क्लबलाई अग्रता दिलाएका थिए । जेलीले नै खेलको १३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सहलेश युवा क्लबसँगको अग्रता दोब्बर बनाए ।
यस्तै, मछिन्द्र क्लबका आदित्य शाक्यले खेलको ६५औँ मिनेटमा तेस्रो गोल गरे । खेलको ९२औँ मिनेटमा सहलेश युवा क्लबका तर्फबाट बेन ब्रहामिनले सान्त्वना गोल गरे । उक्त खेलमा मछिन्द्रका स्टेफन जेलीले म्यान अफ दी म्याद घोषित हुँदै १० हजार पुरस्कार प्राप्त गरे । मछिन्द्रले शनिबार हुने फाइनल खेलमा साविक विजेता नेपाल पुलिस क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
यही फागुन १७ गतेदेखि सुरु भएको वीरगञ्ज गोल्डकपको विजेताले ११ लाख ११ हजार १११ तथा उपविजेताले पाँच लाख ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर तथा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही २० हजार पुरस्कार प्रदान गरिनेछ ।