site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
‘घाटा–नाफाको व्यवसाय गर्न आएको होइन, क्रिकेट हाम्रो भावना हो’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा लुम्बिनी लायन्सको प्रदर्शन उल्लेखनीय रहन सकेन । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले लिग चरणका सात खेल खेल्दा एकमा मात्रै जित निकालेको थियो । बाँकी ६ खेलमा पराजय भोगेको लुम्बिनीले अंक तालिकाको पुछारमा रहँदै लिग चरणको अन्त्य गरेको थियो ।

लुम्बिनीको यही प्रदर्शन, समग्र एनपीएल र अन्य समसामयिक विषयमा बाह्रखरीका आशिष पुडासैनीले लुम्बिनी लायन्सका मालिक ईश्वर जीसीसँग कुराकानी गरेका छन् ।

तपाईंले लुम्बिनी लायन्सको स्वामित्व लिनुभएको छ । क्रिकेट नै किन ?

Dabur Nepal
NIC Asia

म सानैदेखि नै क्रिकेटप्रति एकदमै नजिक थिएँ । स्कुलबाट नभए पनि कलेज स्तरबाट हल्काफुल्का क्रिकेट खेल्ने बानी लागेको थियो । क्रिकेटसँग एकदमै लामो आबद्धता भयो भनौँ । 

एनपीएलको पहिलो संस्करणमा लुम्बिनीको प्रदर्शन राम्रो रहेन । तपाईं क्लबको मालिक भएको नाताले टिमको प्रदर्शनलाई कसरी समीक्षा गर्नुहुन्छ ?

नतिजाबाट म पनि त्यति खुसी छैन । खेलको रूपमा हेर्ने हो भने हामीले उत्कृष्ट प्रदर्शन गरेका छौँ । नजिता हाम्रो पक्षमा रहेन । धेरै खेलहरू जितको निकै नजिक पुगेर गुमायौँ । कम्तीमा चारवटा खेलहरू हामीले आफ्नो हातबाट गुमायौँ । टिमको प्रदर्शनबाट म बेखुस भने छैन । तर, जुन नतिजा ल्याउनुपर्ने थियो, त्यसमा हामी चुक्यौँ भन्ने लाग्छ ।

प्रतियोगितामा लुम्बिनीले पहिलो खेलमा सबैभन्दा ठूलो योगफल बनाएर पनि जित्न सकेन । जनकपुरसँग पनि एक रनको झिनो हार बेहार्‍यो । यी जित नजिक पुगेर पनि हार्नुपर्दा टिमलाई कस्तो प्रभाव परेजस्तो लाग्छ ?

पहिलो खेलमा १९१ रन बनाएपछि हामीलाई हार्छौं भन्ने लागेकै थिएन । अन्तिम ओभरसम्म पनि लागेको थिएन । त्यहाँ हाम्रो कप्तान, प्रशिक्षक र खेलाडीबाट अञ्जानमा केही कमजोरी भयो कि जस्तो लाग्छ । त्यो खेल गुमाउनुले अरू खेलमा हाम्रा खेलाडीमा आत्मविश्वासको कमी भयो भन्ने हामीलाई लाग्छ । जनकपुर बोल्ट्ससँग पनि हामीले जितिसकेको खेल एक रनले गुमाउनुपर्‍यो । त्यसले हाम्रो आलो घाउमा नुन छर्कियोजस्तो लाग्छ ।

Ishwar-GC-Lumbini--(4)-1734691546.jpg
नेपाली खेलकुदमा पछिल्लो समय फ्रेन्चाइज प्रतियोगिताको ट्रेन्ड बढ्दो छ । फुटबलमा एनएसएल हुन्छ । भलिबलमा पनि फ्रेन्चाइज प्रतियोगिता हुन्छ । अहिले कबड्डीमा पनि हुँदै छ । क्रिकेटबाहेक अरू खेलबारे सोच्नुभएको छ ?

छैन । म पहिलोदेखि नै क्रिकेटमा आबद्ध भएकाले अरू मेरो व्यवसाय हुँदाहुँदै पनि सकेसम्म समय निकालेर क्रिकेट हेर्ने गर्छु । त्यसकारण क्रिकेटबाहेक अरू खेलबारे सोचेको छैन । अहिले क्रिकेटबाट नै नेपाली खेलकुदलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने सोचिरहेका छौँ । लुम्बिनीलाई क्रिकेटको माध्यमबाट अरू क्षेत्रको माध्यमबाट विश्वमा चिनाउनु छ । क्रिकेटबाट अर्थतन्त्र र रोजगारलाई कसरी जोड्न सकिन्छ भन्ने हाम्रो लक्ष्य छ । त्यसकारण क्रिकेटबाहेक अरू सोचेको छैन ।

लुम्बिनीको स्वामित्व एक करोड ८६ लाखमा लिनुभयो । विदेशी र नेपाली खेलाडी अनुबन्धमा त्यस्तै खर्च भयो । क्रिकेटको घाटा–नाफामा लुम्बिनीलाई कसरी तौलिनुहुन्छ ?

हामी यो घाटा–नाफाको व्यवसाय गर्न हामी आएकै होइन । यो त हाम्रो भावना हो, भावनालाई हामी कहिल्यै पनि घाटा–नाफमा दाज्दैनौँ जस्तो लाग्छ हामीलाई । भावना र देशप्रतिको जिम्मेवारबोध भएको हुँदा हामी यसमा आएका हौँ । सधैँभरि घाटामात्रै त पक्कै हुँदैन होला । कुनै दिन पक्कै पनि हामीले आफ्नो लगानी फिर्ता पाउँछौँ होला । एक–दुई वर्ष नआउला, दुई–चार वर्ष नआउला । त्यसपछिका दिनहरू भने आशा बोकेका छौँ । हामीले सम्पूर्ण लुम्बिनी प्रदेशकै प्रतिनिधित्व गर्छौं जस्तो लाग्छ । हामीले घाटा–नाफालाई खेलसँग जोडेर आएकै हैनौँ । 

क्यानले नै प्रायोजक आशाअनुसार आएनन् भनिसकेको छ । क्लबहरूको हकमा पनि त्यही लागु होला । लुम्बिनी लायन्सले प्रायोजकबाट कत्तिको साथ पायो । क्लबहरूका लगानी उठाउने स्रोतहरू के–के हुन् ?

प्रायोजन नै हाम्रो एकमात्र स्रोत हो । त्यसपछि टिकटबाट आउने र अरूबाट हुने आम्दानीको ५० प्रतिशत हामी आठवटा क्लबहरूलाई दामासाहीले बाँड्ने कुरा छ । त्यसबाट धेरै नै हुन्छ जस्तो लाग्छ । मुख्य भनेको प्रायोजकको साथ नै हो । हामीले प्रायोजकमा एनसेलजस्तो चर्चित अन्तर्राष्ट्रिय कम्पनीको साथ पाएका छौँ । यसैगरी हामीसँग अरू पनि धेरै कम्पनी जोडिनुभएको छ । प्रायोजकबाट हामीलाई राम्रो साथ छ जस्तो लाग्छ । साथ पाएनौँ कि भन्नेजस्तो त छैन । योभन्दा दरिलो साथ आगामी वर्षहरूमा हुनेछ भन्ने हामीलाई स्वाभाविकरूपमै लाग्छ ।

Ishwar-GC-Lumbini--(2)-1734691543.JPG
मैदानभित्रको कुरा गर्दा, लुम्बिनीले विदेशी खेलाडीहरूमा बेन कटिङ, उन्मुक्त चन्दजस्ता चर्चित नामहरू भित्र्याएको थियो । विदेशी खेलाडीबाट आशाअनुसारको प्रदर्शन रह्यो कि रहेन ?

विदेशी खेलाडीबाट आशाअनुसारको प्रदर्शन नहुनु नै हामीले सोचेअनुसारको प्रतिफल नपाउनुको कारण बन्यो जस्तो लाग्छ । टिमको प्रदर्शन राम्रो नहुनुमा धेरै कारणहरू होलान् । तर, त्यसमध्ये विदेशी खेलाडीबाट आशाअनुसारको प्रदर्शन नहुनु मुख्यमध्येको एक हो जस्तो लाग्छ मलाई ।

लुम्बिनी लायन्सले एकजना बंगलादेशका चर्चित खेलाडी भित्र्याउने भन्ने चर्चा ठूलो थियो । त्यो रोकियो किन ?

आईसीसीको गाइडलाइनमा टेस्ट राष्ट्रका विदेशी खेलाडी चार जनामात्रै ल्याउन पाउने भन्ने रहेछ । हामीले बंगलादेशका राम्रै खेलाडी ल्याउने अन्तिम तयारी गरेका थियौँ । तर, क्यानबाट चारजना खेलाडी पुगिसक्यो भन्ने जवाफ दिनुभएपछि राम्रो खेलाडी ल्याउन हामी असमर्थ भयौँ । 

प्रतियोगिताका आगामी संस्करणमा चर्चित र ठूला नाम भित्र्याउने कुरामा लुम्बिनी कत्तिको प्रतिबद्ध छ ?

हाम्रो टोली यो कुरामा प्रतिबद्ध नै छ । तर, यो प्रतियोगितापछि मलाई के लाग्छ भने अब ठूलो नामले मात्रै कहिलेकाहीँ नहुँदो रहेछ । हामीले आफ्नो क्लब, देशको नाम र प्रतियोगिता सबैलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठूला नामहरू ल्यायौँ । तर, मैदानभित्रको कुरा गर्दा कहिलेकाहीँ ठूला नामले मात्रै प्रदर्शन राम्रो हुने रहेनछ । नेपाली माटोसँग घुल्न सक्ने, नेपाली क्रिकेटलाई बुझेको खेलाडी ल्याउन प्रदर्शन राम्रो हुन्छ कि जस्तो मेरो व्यक्तिगत बुझाइ बनेको छ अहिले ।

Ishwar-GC-Lumbini--(3)-1734691545.JPG
नेपाली क्रिकेटलाई केही अघिदेखि नियाल्ने हो भने अहिले भएको जस्तो फ्रेन्चाइज प्रतियोगिता धेरै भइसके । ईपीएल, डीपीएल, पीपीएलदेखि एनपीएल पनि यसअघि नै भएको थियो । तर, ती सबैले निरन्तरता पाएको देखिँदैन । यसरी हेर्दा यो एनपीएलले निरन्तरता पाउँछ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

म क्रिकेटलाई माया गर्ने व्यक्ति हो । तर, म यसअघि भएका कुनै पनि प्रतियोगिताहरूमा जोडिएको थिइनँ । घरेलु क्रिकेट साखै पच्छ्याएको थिइनँ । त्यसैकारण यो लिग पनि त्यस्तै बन्छन् कि भनेर दाज्न म सक्छु जस्तो लाग्दैन । म त्यसका निम्ति योग्य छु जस्तो पनि लाग्दैन । तर, एनपीएलले जुन जग बसाएको छ, त्यसलाई हेर्ने हो भने यसले प्रत्यक्ष–अप्रत्यक्षरूपमा पूरा नेपाललाई नै धेरै फाइदा गरिरहेको छ । जसरी यसले नेपाली अथतन्त्रमा तलको सानो क्षेत्रदेखि माथि ठूला हाउससम्म चलायमान बनाएको छ, यो नेपाली खेलकुदकै पहिलो त्यस्तो प्रतियोगिता हो जस्तो लाग्छ मलाई ।

यसअघि नेपाल चिनाउने दुई–तीनवटा कुरामा बुद्धको देश, सगरमाथाको देश र ट्रेकिङका निम्ति योग्य रहेको देश भन्ने थिए । तर, अहिले यो लिगको कारणले नेपाल विश्वभर क्रिकेटप्रेमीको देशको रूपमा पनि परिचित भएको छ । त्यही कारण यसको भविष्यवाणी गर्नपर्छ जस्तो मलाई लाग्दैन । हुने बिरुवाको चिल्लो पात भनेजस्तै यो संस्करणले नै अबको एनपीएल र नेपाली क्रिकेट कता जान्छ भन्ने बताइसकेको छ ।

फेरि मैदानभित्रकै कुरा गरौँ, लुम्बिनीको प्रदर्शन एक ठाउँमा छ । तर, त्यसमा कप्तान रोहित पौडेलको प्रदर्शन बलिङ र ब्याटिङ दुवैतर्फ उच्च रह्यो । तपाईंले आफ्नो कप्तानको प्रदर्शनलाई कसरी व्याख्या गर्नुहुन्छ ?

राष्ट्रिय टिमकासमेत कप्तान रहेका रोहितलाई म मैदानमा राम्रो प्रदर्शन गर्ने र निडर नेतृत्वकर्ताको रूपमा लिन्छु । नेपालले रोहितजस्तो खेलाडी पाउनु गौरवको कुरा हो । तथापि, उनले लिड गरेको क्लबको नतिजा उहाँसँग मिलेन यसपटकलाई । कप्तान रोहितले पनि यसलाई नियाल्नुभएको छ होला । क्लबले पनि ती कुराहरूलाई नियालेको छ । कमजोर सबैमा भइहाल्छ नै ।

पहिलो खेल हारिसकेपछि हामीलाई समीक्षा गर्ने फुर्सदसमेत भएन । यस्तो तालिकामा पर्‍यौँ हामी । लगातार आठ दिनसम्म खेल । हामीलाई खेल तालिका नै अभागी बनायो । खेलका दौरान प्रशिक्षक र खेलाडीसँग समीक्षा गर्नमा कप्तानबाट केही कमजोर भयो कि भन्ने लाग्नु स्वाभाविक नै हो । तर, एक खेलाडीको रूपमा र एक व्यक्तिको रूपमा उनी उत्कृष्ट खेलाडी हुन् ।

एनपीएलको निम्ति आयोजक क्यानलाई के भन्न चाहनुहुन्छ ?

क्यानलाई मुरीमुरी धन्यवाद । हामी लुम्बिनी लायन्सलाई मात्रै हैन । सम्पूर्ण आठवटा फ्रेन्चाइज क्लबहरूकै तर्फबाट म क्यानलाई धन्यवाद दिन चाहन्छु । सम्पूर्ण क्यान र सचिव पारस खड्काले ठूलो काम गर्नुभएको छ । त्यसमा सफलता मिलोस् । यसले नेपाली खेलकुदलाई नै अलग पहिचान दिलाउने कार्यमा लाग्नुभएको छ । यसका निम्ति क्यान र यससँग सम्बन्धित सबै व्यक्तित्वहरूमा धन्यवाद व्यक्त गर्न चाहन्छु । 

अन्त्यमा, लुम्बिनी लायन्सका समर्थकलाई के सन्देश दिन चाहनुहुन्छ ?

तपाईंहरूलाई सोचअनुसारको नतिजा दिन नसकेकोमा म क्षमाप्रार्थी छुँ । अर्को वर्ष साँच्चै लुम्बिनीलाई माया गर्ने देश र विदेशका नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हामी साँच्चै गर्जिने छौँ । अर्को वर्ष राम्रो नतिजा दिनका निम्ति हामीले आजैदेखि काम गरेका छौँ । हामीलाई भरोसा गर्नुहोस्, लुम्बिनी लायन्सलाई माया गर्नुहोस् । तपाईंहरूलाई गर्व गर्न लायक नतिजा दिनेछौँ भन्न चाहन्छु ।

हेर्नुहोस् भिडियो

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro