site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

नियमनमा हुने गरिने हेलचेक्य्राइँको परिणाम कति घातकसम्म हुनसक्छ भन्ने उदाहरण हिजो पोखरामा देखिएको छ । ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा सभा उद्घाटन कार्यक्रममा प्रयोग हुने बेलुन विस्फोट हुँदा कार्यक्रममा प्रमुख अतिथि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र  अध्यक्ष पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य नै सिकिस्त घाइते भए । 

मञ्चको सजावट गर्नेले बेलुन अतिप्रज्ज्वलनशील हाइड्रोजनले भरेका रहेछन् । उद्घाटनकै  क्रममा निस्किएको आगोको झिल्काले छोएपछि हाइड्रोजन भरिएको बेलुन पड्कियो र पौडेल र आचार्यलाई आगाले छोयो । दुवैको उपचार भइरहेको छ । उनीहरूको शीघ्र स्वास्थ्य लागको कामना गरौँ ।   

मञ्चमा बेलुन राखेर सजाउने, कार्यक्रमहरूमा बेलुन फुलाएर उँडाउनेजस्ता चलन अहिले निकै  बढेको छ । आवश्यकता र औचित्यमा प्रश्नै नगरी देखासिकी गर्न नेपालीहरू रौसिने गर्छन् । तर, नयाँ चलनसँगै अपनाउनुपर्ने सावधानीलाई भने बेवास्ता गरिन्छ । पोखरा दुर्घटनामा पनि सम्भवतः भएको त्यही हो ।

विशिष्ट व्यक्तिहरू नै पीडित भएको पोखरा दुर्घटनाको छानबिन हुने नै छ । बेलुनमा भर्नै नहुने हाइड्रोजन ग्यास भर्नेलाई कारबाहीको दायरामा पनि पक्कै ल्याइएला । तर, आयोजकहरूले गरेको  हेलचेक्य्राइँ पनि अक्षम्य प्रकृतिकै हो । यसैले यस दुर्घटनाका सबै पक्षको विस्तृत अध्ययन गरेर आयन्दा यस्तो हेलचेक्य्राइँ हुन नदिन आवश्यक नियमनलगायतको प्रबन्ध मिलाउनुपर्ने देखिन्छ ।

केही दिन पहिले गाडीमा काठमाडौंबाट नुवाकोट लगिँदै गरेको सिलिन्डरबाट ग्यास ‘लिक’ हुँदा बाटो नै थुन्नु परेको थियो । नियमन र निगरानीका कुनै न कुनै प्रकारको त्रुटि भएकाले नै यस्ता घटना हुन्छन् । भाग्यवशः नुवाकोट लगिएको ग्यासको सिलिन्डर विस्फोट हुन पाएन । बाक्लो आवादी भएको कुनै बस्तीमा त्यो ग्यास पड्केको भए अकल्पनीय क्षति हुने थियो ।

यसैले सरकारले यस्ता घटनाबाट सजग भएर त्रुटि दोहोरिन नदिन नियमन र निगरानीको आवश्यक प्रबन्ध मिलाउन आलटाल गर्नु हुँदैन । अर्को कुनै मञ्चमा बेलुन पड्केर आगो लाग्ने वा कुनै गाडीमा असुरक्षितरूपमा ग्यास ढुवानी गर्दा लिक हुने अवस्था आउन नदिन सरकारले  उचित प्रबन्ध तत्काल मिलाओस् । परेर पनि नचेत्नेलाई मूर्ख भन्छन् । सरकार मूर्ख नबनोस् । 
 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro