देवघाट धाम नेपालका अत्यन्तै महत्त्वपूर्ण तीर्थस्थलहरूमध्ये एक हो । सुरुमा धार्मिक दृष्टिबाट मात्र हेरिएको देवघाट धामलाई पछि सांस्कृतिक महत्त्व पनि दिन थालियो । अब यस धामले धार्मिक पर्यटन क्ष्रेत्रको रूपमा पनि उस्तै महत्त्व पाउन थालेको छ ।
यसको कारण हो - यहाँका सुन्दर प्रकृति, स्वच्छ नदीनाला, वरपरको सुन्दर वनबनेली, जैविक विविधता, विभिन्न जनजाति बसोवास गर्ने विविध सामाजिक बस्तीहरू, धार्मिक मठमन्दिरहरू । साथै तपस्वी, भक्त, श्रद्धालु तथा आध्यात्मिक व्यक्तिहरूले आफ्नो आत्मिक उन्नयनका लागि बनाएका संरचना पनि छन् । साथै यो ऐतिहासिक र पुरातात्विक दृष्टिले पनि महत्त्व राख्ने स्थान हो ।
इतिहास
पाल्पाका प्रख्यात राजा मणिमुकुन्द सेनले राजकाज त्यागी जीवनको अन्तिम समयमा यहीँ तपस्या गरेका थिए । योगी नरहरिनाथले यही क्षेत्रलाई आफ्नो तपस्या थलो बनाए । सिद्ध तपस्वी गलेश्वर बाबाले यहाँ आफ्नो कर्म थलो बनाए ।
विद्वान् डा. रामानन्द गिरीले पूर्वीय दर्शन विस्तार गर्न देवघाट धाममै महाविद्यालय खोले र संस्कृत विद्वान् उत्पादनमा लागे । राजा महेन्द्रले पहिलोपटक डुंगामा ऐतिहासिक कवि सम्मेलन गरे । सयौं विशिष्ट व्यक्तिहरूले आफ्नो जीवनको उत्तरार्धमा यहाँ आई जीवन विसर्जन गरे । राजा महेन्द्रको देहावसान पनि यही क्षेत्रमा रहेको दियालो बंगलामा भयो ।
विशेषता
संसारमै दुर्लभ मानिने शालीग्राम यहीँ आएर मिसिने कालीगण्डकी तटमा पाइनुले पनि यस स्थानको महत्त्व बढेको हो । साथै पवित्र मुक्तिनाथ क्षेत्र हुँदै आउने अत्यन्तै पवित्र मानिने कालीगण्डकी नदी, अर्को उस्तै पवित्र मानिने गोसाइकुण्ड मुहान भएको त्रिशुली नदीमा मिल्ने संगम स्थल भएकाले पनि देवघाटको महत्त्व बढी हुन गएको हो ।
यी नदी किनारका समथल बेसीहरूमा आदिवासी बोटे, दराई, माझी र कुमाल बस्ती तथा उनीहरूले संरक्षण गरेर राखेको संस्कृति उवं परम्पराको दृष्टिले पनि यो स्थानको महत्त्व थपिएको छ । वरपर रहेका सुन्दर हरिया पहाड, त्यहाँ हुर्केको मगर, गुरुङ र चेपाङहरुको संस्कृतिले पनि यसको महत्त्व बढाएको देखिन्छ ।
माघे संक्रान्ति, हरिबोधनी एकादशीआदि पर्वमा लाग्ने मेलाहरू पनि यस क्षेत्रका प्रमुख आकर्षण हुन् । सीता गुफा, चक्रवर्ती महादेव, महेश आश्रम, गलेश्वर धाम, हरिहर आश्रम, लक्ष्मीनारायण मन्दिर, वागीश्वरी मन्दिर, योगी नरहरीनाथ गौ संरक्षण केन्द्र, गणेशस्थान, हरिहर मन्दिर, मौलाकाली मन्दिर आदि यस भेगका केही विशेष धार्मिक स्थल हुन् ।
ऐतिहासिक, सांस्कृतिक, धार्मिकमात्र हैन, जैविक विविधताका आधारमा पनि यो क्षेत्रको महत्त्व उति नै छ । बरण्डाभार जंगलअन्तर्गत पर्ने जलदेवी सामुदायिक वन, सतनचुली सामुदायिक वन, बागीश्वरी सामुदायिक वन जस्ता वनले पहाड र तराईमा रहेका वन्यजन्तु, चरा, पुतलीको ओहोरदोहोर गर्ने जैविक मार्गको काम गर्ने गरेका छन् । साथै एकसिंगे गैँडा, पाटे बाघ, मगर गोही, अजिँगरजस्ता दुर्लभ वन्यजन्तु रहने चितवन राष्ट्रिय निकुञ्जसँग पनि देवघाट क्षेत्र जोडिएको छ ।
पर्यावरण
देवधाट क्षेत्रमा साल, सतीसाल, सिमल, सिसौ, खयरजस्ता वृक्षहरूको साथै हजारौं प्रकारका जडीबुटी पाइन्छ । यहाँका नदीमा पाइने जलचरहरूको पनि उति नै महत्त्व छ । कालीगण्डकी र त्रिशुली नदीका गहिरा दहहरूमा असला माछा, गोही र डल्फिनजस्ता दुर्लभ जलचर भेटिने गर्छन् । यी सबैको धनी मानिने यो देवघाट क्षेत्र प्राचीनकालका ऋषिमुनी, तपस्वी, आध्यात्मिक भक्तजनका साथै आधुनिक विज्ञानमा रुचि राख्ने अध्येता, अनुसन्धानकर्ता, प्रकृतिप्रेमी, संस्कृति विज्ञ, वातावरणविद्, तीर्थयात्री, पर्यटक, पर्यटन व्यवसायी सबैका लागि आकर्षक थलो बनेको छ ।
यति महत्त्वपूर्ण देवघाटको चर्चा त पर्याप्तै हुने गरेको छ तर संरक्षण भने हुन सकिरहेको छैन । संरक्षणका विषय उठे पनि योजनाबद्धरूपमा अगाडि बढेको देखिन्न ।
देवघाट आफैँमा बहुआयामिक स्थल हो । यसको एक पक्षलाई मात्र हेरेर संरक्षण र विकास गर्न खोजेर यो स्थानको न संरक्षण नै हुन्छ न त विकास नै । देवघाटको समग्र विकास र संरक्षणका लागि यसका सबै पक्षलाई मसिनोसँग केलाएर हेर्नुपर्छ ।
यहाँको आध्यात्मिक पक्ष, सांस्कृतिक पक्ष, वातावरणीय तथा प्राकृतिक पक्ष, ऐतिहासिक, पुरातात्विक पक्ष, पर्यटकीय पक्ष, सामाजिक पक्ष आदि सबैलाई अलगअलग केलाउने र तिनीहरूबीचको अन्तरसम्बन्धका साथै एकले अर्को पक्षलाई पार्न सक्ने प्रभाव पनि केलाउनुपर्छ ।
आवश्यक पूर्वाधार
धार्मिक पर्यटन विकास गर्न प्रचारप्रसारमा तीव्र पार्नु पर्नेछ । देवघाटभित्र चक्रपथ (रिङरोड)को व्यवस्था गर्नुपर्नेछ । शाकाहारी होटल, लजको व्यवस्था मिलाउनुपर्नेछ । स्नानस्थलमा शौचालय र लुगा फेर्ने कोठा बनाउनु आवश्यक छ ।
आवश्यकताअनुसार ठाउँठाउँमा खानेपानी, शौचालयको ब्यवस्थापन हुनुपर्नेछ । चौताराहरूको निर्माण र व्यवस्थापन जरूरी छ । पैदल मार्गको स्तरोन्नति र व्यवस्थापन जरूरी छ ।
चुनौती
विकास र संरक्षणका कार्य अलगअलग हुन्छन् तर तिनको असर भने एकअर्कामा परी नै रहन्छ । यी दुवै कार्य गर्दा अत्यन्त गम्भीर भएर अगाडि बढ्नुपर्छ । नत्र एक पक्षको विकास गर्न खोज्दा अर्को पक्षको विनाश हुन सक्छ । सबै पक्षका आआफ्ना महत्त्व हुन्छन् ।
एउटालाई महत्त्व दिन खोज्दा अर्कोको महत्त्व घट्न दिनुहुँदैन । सबै पक्षको संवेदनशीलतालाई राम्ररी बुझेर, दूरदृष्टि राखी काम गर्नुपर्छ । देवघाटको विकास अन्य सामान्य स्थानजस्तो सजिलो छैन । सबै पक्षलाई मिलाउन सकिएन भने भद्रगोल भएर धेरै पक्षलाई नोक्सान पुग्न जान्छ ।
प्राकृतिक सौन्दर्य छेक्ने, पुरातात्विक महत्त्वका स्थान छोपिदिने, आधुनिक ठूला सहरका जस्ता गगनचुम्वी भवन निर्माण गरेर सुन्दर प्राकृतिक छटालाई कंक्रिटको जंगलमा बदल्ने विकासले देवघाटको गरिमा घटाउनेछ ।
देवघाटमा मानिसहरू आध्यात्मिक प्रगतिका लागि, प्राकृतिक आनन्द प्राप्त गर्न, अनुपम प्राकृतिक सुन्दरताको अनुभूति गर्न, शान्ति र आनन्द लिन, स्थानीय संस्कृतिको अवलोकन गर्न, धार्मिक मेला भर्न, ऐतिहासिक तथा पुरातात्विक वस्तुहरूको अध्ययन अवलोकन र जैविक विविधताको अनुसन्धान गर्न आउने हुन् । प्राकृतिक सुन्दरता नियाल्दै पैदल यात्रा गरेर आनन्द लिनेहरू पनि यहाँ आउँछन् ।
आधुनिक सहरको कोलाहलपूर्ण वातावरणबाट मुक्ति पाउने आशाले मानिसहरू शान्तिको खोजीमा देवघाटधाम आउने हुन् । त्यसैले देवघाटमा यीसँग सम्बन्धित वस्तुहरूको संरक्षण र विकास हुनु जरुरी छ । जे हेर्दा पनि जता हेर्दा पनि आध्यात्मिकता झल्कने, हेर्दै मन शान्त हुने, आत्मिक उन्नयन हुने खालका संरचनाको निर्माणमा लाग्नुपर्छ ।
यतिखेरसम्म बनिसकेका देवघाटको विशेष परिचय दिने संरचनाको संरक्षण पनि हुनुपर्छ । धर्मका नामका कतिपय विकृति गाँजा सेवन, धुमपान, मद्यपान, बली प्रथा, जनावरको हिंसाजस्ता कुप्रथा हटाउँदै लग्नुपर्छ ।
मठमन्दिर बनाउँदा नेपाली कलात्मक शैलीका स्थानीय निर्माण सामग्रीको प्रयोग गरी पुरातत्व विभागको परामर्शमा मात्र निर्माण गरे राम्रो हुन्छ । स्थानीय शैलीका कलात्मक कुटीहरूले जति देवघाटको महत्त्व बढाउन सक्छन् त्यति विदेशी शैलीका विशाल मन्दिरले सक्दैनन् ।
यहाँ त पुराना शैलीका थुप्रै कुटीहरू हुनुपर्थ्यो । तर यतिबेला वागीश्वरीमा भएका दुईवटा कुटीबाहेक अन्यत्र देखिन्न । साधुसन्त नै आधुनिक सिमेन्टेड ठूला भवनमा ठाँट र रबाफले बस्न थालेकाले देवघाट अब कंक्रिटघाटमा परिणत हुने डर छ ।
योगी नरहरीनाथ र श्रीषनाथको प्रयासले वागीश्वरीमा दुईवटा कुटी, वागीश्वरी मन्दिर र गणेश मन्दिर भने पुरातात्विक मापदण्डअनुसार चुनासुर्की र ढुंगाबाट निर्माण गरिएका छन् । तर योगी नरहरीनाथको हवनस्थल समेत सिमेन्टको बनाएर पुरातात्विक स्थलको खिल्ली उडाउने काम भएको छ ।
योगी नरहरीनाथको नाममा सहयोग जुटाएर उनको विचार, उनले अपनाएको सिद्धान्त र उनले दिएको वातावरणमैत्री शिक्षाको नै उपहास गरेको देखिन्छ । योगी नरहरिनाथको आश्रम वरपरका क्षेत्रमा नै उनको भावनामा ठेस पुग्ने गरी जथाभावी निर्माण गरेर वागीश्वरी क्षेत्रको गरिमा घटाउने काम भएको छ । यसले उनको त्याग र योगदानको अपमान हुन गएको छ ।
सडक फराकिलो बनाउने नाममा यहाँको महत्त्वपूर्ण वनको विनाश गरिएको छ । देवघाटदेखि नारायणगढसम्म स्थानीयस्तरमा पाइने ढुंगा बिच्छाएर पैदल मार्ग बनाई खोला खोल्सामा काठका पुल तथा फड्केहरू निर्माण गरिदिने हो भने जैविक विविधताको अवलोकन गर्दै आनन्द लिएर मानिसहरु घुम्न र रमाउन पाउने थिए ।
गाडी चढेर फुत्त जानु, धुलो र धुवाँ खानुभन्दा धेरै राम्रो हुने थियो । नारायणीको किनारै किनार यस्तो बाटो निर्माण गर्न सके देवघाटको यात्रा अझै अत्यन्त रमणीय हुने थियो ।
होटेल, रेस्टुराँ निर्माण गर्दा पनि शाकाहारी परम्पराका कटेज स्टाइलका स्थानीय काठ, बाँस, खर, ढुंगा आदिको प्रयोग गरी रातो वा गेरु माटोले पोतेर वा स्थानीय प्राकृतिक रंगले रंगाएर प्राकृतिक दृश्यावलोकन गर्न मिल्ने स्थानमा बनाउँदा देवघाटको महिमा बढ्नेछ ।
देवघाट क्षेत्र भनेको गणेशस्थान, हरिहर मन्दिरदेखि पुलचोक क्षेत्र, मौलाकाली क्षेत्र आदि पनि पर्छन् । यी सबै क्षेत्रमा बनेका संरचना देवघाट धामको गरिमा बढाउनेभन्दा पनि घटाउने खालका छन् । जानी या नजानी गल्ती त धेरै भएको छ यस क्षेत्रको विकासका नाममा ।
अबका दिनमा सोच्नैपर्छ देवघाटलाई साँच्चिकै देवघाट बनाउने कि भद्रगोलघाट । त्यो हाम्रो बुझाइ र प्रयासमा भर पर्छ । हतारिएर बजेट खर्चने गर्नुमात्र विकास भएको भन्नु यस क्षेत्रका लागि अभिशाप हुन्छ ।
देवघाटको महिमा दृष्टिगत गर्दा यहाँ धेरै कुरा त बिगारिसकिएको छ । महत्त्वपूर्ण सार्वजनिक स्थलहरू, मन्दिर परिसरभित्रका जमिनहरू, नदी किनारका सुन्दर तटहरू, महत्त्वपूर्ण वन क्षेत्र खासगरी नाराणगढको नदी किनार, गणेश स्थानको मन्दिर वरपरको केही बिघा जमिन, आँपटारीको सुन्दर जंगल, जोरकुसुमको नदी किनारको सुन्दर भूभाग, देवघाट वारिपारि पट्टिका नदी किनारका महत्त्वपूर्ण स्थानहरू विभिन्न व्यक्ति, संघसंस्था र समूहको नाममा अतिक्रमित भइसकेका छन् । त्यसलाई फिर्ता ल्याएर गुरुयोजनाअनुसारका केही आवश्यक संरचना तयार गर्न सकिन्छ जसले देवघाटको गौरवलाई बढाउन सक्छन् ।
निर्माणका लागि मापदण्ड पनि तयार छन् । समयअनुसार नपुग कुरा थप्दै गएर मापदण्ड लागु गर्नुपर्छ । जसरी हुन्छ यो सुन्दर क्षेत्रको प्राकृतिक स्वरूप बिग्रन नदिई गरिमा र महत्त्वमा कमी आउन दिनु हुन्न । बसोबास क्षेत्रमा मापदण्ड केही खुकुलो गरे पनि केन्द्र भागहरूमा भने मापदण्ड कडाइका साथ लागु गर्नुपर्छ ।
त्यहाँको स्वच्छ वातावरण, प्राकृतिक सुन्दरता, जैविक विविधता, वन, खोला तथा सीमसार क्षेत्रहरूको संरक्षणमा कमी आउन दिनुहुन्न । पहिला भएका गल्ती दोहोरिन नदिई विचारपूर्वक अगाडि बढे देवघाट साँच्चिकै देवघट्ट बन्नेछ । देवघाटजस्ता तीर्थस्थलहरूको विकास गर्दा र संरचना बनाउँदा विज्ञहरूजस्तै संस्कृतिविज्ञ, इतिहासविज्ञ, पुरातत्वविद्, वातावरणविद् आदिसँग परामर्श गरेरमात्र गर्नुपर्छ ।
अवसर
देवघाट सुन्दर, शान्त आध्यात्मिक स्थल हो । पवित्र नदीहरूको संगम र स्वच्छ मनोरम वातावरण भएको स्थान हो । यो आध्यात्मिक चिन्तन बोकेका मानिसका लागि आस्थाको केन्द्र हो । आधुनिक कोलाहलको वातावरणबाट केही समयका लागि भए पनि मुक्ति पाउने आशाले आउने मानिसको गन्तव्य हो ।
यसको विकास गर्दा प्राकृतिक सुन्दरता नबिग्रने गरी, जैविक विविधतामा नकारात्मक प्रभाव नपर्ने गरी, धार्मिक मूल्यमान्यतामा आँच नआउने गरी वातावरणमैत्री, धर्म संस्कृतिमैत्री दृष्टबाट गर्नुपर्छ । फलस्वरूप, यहाँ रहेका हरेक पुरातात्विक, ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्त्वका विविधताको संरक्षण हुन सकोस् । अब देवघाटलाई धार्मिक पर्यटनको दृष्टिबाट सोची सबै सरोकारवाला एकजुट हुनु जरूरी छ ।