मैले एउटा कुरा पटक्कै बुझिनँ, अस्ट्रेलियामा । पानी पर्यो भने ‘ह्वाट अ ब्युटिफुल रेनिङ डे’ भन्छन् । घाम लाग्यो कि भन्छन्, ‘ह्वाट अ ब्युटिफुल सन्नी डे ।’
अनि जाडो भयो, ‘ह्वाट अ कुल वेदर’, अनि गर्मी भयो ‘ब्युटिफुल वार्म वेदर’ भन्छन् ।
जाडोको ठिही होस् या गर्मीले आलस–तालस अनि झरी होस् वा हुरी बतास । यहाँ सबै राम्रो भन्ने कुरो मैले साँच्चिक्कै बुझेको छैन । सबैखाले परिस्थितिमा सकारात्मक बन्न खोजेको हो भने पनि त्यसो होइन । जाडोभन्दा गर्मीलाई नै प्राथमिकता दिन्छन्, अजी (अस्ट्रेलियन) हरू । तर पनि सबैखाले समय परिस्थितिलाई सकारात्मक भावमा लिने यिनीहरूको स्वभावलाई मैले त नमन नै गरेको छु ।
हामीकहाँ झरी पर्यो, हामी कहिले सकारात्मक हुँदैनौँ । गर्मीमा त ‘छ्या’ भन्न आइहाल्छ । तर, ‘ह्वाट इज योर नेम’ भन्दा पनि माइकल... “थ्यांक्स, यू वेलकम” भन्ने यिनीहरूको थेगोलाई पनि मैले सलाम गरेकै छु ।
काम र दाम, अनि बिदामा आराम यी तिनै कुरामा मस्त छन्, अजीहरू । प्रायः जसो ‘मन्डे टू फ्राइडे’ काम गर्ने र सार्वजनिक बिदामा मस्ती गर्ने यिनको दिनचर्याले एकपटक ठूलो भ्रम भने पारेकै छ ।
पाँच दिन काम अनि दुई दिन आराम । प्रायः यिनीहरूको जिन्दगीको एउटा गतिलो ‘कल्चर’ बनिसकेको छ । झगडा परोस्, लाग्छ दुई चार मानिस ढलिसके वा बबाल भइसक्यो । तर, यसो हेर्यो नाक मात्र जुधाइरहेका हुन्छन्, हात चाहिँ खल्तीमै । अपराधी प्रवृत्तिका एकाध घटनाबाहेक अस्ट्रेलियन संस्कृतिमा हात हालेर झगडा गरेको कमै देखिन्छन् । चिच्चाउँछन्, कराउँछन्, बुर्कुसी मार्छन्, तर हातै चाहिँ उठाइहाल्दैनन् । किनभने यहाँको कानुनमा गल्ती पहिलो हात चलाउनेको मानिन्छ । त्यहीकारण हुनुपर्छ, यहाँ हात हाल्ने संस्कृतिको विकास भएको छैन, त्यसमा पनि सकारात्मक ।
मानिस सोच्लान्, अस्ट्रेलियामा त गरिब नै छैन होलान् । यहाँ पनि प्रशस्तै गरिब, असहाय नभएका होइनन् । घरबारविहीनहरूको ठूलै हुल देख्न पाइन्छ, सहरका मध्यभागमा पनि । तर, पनि हात थापेर माग्ने कमै भेटिन्छन् । आफूसँग भएको सिप र कला प्रस्तुत गरेर बटुको थापेको दृश्य भने बग्रेल्ती देख्न पाइन्छ, सहरमा । तर, पनि देशको विकास र विस्तारको गतिमा यिनको पहिचान कतै भेटिन्न ।
बिहानै हिँड्यो, ‘गुड मर्निङ’को आवाजले ठक्कर लागि हाल्छ । अनि प्रारम्भ हुन्छ, ‘वेलकम’ र ‘थ्यांक्स’का अविरल बहाव । घडीको घन्टीसँगै प्रारम्भ हुने दिन मेसिनका गतिमा दौडिन्छन् । काममा गयो, व्यवस्थापकको पनि उत्तिकै भाव छ । मेरा लागि यति गरिदेऊ न, धन्यवाद भन्दै काम लगाउन प्रारम्भ हुन्छ । सजिलो होस् या गाह्रो, कामले घन्टा काट्दै जाँदा स्वागत र धन्यवाद अनि मायाका शब्दभावले जेलिन्छ काम र मामको जोहो ।
सकारात्मक सोच नै आधुनिक विश्वको बदलिँदो परिवेशको उपज हो कि भन्ने सोच पनि आउँछ । तर, यहाँ पनि हामीकहाँ जत्तिकै पीडा र अभाव छ । अग्ला गगनचुम्बी भवन र विकासका विशाल ढाँचाबीच लुकेका अभावका थुप्रै पाटाहरू केलाउने हो भने समस्याका पहाड यहाँ पनि उत्तिकै लुकेको पाउँछौँ । दुई चार हप्ता कमाउन सकेन या काम पाएन भने हाल बेहाल हुने यताको जीवनलाई नजिकबाट नियाल्दा कठिनाइको पहाड यहाँ पनि उस्तै छ भन्ने प्रस्ट हुन्छ । तर, पनि जिम्मेवार राज्यका जिम्मेवार नागरिक भएर यिनीहरूले कर्तब्य पूरा गरेको पाटो भने महत्त्वपूर्ण मान्नुपर्छ ।
जीवनलाई जगतसँग दाँज्ने कुरामा भने यिनीहरू केही कमजोर देखिन्छन् । काम, घर, घुमफिर अनि केही व्यक्तिमै सीमित हुने यिनीहरूको बानीको विकास पनि आधुनिकतासँगै भित्रिएको हुनसक्छ । हामीलाई चाहिँ जहाँ गए पनि समाज, संस्था अनि आस्था र भूगोलले छपक्कै छोपिहाल्छ । अनि द्रविभूत भइहाल्छौँ ।
हामीलाई परिवार र सामूहिकता, अनि घर–परिवार प्यारो लाग्छ । यिनीहरू केही अलग देखिन्छन् । एउटा उमेर पुगेपछि एक्लै बस्ने र प्रेमिकाको घुम्टोमा घुसी हाल्ने संस्कृतिले गाँजेको छ, यिनीहरूलाई । घर, परिवार अनि समाजको महत्व थाहा यिनीहरूलाई नभएको हुनसक्छ ।
हामीले देख्दा बर्थ डे, क्रिसमस र जन्म अनि मृत्युमा मात्र जोडिन्छन्, धेरैजसो आफन्तहरू यता । तर, पनि भेटघाट र अपनत्वमा भने शब्दको मायाजाल अपरम्पार नै हुन्छ, सकारात्मक । नाम र दामबीच यस्तै–यस्तै सकारात्मक सोचमा अल्झिएका छन्, थुप्रै नेपाली युवा जमात अस्ट्रेलियामा ।
पीडा र अभावबीच पनि बाँच्न सक्ने अनि सजिलै मुसुक्क हाँस्न सक्ने र रित्तै पेट पनि नाच्न सक्ने हामी नेपाली । हामी पनि केही सकारात्मक सोचको थालनी गर्ने कि ! अन्त्यमा आधा गिलास पानीलाई कसरी सम्बोधन गर्ने त ? त्यो तपाईं हाम्रै हातमा छ, ‘हाफ फुल’ कि ‘हाफ इम्टी’ ।