काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका छात्रा समूह (पुल्चोक गर्ल्स)ले आयोजना गरेको ‘थर्ड इम्प्याक्ट म्याराथन’मा धावक रमन महत र अमृता बलामी विजेता भएका छन् ।
म्याराथनमा पुरुषतर्फ प्रथम महतले १५ मिनेट ३७ सेकेन्डमा ६.७ किलोमिटर पूरा गरेका हुन् । महिलातर्फकी विजेता बलामीले २१ मिनेट ४४ सेकेन्डमा तोकिएको दूरी पूरा गरेकी हुन् ।
पुरुष र महिला टोलीका विजेताले पाँच–पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । पुरुषतर्फ फर्स्ट रनरअप धावक यम आर खत्रीले १५ मिनेट ४४ सेकेन्डमा तोकिएको दूरी पूरा गरे । उनले तीन हजार नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै सेकेण्ड रनरअप धावक तपेन्द्र शर्माले १५ मिनेट ४७ सेकेन्डमा दूरी पार गरेका थिए । उनले दुई हजार नगद पुरस्कार प्राप्त गरे ।
महिलातर्फको फर्स्ट रनरअप अंकिता भट्टराई २६ मिनेट ६ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् । उनले पनि तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । सेकेन्ड रनरअप सलिना चौधरीले ३० मिनेट २६ सेकेन्डमा दूरी पूरा गरिन् । उनले दुई हजार नगद पुरस्कार प्राप्त गरिन् ।
म्याराथनमा ५२० सहभागी थिए । विजेतालाई एफिड स्टुडियोकी फाउण्डर तथा कार्यक्रमकी प्रमुख अतिथि आयुषा कार्की श्रेष्ठले प्रमाणपत्र वितरण गरेकी थिइन् । त्यस्तै, विजेतालाई स्टुडियोले २७ हजार रुपैयाँबराबरको छुट दिएको छ ।
पुल्चोक क्याम्पसमा अध्ययनरत छात्राहरू सम्मिलित पुल्चोक गर्ल्समा २७ छात्राहरूको कार्य समिति छ । यो समूहले ०७९ बाट म्याराथन कार्यक्रम गर्दै आएको जानकारी दिइएको छ ।