site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पीडक सरकार ! सास्ती खेप्दै भारतबाट उडान गर्दैछन् नेपाली श्रमिक

काठमाडौं । नेपालबाट उड्दा भाडादर उच्च भएपछि नेपाली श्रमिक भारतीय बाटो प्रयोग गर्न बाध्य भएका छन् । भारतीय भूमिबाट उडान गर्दा भाडा आधा सस्तो भएपछि नेपाली श्रमिक सास्ती खेप्दै मार्ग परिवर्तन गर्न बाध्य भएका हुन् ।

तर, व्यवसायीहरू यसले नेपाललाई दीर्घकालीन असर पुर्‍याउने बताउँछन् । विमानस्थल १० घण्टा बन्द भएपछि ३० प्रतिशत उडान कटौती भएको छ । यसले ४० हजारमा पाइने काठमाडौं–कतारको भाडा एक लाख रुपैयाँभन्दा माथि पुगेको छ । 

पर्यटक घटेसँगै यी गन्तव्यको भाडामा केही कमी आएको छ । तर, भारतबाट यी गन्तव्यमा पुग्दा भाडामा आधा कमी हुने भएपछि श्रमिकहरू भारतीय विमानस्थलबाट उड्न थालेका हुन् । नेपालबाट उड्दा टिकट नपाइने र निकै महँगो परेपछि श्रमिकहरूलाई म्यानपावर व्यवसायी तथा व्यक्तिगत रूपमा पनि भारत हुँदै उड्दैछन् ।

Dabur Nepal
NIC Asia

काठमाडौं–दिल्लीको भाडामा कमी आए पनि अन्य गन्तव्यको भाडादर त्यति नघटेको नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया बताउँछन् । “दिल्ली एकतर्फी नै ६० हजार पुगेको थियो । अब घटेर २२/२५ हजारमा छ, युरोपतिरको पनि केही घटेको छ,” उनले भने, “दुबई तथा कतारलगायतका श्रमिक बजार भएका ठाउँमा खासै घटेको छैन ।” 

नेपालबाट उड्दा भाडा बढी तिर्नुपर्ने भएपछि भारत हुँदै जानेको संख्या बढेको थपलिया बताउँछन् । 

“नेपालबाट बसमा लखनउ, गोरखपुर, बागडोरालगायतका स्थान पुग्ने, त्यहाँ एकरात बस्दै भोलिपल्ट गन्तव्यमा जाने गरेका छन्,” उनले भने, “यसले हामीलाई भविष्यमा ठूलो समस्या आउने वाला छ । व्यापार नै नेपालबाट बाहिर जान थालेपछि यसले विमान कसरी चल्छ ? ट्राभल एजेन्टहरू कसरी चल्छन् ?”

सरकारले विमानस्थल टिकटमा भ्याट लगाएपछि टिकटदर महँगो भएको र यसले मजदुरहरू भारतबाट उड्न थालेको थपलिया बताउँछन् । सरकारकै कारण श्रमिकहरू भारतीय भूमिबाट उड्न बाध्य भएको वैदेशिक रोजगार व्यवसायी संघका मेघनाथ भुर्तेल बताउँछन् । 

“खुला बोर्डर छ । टिकट भिसा लिएर जानेलाई रोक्न सक्ने कुरा भएन । भारतबाट उड्दा आधा कम शुल्क लाग्ने भएपछि उहाँहरू त्यताबाट उड्नु सामान्य हो,” उनले भने, “हामीले सरकारलाई पटक–पटक भनिरहेका छौं । नेपालमा ६५–७० हजार रहेको भाडादर भारतमा २५–३० हजार लाग्छ । त्यसकारण यसो हुनुमा सरकार नै प्रमुख कारण हो ।” 

विमान कम्पनीहरूले बजार हेरेर विमान थपघट गर्ने हुँदा यसले नेपालको हवाई क्षेत्रमा नै दीर्घकालीन असर पर्ने नाट्टाका अध्यक्ष थपलिया बताउँछन् । 

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि १० घण्टा बन्द छ । पार्किङ एप्रोन, ट्याक्सी वे तथा ह्याङ्गर एप्रोनको स्तरोन्नति गर्ने भन्दै नेपाल नागरिक उड्ड्यन प्राधिकरणले राति १० देखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्दै आएको छ । यसले काठमाडौंको करिब ३० प्रतिशत उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडान गर्न भनेको छ । 

पोखरामा कुनै पनि विमान कम्पनी गएनन् । उता भैरहवामा नेपाल वायुसेवा निगमसहित चार विदेशी कम्पनीले उडान सुरु गरेका थिए । तर, मौसमको बाहना बनाएर उडान स्थगित गरिसकेका छन् । भैरहवाबाट उडान सुरु गरेको फ्लाई दुबई, थाई एयर एसिया, जजिर र कतार एयरले उडान स्थगित गरेका छन् । 

भिजिबिलिटीको बाहना बनाए पनि उनी यात्रु नपाएपछि उडान स्थगित गरेका थिए । सरकारले पोखरा र भैरहवा विमानस्थल सञ्चालन निम्ति २७ वटा कार्ययोजना ल्याएको थियो । 

मन्त्रिपरिषद्‌बाट स्वीकृत उक्त कार्ययोजनामा अरु मन्त्रालय सहयोग र चासो नदिएपछि प्रभावकारी हुन सकेन । 

भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न हवाइ टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्याण्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्याण्डलिङमा ७५ प्रतिशत छुटलगायत कार्ययोजना थिए । 

भिसा, श्रम, स्वास्थ्य परीक्षणलगायत कार्यमा अन्य मन्त्रालयले चासो नदिएका कारण प्रभावकारी नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्री पाण्डेले गत हप्ताको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा बताएका थिए । मन्त्रिपरिषद्‌बाट स्वीकृत कार्ययोजना लागु नभएपछि अन्तर्राष्ट्रिय कम्पनीले भैरहवा छोडेका थिए । भैरहवा सञ्चालन हुँदा श्रमिकहरूले भैरहवाबाट गन्तव्यमा पुगेपनि उडान बन्द भएपछि भारतको बाटो हुँदै जान थालेका छन् । 

काठमाडौंकेन्द्रित भएपछि यात्रुको चाप उच्च हुने र ‘फेयर रेट’ मा टिकट नपाइने हुँदा भाडादर नघटेको नाट्टाका वरिष्ट उपाध्यक्ष जिस्वान तुलाधर श्रेष्ठ बताउँछिन् । “भाडादरमा सामान्य कमी आएको हो । तर, श्रम गन्तव्यहरूका लागि अझै उच्च छ,” उनले भनिन् ।  

सरकारले भाडादर उच्च भएको गुनासो आएपछि (टु बी अनाउन्स्ड–टीबीए) खारेज गरेको थियो । टीबीए खारेजपछि भाडादरमा केही कमी ल्याएपनि ग्रुपमा घुम्न अगाडि नै टिकट बुकिङ गर्नेहरूको कमी भएको अध्यक्ष थपलिया बताउँछन् । 

“टीबीए खारेजले पर्यटकहरूको कमी तथा भाडादर उच्च भएको भन्दै कर्पोरेट क्षेत्रले अन्तर्राष्ट्रिय कार्यक्रम बन्द छ,” थपलिया भन्छन्, “भाडा कम हुँदा केही दिनका छुट्टीको लागि नेपाल आउने पर्यटकले अन्य गन्तव्य छान्न थालेका छन् । यसले हाम्रो अर्थतन्त्रमै समस्या आउने देखिन्छ ।’’

त्रिभुवन विमानस्थलको स्तरोन्नति समय चैत १८ सम्म छ । संस्कृति तथा नागरिक उड््ड्यन मन्त्रालयका अनुसार मंसिरसम्म ३४ प्रतिशत काम सकिएको छ । उक्त अवधिसम्म उडान संख्या रेगुलर नहुने र त्यसले गर्दा भाडामा पनि पहिलाको अवस्थामा नआउने व्यवसायीहरू बताउँछन् ।

काठमाडौंबाट कोरिया एक लाख २५ हजार पुगेको भाडादरमा केही कमी आएको व्यवयासीहरू बताउँछन् । यसअघि कोरिया जाने हवाइ टिकट एकलाख २५ हजारसम्म पुगेको भाडादर घटेर ५४ हजार रुपैयाँ कायम भएको नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले जनाएको छ ।

सरकारले चाहेर पनि अन्तर्राष्ट्रिय गन्तव्यको भाडा घटाउन नसक्ने संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्री पाण्डे बताउँछन् । भाडा घटाउन मन्त्रालयले प्रयास गरेको उनको भनाइ छ ।  सरकारले उच्च दरमा बिक्री भइरहेको टिकटमा कडाई गरेपछि त्यसले पनि केही हदसम्म मूल्य घटेको क्यानका प्रवक्ता हंसराज पाण्डेको भनाइ छ ।

“पर्यटकीय सिजन कमी आएको कारण यात्रुहरूको कमी आएको र क्यानले पनि कडाइ गरेका कारण केही कमी आएको हो,” उनले भने । क्यानले माघको मध्यबाट विमानस्थल निर्माणअवधि दुई घण्टा घटाउने तयारी गरेको र त्यसले कटौती उडानसंख्या बढ्ने उनले जनाए । 
 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro