काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बदलिँदो भू–राजनीतिका कारण नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा थप जटिल बन्दै गएको बताएका छन् । अध्यक्ष ओलीले आइतबार सुरु भएको पार्टीको केन्द्रीय कमिटिको आठौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै त्यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
“बदलिँदो भूराजनीति, भू–अर्थनीति र शक्ति राष्ट्रहरूका प्रतिस्पर्धाका बीचमा नेपालको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्ने अभिभारा थप जटिल बन्दै गएको छ,” ओलीको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाले केही नयाँ अवसर पनि सिर्जना गरेको उनले बताए । ओलीले राजनीतिक प्रतिवेदनमा भनेका छन्, “हामीले भू–राजनीतिमा आएका यी बदलावहरूलाई संवेदनशील दृष्टिले हेर्दै राष्ट्रिय हितको रक्षाका लागि सजग भएर अगाडि बढ्नुपर्दछ ।”
आफ्नो राजनीतिक प्रतिवेदनमा ओलीले नेपाल–भारत सम्बन्ध, भारत–पाकिस्तान सम्बन्ध, दक्षिण एसिया, अमेरिका–चीन सम्बन्ध, रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, हुथी विद्रोही, एक चीन नीति, म्यान्मारको लोकतन्त्र, सार्क, बिमस्टेक, जि–७, ब्रिक्सलगायतका विषयमा आफ्ना धारणा राखेका छन् ।
भारतप्रतिको हेराइ
भारतले छिमेकी देशको सार्वभौमसत्ता र सरोकारलाई आवश्यक ध्यान नदिएको आरोप अध्यक्ष ओलीले लगाएका छन् । भारतको यस कार्यले गर्दा यस क्षेत्रको साझेदारी अपेक्षित रूपमा अगाडि बढ्न नसकेको निस्कर्ष उनको छ । “छिमेकी देशहरूको सार्वभौमसत्ता, संवेदनशीलता र सरोकारलाई भारतले आवश्यक ध्यान दिन नसक्दा उसँग यस क्षेत्रका देशहरूको द्विपक्षीय र बहुपक्षीय साझेदारी अपेक्षित मात्रामा अगाडि बढ्न सकेको छैन,” ओलीले स्पष्ट शब्दमा भनेका छन् ।
भारतले नेपालको सरोकार नबुझ्दा भारतसँग रहेका सीमा विवाद, १९५० को सन्धि, व्यापार–घाटालगायतका विषयहरू अझै थाँती रहेको पनि उनले उल्लेख गरेका छन् ।
भारत–पाकिस्तान सम्बन्धको असर सार्क र बिमस्टेक
भारत र पाकिस्तानबीचको तनावका कारण दक्षिण एसियामा क्षेत्रीय सहकार्यका प्रयास अवरुद्ध भएको भनाई अध्यक्ष ओलीको छ । उनले थप स्पष्ट पारेका छन्, “सार्क निष्प्रभावी र निष्क्रिय अवस्थामा पुगेको छ । बिमस्टेक कामकाजी बन्नसकेको छैन ।”
सार्क र बिमस्टेक निस्क्रिय हुँदा गरिबी निवारण, जलवायु परिवर्तन र अन्तर–राज्य अपराध रोक्न आवश्यक पर्ने क्षेत्रीय सहकार्य पनि कमजोर बन्दै गएकामा उनले चिन्ता व्यक्त गरेका छन् । “दक्षिण एसियामा बढिरहेको दक्षिणपन्थी अतिवाद र विभिन्न मुलुकमा लोकतन्त्रमाथि भइरहेका सैन्य हस्तक्षेपप्रति हामी चिन्तित छौं,” अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा भनेका छन्, “हामी कुनै पनि भू–भागमा भइरहेका युद्ध र वाह्य हस्तक्षेपको विरुद्ध छौं । लोकतन्त्र र शान्तिको पक्षमा छौं ।”
भारत–चीन मिल्दा खुसी
दुई ठूला छिमेकी भारत र चीनबीचको सम्बन्ध सामान्यीकरण हुनु नेपालको हितमा रहेको दाबी अध्यक्ष ओलीले गरेका छन् ।
उनले भारत र चीनबीच हालै भएको ६ बुँदे सहमतिलाई सकारात्मक रूपमा लिएका छन् । “झण्डै चार वर्षपछि चीन र भारतबीच सीमाको तनावलाई अन्त्य गर्ने विषयमा संवाद भएको छ र उनीहरूले ६ बुँदे सहमति सार्वजनिक गरेका छन्,” अध्यक्ष ओलीले भनेका छन्, “दुई छिमेकीहरूबीच सम्बन्ध सामान्यीकरण हुनु नेपालको पनि हितमा छ ।”
श्रीलंकामा वामपन्थीले जित्दा दंग
अध्यक्ष ओलीले श्रीलंकामा वामपन्थी दलले निर्वाचन जितेको प्रसंगमा खुसी देखिएका छन् ।
श्रीलङ्कामा राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता कुमारा देशानायक निर्वाचित भएका थिए । संसदीय निर्वाचनमा पनि वामपन्थी गठबन्धनले दुई तिहाई बहुमत हासिल गरेको थियो । “प्रतिकूल अवस्थामा जनता विमुक्ति पेरामुनाका कमरेडहरूले हासिल गरेको यो सफलताको विशेष महत्व छ । हामी यसका लागि जेभिपी र सम्पूर्ण श्रीलङ्काली जनतालाई वधाइ र शुभकामना व्यक्त गर्न चाहन्छौँ,” ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि ज्यादती
ओलीले आफ्नो प्रतिवेदनमा बंगलादेशमा ठूलो राजनीतिक उथलपुथल भएको जनाएका छन् । विद्यार्थी आन्दोलन थेग्न नसकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेपछिको अवस्थालाई उनले यसरी चित्रण गरेका हुन् ।
बंगलादेशको राजनीतिक भविष्य कस्तो हुन्छ भन्ने स्पष्ट सङ्केत देखानपरेको उनले जनाएका छन् । “यस बीचमा हिन्दूलगायत अल्पसङ्ख्यक समुदायमाथि ज्यादतीका घटना भएका छन्, कतिपय अतिवादी समूहहरू सक्रिय देखिएका छन् र बङ्गलादेशका घटनाक्रममा कतिपय भू–राजनीतिक चासो पनि अस्वाभाविक रूपमा प्रकट भएका छन्,” अध्यक्ष ओलीले भनेका छन् ।
बङ्गलादेशको समस्या त्यहाँका सार्वभौम जनताले स्वतन्त्र ढङ्गले निर्णय गर्नुपर्छ भन्ने मान्यता उनको छ । बंगलादेशका जनतामा त्यो सामथ्र्य रहेको विश्वास उनले व्यक्त गरेका छन् । “छिटै यो देश निर्वाचनमार्फत् लोकतन्त्रको बाटोमा फर्कने छ भन्ने आशा र शुभकामना व्यक्त गर्दछौँ,” अध्यक्ष ओलीले भनेका छन् ।
डोनाल्ड ट्रम्पको पुनः उदय
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएपछि विश्व राजनीति र अर्थतन्त्र तरङ्गी भएको बुझाई अध्यक्ष ओलीको छ । “अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय एवं विदेशी उत्पादनमा अतिरिक्त भन्सार लगाउने संरक्षणवादी नीतिहरूको घोषणा, पनामा नहर, क्यानाडाका कतिपय भूभाग र ग्रिनल्याण्डलाई नियन्त्रणमा लिने चेतावनी र दशौँ लाख आप्रवासीहरूलाई अमेरिकाबाट बाहिर निकाल्ने वाचाले विश्व राजनीति र अर्थतन्त्रलाई तरङ्गित गरेको छ,” ओलीले प्रतिवेदनमा भनेका छन् ।
नयाँ राष्ट्रपतिले पदभार ग्रहण गरेसँगै अमेरिका कसरी अगाडि बढ्छ भन्ने कुराको प्रभाव विश्व राजनीतिमा गहिरो गरी पर्ने उनले बताएका छन् ।
संरक्षणवादले नयाँ ढङ्गको व्यापार युद्ध र आपूर्ति शृङ्खलामा अवरोध सिर्जना हुन सक्ने अनुमान अध्यक्ष ओलीको छ । “अमेरिका–चीन तनावको प्रभाव नेपालमा कस्तो पर्नेछ भन्ने कुरालाई पनि हामीले सूक्ष्म ढङ्गले अध्ययन–विश्लेषण गर्नुपर्छ,” अध्यक्ष ओलीले भनेका छन् ।
अमेरिका–चीन सम्बन्ध
प्रधानमन्त्री ओलीले अमेरिका आफैँले स्वीकारेको ‘एक चीन नीति’ विपरीत गएको आरोप लगाएका छन् । “विगतमा आफैँले स्वीकारेको एक चीन नीतिको मान्यताविपरीत ताइवानका विषयमा अमेरिकाको दोहोरो र उत्तेजनात्मक भूमिकाले त्यस क्षेत्रमा तनाव बढाइरहेको छ,” प्रतिवेदनमा भनेका छन् ।
एसिया प्रशान्त क्षेत्रमा तनाव बढाउने, सैन्य शक्ति केन्द्रीकृत गर्ने ध्रुवीकरण गर्ने कुनै पनि कदम विश्व शान्ति र क्षेत्रीय स्थायित्वका लागि हानिकारक भएको उनले जनाएका छन् । “त्यस्ता क्रियाकलापहरू तत्काल बन्द गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ,” उनले भनेका छन् ।
युक्रेनको सार्वभौम सीमाको पक्षमा
तेस्रो वर्षमा प्रवेश गर्नलाग्दा पनि रुस–युक्रेन युद्ध अन्त्यको कुनै सम्भावना नदेखिँदा विश्वलाई असर गरेको भनाइ ओलीको छ । कोभिड महामारीपछि तङ्ग्रिन थालेको विश्व अर्थतन्त्रमा यस युद्धले सिर्जना गरेको मानवीय सङ्कट र खाद्यान्न तथा इन्धनको आपूर्ति शृङ्खलामा पारेको असरले विश्वलाई नै प्रभावित गरेको ठम्याई उनको छ ।
“नेकपा (एमाले) रुस–युक्रेन युद्ध यथाशीघ्र अन्त्य होस्, दुवै देश आफ्ना सार्वभौम सीमाभित्र शान्तिपूर्ण रूपमा रहन सकून् र त्यो भूभाग विश्व शक्ति राष्ट्रहरूको शक्ति प्रदर्शनको थलो र क्षेत्रीय द्वन्द्वको केन्द्रभाग नबनोस् भन्ने मान्यता राख्दछ ,” राजनीतिक प्रतिवेदनमा ओलीले भनेका छन् ।
म्यान्मारमा प्रजातन्त्र पुनस्थाःपनाको पक्षमा
ओलीले आफू म्यान्मारमा तत्काल प्रजातन्त्रको पुनस्थापनाको पक्षमा रहेको बताएका छन् । “हामी म्यान्मारमा लोकतन्त्रको तत्काल पुनस्थापनाको पक्षमा छौं,” ओलीले भने ।
केही वर्षअघि म्यानमारको सेनाले जननिर्वाचित सरकारलाइए अपदस्त गर्दै सत्ता हातमा लिएको थियो । त्यसपछि म्यान्मारको सैनिक शासकले प्रजातन्त्रको माग गर्दै भएका आन्दोलनलाई दबाउँदै आएको छ । आन्दोलनमा सयौंको ज्यान गइसकेको छ ।
“जननिर्वाचित संसदलाई भङ्ग गर्ने, जननिर्वाचित प्रतिनिधिहरूलाई बन्दी बनाउने र शान्तिपूर्ण विरोध प्रदर्शनमाथि हिंसात्मक दमन गर्ने काम कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन,” यस दुई–दुई पटक नेपाको संसद विघटन गर्ने निर्णय गरेका ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
इजरायल–प्यालेस्टिन समस्याः दुई राज्य समाधान
ओली इजरायल–प्यालेस्टिनबीचको समस्या समाधान गर्न ‘दुई राज्य समाधान’ प्रस्तावको पक्षमा उभिएका छन् । ‘दुई राज्य समाधान’ विकल्पको कार्यान्वयनबाट मात्रै त्यस क्षेत्रमा दिगो शान्ति कायम हुन सक्ने विश्वास उनले व्यक्त गरेका छन् ।
“प्यालेस्टाइनी जनताको स्वतन्त्र र सार्वभौम राज्यको मागप्रति हाम्रो निरन्तर समर्थन रहँदै आएको छ । स्वीकृत अन्तर्राष्ट्रिय सीमाभित्र इजरायल र प्यालेस्टाइन शान्तिपूर्वक रहन पाउनुपर्छ भन्ने संयुक्त राष्ट्र सङ्घको ‘दुई राज्य समाधान’ को प्रस्तावलाई हामी समर्थन गर्छौं,” ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
एमाले जुनसुकै स्वरूप, आवरण र नाममा गरिने आतङ्कवादी क्रियाकलापको दृढ विरोध गर्ने उनले जनाएका छन् । “हामी त्यस क्षेत्रमा तत्काल युद्धविराम गर्न, नेपाली युवा विपिन जोशीसहित सबै बन्धकहरू रिहा गर्न, मानवीय सहायताको आपूर्ति निर्वाध सञ्चालन गर्न र हत्याहिंसाको अमानवीय शृङ्खला तत्काल अन्त्य गर्न माग गर्दछौं,” ओलीले भने ।
७ अक्टोबर २०२३ मा प्यालेस्टिन चरमपन्थी समूह हमासका लडाकूहरूले इजरायलमाथि गरेको साङ्घातिक आक्रमण र त्यसको बदला स्वरूप इजरायलले गाजा क्षेत्रमा सुरु गरेको प्रत्याक्रमणले ठूलो मानवीय सङ्कट निम्त्याएको ठहर उनको छ ।
संयुक्त राष्ट्र सङ्घका सहायताकर्मीहरू समेत मारिने, अस्पतालमाथि बमबारी गर्ने एवं खाद्यान्न र पानीसमेत वितरण अवरुद्ध गर्ने कामले यतिबेला गाजा क्षेत्र भोकमरी, अभाव र मानवीय सङ्कटले आक्रान्त भएको अध्यक्ष ओलीले बताएका छन् ।
इजरायल–हमासबीचको युद्धका बाछिटा अन्यत्र पनि फैलिन थालेको ओलीले उल्लेख गरेका छन् । प्यालेस्टाइनी जनताको समर्थनको नाममा यमनका हुथी विद्रोहीहरूले लालसागरमाथि गरिरहेको लगातारको आक्रमणले त्यस क्षेत्रको जलमार्ग समेत प्रभावित भएको उनले जनाएका छन् ।
प्रतिवेदनमा ओलीले लेखेका छन्, “यसले विश्वकै आपूर्ति शृङ्खलालाई असर पारेको छ । क्षेत्रीय युद्धको आशङ्का बढेको छ ।”
ब्रिक्स र जि–७
नेकपा एमालेका अध्यक्ष ओलीले दुई शताब्दी पुरानो अमेरिका–युरोपकेन्द्रित विश्व व्यवस्था विस्तारै कमजोर हुँदै गएको बताएका छन् । अमेरिका–युरोप कमजोर हुँदै जाँदा एसियाको उदय हुँदै गएको उनले जनाएका छन् ।
“जि–७ अर्थतन्त्रलाई ब्रिक्स अर्थतन्त्रले पछाडि पार्नु र यसप्रतिको आकर्षण ह्वात्तै बढेर यसमा १५ भन्दा बढी मुलुक सहभागी हुनु, डलरको विकल्पमा ब्रिक्स मुद्राको विमर्श र स्थानीय मुद्रामा कारोबार सुरु हुनु, नवअन्वेषण र नवप्रवर्तनमा अमेरिका र युरोपको वर्चस्व खस्किँदै जाँदा चीन, कोरिया, भारत जस्ता मुलुकहरूले यस क्षेत्रमा अग्रता लिन सुरु गर्नु नयाँ परिघटनालाई पनि हामीले मसिनो गरी नियाल्नु पर्छ,” ओलीले भनेका छन् ।
सिरिया र सुडान
नेकपा एमालेका अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा सिरिया र सुडानका घटनाक्रम पनि समेटेका छन् ।
युद्धोत्तर सिरिया कस्तो हुन्छ भन्ने स्पष्टत भइनसकेको उनले जनाएका छन् । “सिरियामा दशकौं आधिपत्य जमाएर बसेका राष्ट्रपति असद त्यहाँ चर्केको गृहयुद्धका कारण भागेर रुसको शरणमा जान वाध्य भएका छन् । तर युद्धोत्तर सिरिया कस्तो हुन्छ, स्पष्ट छैन,” अध्यक्ष ओलीले भनेका छन् ।
सुडान पनि गृहयुद्धबाट आक्रान्त बनेको ठहर उनको छ । विश्व शान्ति, न्याय र स्थायित्वको जनचाहनाविपरीतका अनेकौं प्रवृत्ति जारी रहेको ओलीको बुझाई छ ।