site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

संवैधानिक पदमा नियुक्तिका लागि सेवा निवृत्त कर्मचारीका हकमा 'अनिवार्य प्रतीक्षा अवधि' (कुलिङ पेरियड) राखिनुपर्ने विषयमा फेरि बहस सुरु भएको छ । यसपटक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘संङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयक’माथि दफावार छलफलका क्रममा यो विषय उठाइएको हो । 

संसदीय समितिबाट परामर्शका लागि आमन्त्रित पूर्वमुख्यसचिव डा‍. विमलप्रसाद कोइराला सेवानिवृत्त कर्मचारीलाई संवैधानिक पदमा नियुक्ति दिनुपूर्व ऐनमा ‘कुलिङ पिरियड’ प्रावधान राख्नैपर्ने धारणा प्रस्तुत गरेका थिए । डा. विमल कोइरालाले संवैधानिक अंगहरू विशिष्ट श्रेणीका पूर्वकर्मचारीका लागि ‘विश्रामस्थल’मा परिणत भएको भन्दै कटाक्ष पनि गरे । 

हुन पनि नियुक्तिमा देखिएको प्रवृत्तिकै कारण पछिल्लो समय राज्यका संवैधानिक निकायहरू ‘पूर्वकर्मचारी क्लब’मा परिणत भएका छन् । प्रभावशाली राजनीतिक नेताहरूलाई रिझाउने विशिष्ट श्रेणीबाट सेवा निवृत्त अधिकांश कर्मचारीले फटाफट राजदूतदेखि संवैधानिक आयोगहरूमा नियुक्ति पाउँछन् । तिनले ‘कुलिङ पिरियड’ अर्थात्, पदीय रापतापबाट ‘चिसिने अवधि’सम्म पर्खनुपर्ने व्यवस्थासमेत छैन । 

अझ कतिपय अवस्थामा त सचिव पदमा कार्यरत रहँदै वा राजीनामा गराएर पनि संवैधानिक अंगमा नियुक्त गरिएकोसमेत देखिएको छ । यस्तो विकृत अभ्यास बढ्दै गएकाले नै निजामती सेवामा तीसौँ वर्ष बिताएर परिपक्वता हासिल गरेका डा‍‍. कोइरालाले कटु कटाक्ष गरेको हुनुपर्छ । 

हुन त, समितिमा विचाराधीन निजामतीसम्बन्धी विधेयकमा सेवानिवृत्त सचिवरसहसचिव तहका कर्मचारीलाई दुई वर्षसम्म ‘परामर्शदाता’ बन्न रोक लगाउने प्रावधान राखिएको छ । तर, डा‍. कोइरालाले भनेजस्तो 'विश्रामस्थल' बन्ने ढोका भने खुलै राखिएको छ । विधेयकमा संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिलाई भने प्रतिबन्ध लगाइएको छैन । 

अर्थात्, प्रस्तावित प्रावधान विनासंशोधन पारित भएमा संवैधानिक आयोगका पदाधिकारी तथा राजदूत नियुक्तिमा अहिलेका विकृति विसंगतिमा कुनै सुधार हुनेछैन । विडम्बना, अन्यत्र काम गर्नका लागि दुई वर्षसम्म सरकारको पूर्वस्वीकृति लिनुपर्ने कर्मचारीले संवैधानिक पदाधिकारी वा राजदूत नियुक्त हुन भने एक दिन पनि पर्खन पर्दैन । 

विधेयकमाथि छलफल गर्दा संवैधानिक आयोगलाई ‘पूर्व कर्मचारी क्लब’को संज्ञा दिने सांसदहरूमा समेत ‘अनिवार्य प्रतीक्षा अवधि’ को विचार आएको देखिँदैन । सांसदहरू नै यस विषयमा गम्भीर भएका भए सम्भवतः विचाराधीन विधेयकमा उपयुक्त संशोधन हुने थियो र संवैधानिक अङ्गहरू 'विश्रामस्थल' वा 'पूर्वकर्मचारी क्लब' बन्ने थिएनन् ।  

पूर्वकर्मचारीले निवृत्त हुनेबित्तिकै अर्को अवसर पाउन नरोकिनु सुशासनका मार्गमा कहालीलाग्दो अवरोध पनि हो । सरकारी कामकाजमा बेथिति, विकृति र भ्रष्टाचार बढ्नुमा कर्मचारी र राजनीतिक नेतृत्वबीचको अनुचित साँठगाँठको यो प्रवृत्ति जिम्मेवार देखिन्छ । विशिष्ट श्रेणी वा नेतृत्व तहका कर्मचारीले सेवा निवृत्तिपछिका ‘लाभको अवसर’का लोभमा बहालवाला रहँदा राजनीतिक नेतृत्वको अनुचित एवं भ्रष्ट चाहना पूर्ति गर्ने जो गर्छन् । 

उच्चपदस्थ कर्मचारीहरूसमेत प्रधानमन्त्री, मन्त्रीदेखि दलका नेतृत्वको चाकरीमा लिप्त हुनुमा मूल कारण अवकाशपछिको आकर्षक नियुक्तिको चाहना हो । त्यहीकारण राजनीतिक नेतृत्वसामु सचिवहरू सकेसम्म राय बझाउन रुचाउँदैनन् । बरु, कानुनी छिद्र खोजेर नेतृत्वको र आफ्नो स्वार्थ पूर्ति गर्नमै आफूलाई अभ्यस्त तुल्याउँछन् ।

कुनै पनि निर्णय वा काममा राय बझायो भने राजनीतिक नेतृत्व खुनासिने र आकर्षक अवसर प्राप्तिमा बाधक बन्ने गर्छन् भन्ने तिनको धारणा देखिन्छ । यसैले तिनीहरू बरु ‘एस म्यान’ बन्नुमै लाभ देख्छन् । उच्च तहमा नीतिगत भ्रष्टाचार र अनुचित निर्णय हुनुको मूलभूत जड सेवानिवृत्तिपछिको नियुक्ति नै हो भन्नु अत्युत्ति हुँदैन ।

शासकीय सन्तुलन निम्ति संविधानतः सिर्जित आयोगका पदाधिकारीहरू प्रायः शासकको चाहनाअनुसारको धुन निकाल्छन् भन्ने गरिएको छ । अपवादकाबाहेक संवैधानिक अंगका पदाधिकारीहरु नियुक्ति दाताप्रति बफादार हुनेगरेको देखिएको छ, । यसले संवैधानिक संस्थाहरूको विश्वसनीयता प्रश्न त उठेको छ नै राज्यको ठूलो धनराशि पनि अपव्यय भइरहेको छ । 

राजनीतिक नेतृत्वले आफूलाई खुसी पारेका सचिव वा मुख्यसचिवलाई सेवा निवृत्त नहुँदै संवैधानिक अंगदेखि राजदूतसम्म नियुक्त गरेका छन् । यस्तो कृपापात्र पोस्ने प्रवृत्ति राणाकालदेखि नै निरन्तर रहेको छ । संवैधानिक नियुक्तिमा स्वार्थ बाझिने स्थितिसमेत बारम्बार देखारेको छ । फलस्वरूप, तिनले आफ्नै कार्यकालमा गरेका खराब कामसमेत ढाक्ने मैका पाउँछन् । 

सामान्यतः संवैधानिक अंगका पदाधिकारीविरुद्ध भ्रष्टाचारमा अनुसन्धान गर्न पाइँदैन । अर्थात्, त्यो पदसँगै उनीहरुले ‘उन्मुक्ति’ पाउँछन् । तिनहरूमाथि कारबाही गर्न कि त महाभियोग लाग्नुपर्छ कि त तिनको अवकाश पर्खनुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वपदाधिकारीहरू भ्रष्टाचारका अभियुक्त बनेको सम्झने हो भने यसको वास्तविकता स्पष्ट हुन्छ नै ।

शासनप्रति जनविश्वास बढाउन संसद्ले कानुन निर्माण गर्दा पनि जनचाहनाको कदर गर्नुपर्छ । कानुन ‘पिपुल विल’ अर्थात् जनताको इच्छामा निर्मित हुन्छन् भन्ने मान्यता छ । त्यसरी कानुन निर्माण भएमा मात्र संसद्प्रति जनआस्था बढ्छ । अहिले संवैधानिक नियुक्तिमा देखिएको कृपावादको विकृति अन्त्य होस् भन्ने जनचाहना तथा शासकीय आवश्यकता पूरा गर्न संसद्ले ऐनमा 'कुलिङ पिरियड'को प्रावधान थप्नुपर्छ ।  

पूर्वमुख्यसचिव डा‍. कोइरालाले पूर्वकर्मचारीलाई संवैधानिक अंगमा नियुक्तिका निम्ति ‘अनिवार्य प्रतीक्षा अवधि’ २–३ वर्ष राख्नुपर्ने सुझाव दिएका छन् । तर, विशिष्ठ श्रेणीमा रहँदा तिनीहरूबाट सम्पादित काम कारबाही अनुचित वा भ्रष्टाचार प्रेरित रहे वा नरहेको थेग्रिन पनि कम्तीमा पाँच वर्ष लाग्छ । त्यसकारण संवैधानिक नियुक्तिका निम्ति कम्तीमा पाँच वर्ष ‘कुलिङ पिरियड’ राखिनु उपयुक्त हुने देखिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro