site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एक दर्दनाक हत्या प्रकरणको नौ महिनादेखि ‘क्लु’ खोजिँदै, सीआईबीको टोली नै रनभुल्ल

काठमाडौं । काभ्रेको पाँचखालमा रुखमा बाँधी आगोले जलाएर हत्या गरिएका दोलखाको भीमेश्वर नगरपालिका–२, राम्पाका विष्णुप्रसाद सुवेदीको घटनामा संलग्न अझै पक्राउ परेका छैनन् । हत्याको नौ महिना पुग्दा पनि प्रहरी ‘क्लु’कै खोजीमा छ ।

गएको वैशाख २८ गते पाँचखाल नगरपालिका–४, जिरो किलोनजिकको वनको रुखमा घाँटी र खुट्टामा फलामको तारले बाँधेर जलाइएको अवस्थामा सुवेदीको शव फेला परेको थियो । कैयौँ व्यक्तिसित सोधपुछ गर्दा पनि प्रहरीले अझै हत्याराको सुइँको पाएको छैन । प्रहरीलाई शवको पहिचान गर्न नै पाँच दिन लागेको थियो ।

पछिल्लो समय सुवेदी परिवार ललितपुरको टीकाथलीमा बस्दै आएको थियो । वैशाख २३ गते टीकाथलीस्थित घरबाट निस्किएका उनी पाँच दिनपछि जलेको अवस्थामा फेला परेका थिए । उनको हत्या गरिएको प्रहरी निष्कर्ष छ ।

Dabur Nepal
NIC Asia

सुवेदीले आफूले बोक्ने गरेको मोबाइल घरमै छाडेका थिए । प्रहरीले घटनास्थलनजिकको टावरसँग ‘कनेन्सन’ भएका मोबाइलको बीटीएस अध्ययन गरेको थियो । तर, कुनै क्लु फेला पार्न सकेन । सुवेदीका दुई छोरा र एक छोरी छन् । उनी व्यवसायी थिए । श्रीमती, छोरीसहित टीकाथलीमा बस्दै आएका थिए । दोलखाको चरिकोटमा मेसिनको पार्टपुर्जाको उनको पसल समेत थियो ।

सुवेदीको हत्या घटना जटिल देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत काभ्रे पुगेको थियो । सीआईबीका प्रहरी निरीक्षक सुनील धोजुको टोलीले उक्त घटनाको अनुसन्धान गरेको थियो । त्यो बेला अनुसन्धानका निम्ति सीआईबीको टोली दुई महिना काभ्रेमा नै बसेको थियो ।

काभ्रे प्रहरीले भने पुनः एक छुट्टै टोली बनाएर घटनाको अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एवं एसपी वसुन्धारा खड्काले सुवेदी हत्याको अनुसन्धान जारी रहेको बताइन् ।

उनले बाह्रखरीसित भनिन्, ‘‘सुवेदीको हत्याको अनुसन्धान जारी नै छ । हामीले अहिले फेरि एक अनुसन्धान टोली नै बनाएर अनुसन्धान थालेका छौँ । धेरै कुरा अनुसन्धानकै क्रममा रहेकाले बोलिहाल्ने अवस्था छैन ।’’ एसपी खड्काका अनुसार, उक्त अनुसन्धान टोली एक हप्ताअघि मात्र बनाइएको हो ।

सीआईबीको टोली भने हाल काभ्रे गएको छैन । सुवेदीको हत्या अनुसन्धानमा खटिएका एक अधिकारीले हालसम्म कुनै क्लु फेला नपरेको बताए । ‘‘हामीले यो हत्या प्रकरणमा सयौँजनासँग सोधपुछ गरेका छौँ, अधिकांशको त घटना कागज समेत गराएका छौँ । तर, केही पत्ता लाग्न सकेको छैन,’’ ती प्रहरी अधिकारीले भने ।

त्यही दिन (वैशाख २३) सुवेदीका एक छोरा ललितपुरबाट दोलखा घर पुगेका थिए । बुवा हराएको खबर पाएपछि उनी सोही राति ललितपुर फर्किएका थिए । जिरो किलो पुगेपछि सुवेदीले श्रीमतीलाई फोन गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको थियो । एक अपरिचित व्यक्तिसित फोन मागेर उनले श्रीमतीलाई ‘कल’ गरेका थिए ।

प्रहरीका अनुसार, सुवेदीले त्यो बेला श्रीमतीलाई फोनमा भनेका थिए, ‘‘आज म केही कामले बाहिर छु । साँझ मलाई खाना खान कुर्नु पर्दैन, तिमीहरू खाँदै गरे हुन्छ ।’’

त्यो फोन उनले वैशाख २३ मा नै गरेका थिए । तर, राति समेत उनी नफर्किएपछि परिवारले खोजी थालेको थियो ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन्, ‘‘हामीले यति गहिरिएर अनुसन्धान गरेको विरलै घटनामध्येको एक सुवेदी हत्याको होला, तर अहिलेसम्म कुनै क्लु फेला पार्न सकेनौँ ।’’

उनले आत्महत्या गरेको कोणबाट समेत प्रहरीले अनुसन्धान गरेको थियो । तर, पेट र मुखमा तारले बाँधेको अवस्थामा शव फेला परेका कारण हत्याको निष्कर्षमा प्रहरी पुगेको ती अधिकारीको भनाइ छ ।

अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘‘हामीले लामो अनुसन्धानपछि पनि केही क्लु फेला नपरेपछि उनले आत्महत्या त गरेनन् कि भनेर पनि धेरै अनुसन्धान गर्‍यौँ, तर त्यस्तो कारण पनि देखिएन । त्योबाहेक उनको मुखमा ढुंगा कोचिएको र मुख समेत बाँधिएको अवस्थामा देखिएपछि हत्या नै हो भन्ने निष्कर्षमा पुगेका हौँ ।’’

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro