site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दिनदिनै भूकम्प : १८ दिनमा ११ धक्का, पश्चिममा १०
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पछिल्लो समय दिनहुँजसो भूकम्प/परकम्पको विवरण सार्वजनिक गरिरहेको छ । पुस महिना लागेयता शुक्रबार बिहानसम्म मात्र केन्द्रले ११ भूकम्प/परकम्पको विवरण सार्वजनिक गरेको छ ।

यी ११ मध्ये सबैभन्दा ठूलो पुस ६ गते बाजुराको गोत्री आसपास केन्द्रविन्दु भएको ५.२ म्याग्निच्युडको भूकम्प थियो । सबैभन्दा सानो पुस १४ गते बिहान ५ बजेर ९ मिनेटमा कालीकोटको ओडानकु आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको धक्का थियो । अरू नौ भूकम्प/परकम्प पनि ३.७ देखि माथि र ५ म्याग्निच्युडभन्दा मुनिका छन् ।

केन्द्रले सार्वजनिक गरेको विवरणानुसार, पुस २ गते बझाङको धमेना आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । पछिल्लो धक्का शुक्रबार (पुस १९) बिहान ८ बजेर २ मिनेटमा मुगुको लुमा आसपास केन्द्रविन्दु भएको ४.४ म्याग्निच्युडको छ ।

यी ११ मध्ये १० धक्का पश्चिम नेपालमा मापन गरिएको हो । एउटा धक्का भने बिहीबार (हिजो) दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार आसपास केन्द्रविन्दु भएको ४.८ म्याग्निच्युडको थियो ।

“यस्ता भूकम्पहरू दैनिक नेपालमा गइरहेका हुन्छन् । तर, विगत एक महिनाको अवधिमा ४ (म्याग्निच्युड) भन्दा ठूला भूकम्प केही बढी आएको हामी देख्छौँ,” केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले बाह्रखरीसित भनेका छन् ।

नेपालमा हाल १.५ वा २ म्याग्निच्युडदेखि माथिका भूकम्प मापन हुन्छ । त्यसका निम्ति देशभर ४२ स्टेसन छन् । केन्द्रले सबै धक्काको विवरण सार्वजनिक गर्दैन । अर्थात्, केन्द्रले ४ आसपास वा त्यसदेखि माथिका भूकम्प/परकम्पको विवरण मात्र सार्वजनिक गर्दै आएको छ । त्यसो त केन्द्रले गएको मंसिर ६ गते राति १० बजेर ४६ मिनेटमा काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएको २.६ म्याग्निच्युडको धक्काबारे पनि जानकारी गराएको थियो ।

asdfg-1735879182.jpg

केन्द्रले सार्वजनिक गरेको पुस लागेयताको ४ म्याग्निच्युडदेखि माथिका भूकम्प/परकम्पको विवरण ।


नेपालमा औसत दैनिक १० भूकम्प मापन हुने गरेको उनले जानकारी दिए । ती सबै धक्का मानिसलाई महसुस हुँदैन । खासगरी ३ वा ४ म्याग्निच्युडदेखि माथिका भूकम्प मानिसले महसुस गर्छन् ।

नेपालमा औसत दैनिक १० भूकम्प स्वाभाविक प्रक्रिया भएको उनले बताए । कुनै ठूलो भूकम्प गएको समयमा भने त्यसको परकम्प बढी हुने गरेको उनले जानकारी दिए ।

सानातिना धक्का मापन भइरहनुलाई त्यो ठाउँ भूकम्पीय जोखिम क्षेत्रका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ । “त्यहाँ भूकम्पीय शक्ति जम्मा भइरहेको छ अहिले र त्यसले कुनै समय त्यहाँ ठूलो भूकम्प जान्छ है भन्ने कुराको संकेत गर्छ,” उनले भने ।

पश्चिम नेपालमा ५०० वर्षयता ठूलो भूकम्प नगएको भूकम्पविद्ले बताउँदै आएका छन् । त्यहाँ महाभूकम्प जान सक्ने शक्ति त्यहाँ सञ्चित भइरहेको छ ।

पछिल्लो समयका सानातिना धक्काले ठूलो भूकम्पको जोखिम कम नगर्ने उनले बताए । यस्ता धक्काले दिन वा समय किटान गरेर ठूलो भूकम्प आउनै लाग्यो भन्ने पनि संकेत नगर्ने भूकम्पविद् अधिकारीले स्पष्ट पारे ।

भिडियो हेर्नोस्–

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro